‘अस्पतालमा होहल्ला गरेको’ आरोपमा प्रहरीले मेडिसिटी अस्पताल परिसरबाट पूर्व सभासद गायत्री साहलाई आइतबार पक्राउ गरेको छ । साहले आफ्नो बच्चा लिन नमानेको आरोप लगाएर अस्पतालले प्रहरीसमक्ष उजुरी पनि दिएको ललितपुर प्रहरीले जानकारी दिएको छ । केही पहिले साहले आफैँले जन्माएको ‘डाउन सिन्ड्रोम’ भएको शिशु अस्पतालमै छाडेको समाचार संचारमाध्यममा आएको थियो । साथै बालकको अवस्थाबारे अस्पतालले बेलैमा जानकारी नदिएकाले आफूले बच्चा स्वीकार नगरेको भन्ने साहको स्पष्टीकरण पनि प्रकाशमा आयो ।
अस्पताल र साहका आआफ्ना तर्क होलान् । बच्चाको जन्म भएपछि समस्या देखिएको, डाक्टरहरुले बच्चामा डाउन सिन्ड्रोम भएको भनेर जानकारी आमा वा परिवारलाई पहिल्यै नदिएको, पहिलो बच्चामा डाउन सिन्ड्रोम देखिएपछि साहले गर्भ पतन गरेको तर दोस्रो गर्भमा अस्पतालले यसबारे केही नभनेको भन्ने दाबी साहले गरेकी थिइन् ।
यसैबीच मेडिसिटी अस्पतालले केन्द्रीय बाल कल्याण समिति (हाल केन्द्रीय बाल कल्याण परिषद्) लाई पत्राचार गरी नवजात शिशु अभिभावकको जिम्मा लगाई बालकको सर्वोत्तम हित गराई पाऊँ भनेर निवेदन दिएको रहेछ । अभिभावकले बच्चा लिन नमानेको अस्पतालको दाबी छ भने अस्पतालले गर्भावस्थामा गर्नुपर्ने परीक्षणहरु राम्ररी नगरेको भन्ने आरोप अभिभावको छ ।
यस प्रकरणले अपाङ्गता रोकथाम गर्न सकिन्छ कि सकिदैंन भन्ने प्रश्न र अपाङ्गता भएको सदस्य परिवारमा आयो भने नेपाली समाजले कसरी हेर्दो रहेछ भन्ने विषयलाई सतहमा ल्याएको छ । अति अशक्त अपाङ्गता भएको व्यक्ति परिवारमा छ भने सिंगो परिवारको अवस्था र मानसिकता कस्तो हुन्छ भन्नेबारे नेपाली समाजमा खासै बहस भएको छैन । किनभने यस्तो समस्या बढी भोग्नेमा सर्वसाधारण धेरै हुन्छन् र तिनको समस्यामा खासै बहस हुँदैन । यसैले अपांगतासम्बन्धमा अद्यावधिक तथ्यांक र जानकारीको पनि अभाव छ ।
विश्व बैंक एवं विश्व स्वास्थ संगठनको सन् २०११ को प्रतिवेदनअनुसार विश्वको कुल जनसंख्याको करिब १५ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । नेपालको राष्ट्रिय जनगणना, २०६८ मा पहिलो पटक समावेश गरिएको अपाङ्गतासम्बन्धी दुई वटा प्रश्नका आधारमा भने नेपालमा १.९४ प्रतिशत (५ लाख १३ हजार ३२१) व्यक्तिमा मात्र अपाङ्गता रहेको देखिएको छ । यी दुई तथ्यांकलाई दाँजेर हेर्दा स्पष्ट देखिन्छ उपलब्ध तथ्यांक भरपर्दा छैनन् र व्यापक क्षेत्र समेटेको तथ्यांक पनि उपलब्ध छैन ।
के अपाङ्गता कथाम गर्न सकिन्छ ?
