
काठमाडौं । श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठ स्रष्टाहरूलाई शुक्रबार सम्मान गरेको छ ।
राजधानीमा आयोजित उक्त सम्मान कार्यक्रममा यसपटक गङ्गादेवी चौधरी स्मृति सम्मानबाट वरिष्ठ आख्यानकार पद्मावती सिंह, इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट अग्रज साहित्यिक अनुसन्धाता मोदनाथ प्रश्रित, सरस्वती गद्य सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी, नारायणगोपाल सङ्गीतसम्मानबाट लोक–आधुनिक सङ्गीतका विशिष्ट साधक गणेश रसिकलाई सम्मान गरियो ।
यसैगरी अरनिको ललितकलासम्मानबाट नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक किरण मानन्धर, बालकृष्ण सम रङ्ग सम्मानबाट रङ्गमञ्च क्षेत्रकी विशिष्ठ साधक भुवन थापा चन्द, नेपाल नवप्रतिभा सम्मानबाट फरक क्षमता भएकी सृष्टि केसी र गोपालप्रसाद रिमाल काव्य सम्मानबाट वरिष्ठ कवि दिनेश अधिकारीलाई सम्मानित गरियो ।
सम्मानित स्रस्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद्, शताब्दी पुरुष सत्यमाहन जोशीले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए । सम्मानमा ताम्रपत्रसहित नगद पनि समावेश छ ।
गङगादेवी चौधरी स्मृति सम्मानमा नगद रु. एक लाख एक रुपियाँ र अन्य सबै सम्मानमा नगद एकाउन्न हजार एक रुपियाँ रहेको छ ।
कार्यक्रमका सभापति सभापति एवम् संस्थाका अध्यक्ष बसन्त चौधरीले स्वागत मन्तव्य प्रकट गर्दै सिर्जनाका क्षेत्रका केही नयाँ कामको थालनी गर्ने अठोट गरे ।
कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशी, पुरस्कृतहरूका तर्फबाट कवि दिनेश अधिकारी र संस्थाका तर्फबाट हरिहर शर्माले बोलेका थिए ।