site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविताको देशमा ‘अनुहारको भीड’

– भरत ढुंगाना


जब समाधिस्त हुन्छ मन, अक्षरहरूको सरोवरमा संसारलाई बिर्सिदिन्छन् आँखा । समयको सुर–ताल हराउँछ कतै, तब प्रवेश गर्छु काव्यका धूनहरूमा, जहाँ बज्छन् यसरी ती धूनहरू—

‘ढुंगा त्यतिखेर सुन्दर हुन्छ, जब ढुंगा हुन्छ ।
जब–जब ढुंगालाई रहर हुन्छ—
ढुंगा पहाड हुन्छ
लेउसँग प्रेम गर्छ
र माटो बनाउँछ
हामीलाई धरातल दिन्छ ।’

(कवि रसिक राज)

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटिन्छन् अनि छुटिन्छन् मान्छेहरू । जोडिन्छन् अनि टुट्छन् आस्थाहरू । यो एउटा लय हो समयको । फरक तालमा फरक लय भेट्छु । तालहरू सुन्दर लागे खेलिबस्छु तिनीहरूसँगै । मान्छेजस्तै सजीव लाग्छन् मलाई किताबहरू । र, ती किताबहरू पनि मान्छे जसरी नै बस्छन् मनमा । कोही बसिरहन्छन् आत्मीय बनेर अनन्तकालसम्म, कोही छुटिजान्छन् चाँडै । त्यसमा पनि कुनै–कुनै पुस्तकलाई त रंग्याउन मन लाग्छ भावनाले । यही आदर्श निर्मित भयो, जब पढी सिध्याँए ‘अनुहारको भीड’ ।

‘अनुहारको भीड’ यो समयको सत्य आवाज हो, अस्तित्वको खोजमा एक स्वतन्त्र बोली । र, हो एउटा भिन्न–भिन्न आवाजहरूको समिश्रण पनि । मान्छे र मानवता, प्रेम र जीवन, आस्था र विश्वास, समाज र राजनीति— एक समग्रताको सम्मिलन यस पुस्तकमा निहित एउटा पाटो । खासमा यो पुस्तक हामीले आज भोगिराखेको समयको काव्यिक विश्लेषण हो ।

व्यवस्था फेरियो आज आवरणमा, कानुन फेरियो आज आदर्शमा, व्यक्ति फेरियो आज अनुहारमा तर वास्तविकता उही पुरानो । नत्र किन आउँछन् नयाँ भनिएको शासन व्यवस्थामा यस्ता आवाजहरू ?

‘छाउगोठमा बलिरहेको तर निभ्नै लागेको टुकीजस्तै
जिन्दगी
आफ्नो अस्तित्व निभ्न नदिन
आफ्नै छातीले छोपेर बचाइरहेकी थिएँ
तर गोठसँगै जलाइएँ छिमेकी काकाको हातबाट
र त्यहीँबाट निस्केकी हुँ
स्वाभिमानको राप बोकेर’

(कवि जयन्ती सरगम)

शायद उसैगरी निदाएका छन् शासकहरू सत्ताको मादकतामा आज पनि ।

हुन सक्छ— देशप्रतिको प्रेम हामी सबैको उस्तै तर कोही यदि देशभित्रै देशहीन बनाइन्छ भने आफूले माया गरेको देशको स्वामित्व माग्नु कुनै अपराध हुँदैन । यस अर्थमा देशको खोजी पनि यो पुस्तकले गरेको छ । त्यतिमात्रै होइन, यहाँ सम्मिलित १७ कविका आ–आफ्नै निजत्व र मौलिकता पनि सुन्दर ढंगले शब्दपथ बनेका छन् ।

एकातिर आफ्नै आदर्शको खोजी, अर्कातिर राज्यको बेइमानीका उपर आवाज बुलन्द पार्नु साथै जीवन भोगाइ र नियतिका कथाहरू पनि यो पुस्तकका विषयवस्तु बनेका छन् । अनि छुटेको छैन प्रेमिल धूनहरूको झंकार पनि ।

अनुभूतिका विभिन्न तहमा ‘अनुहारको भीड’ भिन्नाभिन्नै रूपमा देखा पर्छ । एकातिर व्यक्तिको आदर्श, अर्कातिर समाज र जीवन भोगाइ । कविताहरू पढ्दै जाँदा कुनै–कुनै बेला विरोधाभास र एउटै कविता दोहो¥याएर पढिरहेको भान पनि पटक–पटक हुने गर्छ । हुन सक्छ— धेरै कविहरूका विभिन्न दृष्टिमा आधारित भएर लेखिएका कवितालाई एकै ठाउँमा राख्दा यस्तो भएको हो ।

