site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगरा मेडिकल कलेजमा चिनियाँ बाबु भन्थे
SkywellSkywell

उनको रुची इन्जिनियरिङमा थियो । त्यसैले पनि घरमा खत्र्याकखुत्रुक गरिरहन्थे । कहिलेकाहीँ त साइकल बिगारेर फेरि त्यही बिग्रेको साइकल कसकास पार्थे । यस्तै अरु काममा पनि उनी लागिरहन्थे ।
अर्थात् प्रविधिले उनको ध्यान तानेको थियो । यसै कारण पनि उनको रुची इन्जिनियरिङतर्फ रह्यो । आईएससी पढ्दै गर्दादेखिको उनको यो रुची मौलाउँदो थियो । आईएससी सक्याएपछि उनले बनारसबाट इन्जिनियरिङ पढ्नका लागि फर्म पनि मगाएका थिए । त्यसबेला बनारसमा इन्जिनियरिङ पढ्न जाने चलन खुबै थियो । 

उनले आफ्ना पिताजीलाई आफूले इन्जिनियरिङ पढ्ने विचार गरेको सुनाए । उनी पिताजीबाट “ग्रीन सिग्नल” चाहन्थे, सायद । उनले पिताजीको मुहार हेरेरै पिताजी इन्जिनियरको पढाइका लागि अनिच्छुक रहेको अनुभूत गरे । उनका पिताजीले मेडिकल पढ्नमा जोड दिए ।

मंगलबार दिउँसो बखुण्डोलस्थित निवासमा कुरा गर्दै वरिष्ठ शल्यचिकित्सक प्रा.डा. विश्वराज दली (८०) ले पिताजीको इच्छा सुनाए । उनी भन्दैथिए, “खासमा मेरो बाको नै इच्छा थियो मेडिकल पढ्ने । बाको पढाइ राम्रो थियो । राम्रो नम्बर ल्याएर पास गर्नुभएको थियो । त्यसबेला मृृगेन्द्र शमशेरले बालाई कलकत्तामा मेडिकल पढ्ने व्यवस्था मिलाएका थिए । तर बाले घरेलु कारणले केही दिन पछिमात्रै कलकत्ता जान्छु भन्नु भयो र एक हप्ता ढिलो भयो । त्यहीबीचमा यस्तो अवस्था सिर्जना भयो कि बाले पाउनु भएको मेडिकलको सीट अरुको भागमा पर्ने गरि खोसियो । बाले मेडिकल पढ्न पाउनु भएन ।”

KFC Island Ad
NIC Asia

दलीका अनुसार उनका पिताजीलाई मृगेन्द्र शमशेरले फकाए । “तिम्रो साइन्स राम्रो छ । तिमीले अनुसन्धानमा लाग्नु पर्छ । एमएससी गर ।” डा. दलीका पिताजीले पनि नाई भन्न सकेनन् । सायद आफूले पढ्न नसकेको विषय छोराले पढिदिए हुन्थ्यो भन्ने चाहना डा दलीको पिताजीमा थियो । त्यसैले पनि पिताजीको इच्छाका अगाडि उनले घुँडो टेके ।

डा. दलीका अनुसार उनका पिताजी शेषराज दलीका साथी डा. रघुबर बैद्य नै गएका थिए, उनको ठाउँमा मेडिकल पढ्न । त्यस पछि उनका पिताजीले एमएससी टेक गरे । आइएससीमा पनि प्रथम श्रेणीमा पास भएका विश्वराज दलीले मेडिकलका लागि शिक्षा विभागमा आवेदन दिए । पढाई राम्रो भएकोले उनी आशावादी पनि थिए ।

Royal Enfield Island Ad

अन्ततः उनको नाम निस्कियो एमबीबीएस पढ्नका लागि । कोलम्बो प्लान अन्तरगत छात्रवृत्तिमा उनी आगरा मेडिकल कलेजका लागि छानिए । आगराका लागि नाम निस्कँदा उनी पहिले त खिस्रिक्क भए । उनको चाहना दिल्ली वा कलकत्ताको मेडिकल कलेजमा गएर पढ्ने थियो । 

