सिन्धुपाल्चोक । फागुनमासको तालु पोल्ने प्रचण्ड धूप । अविश्रान्त बगिरहने इन्द्रावतीको कलकल आवाजले पनि झ्याँडीलाई शीतल दिन सकेको छैन । न बस्तीका फाँट भिजाउँदै बग्ने झ्याँडी खोलाले नै माझीका आङ चिस्याउन सकेको छ । बेलाबखत फगटाका गहुँ हल्लाउँदै हावा त बहन्छ । त्यो पनि आगाको भुंग्रोजस्तै रापिलो छ ।
फागुनको पुछारमा ०७२ वैशाखको भूकम्पले धूलाम्य बनाएको माझी बस्ती पुग्दा स्थानीय दिनेश माझी छोराको कपालमाथि कैँची दौडाइरहेका थिए । चार वर्षअघि भूकम्पले क्षतविक्षत तुल्याएको पुस्तैनी माझी बस्ती ठडिएकाले पनि हुनुपर्छ, फुरुङ्ग थियो अनुहार ।
०७२ वैशाखको भूकम्पको केन्द्र उत्तरी गोरखाको बारपाक थियो । तर सिन्धुपाल्चोकमा व्यापक धनजनको क्षति भयो । भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदन (पीडीएनए) अनुसार भूकम्पले ८ हजार ७ सय ९० जनाको ज्यान लियो, त्यसमध्ये आधा सिन्धुपाल्चोककै परे । जिल्लाका ९७ प्रतिशत घरहरू भग्नावशेष बने ।
०७२ वैशाखको भूकम्पबाट ८७ हजार ८ सय २८ घरमा क्षति पुगेको र तीमध्ये अधिकांश भग्न बनेको सरकारी तथ्यांक छ । जसमध्ये उठ्नै नसक्नेगरी थला बस्ने, झ्याँडीको माझी बस्ती पनि थियो ।
“झन्डै ५३ वटा माझी बस्ती हेर्दाहेर्दै खण्डहर बने,” महाबिनासकारी भूकम्पलाई यसरी सम्झन्छन् दिनेश ।
बस्तीको सम्पत्ति भन्नु केवल गरिबी थियो, अभाव थियो । रोग, भोक र शोक नियतिले थमाएका विद्रूप उपहार थिए ।
इन्द्रावतीको उच्चाटिलो बगर खनी–खोस्री गर्नु, इन्द्रावती–झ्याँडीको किनार, जँघार चहारेर अँगेनोमा आगो जोड्नु उनीहरूको दैनिकी थियो । दश नंग्रा खियाउँदा पनि मुखमा माड पार्न हम्मेहम्मे नै थियो । ०७२ वैशाखको भूकम्प थपिएपछि जीवन झनै कष्टकर बन्यो ।
“भूकम्पपछि माझी बस्ती दुई वर्षसम्म भग्नै रह्यो । भत्किएका घरहरूका अवशेष पन्छाउने आँटसमेत कसैमा आएन । दाताहरूले दिएको एकसरो त्रिपालमा जीवन काट्नुबाहेक यहाँका मानिससँग कुनै विकल्प थिएन,” साविक ठू्लो सिरुवारी–९ र अहिलको चौतारा साँगाचोकगढी नगरपालिका– १४ का दिने भन्छन् ।
तर, श्वेता खड्का उक्त बस्तीका लागि ‘नायिका’ सावित भइन् ।
२०७४ जेठ १५ गते नायिका एवम् फिल्म निर्मात्री श्वेता खड्काले एकीकृत बस्तीको शिलान्यास गरिन् । भूकम्पको अवर्णनीय पीडा बोकेर बसेका विपन्न माझीहरूको अनुहारमा खुसी छायो ।
केही घर दसैँमै हस्तान्तरण गर्ने योजना नायिका श्वेताका थियो । तर, परिस्थिति उनको काबुमा थिएन । सरकारले उपलब्ध गराउने आवास अनुदान, स्थानीयबासीको श्रमदान र माझी बस्ती बनाउने हुटहुटीले नै जन्माएको श्वेताश्री फाउन्डेशनको त्रिपक्षीय लगानीमा बस्ती उभ्याउने सपना सार्थकता पाउन झन्डै दुई वर्ष पर्खनुपर्यो ।
“एक त सरकारको प्रक्रियामुखी र झन्झटिलो नीतिनियम । अर्कोतिर फाउन्डेशन र पीडितकै लागि पनि नयाँ अभ्यास गति लिनै समय लाग्यो,” बस्ती ढिला बन्नुको कारण बताउँछन् उनी ।
सरकारले तीन किस्तामा उपलब्ध गराउने ३ लाख आवास अनुदानले मात्रै घर बनाउन पर्याप्त नहुने भएपछि सरकारले नै उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा पनि उपयोग गर्ने उनीहरूले योजना बनाए । तर, बैंकको झन्झटिलो प्रक्रियाका कारण निर्माणका ढिलाइ भएको माझी थप्छन् ।
फाउन्डेशनको भूमिका के ?
