काठमाडौं । आज वि.सं. २०७५ सालको अन्तिम दिन । राति १२ बजेबाट ०७५ लाई विदाई गर्दै नयाँ वर्षलाई स्वागत गर्दैछौं । भलै अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई झैं स्वागत गर्न हामी आतुर छैनौं । सहरका चोकचोकमा नयाँ वर्षको आरम्भलाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएका छैनन् । अरुको नयाँ वर्ष स्वागत गर्ने बढ्दो चलन तर आफ्नै नयाँ वर्षको सुरुआतमा सुस्ताउँदै गरेको यो प्रवृत्तिको समीक्षा हुँदै जाला तर हामी भने अहिले वर्ष ०७५को समीक्षा गर्दैछौं । खेलकुदका लागि वर्ष २०७५ औषत रह्यो । वर्षको अन्त्यमा खेलकुदको कुम्भ मेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अनौपचारिक सुरुआतसँगै केही महत्वपूर्ण खेल भए । क्रिकेटले खुसी ल्याउँदा फुटबलले नयाँ नेतृत्व पायो । प्याराग्लाडिङले १८ औं एशियाली खेलकुदमा पहिलो रजत ल्याउँदा एथ्लेटिक्स पनि पदक भित्राउन सफल भयो । समग्रमा वर्ष ०७५ नेपाली फुटबलका लागि सुदख रह्यो । क्रमशः केही महत्वपूर्ण गतिविधिहरुः
१.क्रिकेट
वर्ष ०७५ क्रिकेटमय भयो । एकदिवसीय मान्यतापछि उत्साहित नेपाली क्रिकेटले नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय श्रृङखला बराबरी गर्यो भने युनाइटेड अरब इमिरेट्स (यूएई) बिरुद्ध ३ एकदिवसिय र ट्वान्टी–२० सिरिज खेल्यो ।
नेदरल्यान्डविरुद्धको एकदिवसीय श्रृङखला १–१ बराबरी गरेको नेपाल यूएईबिरुद्धका दुबै सिरिज २–१ ले जित्न सफल भयो । यूएईबिरुद्धका दुवै श्रृङखलामा २–१ जित निकाल्दा केही इतिहास पनि बन्यो ।
नेपाली यू–१९ टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान आफनो नाममा लेखाउँदा सिनियर टोलीका कप्तान पारस खड्काको शतकले राम्रै चर्र्चा पायोे । रोहितले भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका सहिद अफ्रिदिको कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए ।
पारसको शतकले नेपाल दोस्रो एकदिवसीय खेलमा विजय भएको थियो । अन्तिम निर्णायक खेलमा अभिनास बोहराको बलिङले राम्रै चर्चा पायो । अर्का स्टार सन्दीप लामिछाने वर्ष भरी विश्वका चर्चित क्रिकेट लिग खेल्न व्यस्त रहिरहे । अहिले उनी भारतको चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका छन् । उनी दिल्ली क्यापिटल्सबाट आफ्नो बलिङको कौशलता देखाइरहेका छन् ।
नेपालमा पनि विभिन्न फ्रेन्चाइज लिगले खेलाडीको ब्यस्तता बढाइरह्यो । एशिया कपमा छनोट नभएपनि क्रिकेटले समग्रमा समर्थकमा खुसी छाइरह्यो । तर अभिभावक संस्थाको क्यानको निलम्बनबारे केही ठोस निर्णय भने हुन सकेन् । औषतमा यो वर्ष क्रिकेटले ठिकै उपलब्धी हात पार्यो । महिला क्रिकेटले दुई वर्षपछि विश्वकप छनोटमा सहभागिता जनायो । छनोेट नभएपनि खेलाडी लामोसमयपछि मैदान फर्किदा उत्साहित रहे । थाइल्यान्डमा भएको ट्वान्टी–२० स्म्यासमा नेपाली महिला टोली उप–विजेता भएको थियो । वर्षको अत्यमा महिलाको फेन्चाइज लिगको मिति घोषणा भयो । ७६ सालको सुरुआतमै महिला क्रिकेट खेलाडी लिग खेल्नेछन् ।
