
- मणि भट्टराई
खहरे रहेछु
त्यसैले त बगाएर लगेछु
गरिबको एक चोक्टो खेत पनि
पाखो, बारी र झुपडी पनि
गोठमा बाँधिएका केही थान गाई-भैसीहरू
र, आँगनमा खेलिरहेका स-साना नानीहरू ।
भत्काएर लगेछु
एक गाउँ र अर्को गाउँ जोड्ने पुल पनि
यति निर्दयी र कठोर भएछु कि
ढुंगै-ढुंगा थोपरी दिएछु
फूलभन्दा कोमल
मान्छेका संवेदनाहरूमा ।
सँच्चिकै खहरे रहेछु
फूलबारीलाई काँसघारी बनाइदिएछु
धानबारीलाई बगर
पाखोबारीलाई पहिरो
घरलाई चिहान
भूल गरेछु -
क्रान्ति गरें भन्ने ठूलो भ्रममा परेछु ।
कतै माउबिनाका बचेराहरू
कतै बचेराबिनाका माउहरू
काकाकुल जस्तो
कतै बतासिएको छ यो देशको भविष्य
कुनै अनिश्चित भविष्यको खोजमा ।
साँचिकै अफशोच लाग्छ बेला-बेला
ग्लानि हुन्छ
क्रान्तिको भ्रममा
उराठ बनाएछु आफ्नै धर्ती
बाँझो बनाएछु आफ्नै बारी
कत्ति न विद्रोह गरें भनेको
कति न युद्ध लडें भनेको
यतिखेर
म योद्धा- बुख्याँचा जस्तो देखिएको छु
आफ्नै नजरमा
आफ्नै इतिहासको पानामा ।
म केवल एक भेलबाढी रहेछु
फगत एक आवेग
एक दम्भ
एक महत्वाकांक्षा
एक स्वार्थ
के के न विद्रोह गरें भनेको
बगाएर लगेछु बगाउनै नहुने कुराहरू पनि
जस्तो कि,
यी मान्छे-मान्छेबीचको गहिरो सद्भाव !
यदि म क्रान्तिकारी हुँदो हुँ त
युद्ध आज पनि जारी हुन्थ्यो
युद्ध भोलिको निम्ति पनि तयारी हुन्थ्यो
युद्ध अविच्छिन्न समय जस्तो हुन्थ्यो
युद्ध फोक्सोको सास र मुटुको गति जस्तो हुन्थ्यो
युद्ध एक अनवरत यात्रा जस्तो हुन्थ्यो
युद्ध एक अविच्छिन्न शर्त जस्तो हुन्थ्यो
अहँ !
त्यसरी गाउँबाट शुरू भएको युद्ध
यसरी सिंहदरबारमा अन्त्य हुँदै हुँदैनथ्यो ।
साँच्चै !
युद्ध क्रान्ति हुनलाई त
त्यो निरन्तर अझै पनि
बारीका पाटामा उम्रिरहेको
खेतका गरामा झुलिरहेको
र, कसौंडीमा फत्किरहेको हुनुपर्थ्यो ।
तर खै त त्यो सबै ?
बरू, हरेक दिन
पासपोर्टको पखेटा लाएर
उडिरहेछन् यो देशका ज्यामी कमिलाहरू
माथि-माथि कतै बादलमा
बालुवालाई निशाना बनाएर ।
आफू आफैंभित्र
आत्माग्लानिमा उभिएको
आफ्नै दम्भहरूले आफैंभित्र डढेको
आफैसँग पनि पराजित
यो युगको सबैभन्दा पछिल्लो
एक हरूवा क्रान्तिकारी हुँ म
म पूराका पूरा आत्मसमर्पण गर्न चाहन्छु
माफी माग्न चाहन्छु म
मैले रचेका
मेरा इतिहासका सबै दुर्घटनाहरूसँग ।