site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जीवन प्रसाईको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक

काठमाडौं । हाम्रो स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ को शुक्रबार विमोचन भएको छ । पब्लिकेशन्स नेपालयको आर शालामा लेखक प्रसाईले आफ्नो पुस्तक पर्यावरण र संस्कृतिका प्रखर विद्वान डा. तीर्थबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेर विधिवत् सार्वजनिक भएको घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्दै श्रेष्ठले हाम्रै जीवन, जगत र पाइतालाको संसारसँग यसको सम्वन्ध रहेको उल्लेख गरे । “पृथ्वीभरिका जीवात्माहरुको आहाराको मूल श्रोत हरियालीको कुरा उठाएर पुस्तक अघि बढेको छ,” वनस्पतिविद् श्रेष्ठले भने, “त्यसपछि हरियालीलाई यो किताबकै चुरो अर्थात् हाम्रो खानपीनसँग जोड्ने काम गरिएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी सबैले मानिआएको सर्वोपरि कुरालाई नै टेकेर पुस्तक तयार भएको जानकारी श्रेष्ठले दिए । लेखक सम्वन्धित विषयकै विज्ञ भएकाले उनले लेखेका कुराहरुको ‘रेफरेन्स’ समेत यसमा रहेको श्रेष्ठले बताए ।

प्रसाई अमेरिकामा स्वास्थ्य सम्वन्धि विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् । उनले दुई दशकभन्दा बढि समय देखी जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सर लगायत जीर्ण रोगहरुको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । 

उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँग समेत आबद्धता छ । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरुमा प्रकाशित छन् । प्रसाईले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन् ।

“विज्ञान र प्रविधिको किताब हुँदाहुँदै पनि लेखकको चित्रण गर्ने शैलीले मलाइ उपन्यास पढेजस्तै अनुभव भयो,” श्रेष्ठले थपे, “अनि अरु उपन्यास जस्तो पढेपछि फ्याँक्ने भन्दा पनि दराजमा थपक्क राख्ने किताबको रुपमा मैले यसलाई पाएको छु ।” आधुनिक जीवनशैलीले हामीलाई बदल्दै लगे पनि हाम्रा वरपरको वातावरण र परम्परागत मान्यताहरु पनि उत्तिकै जरुरी छ भनेर यो पुस्तक लेख्न उत्साहित भएको लेखक प्रसाईले बताए । 

“जैविक विविधताले हामी यति सम्पन्न छौं कि हाम्रा निम्ति अत्यन्त महत्वपूर्ण चिजहरु हाम्रै वरिपरि छन्,” प्रसाईले भने, “त्यो महत्व बुझाउनकै निम्ति यो पुस्तक तयार पारेको हुँ ।”

संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेशन नेपालय मार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुइवटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ दिइसकेका छन् ।
पब्लिकेशन्स नेपालयको यो ४६ औं पुस्तक हो ।
 

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १९:२४
प्रतिक्रिया दिनुहोस्