तर, जब उनी आगरा पुगे त्यसबेला थाहा पाए त्यो मेडिकल कलेज त एक सय पचास वर्ष पुरानो रहेछ । त्यस पछि उनी ढुक्क भए । त्यसबेला महिनाको १ सय ५० रुपैयाँ छात्रवृत्ति आफूले पाउने गरेको उनी बताउँदै थिए । 

विश्वराज दली आगरा गएर मेडिकल कलेजमा ज्वाइन भए । जाना साथै होस्टल पनि पाए तर होस्टल र कलेजका बीचमा दुई माइलको दूरी थियो । सँधै रिक्सामा आउजाउ गर्न पनि गाह्रो थियो । त्यसैले उनले साइकल किन्ने विचार गरे । र पिताजीलाई साइकल किन्नु पर्यो । पैसा चाहियो भनेर खबर गरे ।

उनी हाँस्दै भन्छन्, “मैले बासँग लिएको पैसा भनेको त्यति मात्रै हो साइकल किन्नका लागि । बाले पनि एक डेढ सय रुपैयाँ जति पठाई दिनु भएको थियो । त्यही पैसाले एउटा साइकल किनँे ।” 
यही साइकल डा. विश्वराज दलीको एमबीबीएसको पाँच वर्षे पढाइको यात्राको साक्षी पनि बन्यो । साथी पनि बन्यो । 

निरन्तर पढाइमा ध्यान दिने दली पनि गोरो वर्णका थिए । तर एक जना नेपाली उनीभन्दा पनि गोरा थिए । त्यसैले मेडिकल कलेजमा उनलाई चिनिया बाबु भनिन्थ्यो भने अर्का सिनियर नेपाली विद्यार्थीलाई जापानी बाबु भनिन्थ्यो । 

डा. दली यो प्रसंग सुनाउँदै गर्दा मस्तले हाँसे । अनि भने, “आगरा बस्दा रमाइलै गरि पढियो । मेडिकलको पढाइ सजिलो होइन । डाक्टर बन्नु भनेकै समाजमा “रेस्पेक्टेड पर्सन” बन्नु हो भन्ने थियो । अब म डाक्टर बन्छु भन्ने फिलिङले नै अगाडि बढ्न सँधै मद्दत गर्यो । तथापि, एनाटोमी र फिजियोलोजी पढ्दा भने गाह्रोे नै हुन्थ्यो ।”  

डा. विश्वराज दलीको बाल्यकाल काठमाडौंको मुटु मानिँदै आएको मरुटोलमा भयो । उनको बाल्यकाल त्यति संघर्षपूर्ण रहेन । उनको परिवार मध्यमवर्गीय परिवार थियो । पिताजी शेषराज दलीले सबै कुरो पुर्याईदिएका थिए । त्यसैले पनि उनको बाल्यकाल सहज बित्यो । 

तर उनको प्रारम्भिक पढाईलेखाई भने घरैमा भयो । आफूलाई पिताजीले पर्सनल कोचिङ दिएको उनी बताउँछन् । अंग्रेजी, नेपाली, गणित र संस्कृतको ज्ञान घरै बसेर पाए । उनका अनुसार उनलाई संस्कृत पढाउन कोही पण्डितजी घरैमा आउँथे ।

पछि उनी एकैचोटी कक्षा सात कक्षामा भर्ना भए । शान्ति निकुञ्ज हाईस्कूलमा उनको स्कूले पढाई सुरु भयो । यो हाईस्कूल काठमाडौंको चर्चित स्कूल मध्येको एक थियो । त्यसबेला शान्ति निकुञ्ज स्कूलमा ६–६ महिनामा राम्रो पढ्ने विद्यार्थीहरुलाई अपग्रेड गर्ने प्रचलन थियो । 

विश्वराज दलीको पढाई राम्रो थियो । पढाईमा उनको ध्यान रहन्थ्यो । त्यसैले क्लास चढेको चढ्यै गरे ! हसिलो स्वभावका डा. दलीको अनुहारमा मुस्कान छायो । भने, “त्यसैले मैले २००८ सालमा एसएलसी दिँदा म जम्मा १२ वर्ष १० महिनाको थिएँ ।”

