site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीर्थजस्तै यात्रा

– दुर्गाप्रसाद श्रेष्ठ


म मामाघर जाँदै थिएँ । मामाघर, जुन घर हरेक भाञ्जाभाञ्जीका लागि सबैभन्दा प्यारो हुन्छ । त्यो घर, जहाँ प्रेम नै प्रेम भरिएको हुन्छ । बदमासी पनि गरौं त गालीको ठाउँमा माया र प्रेम नै प्राप्त हुन्छ । हो, त्यहीँ जनकदुलारीको माइती !

गाडी मुजफ्फरपुर स्टेसनमा पुग्यो । त्यसबेला रेल्वे प्लेटफार्ममा ठूलो तर नीलो सूचना पाटीमा पहेंलो अक्षरमा लेखिएको देखें— ‘वैशालीः लिच्छवीहरूको प्राचीन राजधानीको ध्वंशावशेष यहाँबाट ३२ किलोमिटरको दूरीमा छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हठात् वैशाली साम्राज्यको गौरवपूर्ण इतिहासको तस्बिर मेरो मस्तिष्कमा ताजा भएर आयो । द्वितीय शताब्दीमा मुस्लिम आक्रमणका कारण वैशालीका अन्तिम सम्राट हरिहरसिंह देव भागेर सिमरौनगढ (नेपालको मध्यतराईको एक स्थान) गएका थिए । त्यहाँ उनको वंशज बागमती नदीको किनारैकिनार काठमाडौंसम्म पुगेका थिए । जहाँ तिनले किरातहरूलाई हराएर लगभग सात शताब्दीसम्म अविच्छिन्न राज्य गरेका थिए ।

र, आज जे–जति काठमाडौं उपत्यकमा कला र संस्कृतिको नाममा जीवित रहेको छ, त्यो त्यही साम्राज्यले छोडेको निशानी हो । त्यहाँ यति धेरै बाँकी छ तर यहाँ तिनको गढको मात्रै ध्वंशावशेष !

सहसा मानिस २ नम्बर प्लेटफार्मतिर दौडिए । गुन्टा पेटी, लाठी लोटा, कमरमा बच्चा, पिठ्यूँमा बच्चा लिएर दौडेको दौड्यै थिए यात्री । समस्तीपुरको गाडी आइसकेको थियो । मानिस झ्यालबाटै भित्र प्रवेश गरिरहेका थिए । ढोका जाम थियो ।

समस्तीपुरबाट दरभंगाका लागि गाडी समात्न त झनै मुस्किल काम भयो । तर, जति सास्तिका साथ गाडी चढिएको थियो, गाडी गुडेपछि त्यत्तिकै राहत मिल्यो । सारा डिब्बामा रामफटाका तिलक लगाएका रामानुजी साधु, साध्वी र श्रद्धालु नर–नारीहरू अटसमटस बसेका थिए ।

मलाई झ्यालको सामु देखेर एक सज्जनले जिज्ञासा राखे, “जयनगर जाँदै हुनुहुन्छ नि ?”

मैले ‘हो’ भने पछि उनले फेरि सोधे ‘मेलामा... ?”

यो प्रश्नमा मैले ‘होइन’ भन्दा तिनलाई घनघोर आश्चर्य लाग्यो । खासमा मलाई त थाहा पनि थिएन कि म मेलाको अवसरमा जनकपुर जाँदै छु (त्यसैले त गाडीमा त्यतिका भीड रहेछ !) ।

“त्यसो भए ?” तिनले फेरि सोधे । मैले भनें, “म आफ्नो मामाकहाँ जाँदै छु । मामाघर ।”

मेरो कुरा सुनेर उनी हाँसे । भने, “जनकपुर त हामी सबैको मामाघर हो । तिम्रोमात्रै हो र ?” माता जानकीको माइती भारतबासीको मामाघर नभएर के भयो त ?

त्यसपछि उनले आफू नजिक राखेको एउटा ठूलो सामानको पोकोतिर देखाउँदै भने, “ऊ त्यहाँ बस्नुस् न । कतिबेरसम्म उभिनुहुन्छ !”

तिनले भनेपछि म बस्नै लागेको थिएँ कि नजिकै रहेका एक व्यक्तिले कराएरै स्थानीय भाषामा भने, “अरे । के गरिरहनुभएको छ ? देख्नुहुन्न ? त्यो पोकोमा बतासा छ । मेलामा बेच्नलाई लिएर जाँदै छु ।”

हामी प्राचीन विदेह राज्यमा थियौं । यहाँको राजधानी मिथिला थियो । त्यहाँका प्रजा मैथिल र भाषा मैथिली । विदेह प्राचीन भारको सात शक्तिशाली राज्यहरूमध्येमा गनिन्थ्यो ।

