
कविता:
(लेखिएका कुराहरु सबै काल्पनिक हुन, कसैको जीवनसँग मेल खान गएमा मनन गरेर संकल्प गरे हुन्छ, देशमै केही गर्ने)
– ऋषिराम अधिकारी
अभावहरू खट्किन्छन्,
मित्रहरु अलि टाढा हुन्छन्,
समय सबैलाई उति नै हुन्छ
तर पनि आफूलाई हरेक दिन छोटोझैं लाग्छ
अनि रात?
रात त कमसे कम प्रियसीलाई दिऊँ जस्तो लाग्छ,
तर, रात पनि उही दिनझैं हाम्रो बैरी भइदिन्छ,
थाकेका हत्केलाले गाला छामी
मस्त निन्द्रामा विलीन बनाउँछ यी सबै सपना,
सूर्यको किरणले सपना बिथोल्दिन्छ,
भेट्छु/भेट्दिनँ त्यो गन्तव्य तर पछ्याउँछु,
र मनलाई सम्हाल्छु
अनि भन्छु–
म देशमै केही गर्न चाहन्छु !
चाहना हुन्छ तर आँट दिने मन हुँदैन,
काम गर्नको लागि धेरै लगानी हुँदैन,
त्यही पनि यो मन देशमै केही गरूँ भन्छ,
ईश्वरले भन्छन्- तँ आट्, कुनै बाधा हुँदैन,
बैंकले ऋणको फाइलबिना धितो छुँदै छुँदैन,
फेरि सयकडा ५ को ब्याजमा पैसा चलाउन बाध्य हुन्छु,
हरेक दिन त्यही किताबको सुगन्ध बोक्दै घर घर हिँड्छु,
किनकि म देशमै केही गर्न चाहन्छु !
तातो भातसँग सम्बन्ध बिग्रिसकेको हुन्छ,
एक्लै निस्कन्छु अनि एक्लै घरमा पस्छु,
र चिसो भएको भातलाई म सपासप निल्छु,
किनकि अहिलेसम्म चिसो भात र मेरो सम्बन्ध
प्रेमी-प्रेमिकाको झै भैसकेको हुन्छ !
यस्तो परिस्थिति र दिनचर्या सधै चलिरहन्छ,
अरु धूलो रोक्न सिसा बन्द गरी हिँड्छन्,
म त्यही गाडीले फालेको धूवाँलाई अक्सिजन सम्झी निल्छु,
सकेसम्म त्यो तातो भातसँग फेरि प्रेम गर्छु
नत्र चिसोसँग त अटुट सम्बन्ध छँदै छ भनी मुस्कुराउँछु
र, रातमा आफ्नो डायरीमा लेख्छु-
म देशमै केही गर्न चाहन्छु !
आमा सुतेको कोठाको बत्ती बन्द देख्छु,
आफ्नो कोठामा जान्छु अनि मनमनै भन्छु-
आज यस्तै भयो आमा, भोलि पक्कै चाँडै आउँछु !
भोलि फेरि झोला बोकी हिंड्छु,
दिनसँगको शत्रुताले फेरि चाँडै घर जान दिँदैन
आमालाई आज पनि एक्लै खाना खान बाध्य बनाउँछु,
चिसो भातलाई फेरि फकाउँछु अनि भातको सितालाई हेर्दै
एक्लै कराउँछु-
तँ मलाई यसरी नै माया गर्दै गर्
आज म एक्लै भन्छु तर भोलि सबैले भन्नेछन्-
म देशमै केही गर्न चाहन्छु !