
– सलमान खान
बलिउडका ‘दबंग’ सलमान खानलाई दर्शकले कहिले आक्रोशका कारण, कहिले प्रेमिकाका कारण, कहिले अदालतका कारण त धेरैजसो स्टारडमका कारण चिन्छन् । थोरै मानिसलाई मात्रै थाहा छ— उनी आमा (सलमा खान)का पुल्पुलिएका छोरा हुन् । नजिकबाट चिन्नेले उनलाई ‘मामाज् बोय’ भन्छन् । ‘नवभारत टाइम्स’ले आमा–छोरा दुवैको एक–अर्काप्रतिको धारणा बुझ्ने प्रयास गरेको छ । प्रस्तुत छ, अनुदित अंश—
सलमान खान
पहिले आमाले आफ्नै हातले दाल–भात खुवाउनुहुन्थ्यो । उहाँले खुवाउन छाडेदेखि मैले पहेंलो दाल खानै छाडिदिएँ । आमाले घरमा हामी सबै छोराछोरीसँग चोर–पुलिस खेल खेल्नुहुन्थ्यो । बुवा (सलिम खान)ले भने सधैं अनुशासन कायम राख्नुहुन्थ्यो । उहाँले पत्रिकालाई मुठो बनाएर लठ्ठीजस्तो बनाउँदै हामीलाई हकार्नुहुन्थ्यो । डरले हाम्रो पिसाब निस्किन्थ्यो । बुवाले पनि आमाजस्तै पुल्पुल्याउनुभएको भए हामीलाई कसले सम्हाल्थ्यो ?
आमाले हामी सबै छोराछोरीलाई एकदमै राम्ररी सम्हाल्नुभयो । उहाँ बलियी हुनुहुन्छ । जिन्दगीमा धेरै उतारचढाव पनि देख्नुभएको छ । अचेल उहाँले तौल घटाउनुभएको छ । भगवानको कृपाले असाध्यै राम्री देखिनुहुन्छ ।
आमा र बुवाले मेरो कारण धेरै दुःख खेप्नुभएको छ । खुशी पनि देख्नुभएको छ । मेरो जिन्दगीमा आएका हरेक उतारचढावले उहाँहरूलाई उत्तिकै असर पारेका छन् । खासगरी आमालाई । मैले भोगेका उल्झनको चिन्ताले उहाँ समयभन्दा छिटो बूढी भइरहनुभएको छ ।
मभित्र यस्ता सबै कुरा छन्, जसलाई लिएर तपाईंहरू मलाई ‘मामाज बोय’ भन्न सक्नुहुन्छ । एकपटक मलाई प्रियले सोधिन्, “यदि म र तपाईंकी आमा बसेको डुंगा डुब्न लागेको छ भने त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?”
मैले भनें, “म पत्नी त अर्की पाउन सक्छु, आमा कहाँबाट ल्याउन सक्छु ?”
आमाले अझै पनि हामी तीनै भाइलाई आफ्नै हातले खाना पकाएर सेटमा पठाइदिनुहुन्छ । यति धेरै पठाइदिनुहुन्छ कि ३०–३५ जनालाई नै पुग्छ ।
आमालाई सानै भए पनि चोटपटक लाग्दा मलाई असाध्यै पीडा हुन्छ । केही वर्षपहिले उहाँ भ¥याङबाट लड्नुभएको थियो । त्यो देखेपछि घरमा काम गर्ने एकजना भाइले तुरुन्तै बुवालाई बोलाएछन् । बुवालाई देखेपछि आमाले चिच्याएर भन्नुभएछ, “म लडें, उठाउन आउनुस् ।”
आमालाई देखेर बुवाले भन्नुभएछ, “यार, तिमी लड्यौ भने मलाई हार्टअट्याक हुन्छ । मैले उठाएर तिमी त बाँचौली, मचाहिँ बाँच्दिनँ ।” बुवाको सेन्स अफ ह्युमर गजब छ ।
आमाको प्रेम एकातिर छ, सजाय अर्कातिर । उहाँले खुब पिट्नुहुन्थ्यो । अहिले पनि पिट्नुहुन्छ । एकसुरो भएर बसिरहेका बेला कताबाट हातको वर्षा हुन्छ, पत्तै हुँदैन । त्यसपछि म भन्छु, “आमा, म त ठूलो भइसकें । अब त नपिट्नुस् ।” उहाँले सुने पो । आज पनि मलाई बेल्नाले हिर्काउनुहुन्छ ।
सलमा खान
सलमानले गाडी चलाउँदा मलाई ऊसँग हिँड्न मन लाग्दैन । उसलाई ट्राफिक मन पर्दैन । त्यसैले जताबाट पनि गाडी घुमाएर निस्किने कोसिस गर्छ ।
(आमाको यस्तो कुरा सुनेपछि सलमानले भने, “अहिले ममाथि कार दुर्घटनासम्बन्धी मुद्दा चलिरहेको छ । तपाईंले यस्तो कुरा गर्नुभयो भने राम्रो हुँदैन । आमा जसको गाडीमा बसे पनि डराउनुहुन्छ । प्रार्थना गर्न थालिहाल्नुहुन्छ ।”
त्यसपछि सलमाले भनिन्, “मलाई मर्नुसँग डर छैन । मलाई डर लाग्छ— आधा, अपूरो जीवनको । केही गरी हातखुट्टा भाँचिए भने ? त्यही कारण म प्रार्थना गर्छु ।”)
मलाई सलमानको धेरै चिन्ता रहन्छ । ऊ मेरो सबैभन्दा प्रिय पनि हो । उसलाई म त्यतिबेलासम्म ख्याल राख्छु, जबसम्म उसको बिहे हुँदैन । बिहेपछि कोही आउला उसको ख्याल गर्ने । उसले त मेरो हातबाट थुप्रै झापु खान्थ्यो, आजकल पनि खान्छ । त्यसरी सम्हालेको यो छोरोलाई अब प्रेमले सम्हालिदिने कोही आइदिए हुन्थ्यो !
उसका सबै गर्लफ्रेन्ड राम्रा थिए । यो फरक कुरा हो कि कोही पनि यसको भाग्यमा रहेनन् । यसमा कसको के जोर चलोस् ! केटी फ्यान पनि धेरै आउँछन्, मरिहत्ते गर्छन् । उनीहरूलाई पनि खुबै ‘ट्याकल’ गर्नुपर्छ । तर, जोसँग बिहे गरे पनि सलमान असाध्यै राम्रो लोग्ने र सबैभन्दा राम्रो बाउ बन्नेछ । अरबाज र सोहेलका छोराछोरी पनि सलमानतिर बढी लहसिन्छन् । उनीहरूको प्रिय हो सलमान । त्यसैले ऊ बाँकी जीवन सुखी भएर बाँचोस् भन्ने लागिरहन्छ ।
ऊ जेल गएको दिन म कहिल्यै बिर्सिन्नँ । पछि आर्थर रोडको जेल पनि गएँ । मलाई भेट्ने अनुमति थियो । त्यो समय मेरो लागि अत्यन्त मुश्किल थियो । ऊ जेल जाने खबरले म बिरामी भएँ । मलाई अस्पतालमा भर्ना पनि गरियो ।