अथर्व परिशिष्टको यो श्लोक मलाई सम्झना भइरहेको छ— ‘नेपाले, कामरूपं, विदेहोदुंबरं तथावंत्य कैकयश्च उत्तरपूर्वे हतेहन्यात्..’ (कूर्म विभाग) । एसबी बनर्जीले पनि आफ्नो पुस्तक ‘द एथ्निक सेटलमेन्ट अफ एन्सियन्ट इन्डिया’ (पृष्ठ १६३)मा पनि यसबारे लेखेका छन् । यो राज्य कति विशाल रहेको होला, यसको अनुमान तपाईं स्वयंले उत्तर बिहारको मैथिलीभाषी इलाकाहरूको भ्रमण गरेर लगाउन सक्नुहुन्छ ।

अचानक रेलको डिब्बाभित्र गुञ्जिएको भजनहरूका बीच लोकगीतको एउटा मुखडा सुनियो—

‘अपना सियाजी के चमर डोलैबे,
हम मिथिला मे रहबे ।’

मेरो कानमा मिश्रीको गुलियो घोलिन थाल्यो । भजन गाउने प्रौढ उमेरकी महिला बडो तन्मयताका साथ गाइरहेकी थिइन् । न त उनको कण्ठमा मधुरता थियो न गायकीको ओज । त्यसो भए के थियो त्यसमा, जुन गीतले सबैलाई मन्त्रमुग्ध पारेको थियो ?

भजन बन्द भयो । हरेक स्टेसनमा धेरैभन्दा धेरै यात्रीहरूलाई लिँदै गाडी जयनगरतिर अग्रसर थियो । अनुभूत हुँदै थियो— सारा बिहार त्यहीँ भरिँदै छ ।

जयनगर भारत–नेपाल सीमामा छ । अर्कोतिर जयनगर–जनकपुरको रेल्वे लाइन ओच्छ्याइएको छ । लिक हेर्दै पनि ‘बाबा आदम’को जमानाको अनुभव हुन्छ । एक हात चौडाइको लिकमा गुड्नु, मत्थर गतिले डिब्बा वा बोगीलाई तान्दै गरेको आवाज दिने पुरानो इन्जिन । ३० किलो मिटरको यात्रा चार घण्टामा पूरा गरेर मात्रै हामी जनकपुर पुग्यौं ।

जनकपुर– जहाँ कुनैबेला गार्गी र याज्ञवल्क्यका बीचमा शास्त्रार्थ भएको थियो । जनकपुर, जहाँ संसारकै वैभव फैलिएको थियो । विदेहका भाइ कुशध्वजले पौराणिककालमा काठमाडौं उपत्यकामा पनि शासन गरेका थिए ।

साँझ भइसकेको थियो । सारा जनकपुर मेलाको अवसरमा विशेष रूपले लगाइएको बिजुलीको प्रकाशमा जगमगाएको थियो । त्यसबेला जनकनन्दिनी सीताको विवाहका अवसरमा कति उज्यालो रहेको होला ! प्रकाश स्वयं मूतरूप धारण गरेर यहाँको उत्सव हेर्न आएको होला । अचानक गोस्वामी तुलसीदासजीको याद आयो, त्यसपछि साधुहरूको मण्डलीतर्फ हेर्न थालें । कहीँ देवाधिदेव भूतनाथ पनि छद्मवेश लिएर आएका त छैनन् ? तर, निरर्थक !

म २६ वर्षपछि जनकपुर आएको थिएँ । बाल्यकालको चिन्तामुक्त दिन यहीँ बिताएको मैले आफूलाई लायक बनाउने सिलसिलामा सक्रिय हुँदा जनकपुर मेरो जीवनबाट विस्मृतझैं भएको थियो ।

हजुरआमा शय्याग्रस्त छिन् भन्ने खबर पाएर म जनकपुर आएको थिएँ । मलाई देखेर हजुरआमा यति हर्षित भहुनुभयो, म बयान गर्न सक्दिनँ । मलाई देख्नासाथ उहाँले पहिलो प्रश्न गर्नुभयो, “भोलि विवाह पञ्चमीको मेला हेर्न जानु छ, बाबु । जान्छौ नि ?”