धुर्मुस सुन्तली फाउन्डेशनले सिन्धुपाल्चोकमै ६६ वटा घर रहेको गिरानचौर एकीकृत नमुना बस्ती निर्माण गर्यो । त्यसमा स्थानीयको श्रमदान बाहेक अरू सबै फाउन्डेशनले नै बेहोर्यो ।
झ्याँडीमा भने बाटो, बत्ती, सामुदायिक भवन, चिल्ड्रेन पार्कलगायत पूर्वाधार निर्माणमामात्रै श्वेताश्री फाउन्डेशनले लगानी गरेको दिनेश बताउँछन् । यसका अलावा माझीहरूको सीप विकास र दीर्घकालीन आयआर्जनका लागि पनि फाउन्डेशनले सहयोग गर्ने सम्झौता भएको माझीको भनाइ छ ।
सुर जोडिएका घर भए पनि बस्तीमा सगोलको जग्गा थिएन । ती जग्गालाई एकत्रित गर्न समय लागेको उनको भनाइ छ । बस्ती निर्माणमा इन्टरलक्ड इँट्टाको प्रयोग गरिएको र त्यसप्रकारको इँट्टा प्रयोग गरेर घर बनाउने मान्छेको पनि अभाव भएकाले बस्ती बनाउन ढिलाइ भएको झ्याँडी माझी बस्ती टोल–सुधार समितिका अध्यक्षसमेत रहेका दिनेश थप्छन् ।
“अरूले बनाएर दिएको घरको संरक्षण नहोला । बस्तीको महत्त्व नबुझ्लान् भनेर सकेसम्म हामीले स्थानीयहरूलाई नै निर्माणमा खटायौँ । त्यसले पनि बस्ती निर्माणमा विलम्ब भयो,” दिनेश सुनाउँछन् ।
‘धेरै हण्डर खाएँ’
भूकम्पको चार वर्षपछि झ्याँडीका माझीहरूको सपनाले आकार लिएको छ । बस्तीमा लस्करै घर उभिएका छन् । घरका छानामाथि राता कर्कटपाता चम्किएका छन् ।
यो रहर पूरा गर्न निकै हण्डर–ठक्कर बेहोर्नुपरेको श्वेता खड्का बताउँछिन् । ०७३ को माघमा झ्याँडी टेकेकी खड्का माझीहरूको अभिशप्त जिन्दगी देखेर निकै भावुक भएकी थिइन् र उद्वेलित हुँदै बस्ती निर्माणको वाचा गरेकी थिइन् ।
तर, यो वाचा पूरा गर्न आफू उपहासको पात्र बन्नु परेको दुःखेसो उनी सुनाउँछिन् । “‘सानो घर, हाम्रो रहर’ को सपना साँचेका माझी बस्तीका दाजुभाइ तथा दिदिबहिनीहरूसँग हात्तेमालो गर्दै यहाँसम्म आइपुगेँ । यहाँसम्म आउँदा धेरै कस्ट सहेँ, धेरै हण्डर खाएँ, कतिले गाली गरे अनि कत्तिले आँखा तरे, कोहीले आश देखाए, कोहीले उपहास गरे । तर, सहयोगीहरूको साथ र माझी बस्तीका युवाहरूका हातका कारण सपनालाई बिवपनामा परिणत गर्ने तरखरमा छौँ,” उनी आफ्नो अनुभव सुनाउँछिन्, “अझै केही काम बाँकी छन् । म एक्लैले अपुरो कामलाई पूरा गर्न सम्भव छैन । आउनुस्, अझै मौका छ । नमुना माझी बस्तीमा आ–आफ्नो तर्फबाट योगदान गरौं,” अन्तिममा उनी थप्छिन् ।