site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रनेश पक्राउको विरोधमा समीक्षक समाजदेखि कलाकारसम्म

काठमाडौं । “मेरो चलचित्र, मेरो कामलाई लिएर तपार्इंजस्तो समीक्षा, व्यंग्य, ठट्टा, आलोचना पनि गर्न सक्नुहुनेछ, यसमा सबैलाई छुट छ र म यसको खुलेर स्वागत गर्छु । तर ठट्टाको नाममा अपशब्द, गालीगलौच, ब्यक्तिगत रुप, रङ्ग, बनोट, धर्म, लिंगका आधारमा गरिने मानहानी कदापि पनि स्वागतयोग्य हुँदैन । नजानेका नबुझेकालाई सजायभन्दा पनि सिकाउनु पर्ने पक्षमा भने म सधैँ छु,” बिहीबार दिउँसो अभिनेत्री केकी अधिकारीले आफ्नो फेसबुक अकाउन्टमा लेखिन् । 

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वीर विक्रम-२’को ‘एब्‍र्सडिटी ह्युमर’ शैलीमा मिम नेपालले समीक्षा गरेपछि प्रहरीले मिम नेपालका प्रस्तोता प्रनेश गौतमलाई पक्राउ गरेको पछि चलचित्रकर्मी नै पक्ष विपक्षमा उभिएका छन् । धेरैले व्यक्तिगत रुप, रंग, बनोट, धर्म, लिंगलाई आधार बनाएर तयार पारिएको पक्षको विपक्षमा उभिएका छन् । तर आफ्नो विचार वा धारणा राखेकै आधारमा भने पक्राउ गर्न नपाइने विचार व्यक्त गरिरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामाजिक सञ्जालमा सरकार निरंकुश हुँदै गएको विरोध भइरहेका बेला चलचित्र समीक्षक समाज नेपालले पनि आफ्नो धारणा राख्दै समीक्षा गर्ने विविध तरिका हुनेभन्दै समीक्षा गरेकै भरमा पक्राउ गर्नु गलत भएको बताएको छ । “चलचित्र समीक्षा गर्ने शैली विविध हुन सक्छन्, संसारभर धेरै शैली प्रचलनमा छन् । प्रनेस गौतमले प्रस्तुत गरेको यो भिडियो ‘एब्र्सडिस्ट ह्युमर’ शैलीमा बनाइएको कमेडी भिडियोमा पर्ने देखिन्छ । 

चलचित्रकर्मीहरु आफैं सर्जक भएकाले आलोचना र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुन् भन्ने हाम्रो मान्यता हो । अभिव्यक्ति स्वतन्त्रता पत्रकार, समीक्षक वा हास्य कलाकारको मात्र स्वतन्त्रता नभएर चलचित्रकर्मी र सबै विचार बोक्ने व्यक्तिहरुको स्वतन्त्रता हो,” समाजको विपप्तीमा उल्लेख छ, “यसको प्राप्तिका लागि देशमा ठुलठूला आन्दोलन भएका छन् । नेपालको संविधानले प्रदान गर्ने यो हकको सम्मान र रक्षा गर्नुपर्छ ।” 

अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतले नै कुनै समाजलाई जीवन्त र स्वतन्त्र बनाउँने भन्दै समाजले कुनै पनि बहानामा यसमाथि हुने प्रहार वा दमित बनाउने प्रयास स्वीकार्य नहुने  बताएको छ ।  “सार्वजनिक कला वा उत्पादनको आलोचना, समीक्षा वा टिप्पणीलाई अपराधका रुपमा चित्रण गरिनु उचित होइन । त्यसको शैलीमा मत भिन्नता हुनसक्छ” समाजले उल्लेख गरेको छ । 

यद्यपि अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गर्दा कसैको जाति, धर्म, वर्ण, लिंग, पहिरन तथा शारीरिक बनोटमाथि नकारात्मक टिप्पणी पनि समाजलाई मान्य नरहेको उल्लेख गरेको समाजको विज्ञप्तीमा भनिएको छ, “मिम नेपालको भिडियोमा निकिता चाण्डक, अशोक दर्जी, सरिता राजभण्डारी आदि कलाकारबारे यस किसिमका टिप्पणी गरेको पाइयो । हामी यसको समर्थन गर्दैनौं । र, यी विषयमा संवेदनशील हुन आवश्यक रहेकोमा पनि जोड दिन्छौं ।”

समीक्षक समाजले विद्युतीय कारोबार ऐनको अपब्याख्या गरिएको र दुरुपयोग भएको यस कानुनका ज्ञाताहरुले बताइरहेको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुनेगरी यसको प्रयोग नर्गन सरकारसँग आग्रह गर्दै विद्युतीय कारोबार ऐन लगाएर थुनिएका प्रनेस गौतमलाई तुरुन्त रिहा गर्न माग गरेको छ । 

यता महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले विद्युतीय कारोबार ऐन आकर्षित भएकाले गौतमलाई पक्राउ गरिएको बताएका  छन् । उनले कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढेको यद्यपि उजुरीकर्ताले मुद्दा फिर्ता लिएको खण्डमा गौतम आजै रिहा हुने बताए । मिम नेपालले समीक्षा गरेको भिडियो युट्युबमार्फत सार्वजनिक भएपछि चलचित्र ‘वीर विक्रम-२’का निर्देशक मिलन चाम्सले प्रनेश गौतमविरुद्ध पहरीमा उजुरी दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १६:३२
प्रतिक्रिया दिनुहोस्