काठमाडौं । नेपाली चलचित्रको इतिहास आधा शताब्धी लामो भए पनि विषयमा विविधता भने त्यती धेरै देखिँदैन । लभ स्टोरी र कमेडीमै नेपाली चलचित्रको विषय रुमलिएको देखिन्छ । एक्सनमा केही चलचित्र बने पनि संख्या निकै न्यून रहेको र त्यसलाई पनि कमेडीले प्रतिस्थापन गर्दै गएको चलचित्र निर्माता तथा निर्देशकहरुले बताउँदै आएका छन् ।
लभ स्टोरी र कमेडीलाई मुख्य विषय बनाएर निर्माण गरिएका चलचित्रले पनि राम्रोसँग विषयवस्तुलाई प्रस्तुत गर्न नसकेको स्वयम् निर्माता तथा निर्देशकहरु नै स्वीकार गर्छन् । “लभ स्टोरी चलचित्रले स्क्रिनमा देखिने कलाकार र लेखकको मात्रै मन छोएर हुँदैन, त्यसले दर्शकको पनि 'हर्ट ब्रेक' गर्न सक्नुपर्छ । दर्शकको 'हर्ट ब्रेक' गरेको नेपाली लभ स्टोरी मुभी कुन हो ?,” चलचित्र लेखक तथा निर्देशक नरेशकुमार केसी भन्छन्, "मेरो सम्झनामा त्यस्तो कुनै चलचित्र छैन । ह्युमन रिलेशनसिपमा इमोशन बेच्ने हो । हररमा फियर बेच्ने हो । मिस्ट्रि सस्पेन्समा नयाँ तथ्य खोल्ने हो । तर त्यो हाम्रा चलचित्रमा छैन ।”
नेपाली लभस्टोरी चलचित्रमा मिलन र विछोडका दृश्य समान्य हुने गरेको, केमेडीका नाममा अरुलाई होच्याएर अथवा अपमान गरेर हसाउँने गरिएको केसी बताउँछन् । उनी भन्छन्, “कमेडी भनेको 'सिचुएशनल' हुनुपर्छ । अरुको अपमान गरेर हसाउँने होइन । मोटो ज्यानको व्यक्तिलाई देखाएर हसाउँने हैन ।”
चलचित्रको विषयमा विविधता ल्याउन चलचित्रकर्मीमा विषयको खोज र धैर्यता हुनुपर्ने चलचित्र निर्देशक तथा लेखक दीपेन्द्र के खनाल बताउँछन् । नयाँ विषयका लागि लामो समय लगाएर अनुसन्धान गर्नुपर्ने र त्यसका लागि समयसँगै बजेट पनि आवश्यक पर्ने भएकाले पालमा त्यसतर्फ चलचित्रकर्मी नलागेको उनको भनाइ छ ।
“अनुसन्धान गर्नका लागि समय र बजेट भएर मात्रै पनि हुँदैन । मेहनत पनि चाहिन्छ । त्यो मेहनत गर्ने बानी हामीसँग छैन,” खनाल भन्छन्, “यहाँ सबैलाई आज चलचित्र बनाएर भोली चलाउनु पर्ने हतारो छ । नयाँ कुरा निकाल्नका लागि समय चाहिन्छ । तर हामीमा आज बनाएर भोली चलाउने हतारोले नै सबै कुरा बिगारिरहेको छ ।”
कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा चलेकै कुरालाई पछ्याउने प्रवृत्तिकै कारण लगातार एउटै विषय र जानरमा चलचित्र बनिरहेको बताउँछन् । केही केमडी चलचित्र चलेकै कारण सबै त्यसमै केन्द्रित भएका र विषयमा विविधता आउन नसकेको उनको भनाई छ ।
“नेपालमा हास्य टेलिश्रृखंला सबैभन्दा धेरै मन पराइयो । कुनै समय तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोलजस्ता हास्य टेलिचलचित्रको टीआरपी सबैभन्दा उच्च थियो-छ,” शर्मा भन्छन्, “कुनै समय तीतो सत्यमा बज्ने विज्ञापन नेपालकै सबैभन्दा महँगो थियो । दीपकराज गिरी, दीपाश्री निरौला र मसहितको टोलली वडा नम्बर ६, छ एकान ६, छक्का पञ्जा बनायौं । त्यही चलचित्र चल्यो । बिना स्टार र चलचित्रका कलाकार बिना नै निर्माण गरिएको चलचित्र हिट भयो । यस्तै कुराले सायद विषयवस्तु निर्धारण गर्दै गयो ।”
नेपालमा पाइलापाइलामा चलचित्रका कथा रहेको उनी बताउँछन् । “भूकम्प गयो । हजारौं नेपाली नागरिकको मृत्यु भयो । लाखौं नागरिक अङ्गभङ्ग भए । त्यसलगत्तै भारतले त्यती लामो नाकाबन्दी गर्यो । जग्गा प्लटिङ र त्यसले पारेको प्रभावका विषय छन् । राजनीतिक उतारचढावका विषय अलपत्र छन्,” केसी भन्छन्, “एक साता माइक्रो चढे नयाँ कथा भेटिन्छ । अस्पताल भए नयाँ कथा देखिन्छ । गाउँ गए नयाँ-नयाँ कथा आउँछ । तर आजसम्म आएकै छैन ।”
पछिल्लो केही समय यता नेपाली चलचित्र उद्योगमा कमेडीमा केन्द्रित रहेर चलचित्र बनिरहेका छन् । राजनीतिक, समाजिक, आर्थिकलगायत विषय नेपाली चलचित्रले उठाउन सकेका छैनन् । चलचित्र ‘लुट’पछि केही चलचित्र फरक विषय र भिन्न स्टोरी टेलिङ लिएर देखिए पनि त्यसको संख्या निकै न्यून छ ।