डा. दलीलाई राणाकालिन समयको झिनो सम्झना छ । सारै कडाइ थियो त्यस बेला । उनी सुनाउँदै थिए उनको घरको एउटा कथा । उनका पिताजीले एउटा ठूलो रेडियो किनेर ल्याएका थिए । तर त्यो बेला रेडियो बजाउन पनि पाइन्थेन । उनका पिताजीले रेडियो बजाउँनु पर्दा घरको झ्याल ढोका थुनेर सानो आवाजमा बजाउँथे । 

त्यो बेला उनका पिताजी ताहाचलमा घर बनाएर सरेका थिए । उनको बसोबास मरुबाट ताहाचल पुगीसकेको थियो । २००७ सालको आन्दोलन पनि उनको सम्झनामा छ । कतिपय उनका साथीहरु ००७ सालको आन्दोलनमा पनि सक्रिय भएका थिए । तर उनलाई राजनीतिले कहिल्यै तानेन । उनको ध्यान पढाइमै थियो ।

पढाइतर्फ नै विशेष ध्यान दिएका उनले एसएलसी प्रथम श्रेणिको पनि उच्च स्थानमा पास गरे । उनको नाम पनि गोरखापत्रमा छापिएको थियो । तर त्यसबेला बोर्डको चलन लागु भएको थिएन ।
उनी सुनाउँदै थिए, “बाङगेमुढामा सन्देश गृह थियो । त्यहीँ गएर मैले मेरो रिजल्ट सुनेको हुँ । त्यो दृश्य अहिलेसम्म पनि मलाई याद छ ।” एसएलसी पास गरेपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए आइएससी पढ्नलाई । उनको इच्छा इन्जिनियरिङ गर्ने थियो । त्यसैले पनि उनले आइएससी पढ्नु थियो । त्यतिबेला सायद मेडिकल पढ्ने कुरा उठेको थिएन । 

त्रिचन्द्र कलेजमा पढ्दा उनका साथीहरूमा डा.लोकविक्रम थापा, मथुरा श्रेष्ठ, प्रयागदत्त तिवारी, शिवबहादुर प्रधान, डा. कोकिला वैद्य, प्रह्लादकृष्ण मानन्धरहरू थिए । प्रल्हादकृष्ण मानन्धरले पछि गएर सामुदायिक वनको अवधारणा अगाडि ल्याएको उनी सुनाउँदै थिए । त्रिचन्द्रबाट उनले आइएससी फस्र्ट डिभिजनमा पास गरे । 

मेडिकलको पढाइ सजिलो होइन । सिद्धान्त मात्रै पढेर हुँदैन । रोगका बारेमा बुझ्नका लागि बिरामी पनि हेर्नुपर्छ । एउटै रोगका अनेकौ लक्षण हुनसक्छन् । कतिपय अवस्थामा लक्षणले नै रोगको निदान गर्नुपर्ने अवस्था पनि सिर्र्जना नहुने होइन । 

त्यसैले पढाई सँगसँगै पेसेन्ट पनि हेर्नुपर्छ चिकित्सा विज्ञान पढ्नेले । त्यसले मात्रै विद्यार्थी राम्रो चिकित्सकमा परिणत हुन सक्छ । त्यसैले उनले आगरास्थित मेडिकल कलेजमा पढ्दा पढाई र प्य्राक्टिसमा खुबै ध्यान दिए । पढेको कुरा र बिरामीसंग को–रिलेट गर्दै पढाईलाई अगाडि बढाए । 

प्राडा दली सम्झिँदै थिए आगराको प्रसंग, “कहिलेकाहीँ बिरामी पहिले हेरिन्थ्यो । अनि त्यस बिरामीको रोगका विषयमा थाहा पाउन किताब पल्टाएर हेरिन्थ्यो । कहिले किताब पढिन्थ्यो र त्यस्तै बिरामी जाँचिन्थ्यो । वास्तवमा कठिन काम थियो ।”