समाज, राजनीति, मानवता र प्रेम सबै दृष्टिका कविता यो कृतिमा अटाएका छन् । त्यसैअनुरूप मानवता, प्रेम र जीवनको अस्तित्व सबै कुराको स्वरूप अटाउन सफल केही हरफहरू—

उसले–
ढुंगालाई माया गर्न थालेदेखि हो
लाग्न छाडेको– ठेस
काँडालाई माया गर्न थालेदेखि हो
फुल्न थालेको– गुलाफ
या भनौं स्वतन्त्रतालाई माया गर्न थालेदेखि हो
बल्न थालेको– चेतना’

(कवि नवीन प्यासी)

समय, सत्ता र ढोङमा कसरी अल्झिरहेछ मान्छे ? समाजले नसमाउँदा पनि हुने कुराहरूलाई कसरी समाइरहेको छ ? कति घातक छ अति पुरातन दृष्टि र अति आधुनिकता ? कविताका थोरै हरफहरूमै सुन्दर ढंगले प्रस्तुत गरिएको एउटा कविताको अंश—

‘कागजको छातीमा राजमार्ग बनाएर
अक्षरहरूले महायात्रा गरेपछि मात्रै
कागज बाइबल बन्यो
कागज कुरान बन्यो
कागज त्रिपिटक बन्यो
कागज गीता, पुराण र महाभारत बन्यो
आज यिनै कागजहरूको थुप्रोलाई ढोगेपछि
मान्छे इसाई बन्छ
मान्छे इस्लाम बन्छ
मान्छे बौद्घ बन्छ
मान्छे हिन्दू बन्छ
र मान्छे भुल्दछ मान्छे बन्न’

(कवि सुरज राना)

गैरजिम्मेवार राज्य र त्यसका शासकहरूको अविवेक लाचारी र स्वार्थ प्रवृत्तिको सटिक चित्रण गर्ने खालका विभिन्न कविता पनि यो पुस्तकमा पढ्न पाइन्छ । तीमध्ये एउटा सटिक उदाहरण—

‘बरु
शहरका होर्डिङ बोर्डहरूले समातेका छन् जिम्मेवारी !
कसैले पक्की पुल बनाउँछु भनेका छन्
कसैले बताउँछन् सडकबाटो राम्रो बनाउँछु भनेर
केही होर्डिङ बोर्डले शिक्षाको अवसर दिने भन्छन्
केहीले यहीँ रोजगारीको व्यवस्था देखाउँछन् !
केही होर्डिङ बोर्डले
सुरक्षित विदेश आवतजावतको ठोकुवा गरेका छन्
केहीले त ‘हामी बनाउँछौ देश’ सम्म भन्छन्
मानिस आफ्नो सुरमा हिँडिरहेछ
देशलाई होर्डिङ बोर्डको जिम्मामा छोडेर ।’

(कवि शिखर भट्ट)

आजको समयसँग जीवनको अस्तित्व र प्रेमको खोजी गर्छन् कवि (शरद ऋतु), जसका काव्यिक लाइनहरू यस्ता हुन्छन्—

‘प्रिय
थाहा छ मलाई
मानवीय प्रेम सबैभन्दा सुन्दर कुरा हो
र यो पनि थाहा छ
सबैभन्दा सुन्दर कुराहरू फस्टाउनका लागि
यो दुनियाँको सबैभन्दा श्रमशील वर्गले
सबैभन्दा कठोर परिश्रम गरेको हुन्छ’

(कवि शरद ऋतु)

साना तर समृद्व हरफहरू आफैंमा पूर्ण कविताझैं लाग्छन्, जुन कुराको यथार्थ यस्तै हरफहरूले पुष्टि गर्छन् ।

भावहरू उम्रने बारी मान्छेको हृदय, शब्दहरू खेल्ने भूगोल मनको देश र फुल्न आइपुग्छन् कागजका गमलाहरूमा । गमलाको रंगिबिरंगी फूलझैं यो पुस्तकका कविता मानव अस्तित्वका विभिन्न बान्कीहरूका साथ पाठकका हातमा आइपुगेको छ ।

संसार एउटा भीडको नाम हो र त्यस भीडमा आफ्नो अस्तित्वको खोजी गर्न, आफ्ना आदर्शलाई दुनियासामु पस्किन कविहरू आतुर देखिन्छन् । आतुरतामा केही कमजोरीहरू पनि हुन सक्छन् । अर्थात् एउटै कृतिमा त्यो पनि कविताहरू एकसाथ आएका त छन् तर कति कविताहरू एकै स्वादका र पटक–पटक पढ्नु पर्दा कताकति दिग्दारी पनि पैदा हुन्छ, जसलाई मैले यो किसिमको अभ्यासमा एउटा कमजोरीको रूपमा लिएको छु । खैर, दुर्बलभन्दा सबल पक्षको नै बाहुल्य रहेको यो कृतिमा अरू कविताहरू पनि समाहित छन् ।

