काठमाडौं । निर्माता माओत्से गुरुङ सुरूमा चलचित्रको कथा हेर्छन् । कुन राम्रो छ ? छान्छन् । कुन कथा समाजलाई भन्नुपर्छ र कुन भन्नु हुँदैन ? छुट्टयाउँछन् । त्यसपछि निर्देशक कसलाई लिने, कलाकार को-को राख्ने अनि चलचित्र कहिले बनाउने निर्णय गर्छन् । यही प्रक्रिया अन्तरगत बनेको थियो ‘पुरानो डुङ्गा’ । अहिले ‘दयारानी’ निर्माण गर्दैछन् । यसको पनि प्रक्रिया उस्तै रहेको उनी बताउँछन् ।
त्यसो त उनी निर्माता मात्रै होइनन् । कलाकार पनि हुन् । ‘दयारानी’ निर्देशन पनि गर्दैछन् । चलचित्रसम्बन्धी जानकारी मात्रै होइन ज्ञान पनि राख्छन् । त्यसैले सञ्चार माध्यमले उनलाई पछ्याउँछन् पनि । तर, यस्ता थुप्रै निर्माता छन् । जो करोडौं लगानी गरेर चलचित्र निर्माण गर्छन् । उनीहरुका चलचित्र हिट् पनि हुन्छन् । तर चर्चा परिचर्चा नायक नायिकाकै हुन्छ । अन्तर्वार्ता र तस्बिर नायक नायिका तथा निर्देशककै प्रकाशित तथा प्रशारित हुन्छन् । तर करोडौं लगानी गर्ने निर्माता गुमनाम हुन्छ ।
उदाहरणः ‘जात्रै जात्रा’ हिट भयो । मुख्य कलाकार विपीन कार्की, रविन्द्रसिंह बाँनिया, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउतकै चर्चा भयो । विपीन, रविन्द्रसिंह, रविन्द्र, दयाहाङ र वर्षा भन्दा परजाँदा निर्देशकको केही चर्चा र तारिफ भयो । तर डेढ करोडभन्दा माथि लगानी गर्ने निर्माता को थिए ? अधिकांशलाई थाहा छैन । सिङ्गे लामा र योगेश्वर पौडेलले लगानी गरेका हुन् भन्नेमा धेरै अनविज्ञ छन् । तर उनीहरु गुमनाम छन् । सञ्चारमाध्यमबाट टाढै छन् । यद्पि यही चलचित्रका कार्यकारी निर्माता रविन्द्रसिंह बाँनिया भने सञ्चार माध्यमबाट टाढा छैनन् । भलै उनी कलाकार पनि हुन् ।
चलचित्र ‘बुलबुल’ले बक्स अफिसमा अब्बल उपस्थिती देखाउन त सकेन तर चौतर्फी तारिफ बटुल्यो । समीक्षकले चार स्टारसम्म दिए । डेब्यू निर्देशक विनोद पौडेलको केही तारिफ भयो । सञ्चारमाध्यम स्वस्तिमा र मुकुनकै पछि लागे । तर यो चलचित्रका निर्माता अविरल थापा, भीम थापा, राजु पोडैल, पुरुषोत्तम पाण्डे हुन् भन्ने चलचित्र वृत्तकै केही व्यक्तिलाई बाहेक धेरैलाई थाहा छैन ।
चलचित्र ‘लुट’ बन्यो । दयाहाङ राई, सौगात मल्ल स्थापित भए । निर्देशकका रुपमा यही चलचित्रबाट निश्चल बस्नेतले नायकको जत्तिकै उचाई बनाए । तर यो चलचित्रका निर्माता माधव वाग्ले र नरेन्द्र महर्जनले चलिरहेको सूत्रभन्दा बाहिरको चलचित्रमा लगानी गर्न किन रिक्स उठाए खासै चर्चा भएन ।
चलचित्र ‘पशुपतिप्रसाद’ले अभिनेताका रुपमा खगेन्द्र लामिछाने र विपीन कार्कीलाई उठायो । निर्देशकका रुपमा दीपेन्द्र के खनालले आफूलाई अब्बल प्रमाणित गरे तर यो चलचित्रमा कसले लगानी गर्यो धेरै अनविज्ञ नै रहे ।
निर्देशक प्रदीप भट्टराई चलचित्र बुझेर लगानी गर्ने निर्माताको संख्या कम रहेकाले उनीहरु सञ्चार माध्यमको नजरमा नपरेको बताउँछन् । “चलचित्र भनेको आमाको बच्चा जस्तै हो । आमाले बच्चा जन्माउनु अगाडिदेखि हुर्काएर ठूलो बनाउँदासम्म कति दुःख झेल्नुपर्छ त्यती नै चलचित्र निर्माताको पनि चलचित्रमा भूमिका हुन्छ,” निर्देशक भट्टराई भन्छन्, “जो चलचित्र बुझेर लगानी गरिरहेका छन् उनीहरुको बजारमा चर्चा छ । तर जसलाई चलचित्रबारे कुनै ज्ञान नै छैन उनीहरुलाई सञ्चारमाध्यमले पनि खोज्दैन ।”
निर्माता तथा कलाकार माओत्से गुरुङ पनि चलचित्रबारे पर्याप्त जानकारी नहुनु नै निर्माताहरु ओझेलमा पर्नुको मुख्य कारण रहेको बताउँछन् । “जोसँग चलचित्रबारे ज्ञान छ र बुझेको छ उसको चर्चा कलाकारको भन्दा कम छैन । पुरै चलचित्र उद्योग नै उहाँहरुको हातमा छ । तर जसलाई चलचित्रबारे न्यूनतम ज्ञान पनि छैन । ओझेलमा पर्नु भएको छ ।”
कतिपय निर्माता चलचित्रबारे जानकारी नराख्ने मात्रै होइन सञ्चारमाध्यम फेस गर्न पनि हिचकिचाउँछन् । “निर्माताहरु कतिसम्म हुन्छन् भने चलचित्र के हो, कसरी बन्छ र कसरी रिटन्र्स आउँछ भन्ने सामान्य जानकारी पनि राख्दैनन्,” एक निर्देशक बाह्रखरीसँग भन्छन्, “पत्रकारले केही सोधे भने के भन्ने भनेर हामीलाई सोध्छन् । काठमाडौंको चार आना जग्गा बेचेर र विदेशमा बसेर कमाएको पैसाले चलचित्र बनाउन आउने पनि हुन्छन् । उनीहरुको पनि हामी आफैँले बोलिदिनुपर्छ कहिलेकाहिँ त ।”
चलचित्रबारे राम्रो जानकारी राख्ने र लामो समयदेखि लगानी गरिरहेका छविराज ओझा, प्रदीप उदयलगायत निर्माताहरु भने सधैँ सञ्चारमाध्यममा छाउने गरेका छन् ।