मलाई मेरो बाल्यकालको सम्झना भयो । जब मेरी हजुरआमाले औंला समाएर मलाई मेलामा घुमाउनु हुन्थ्यो । उहाँ मलाई जनकपुरको दर्शनीय स्थलहरू देखाउँदै हिँड्नुहुन्थ्यो । विवाह पञ्चमीका अवसरमा के–के कार्यक्रम हुँदै छ, त्यसका विषयमा पनि जानकारी दिनुहुन्थ्यो । भन्नुहुन्थ्यो, “बाबु हेर । यो फूलबारी हो । यहीँ रामले सीतालाई देखेका थिए । यो धनुषा हो, जहाँ धनुषयज्ञ भएको थियो । यो राम मन्दिर हो । यहीँबाट जानकी मन्दिरसम्म बरियात जान्छ...।”

यसरी उहाँले विभिन्न स्थान देखाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, “यो गंगासागर हो । स्वयं भागिरथीको जल यस कुण्डमा सञ्चित गरिएको थियो । यो दुग्ध नदी हो । कामधेनुले जनकनन्दिनीलाई दूध पिलाउँदा पृथ्वीमा खसेको दूधबाटै यो नदी बनेको हो ।”

अब अलिकति विदेह राजधानी मिथिलाको परिक्रमा गरौं । मिथिलालाई अचेल जनकपुरधामका नामबाट चिनिन्छ । यसका चारै दिशामा चार महादेव छन् । पूर्वमा जलेश्वर महादेव, पश्चिममा कपिलेश्वर महादेव, उत्तरमा क्षीरेश्वर महादेव र दक्षिणमा कल्याणेश्वर महादेव । यी महादेवहरूका लिंगका विषयमा नयाँ कुरा के छ भने प्रत्येकको शिरोभागमा रामपादुका खोपिएको छ ।

नेपालको राजनीतिक नक्सामा जनकपुर एउटा अञ्चलको नाम हो, जुन तराईबाट शुरु भएर गगनचुम्बी हिमालयको हदसम्म पुग्छ । धनुषा एक गाउँ पनि छ र जिल्ला पनि, जसअन्तर्गत जनकपुर नगरपालिका छ । जनकपुर अञ्चलको सदरमुकाम जलेश्वरमा छ । कपिलेश्वर पनि एउटा गाउँ हो । यी सबै आपसमा दुई–तीन कोसको दूरीमा छन् ।

करिब दुई–तीन वर्ष पहिलेसम्म काठमाडौंबाट जनकपुर आउन जानका लागि भारतीय भूभाग भएर जान आउनुपथ्र्यो । तर, अहिले रुसी र भारतीय सहयोगबाट निर्मित राजमार्गद्वारा सुगमतापूर्वक त्यहाँ पुग्न सकिन्छ ।

हो, जनकपुर र आसपासका निवासी पनि मैथिली बोल्छन् । यहाँसम्म कि मेरी नेवार हजुरआमा पनि मैथिली बोल्नुहुन्छ । मैथिली नेपालको दोस्रो सबैभन्दा धेरै बोलिने भाषा हो ।

जनकपुरको धरतीलाई स्वयं कमलाले सिञ्चित गरेकी हुन् । शायद यसैले पनि यहाँ अन्न खासगरी धान धेरै फल्छ । यहाँको चामल भारतका केरल, महाराष्ट्र आदि राज्यमा निर्यात हुँदै आएको छ ।

भारतका धेरै स्थानमा प्रचलित पञ्चक्रोशी यात्राझैं जनकपुरधामको यात्रा परिक्रमा राम मन्दिरबाट शुरु भएर जानकी मन्दिरमा गएर सकिन्छ, चारै दिशामा रहेका महादेवहरूको स्पर्श गर्दै ।

बाटोमा फूलबारी पनि आउँछ । शायद यो त्यही बाटो हो, जुन रामको जन्ती आउने समयमा थियो । (यो भन्नु ठीक होला कि यात्रामा जानुपूर्व गंगासागरमा स्नान गर्नुपर्छ ।)

हरेक विवाह पञ्चमीका दिन यही परम्परागत यात्रा रामको वरयात्राका रूपमा शुरु हुन्छ । यो यात्रामा म पनि पछिपछि हिँडिरहेको छु ।

रामलाई सुसज्जित घोडामा स्थापित गरिएको छ । जन्तीसँगै भक्तहरूको जुलुस पनि हिँडिरहेको छ । बाजागाजा पनि अगाडि–पछाडि छन् । बन्दुक पनि पड्काइएको छ । लोकनृत्य गर्नेहरूका टोली पनि छन् भने भजन गाउनेहरू पनि छन् । पटाका पड्काइरहेको पनि पाइन्छ भने साधु, सन्त र नटहरूको संख्या गणना गरिनसक्नुको छ ।

“राजा महाराजाहरूको समयमा जन्तीलाई केवडाको फूल वा गुलाफको जलमात्रै नभएर अत्तर पनि छर्किने काम हुन्थ्यो । त्यस किसिमको हंगामा अचेल कहाँ हुन्छ र ! अब त केवल परम्परा निभाउने काममात्रै हुँदै आएको छ,” एक पाका मानिस मलाई सुनाउँदै थिए ।

“केही अरू पनि सुनाउनुस् न !” मैले उनलाई आग्रह गरें ।

“यो जुन फूलबारी छ, यो वास्तवमा स्वर्गोद्यानजस्तै सजाइन्थ्यो । यसमा गौरीको एउटा मन्दिर पनि थियो । अब त उजाड भइसकेको छ । यो स्थानमा पछि कुनै कुँवरजीले मन्दिर बनाइदिए, जसलाई अचेल रामजानकी कुँवर मन्दिर भनिन्छ ।”

म हेर्छु, तुलसीको बोटको स–सानो फूलबारी छ । एउटा सानो छाप्रो पनि छ, अगाडि । अचानक छाप्रोभित्रबाट ५–६ जना सखीहरू निस्किए । सखी सम्प्रदाय !