उनले आगराबाट एमबीबीएस सक्याए । इन्टर्न गरे । त्यसपछि सर्जरीमा हाउस जब गर्ने विचार गरे । तर आगरामा आँखा सर्जरीमा हाउस जब गर्ने मौका मिलेन । जबकी उनको इच्छा आँखाको सर्जरीमा जाने थियो । उनी आँखाको सर्जन हुन चाहन्थे । तर आगरामा हाउस जब सम्भव भएन ।

त्यसैबेला उनका “रुममेट” साथीले दिल्लीमा आफ्ना दाइ आँखा रोग विशेषज्ञ भएको र उनले सहयोग गर्न सक्ने बताए । त्यसपछि उनी हाउस जबका लागि दिल्ली पुगे । दिल्ली झनै राम्रो हुने भयो । उनले साथीका दाइलाई भेटे । आँखामा हाउस जबका लागि अन्तरवार्ता पनि दिए । तर उनले आँखामा हाउसजब गर्न पाएनन् । डा. दलीलाई तत्काल जनरल सर्जरी गर्न भनियो । उनी जनरल सर्जरीमा हाउस जब सुरु गरे ।

छ महिनामा हाउस जब सकियो । उनले आँखाको सर्जरीका लागि फेरि मौका पाउने वाला थिए । तर त्यही छ महिनाको बीचमा मेडिकल कलेजका आँखा विभागका प्रमुख डा. अग्रवालका विषयमा उनले सुनेका थिए, कि उनी एकदमै कडा छन् भन्ने । डा. अग्रवाल भन्थे रे “तीन सालतक मै गधा बनाता हुँ । उसको बाद आदमी बनाता हुँ” । 

उनको यो कडापनबाट सबै डराउँथे । डा. अग्रवालका बारेमा सुने पछि डा. दलीलाई आँखामा सर्जरी गर्न मन लागेन । फलतः उनले जनरल सर्जरी गर्ने निर्णय गरे । अनि दिल्लीमै एमएस ज्वाइन गरे ।
डा. दली भन्दैथिए, “मैले एमएसका लागि प्रयास गरेँ । मैले मौका पनि पाएँ । स्टापेन पनि पाए । र, त्यहीँबाट एमएस सक्याएर नेपाल फर्किएँ ।” 

तर त्यसै समयको एउटा घटना आज पनि उनको सम्झनामा छ । उनी दिल्लीमा हाउस जब गर्दैैथिए । त्यस अगाडि उनका पिताजीलाई तत्कालिन प्रधानमन्त्री वीपी कोइरालाले एउटा मन्त्रालयमा सचिवको जिम्मेवारी दिएका थिए । 

तर २०१७ सालको पुस १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरे । बीपीसँगै धेरै मानिस थुनिए । डा. दलीका पिताजी शेषराज दलीलाई पनि उनको पदबाट हटाइयो । 
डा. दली भन्छन्, “सरकारी काममा आए पछि बाले निजी काम पनि छोड्नु भएको थियो । तर महेन्द्रले पदमुक्त गरेपछि बालाई गाह्रो भयो । किनभने हाम्रो सारा परिवार बामाथि निर्भर थियो । र केही समय बाले कठिन अवस्था भोग्नुपर्यो । तर बामाथिको त्यो सकसका बारेमा मलाई अलिकति पनि खबर भएन । पिताजीलाई सहयोग गर्नुपर्ने समयमा म भने दिल्लीमा पढ्दै थिएँ ।” 

तर आश्चर्य, डा. दलीका पिताजीले दिल्लीमा पढ्दै गरेका छोरालाई कुनै खबर गरेनन् । जसरी हुन्छ, घर चलाए । घरमा जहान १५–२० जनाको थियो ।  डा. दलीका अनुसार धेरै पछिमात्रै उनका पिताजीले अरु काम पाउनु भयो । केही वर्ष पछि युएसएडमा जागिर मिल्यो । यो विषयमा आफूले पिताजीको जीवनी पढेर मात्रै थाहा पाएको उनी सुनाउँदै थिए । 

उनी भन्छन्, “त्यसबेला बाको अवस्था के भयो होला भन्ने तर्फ मेरो सोचाई नै गएन । मलाई त सर्जन हुनु थियो । म पढाईमा केन्द्रीत रहेँ । तर आज पनि आफूले त्यो बेला बालाई हेल्प गर्न नसकेको सम्झिँदा अप्ठेरो महसुस हुन्छ ।”

