site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोहितलाई प्रमाणित गर्ने मौका

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय श्रृङ्खलामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाएपछि रोहितकुमार पौडेलले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान आफूतिर खिचे । अर्धशतकसँगै रोहितले विश्व क्रिकेटका स्टार खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको विश्व कीर्तिमान तोडेर आफ्नो नाम लेखाए । 

घरेलु लिगमा राम्रो प्रर्दशन गर्दै आएका रोहित उमेर समूह हुँदै राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश गरेका थिए । सधैजसो ब्याटिङकै कारण आलोचित बनेको नेपालका लागि रोहित आशालाग्दा खेलाडीका रुपमा चिनिए । ब्याटिङ गर्दा देखाउने उनको धैर्यता र स्ट्राइक रोटेट गर्ने रोहितलाई मध्यक्रमको भरपर्दो नेपाली भविष्यका रुपमा क्रिकेट पण्डितहरुले व्याख्या गर्दै आएका छन् ।

खेलमा आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै कठिन अवस्थामा सिनियर टोलीलाई पार लगाएका पौडेल अहिले नयाँ जिम्मेवारीमा छन् । एकदिवसीय मान्यतापछि विश्व क्रिकेटको ध्यान नेपालतर्फ तानिएको बेला रोहितको काँधमा छ, नेपाली यु–१९ क्रिकेट टोली विश्वकप छनोटसम्म पुर्याउने । विश्वकप छनोटका लागि रोहितकै कप्तानीमा रहेको नेपाली टोली मलेसियामा छ । २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि नेपाल छनोट खेल्न मलेसिया पुगेको छ  । पहिलो पटक यु–१९ क्रिकेट टोलीको नेतृत्वको जिम्मेवारी पाएका रोहित विश्वकप छनोटलाई लिएर आशावादी देखिन्छन् । 

कप्तानीको परीक्षा भन्दा पनि पाएको अवसरलाई सदुपयोग गर्ने पौडेलको योजना छ । उनले भने, “म यसलाई अवसरका रुपमा लिन्छु । मैले आफूलाई प्रमाणित गर्न सकुँ र टोलीलाई विश्वकपमा छनोट गर्न सकुँ । टोलीको तयारी एकदम राम्रो छ । हाम्रो लागि उपयुक्त अवसर हो ।” आफूसँगै टोलीका लागि राम्रो अवसर रहेको बताएका रोहितले खेलाडीले केही देखाउने बेला आएको बताए । उनले भने, “हामीसँग अनुभवी ब्याट्सम्यान छन् । कुनै न कुनै खेलमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उनीहरुले ५–६ खेल खेलिसकेका छन् । जिम्मेवारीका साथ खेलाडीहरुले ब्याटिङ गरिरहेका छन् । टिम एउटा खेलाडीमा भर परेको छैन । नयाँ–नयाँ खेलाडी छन्, जसले घरेलु लिगमा पनि आफ्नो खेल देखाइसकेका छन् । अहिलेको टोलीमा कुनै एकमात्र नभई व्यक्तिगत रुपमा सबैले उत्तिकै राम्रो खेल्छन् ।”

उमेर समूहमा गरेको प्रदर्शनकै आधारमा सिनियर टोलीमा स्थान बनाएका रोहितलाई फेरि एकपटक प्रमाणित गर्ने मौका छ । त्यसमा उनी सजग छन् । “सधै अवसरले पर्खिंदैन । पाएको बेलामा गर्न सके हो । म पूर्णरुपमा आफ्नो खेल प्रदर्शन गर्नेछु । बाँकी खेलाडी पनि उत्तिकै प्रतिबद्ध छन्, विश्वकपका लागि छनोट हुन,” रोहितले भने । 

भारतमा १५ दिन गरेको अभ्यासले टोली थप मजबुत भएको उनको भनाइ छ । “विज्ञबाट प्रशिक्षण पाएका छौं । मलेसियाको जस्तै मौसम रहेको भारतमा गएर अभ्यास गरेका छौं, त्यसले पनि हामीलाई सहयोग गर्नेछ,” उनले थपे । 

प्रशिक्षक विनोद दासले खेलाडीमा लिडर गर्न सक्ने क्षमताकोे वृद्धिका लागि पालो गरेर कप्तानी रोहितलाई सुम्पिएको बताए। मलेसिया जानुअघि प्रशिक्षक दासले सिनियर टोलीमा खेलिसकेको खेलाडीको प्रदर्शनसँगै लिडरसिप बढाउन रोहित छानेको बताएका थिए । यसअघि यु–१९ टोलीको कप्तानी सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र आसिफ शेखले पनि गरेका थिए । 

१६ वर्षिय रोहितले सन् २०१६ श्रीलंकामा एसिया कपबाट यु–१९ क्रिकेटमा डेब्यु गरेका थिए । डेब्यु प्रतियोगितामा शानदार प्रदर्शन गरेका रोहितले भारतविरुद्ध ६८ रनको अर्धशतकीय पारी खेलेका थिए । उनको प्रदर्शनका बाबजुद पनि नेपाल भारतसँग ६ विकेटले पराजित भएको थियो । 

त्यसपछि २०१७ मा मलेसियामा आयोजना भएको एसिया कपमा भारतमाथि जित निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । पहिलो पटक भारतमाथि जित निकाल्दा रोहित टोलीको महत्वपूर्ण सदस्य थिए । उक्त खेलमा भने नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । २०१८ मा पनि एसिया कप खेलेका रोहित यो पटक भने आईसीसी विश्वकप अन्तर्गत एसिया छनोटमा कप्तानीको जिम्मेवारी सम्हाल्दै छन् । 

नेपालले आगामी शुक्रबार सिंगापुरसँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । ३० गते शनिबार यूएईसँग खेल्ने नेपालले वैशाख २ गते घरेलु टोली मलेसियासँग खेल्नेछ । वैशाख ३ गते ओमानसँग नेपालले अन्तिम खेल कुवेतसँग खेल्नेछ । ६ टोली रहेको सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली एक दिवसीय विश्वकपका लागि छनोट हुनेछ । 

रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा पवन सर्राफ, सन्दीप जोरा, आसिफ शेख, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सूर्य तामाङ रहेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro