
काठमाडौं । पहिलो पटक हुन लागेको गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’ युनिट अहिले वर्कशपमा बसेको छ । यही सोमबारबाट शुरु हुने मेगा अडिशनको तयारीका लागि वर्कशप राखिएको हो ।
“वर्कशपमा निर्णायकदेखि निर्देशकसम्म हुनुहुन्छ,” नेपाल लोक स्टारका आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले भने, “सोमबारबाट मेगा अडिशन शुरु हुँदैछ ।”
मेगा अडिशनका लागि सातवटै प्रदेशबाट छनोट भएका ३४५ जना प्रतिस्पर्धी काठमाडौं आइसकेका छन् । उनीहरु सुनधारास्थित होटल देवदहमा बसिरहेका छन् ।
मेगा अडिशनमा हुने सातवटा श्रृंखलाबाट ३४५ जनाबाट ७०–९० जना छनोट हुनेछन् । स्थापित गर्ने एउटा श्रृंखलाबाट ७०–९० बाट २० जना छनोट हुनेछन् । नवौं श्रृंखला प्रशारण हुँदा उत्कृष्ठ २० प्रतिस्पर्धी रहनेछन् ।
उत्कृष्ठ १० सम्म निर्णायक र भोटिङ ५०/५० प्रतिशतका आधारमा छनोट हुनेछन् । उत्कृष्ठ १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनोट हुनेछ । फाइनलसम्म ८०/२० कै आधारमा छनोट हुनेछ । उत्कृष्ठ पाँचबाट फाइनल भनिनेछ । फाइनलमा छनोटको सबै अधिकार दर्शकको भोटमा रहनेछ ।
उत्कृष्ठ ५ जनालाई लिएर सातवटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्टशर्ट गर्नेछ ।
यसैबीच, जेठ २५ गतेबाट कार्यक्रम प्रशारण हुनेछ । दर्शकले एपीवान एचडीबाट ‘नेपाल लोक स्टार’ हेर्न सक्ने छन् ।
३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइन हुनेछ ।
विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । ‘नेपाल लोक स्टार’मा १०३ जनाको युनिटले काम गरिरहेको छ ।