कवि सम्पदा रिजाल आफ्ना काव्यिक अनुभूतिमार्फत् समाजमा मौलाउँदै गएको भ्रुण हत्या, त्यो पनि छोरी जन्मिने अवस्था आएपछि गर्ने नारी हिंसाको भयानक र विकृत सामाजिक कुरीतिको विरुद्घ लेख्छिन् ‘भ्रुणको आत्मकथा’ । सजाजमा आज पनि व्याप्त अभावको चित्रण गर्न लेख्छिन् ‘भोकको चिठी’ ।

यो दुनियाका एक–एक मान्छे आफ्नै अस्तित्वमा बाँच्न चाहन्छ । अघिल्लो वाक्य पढ्न सजिलो छ तर तात्विक रूपमा हेर्ने हो भने यो एक विराटताको सूचक हो । यस्तै विराट दुनियाको आदर्शस्वरूप निर्माण गर्छन् कवि अनमोल कँडेल आफ्ना कवितामा । दार्शनिक भूगोलमा शब्दसयर गर्न सिपालु कवि अनमोल वास्तवमै कविता पनि सुन्दर लेख्छन् । आजको सभ्य भनिने समाजले अस्वीकार गरेका विम्बलाई पनि कवितामा पत्यारिलो बनाएर उभ्याउँछन् अनमोल, जसको उदाहरण ‘मुर्कुट्टा’ कवितालाई लिन सकिन्छ ।

समाज र राजनीतिलाई विषयवस्तु बनाएर कविता पस्कन्छन् कवि ‘अर्पन उत्कर्ष’ । उनका कविताले बोल्ने भाषा राजनीतिमा निहित बेथितिका विरुद्घमा रहन्छन्, जसको उदाहरण ‘सिंहदरबार’ र ‘क्रान्ति नायक’ हुन् ।‘अनुहारको भीड’ कविता संग्रहमा अटाउन सफल अर्का कवि हुन् ‘मनोज विश्वकर्मा’, जो मानव जीवन, प्रेम र जीवनका नियतिहरूलाई आत्मसात गर्दै कविता लेख्छन् । ‘भगवान्’ र ‘सतीदेवीलाई चिठ्ठी’ले उठाउने सवाल भनेको समाजमा आजपर्यन्त विद्यमान विभिन्न कुरीति र प्रेममाथि हेरिने सामाजिक दृष्टिका विरुद्घ प्र्रकट मतलाई लिन सकिन्छ ।

समयानुकूल समाज, सत्ता र मान्छे सबै परिवर्तनलाई आत्मसात गर्दै अघि जानुपर्ने कुरा काव्यिक मतका रूपमा उठान गर्ने कवि हुन् ‘निर्भीकजंग रायमाझी’ । ‘कालो अबिर’ र ‘औजार’ मलाई सुन्दर लागेका कविता हुन् ।

एउटा भूगोल छ कविताको, एउटा देश छ कविताको । जो सुन्दर लाग्छ मलाई । जो हुन्छ मेरो लागि स्वच्छन्द । जहाँ जीवित हुन्छ आकाशको झैं निर्मलता सधैं । शायद कविता पढ्नु त्यही निर्मलतामा सयर गर्नु हो र खोज्नु हो नयाँ आदर्श । यसै मेसोमा यो संग्रहलाई सुन्दर बनाउने बाँकी कवि नामहरूमा कवि विवश बाबु, विनय सरगम, बिस्नु संन्यास, जनक कार्की र मनोज मुस्किल । यी कविले पनि आजको समयलाई कविताका माध्यमबाट अत्यन्तै सूक्ष्म रूपबाट नियालिराखेका छन् भन्ने कुरा यिनका कविता पढेपछि थाहा हुन्छ ।

समग्रमा—

‘अनुहारको भीड’ युवाहरूको प्रतिनिधि तर वास्तविक आवाज, युवाहरूको काव्यिक तर बुलन्द र विद्रोही बोली, निराशाको विपरीत आशा र विश्वास, अनास्था र घृणाका विपरीत आस्था र प्रेम आदि–इत्यादि सबल पक्षहरूका साथ हामीमाझ आएको छ । यसका लागि प्रकाशक, सम्पादक र सम्पूर्ण कविमा हार्दिक बधाइ !
 

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  ०७:२७
प्रतिक्रिया दिनुहोस्