site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नयाँ सृजना लिएर शान्ति ठटाल पलेँटीमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ । यसका निम्ति दार्जिलिङबाट संगीतकार शान्ति ठटाल आफ्नो टीमका साथ काठमाडौं आइपुगेकी छिन् । उनले गान्तोकका आफ्ना दुई गायिका बिमला सेन्चुरी प्रधान र अंजली प्रधानलाई साथमा ल्याएकी छिन् ।
शान्ति ठटाल नेपाली संगीतका सबै विधामा क्रियाशील सफल संगीतकार हुन् । उनले फुटकर गीत बाहेक काव्य(संगीत अथवा क्यान्टटा, गीति नाटक, चलचित्र लगायत विविध विधामा सफलता प्राप्त गरेकी छिन् । 

शान्ति ठटालका साथमा पलेँटीमा सहभागी हुन आएका बिमला सेन्चुरी प्रधान र अंजली प्रधान संगीतकार शान्ति ठालकै सानिध्यमा रहेर निखारिएका कण्ठ सिल्पी हुन् । बिमला सेन्चुरीले गाएको चलचित्र ‘बाँच्न चाहनेहरू’ का गीत ‘नयाँ नयाँ घामको किरण’ र ‘मिठो मिठो तिम्रो साथ मिठो’ सर्वकालिक गीतहरूको पङ्तिमा पर्दछन् । ठटालकै संगीतका ती गीत अहिले सुन्दा पनि उत्तिकै आकर्षक र मनमोहक छन् ।
सन् २००५ मा थालिएको पलेँटीको मञ्चमा शान्ति ठटालले यस अघि पनि बेलाबखत आफ्ना सृजना प्रस्तुत गर्दै आएकी छिन् । 
उनले सन् २००६ को पलेँटी मार्फत् आफ्नो जीवनकै पहिलो एकल गायन प्रस्तुत गरेकी थिइन् । पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ ।
“पलेँटी मार्फत् शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो । उहाँको सृजनशीलताले सँधै क्रियाशील हुन प्रेरित गर्छ । आठ दशक पार गरिसक्नु भएको शान्ति दिदीको सृजनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्छ,” पलेँटी संयोजक आभासले भने ।
यही महिनाको १७ गते शुरु हुने शान्ति ठटालसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । पलेँटी शान्ति ठटालसँगको सांगीतिक यात्रामा आधारित हुनेछ । कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले शान्ति ठटालसँगको संगतका सन्दर्भ सहित आफ्ना सम्झना सुनाउँदै ठटालसँग अन्तर सम्वाद पनि गर्नेछन् ।
“मैले शान्ति दिदीलाई सन् १९९४ मा पहिलोखेप भेटेको हुँ । त्यसयता कैयौंखेप उहाँसँग सांगीतिक, साहित्यिक र सामाजिक विषयमा विचार विमर्श भए । उहाँमा मैले कहिल्यै नकारात्मक सोचको झल्को समेत पाएको छैन । त्यही सकारात्मक भावको आभा यसपालीको पलेँटीमा पनि फैलने छ,” शान्ति ठटाल बारे आभासको थप टिप्पणी थियो । 
पलेँटी निम्ति गीत छनोट गरिरहेकी संगीतकार ठटाललाई यसपालीको आगमनका बारे सोध्दा भनिन् “म यसभन्दा पहिले पनि धेरै खेप पलेँटी कार्यक्रममा संलग्न भइसकेकी हुँ । तर म जति खेप यहाँ आउँछु हरेकखेप नयाँ सांगीतिक उर्जा भेट्छु । आफ्नो उमेर पनि बिर्सन्छु । जाँगर बढ्छ । पलेँटी त मलाई आफ्नै घरको बैठक जस्तो पो लाग्छ ।”
कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुने पलेँटीमा शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।
शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।
कार्यक्रममा सहभागी हुनका निम्ति अनलाइन, फोन र ईमेलबाट टिकेट बुक गर्ने सुविधा रहेको जानकारी प्राप्त भएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १५:२०
प्रतिक्रिया दिनुहोस्