अपाङ्गता जन्मजात पनि हुन्छ र जन्मेपछि पनि हुन हुनसक्छ । सामान्यतया जन्मजात अपाङ्गतामा आधाजसो रोकथाम गर्न सकिन्छ भन्ने विभिन्न अध्ययनले देखाएका छन् । तर, यस विषयमा व्यापक क्षेत्र समेटेर विश्वभर नै निकै कममात्र अध्ययन भएको छ । अमेरिकी संस्था ‘मार्च अफ डाइम्स’ले सन् २००६ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार विश्वभर वर्षमा करिब ८० लाख शिशु जन्मदै कुनै न कुनै ‘जन्मदोष’ लिएर जन्मन्छन् । यीमध्ये करिब ३३ लाख बालबालिकाको पाँच वर्षको उमेर पुग्दा नपुग्दै मृत्यु हुन्छ भने बाँचेका बालबालिका गम्भीर अपाङ्गता लिएर बाँच्न विवश हुन्छन् । यसै प्रतिवेदनअनुसार नेपालमा जन्मिएका प्रतिहजार बालबालिकामध्ये करिब ५० जना कुनै न कुनै जन्मदोष लिएर जन्मन्छन् । सन् २०१५ मा करुणा फाउन्डेसन नेपालले इलाम जिल्लाका साबिकका १२ गाविसमा गरेको आधारभूत सर्वेक्षणमा १०२९ जना अपाङ्गता भएका व्यक्तिमध्ये लगभग ५० प्रतिशतमा जन्मजात अपाङ्गता भएको भेटिएको छ ।
अपाङ्गता भएको जनसंख्याको आधाजसो रोकथाम गर्न सकिन्छ भने बाँकीलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । मातृशिशु तथा बाल स्वास्थ्यसम्बन्धी सबै कार्यक्रम जन्मजात हुने तथा पहिलो दस वर्षमा विकसित हुने अपाङ्गता रोकथामका लागि पनि महत्त्वपूर्ण हुन्छन् ।
अतः मातृशिशु तथा बाल स्वास्थ्यसम्बन्धी सबै कार्यक्रमले अपाङ्गता रोकथामलाई पनि सम्बोधन गर्न सक्यो भने यसले मातृशिशु तथा बाल मृत्युदर न्यूनीकरणका साथै जन्मजात तथा जन्मपश्चात हुने अपाङ्गता पनि कम गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार नवविवाहित दम्पती, गर्भवती महिला, सुत्केरी महिलाले प्रजनन स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सेवाका साथै बालबालिकाले पूर्ण खोप र पोषण सेवा उपभोग गर्नु मातृशिशु तथा बाल मृत्यु न्यूनीकरण तथा अपाङ्गता रोकथामका मुख्य उपाय हुन् ।
विशेषगरी गर्भवती हुनु तीन महिना अगाडि पतिपत्नी दुवैले र गर्भ रहेपछि तीन महिनासम्म गर्भवतीले फोलिक एसिड चक्कीे सेवन गरे मस्तिष्क तथा मेरुदण्डसम्बन्धी अपाङ्गता ७० प्रतिशतभन्दा बढी रोकथाम गर्न सकिने अध्ययनहरूले देखाएका छन् । सुत्करी व्यथा लागिसकेपछि बच्चा जन्मिन जति बढी समय लाग्छ आमा र बच्चाको ज्यान उति नै जोखिममा पर्छ भने निसासिएका कारणले जन्मने शिशुमा सेरेब्रलपल्सी (मस्तिष्क पक्षघात) हने जोखिम पनि बढ्छ । मस्तिष्क पक्षघातले बालबालिकामा शारिरीक अपाङ्गता हुनुका साथै तिनको हेराइ, सुनाइ, बोली तथा सिकाइ क्षमतामा पनि असर गर्ने गर्छ । त्यसैले अपाङ्गता रोकथामको दृष्टिकोणले पनि तेस्रो र चौथो गर्भ परीक्षण अत्यन्त महत्त्वपूर्ण हुन जान्छ । गर्भावस्थामा समस्या भए तुरुन्तै विशेषज्ञता सेवा लिन गइहाल्नुपर्छ, जोखिम लिनु हुँदैन ।
यसैगरी पहिलो १० वर्षमा बालबालिकामा देखा पर्ने कुपोषण, संक्रमण, सुनाइ तथा दृष्टि समस्या र अन्य रोगको पहिचान र समयमा नै तिनको उपचार जन्मपश्चात हुने अपाङ्गता रोकथामका सजिला तर प्रभावकारी उपाय हुन् । जन्मपश्चात सावधानी अपनाउनु पनि बालकलाई अपाङ्गता हुनुबाट जोगाउने प्रभावकारी उपाय हो ।
उठेको विवाद
उपलब्ध जानकारी हेर्दा गायत्री साहको विषय केही स्पष्ट हुन्छ । नेपालमा गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा चार पटक : चौथो, छैटौं, आठाैं र नवौ महिनामा गर्भ परीक्षण गराउनु पर्छ । यस अवधिमा आमा र बच्चाको दुवैको स्वास्थ परीक्षण गर्ने र कुनै पनि आशंका भए थप जाँच गर्नुपर्ने हुन्छ ।