“यी सखी हुन्,” ती पाका मानिस भन्छन्, “यी सखी सम्प्रदायका हुन्, जो आफूलाई जानकीजीको संगी मान्छन् ।”

अगाडि विशाल तलाउ देखिन्छ । तलाउमा निर्मल जलका स्थानमा लेउ लागेको हिले पानी छ । मनले प्रश्न गर्छ, “के यो त्यही पूण्य स्थान हो, जहाँ जनकनन्दिनी नित्य स्नान गरेर गौरीपुजन गर्थिन् ? के यो त्यही तलाउ हो, जहाँ कमल फुल्थ्यो ?”

“जन्ती बस्न व्यवस्था गरिएको जनबासामा जब जन्ती आउँथे, त्यसबेला सबैले भरपेट भोग प्रसाद पाउँथे,” ती पाका मानिसले मेरो ध्यान भंग गरे । मैले देखें— तिलक लगाएका एक पुजारी जनबासाअगाडि बसेर इलाइची र तुलसीको प्रसाद बाँड्दै थिए । कति चाउरिएको भोग प्रसाद पनि !

मेरा पाका गाइड फेरि भन्छन्, “जब सीताजीको बिदाइ हुन्थ्यो, त्यसबेला गाउने बिदाइ गीत सुनेर मानिस भक्कानिन्थे । बाल, वृद्ध, युवती सबै यसरी रुन्थे, मानौं तिनकै घरबाट कन्याको बिदाइ भइरहेको छ ! आखिर जानकी थिइन् त जनकपुरकै चेली ! जब जानकी मन्दिरबाट सीताजीको डोली निस्किन्थ्यो, त्यसैबेला मानिसहरूले डोलीलाई घेर्थे र त्यसमा उपहार चढाउन शुरु गर्थे...।”

म देख्दै थिएँ— भक्तजनहरू फूलमाला डोलीमा फ्याँकिरहेका थिए । र, डोलीलाई छोएर आफ्नो शीरमा छुँदै आँखामा लगाउँदै थिए । वास्तवमा त्यहाँ भावनाको उद्गार प्रशस्त थियो । निश्चय पनि परम्परा जीवित राख्ने काम हुँदै थियो ।

अचानक मेरो कानमा बिदाइ गीत सुनिन्छ—

‘बड रे जतन संय सियाजी के पोसली, से हो रघुवंशी ले ने जाय...’

अभिव्यक्तिको करुणस्वरका कारण मन द्रवित भयो । म फर्किएर ती पाका मानिसतिर हेर्छु । उनको पनि नयन सजल थियो । मैले यताउताका मानिसका आँखा पनि हेरें । ती पुराना विचार भएकाहरू पनि भरिएको नेत्रका साथ डोलीतर्फ निर्निमेष हेरिरहेका थिए । मानौं तिनीहरू आफ्नै छोरीलाई बिदा गर्दैछन् । बिस्तारै भीडको बीच हुँदै डोली राममन्दिरमा पुगेर आँखाबाट ओझेल हुन्छ ।

मेला सकियो, मानिस फर्किन थाले । जनकपुरको सडक एकपटक फेरि शून्य र सपाट देखिन थाल्यो । यदाकदा एक–दुई रसियन जिप धूलो उडाउँदै कुदेका देखिन्थे । केही टाढा रुसी सहयोगबाट निर्मित नेपालको सबैभन्दा विशालकाय चुरोट कारखानाको भोंपूको आवाज हावामा तैरिन्छ, जो इशारा गरेर भन्दै छ, “जाऊ, फर्किएर जाऊ आफ्नो देश । मेला सकियो । यो तीर्थस्थल अब औद्योगिक तीर्थ बनिरहेको छ ।”

हो । मेला सकियो । फर्किनु नै छ । मेरी हजुरआमा मेरो प्रतीक्षा गरिरहनुभएको होला । पाइला फर्किन उद्यत थियो तर मन मानिरहेको थिएन । मन भन्दै थियो, “अपना सियाजी के चमर डोलैबे, हम मिथिलामे रहबे !”

तर, म त्यति भाग्यशाली कहाँ छु र !

(धर्मयुग–अक्टोबर, १९७५ । श्रेष्ठको ‘देश देशान्तर’बाट अनुदित ।)
 

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  ०९:१२
प्रतिक्रिया दिनुहोस्