२.फुटबल
नेपाली फुटबलले वर्ष ०७५ को सूरुआतमै नयाँ नेतृत्व पाएपनि केही छलाङ मार्न सकेन । गणेश थापाको बिरासतलाई तोड्दै शुद्धिकरण अभियान चलाएका पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा निर्वाचित भए ।
परिवर्तनका नारासहित एन्फा प्रवेश गरेको शेर्पाको नेतृत्वले पाँच वर्षसम्म हुन नसकेको सहिद स्मारक ए डिभिजन लिगलाई सञ्चालन गर्यो । लिग सुरु नहुँदै आलोचना खेपेको एन्फाले अन्नत ए डिभिजन लिग रेगिगेशनको प्रावधानमा हटाउँदै सम्पन्न गर्दा बी डिभिजन र सी डिभिजन लिग पनि सोही प्रावधानमा सम्पन्न भए ।
एन्फाका पदाधिकारीको विदेश मोह लगायत नेतृत्व भित्रको लडाईंले एन्फा आलोचित पनि भयो । तर केही सकारात्मक काम भए । नेपालले पहिलो पटक पाँचौं महिला साफ च्यामिपयनसिप सफलताका साथ सम्पन्न गर्न सफल भयो भने एन्फाकै सक्रियतामा रौटहटमा महिला एकेडेमी निमार्णको काम सुरु भयो । अन्तर्राष्ट्रिय स्तरमा महिला खेलाडीले सहभागिता जनाउने अवसर पाए पनि घरेलु प्रतियोगिताका लागि कुनै त्यस्तो निर्णय नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले लिन सकेन ।
साफमा महिला टोली फाइनलमा भारतसँग स्तब्ध हुँदा पुरुष टोली माल्दिभ्ससँग सेमिफाइनलबाट बाहिरियो । यद्यपि महिला टोलीले केही सुखद संकेत देखाएको छ । ओलम्पिक छनोटको पहिलो सहभागितामा दोस्रो चरण पार गरेको महिला टोलीले भारतबिरुद्ध ऐतिहासिक जित निकाले पनि साफ च्याम्पियनसिपमा हराउँदै घरेलु भूमिमा उपाधि राख्ने योजना पाँचौ पटकको फाइनलमा पनि सफल पार्न सकेन् । भारतमै सम्पन्न ‘हिरो वुमेन्स गोल्डकप’मा नेपालले ऐतिहासिक जित निकाले पनि त्यसलाई निरन्तरता दिन सकेन ।
यस्तै महिला उमेर समूहमा पनि नेपालले भारतमाथि जित निकाल्यो । भुटानमा सम्पन्न यु–१८ साफ च्याम्पियनसिपमा भारतलाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो । यस्तै यू–१९ टोलीले एएफसी वुमन च्याम्पीयनसिप छनोटमा भारतमाथि जित दर्ता गरेको थियो । महिला टोलीको प्रदर्शन सुधारउन्मुख रह्यो । अवसर पाए महिला खेलाडीले गर्छन भन्ने प्रमाणित भयो । वर्षको अन्तत्यमा पुरुष सिनियर टोलीले कुबेतसँगको मैत्रीपूर्ण खेलमा सुधारिएको प्रदर्शन गरेको थियो ।
३.एशियाडमा प्याराग्लाइडिङलाई रजत
गत साउनमा इन्डोनेशियाका विभिन्न सहरमा सम्पन्न १८ औं एशियाली खेलकुदमा नेपालले २९ खेलमा सहभागिता जनायो । तर एक खेलमा मात्र नेपालले पदक ल्यायो । २९ खेलका लागि २८५ खेलाडी इन्डोनेशिया पुगेपनि नेपालले प्याराग्लाइिङतर्फमात्र पदक ल्याएको थियो । पुरुष क्रस क्रन्ट्रीतर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको थियो ।
नेपाललाई नियमित जस्तो पदक दिलाउँदै आएका तेक्वान्दो, कँराते र बक्सिङ खेलहरू असफल भएपनि आफनै खर्चमा पुगेका खेलाडीले नेपालको शाख जोगाएका थिए ।
एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठूलो पदक हो । सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापालाई नेपालमा भब्य स्वागत गरिएको थियो ।
४.महेश्वर महर्जनको स्वर्ण
शारीरिक सुगठनमा इतिहासकै सबैभन्दा ठूलो उपलब्धिका रुपमा नेपालले २०७५ सालमा स्वर्णपदक ल्यायो । पुसमा थाइल्यान्डमा सम्पन्न विश्व च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनलाई त्यो अवसर जुरेको थियो । १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत ७५ केजी तौल समूहमा ३५ वर्षे महेश्वरले स्वर्ण पदक जितेका थिए १२ देशका खेलाडीलाई पछि पार्दै काठमाडौं छाउनीका महेश्वरले स्वर्ण पदक जितेका थिए ।
पहिलो चरणमा सहभागी १२ खेलाडीबाट शीर्ष पाँचमा भारत, सिंगापुर, आयोजक थाइल्यान्ड र उज्वेकिस्तानका खेलाडीसँगै छानिएका महेश्वरले अन्तिम चरणमा स्वर्ण पदक जित्दा भारतका खेलाडी दोस्रो तथा सिंगापुरका खेलाडी तेस्रो भएका थिए ।
महेश्वरले यसअघि भुटानमा सम्पन्न ५०औं एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । धर्मश्री प्रतियोगिताका स्वर्ण पदकधारी महेश्वरले २०११ मा भियतनाममा सम्पन्न ४७औं एसियन च्याम्पियनसिपमा पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएका थिए ।
५.एथ्लेटिक्सलाई स्वर्ण
नेपाल एथ्लेटिक्स संघले पनि यो वर्ष पदकबिहिन हुन परेन । अजितकुमार यादबले एथ्लेटिक्स संघलाई पदकबिहिन हुनबाट जोगाए । उनले एहङकङमा सम्पन्न तेस्रो युथ एशियन च्याम्यिनसिपमा उनले ३ हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।
उनीसहित १२ राष्ट्रका १५ खेलाडी उक्त स्पर्धामा दौडिएका थिए । सप्तरीको राजविराज निवासी अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । यो समयसँगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका थिए ।
अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए ।
८ मिनेट ३६.३४ सेकेन्डमा भारतका अमित जान्गिर दोश्रो तथा ८ मिनेट ३८.६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेश्रो स्थानमा रहे । एसियाली स्तरको एथलेटिक्समा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । अजितले विभिन्न क्षेत्रबाट सम्मान पाए ।
६.भलिबल
राष्ट्रिय खेल भलिबलमा यो वर्ष कुनै उल्लेखनीय सुधार भएन । पूरुष टोली एशियाली खेलकुदमा भाग लिन पाउँदा विगत लामो समयदेखी महिलाको राष्ट्रिय टोलीका खेलाडीलाई एकजुट हुने मौका मिलेन । मात्र उनीहरु वर्षभरि घरेलु प्रतियोगितामा ब्यस्त रहे । घरेलु प्रतियोगिताकै कारण पुरुषभन्दा महिला खेलाडी चर्चामै रहे । महिला भलिबलभन्दा पुरुषका खेलहरु औषतमा कम भए । पहिलो पटक स्कुल स्तरीय अभ्यासका लागि न्यु डायमन्ड एकेडेमीले नेपालको प्रतिनिधित्व गर्दै क्रोएसियामा बैदेशिक प्रशिक्षण लिने अवसर पायो ।