गायत्री साहले पहिलो बच्चामा अपांगता देखिएपछि गर्भपात गराएको र सो जानकारी डाक्टरलाई दिएको भनेकी छन् । नेपालका प्रायः डाक्टरहरु सेवाग्राहीको कुरा खासै नसुन्ने र बिरामीमा आफ्नो विशेषज्ञता बाहिरका समस्या भए चासो नै नलिने तथा सो सम्बन्धमा बिरामीलाई जानकारी बिरलै दिने गर्छन् ।
साहले भनेको सही हो भने यहा“पनि त्यही प्रवृत्ति दोहोरिएको देखिन्छ । सा“च्चै भन्ने हो भने गर्भ परीक्षण गराउन आउने आमा र परिवारका सदस्यलाई यसअघि बच्चा भए नभएको, गर्भपतन गरे नगरेको, बच्चाको मृत्यु भए नभएको सोध्नु त परीक्षणको आधारभूत प्रक्रियामै हुनुपर्ने होइन र ? सेवाग्राहीले भनेनन् मलाई के थाहा भन्न त नमिल्नु पर्ने हैन र ? फेरि नियमित परीक्षण त यस्तै विभिन्न प्रकारका समस्या छन् कि छैनन् वा हुन सक्छन् कि सक्तैनन् भनेर खुट्ट्याउन पनि त हो नि ! यस्तो विषय सेवाग्राही तथा डाक्टरबीचको सम्बन्धको विषय भएकाले समस्या नआउन्जेल हत्तपत्त बाहिर आउँदैन । तर, काम गर्दा सधैँ स्थिति सहज नै रहन्छ भन्ने पनि हुँदैन । अतः डाक्टरले पनि यस्ता विषयमा सेवाग्राहीलाई जति सक्यो उति बढी जानकारी दिनु आवश्यक र उचित हुन्छ ।
अब अर्को पक्ष । कुनै पनि कारणले आमाले आफ्नो बच्चा छोड्न मिल्छ त ? जसको जस्तो लापर्बाहीले समस्या भए उत्पन्न पनि अभिभावकले अस्पताल वा अन्यत्र कतै बच्चा छोड्न मिल्दैन । बच्चा आमाबाबुकै जिम्मेवारी र दायित्व हो ।
अपाङ्गताको अवस्था
तुलनात्मक रुपमा अपाङ्गता भएका व्यक्तिको संख्या कम भएको, अपाङ्गता भएका व्यक्ति र तिनका परिवार संसारभर नै गरिबमध्येका गरिब हुने, अपाङ्गता भएका व्यक्तिले आफ्नो समस्या संगठित रुपमा राख्न नसक्ने, छरिएर रहने गरेकाले राज्यको ध्यान कम जाने गर्छ । फरकफरक प्रकारका अपाङ्गताका कारण सम्बोधनका तरिका पनि फरक हुने नै भए । अपा∙ता भएका व्यक्तिले काम, पेसा व्यवसाय गर्न चाहँदा पनि उपयुक्त वातावरण नहु“दा (बाटोघाटो, सोच आदि) काम गर्न सक्ने वातावरण नै छैन ।
गायत्री साह जत्तिको सामाजिक हैसियत बनाएका व्यक्तिले पनि बच्चा छोड्न चाहे भन्ने विषयमा जान्न जरुरी छ । कुनै परिवारमा एक जना अपाङ्गता भएको व्यक्ति हुनेबित्तिकै त्यसबाट परिवारमा पर्ने आर्थिक, सामाजिक, मानसिक र शारीरिक भार निकै बोझिलो हुन्छ । अझ अपाङ्गता अति अशक्तता प्रकारको छ भने त त्यो भार थाम्न कठिन हुन्छ । हामी सबैलाई थाहा छ घरमा बिरामी, बूढापाका तथा अपा∙ता भएका सदस्यको रेखदेख स्याहार सुसारको सबै जिम्मा महिला सदस्यलाई नै बढी हुन्छ ।
विशेषतः यो सबै जिम्मा आमाका भागमा पर्छ । आर्थिक व्यवस्थापन, पारिवारिक व्यवस्थापन र तीसम्बन्धी निर्णय गर्ने कुरामा केही नचल्ने तर घर परिवार व्यवस्थापनको कामको जिम्मा चाहिँ लिनुपर्ने कारणले आमाले भोग्ने कठिनाइको सहजै अनुमान गर्न सकिन्छ । परिवारमा अपा∙ता भएको सदस्य छ भने त्यस परिवारलाई राज्यले अपा∙ता व्यवस्थापन गर्न सिकाउने, आर्थिक सहयोग गर्ने, पेसा वा व्यवसाय गर्न मद्दत गर्ने र जनमानसमा रहेको नकारात्मक सोच बदल्न व्यापक जनचेतनाका काम गर्नुपर्ने देखिन्छ । नेपाली समाजमा अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक भेदभाव कायमै छ ।
साथै, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सामाजिक सहभागिता तथा निर्णय प्रक्रियामा उनीहरुको पहुँच न्यून छ ।
अपा∙ता भएको सदस्य परिवारमा हु“दाको बोझ बोक्न (आर्थिक र मनोसामाजिक भारलाई कम गर्न) निरन्तर सहयोग र सदाशयता चाहिन्छ । हाम्रो आर्थिक र सामाजिक प्रणालीले यस्तो सहयोग र सदाशयको व्यवस्था नै गरेको छैन । यसैका कारण गायत्री साह जत्तिका मान्छेहरु पनि यसबाट भाग्न चाहन्छन् । समस्यालाई यसरी पनि हेरौँ ।