दिल्लीबाट एमएस गरेर काठमाडौं आएपछि उनले जागिरका लागि पहल गरे । उनी मुलुककै तेस्रो सर्जन थिए । तर त्यसबेला वीर अस्पतालमा दुई जना सर्जन कार्यरत थिए, डा. अञ्जनीकुमार शर्मा र डा. दिनेशनाथ गोंगल । वीरमा दरबन्दी थिएन । त्यसैले सुरुमा उनले वीर अस्पतालमा काम गर्न पाएनन् । 

डा. विश्वराज दलीलाई कान्ति अस्पतालमा नियुक्ति दिएर पठाइयो । जबकी त्यहाँ सर्जनको पोस्ट नै थिएन । त्यो अस्पताल रसियनहरूको सहयोगमा सञ्चालित थियो । कान्ति अस्पताल त्योबेला बाल अस्पतालका रुपमा विकसित भइसकेको थिएन ।

तथापि उनी नेपालका तेस्रो सर्जन थिए । त्यसैले उनलाई नियुक्ती दिँदा पनि स्वास्थ्य मन्त्रालयका निर्देशक डा. यज्ञराज जोशीले “सर्जनको काम गर्ने गरी मेडिकल अफिसर” पोस्टिङ गरे । यो हाँसो उठ्दो प्रसंग सुनाउँदा उनी आफै हाँसे । यसरी कान्ति अस्पतालमा प्रवेश गरेका उनी त्यहाँ तीनचार वर्ष बसे । त्यो समयमा उनले सानातिना सर्जरी पनि गरे । 

त्यसपछि उनलाई बुटवल अस्पताल पठायो सरकारले । किनभने नयाँनयाँ डाक्टरहरू पढेर आउन थालेका थिए । तिनलाई पनि ठाउँ मिलाउनु पर्छ भनेर डा. दलीलाई बुटवल पठाइयो । उनी बुटवल गए । बुटवल अस्पतालमा केही थिएन । अस्पतालमा बिजुलीको व्यवस्था पनि थिएन । अस्पतालको हालत भद्रगोल थियो । बिरामीलाई सलाइन दिने व्यवस्था पनि थिएन । काम गर्नै गाह्रो थियो । सलाइन आफै बनाउँदा रहेछन्, त्यहाँका स्टाफहरू । कहिलेकाहीँ अपरेशन गर्दा लालटेन बालेर अपरेशन गर्नु पर्दथ्यो । 

प्राडा दलीले यो कुरा सुनाउँदै भने, “आज त यो कुरा सुन्दा पनि मानिस हाँस्छन् । मैले त पछि गोरखपुरबाट सलाईन मगाउन थालेँ । अपरेशन थिएटरमा बिजुलीको व्यवस्था गरेँ ।”  डा. दलीका अनुसार त्यसबेला सुनौली–बुटवल–पोखरा रोड बन्दै थियो । इन्जिनियरहरूको क्याम्प अस्पताल अगाडि नै थियो । त्यहाँ जेनेरेटरले बत्ती बाल्दथे । डा. दलीको मित्रता त्यहाँका इन्जिनियरहरूसँग भयो । र डा. दलीले पनि अस्पताको ओटीमा बिजुली चाहिएको कुरा उठाए ।

सँगै ब्याडमिन्टन खेल्ने इन्जिनियरहरूले पनि सहयोग गर्छौँ भनेर अपरेशन थिएटरमा बिजुलीको व्यवस्था गरिदिए । उनीहरुको जेनेरेटर प्रायः चलिरहेको हुन्थ्यो । यसरी कठिन अवस्था झेल्दै डा. विश्वराज दलीले बुटवल अस्पताललाई विकसित गर्ने प्रयास गरे । अपरेशन थिएटरका लागि आवश्यक थप सामानहरु मगाए । र अस्पतालको ओटी व्यवस्थिति गरे । 

बुटवलमा एक वर्ष बसेर उनी वीर अस्पतालमा सरुवा भएर आए । वीरमा सर्जनहरूमा डा. अञ्जनीकुमार शर्मा र डा. मोइन शाह थिए । त्यसै बेला डा. अञ्जनीकुमार र डा. मोइन शाह र आफूले मिलेर तत्कालिन रानी रत्नको अपरेशन गरेको उनी सम्झिँदै थिए । 

२०३० सालमा उनको सरुवा वीरगञ्ज अञ्चल अस्पतालमा भयो । उनी वीरगञ्जमा पाँच वर्षसम्म बसे । त्यो अवधिमा उनले अस्पतालको अपरेशन थिएटर मात्रै नभएर सिंगो अस्पताललाई नै सुविधासम्पन्न बनाउँदै लगे । 
त्यसबेला उनले वीरगञ्जमै स्थायी बसोबास गर्ने सोचेका थिए । त्यहाँ उनको प्य्राक्टीस पनि राम्रो थियो । त्यसैले उनले वीरगञ्जमा घडेरी पनि किनी सकेका थिए, घर बनाउनलाई । सबैले मान गरेकोले त्यहीँ नै बसौ भने आफूले सोचेको उनी बताउँदै थिए । 

वीरगञ्जमा ब्लड बैंकको व्यवस्थाका लागि उनको पहल रह्यो । त्यसका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरेर पैसा जम्मा गरे । यसरी उनले वीरगञ्जमा ब्लड बैंकको व्यवस्था गरे । उनले अस्पतालमा सामाजिक परिवर्तनका लागि केही प्रयास पनि गरे । सबै जुनियर सिनीयर स्टाफहरुलाई एकै ठाउँमा राखेर मिटिङ गर्थे । त्यसैबेला तत्कालिन स्वास्थ्यमन्त्री पदम सुन्दर लावती वीरगञ्ज पुगे । मन्त्रीलाई कसैले रात्रीभोजका लागि बोलाएको थियो । त्यसमा डा. दलीलगायतका डाक्टरहरू पनि सहभागी थिए । 

त्यसैबेला अस्पतालमा कुनै आकस्मीक केस आईपर्यो । डा. दलीले अस्पताल तुरुन्तै जानु पर्ने भयो । उनी मन्त्री चढेकै गाडीमा अस्पतालसम्म गए । र गाडी फर्काए । उनी बिरामी हेर्न थाले ।
यता त्यसैबेला मन्त्रीले गाडी खोजेछन् । गाडी डा. दलीलाई अस्पताल पुर्याउन गएको छ भन्ने थाहा पाए पछि उनी “मलाई नसोधेर गाडी लाने” भनेर रिसाएछन् । अब डाक्टरले पनि इमरेजन्सी परेको बेला गाडी लैजाउँ भनेर सोध्ने कुरो पनि भएन ।

त्यसको केही समयपछि नै उनको सरुवा राजविराज गरियो । वीरगञ्जका बासिन्दाहरूले अनुरोध गर्दा पनि उनको सरुवा रोकिएन । र उनी वीरगञ्जबाट २०३६ सालमा राजविराज गए । 
त्यसबेला राजविराजको अस्पताल पनि व्यवस्थीत थिएन । कम्पाउण्ड वाल पनि लगाइएको थिइएन । अस्पतालको कम्पाउड गाईभैसीको चरन भएको थियो । तर उनले राजविराज अस्पतालको कम्पाउण्ड मात्रै नभई सारा अस्पताललाई नै व्यवस्थित गरे । उनी आफै सर्जन भएकोले ओटीको व्यवस्था राम्रो गर्नु त थियो नै । 

डा. दली राजविराज एक वर्ष बसे । त्यस पछि मात्रै उनको सरुवा काठमाडौंको वीर अस्पतालमा भयो । र २०५२ सालमा वीर अस्पतालबाटै सेवा निवृत्त भए । तर अहिले पनि उनी क्रियाशील छन् । आज पनि बिरामीहरूलाई उपचारका बारेमा सुझाव सल्लाह दिँदै आएका छन् । आज पनि उनी बिरामीलाई कसरी निको पार्ने भन्ने विषयमा चिन्तनशील छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro