– रेखा शाही
काठमाडौं । अथक मिहनेत र अथाहा संघर्षपछि मात्र सफलता हात लाग्छ । अझ खेलकुदमा त सहजै सफल परिणामको आशा नै गर्न सकिदैन । पटक-पटकको प्रयासपछि पनि सफलता पाउन सकस हुन्छ भने प्रयासबिना नै सफल हुने आशा गर्नुको कुनै तुक छैन । भलिबल प्रशिक्षक कुमार राईले यदी खेलाडी उत्पादनका लागि प्रयास गर्दैनथे वा मन मार्थे भने सायद आज घरेलु भलिबलको सफल टोलीमध्येको एक न्यू डायमण्ड एकेडेमीको अस्तित्व हुने थिएन ।
मुख्य पेसा अध्ययन भए पनि उनको मन खेलकुद अझ त्यसमा पनि भलिबलमा थियो । २०६२ सालमा नैकापमा न्यू डायमण्ड स्कुलको स्थापना गरेका राई सुरुमा पुरुष फुटबल खेलाडी उत्पादनमा केन्द्रित थिए । तर, त्यसमा उनले सोचेजस्तो गति लिन सकेनन् । विकल्पमा उनले एथ्लेटिक्स प्रशिक्षण सुरु गरे, त्यो पनि सफल हुने सम्भावना उनले देखेनन् । अनि फर्किए भलिबलतिर । तर त्यो पटक पुरुष होइन महिला भलिबल खेलाडी उत्पादनको लक्ष्यसहित उनले आफ्नो अभियान अघि बढाए ।
उनको त्यही निर्णयले अहिले न्यू डायमन्ड एकेडेमी भलिबल प्रेमिका लागि प्रिय नाम बनेको छ । महिला भलिबल खेलाडी उत्पादनको अभियानमा लागेदेखि राईले पछाडि फर्किनु परेको छैन । भलिबलले न्यू डायमन्ड, खेलाडी स्वयम र राईलाई समर्थककाबीच लोकप्रिय बनाएको छ भने उनीहरुका संलग्नताका कारण नेपाली भलिबल विकासमा निकै ठूलो योगदान पुगेको छ ।
घरेलु महिला भलिबलमा नेपाल एपीएफ क्लबको दबदबा छ । अन्य दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको पनि भलिबल टोली छ । योजनाबद्ध लगानी र विभागीय टोलीको खेलकुदप्रतिको संलग्नताका कारण नेपाली खेलकुद विकासमा ठूलो टेवा पुगेको छ । नेपालमा लोकप्रिय सबै खेलमा विभागीय टोलीको संलग्नता रहँदै आएको छ ।
व्यवस्थित र नियमित प्रशिक्षणका कारण घरेलु भलिबलमा एक क्षत्र राज गर्दै आएको एपिएफलाई कसैले कडा चुनौती दिन्छ भने त्यो टोली हो न्यू डायमण्ड एकेडेमी । सशस्त्र प्रहरीले अघिल्लो साता आयोजना गरेको भलिबलमा एपिएफ र डायमन्डले नै फाइनल खेले । जसमा एपिएफ सफल भयो । पछिल्लो केही वर्षयता महिला भलिबलका अधिकांश प्रतियोगिताका फाइनल खेल यी दुई टोलीबीच हुने गरेको छ ।
सामान्य एउटा क्लबका रुपमा भलिबल यात्रा सुरू गरेको एकेडेमीले अहिले भलिबल क्षेत्रमा फरक पहिचान बनाएको छ । यो एकै दिनमा प्राप्त भएको सफलता होइन । प्रशिक्षक राईको निरन्तरको प्रयास र खेलाडीको अथक मेहनतका कारण आज एकेडेमीको फरक पहिचान सम्भव भएको हो ।
पुरुष भलिबलमा सोंचेजस्तो सफलता हात नलागे पनि महिला खेलाडीको सफलताले भने उनलाई उत्साहित बनाएको छ । स्कुल समय सकिएपछि उनले प्रशिक्षण दिने गरेका थिए ।
कुलेश्वरको ज्ञानकुञ्ज स्कुलले आयोजना गरेको भलिबल प्रतियोगितामा डायमन्डले पहिलो पटक भाग लियो । नौ खेलाडीका साथ प्रतियोगितामा खेल्न पुगेको डायमन्डका खेलाडी सर्भिस कटाउनसम्म सक्ने भएका थिए । पहिलो उपस्थितीमा नै डायमण्डले त्यति बेलाको चर्चित टोली अनजज्योति स्कुलको टोलीसँग भिड्न पर्यो । त्यो खेल गुमाएपनि टोलीले त्यसबाट प्रतियोगिताको अनुभव गर्यो र त्यो खेलमा टोलीले १ अंक जोड्यो ।
त्यो प्रदर्शनले राईलाई उत्साहित बनायो । "अंक आउला भन्ने लागेकै थिएन । सानो सफलता थियो तर, त्यसले हाम्रो मनोबल ह्वात्तै बढायो, प्रशिक्षक राईले स्मरण गरे, त्यसपछि हामीले प्रशिक्षणमा अझै ध्यान दियौं । खेलाडीले र हाम्रो टोलीले विस्तारै आफूलाई स्थापित गर्दै लग्यौं । आज परिणाम सबैका सामु छ । यो सम्झंदा आनन्द लाग्छ ।"
एक दशक लामो यात्रामा डायमन्डले उत्पादन गरेका चार खेलाडीले राष्ट्रिय टोलीमा बलियो स्थान बनाएका छन् । एकेडेमीकी उत्पादन रमिला तन्डुकार अमेरिकामा छिन् भने बाँकी ३ खेलाडी अहिले पनि राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । ती हुन- समर्थककाबीच लोकप्रिय प्रतिभा माली, रेश्मा भण्डारी र कृपा अधिकारी ।
प्रतिभा अहिले पनि डायमन्डबाट खेल्छिन् । रेश्मा र कृपाको भलिबल यात्रा भने अन्य टोलीबाट अघि बढिरहेको छ । रेश्मा एपिएफ र कृपा आर्मीमा आबद्ध छन् । खेलाडी उत्पादन अहिले पनि एकेडेमीको मुख्य लक्ष्य हो । ४५ खेलाडी अहिले पनि नियमित प्रशिक्षणमा छन् ।
खेलाडी बन्ने आफ्नो सपना पुरा गर्न नसकेपछि खेलाडी उत्पादन गरेर त्यो रहर पुरा गर्दैछन् प्रशिक्षक राई । संखुवासभामा जन्मेका राई जिल्ला स्तरका खेलाडी थिए । अञ्चल टोलीमा उनी छनोट हुन सकेनन् ।
टोलीमा पर्न नसक्नुमा खेलभन्दा पनि आफ्नो होचो कद हो भन्ने राईको बझाई छ । तर, आफू खेलाडी हुन नसकेकोमा उनलाई पछुतो छैन । आफूले उत्पादन गरेका खेलाडीले भलिबल खेल्दा उनी दंग हुन्छन् । राई भन्छन्, ‘अहिले चेलीहरु मेरो रहर पूरा गरीरहेका छन् । मै हुँ भन्ने टोलीलाई माथ खुवाएका छन् । उनीहरुले जित्दा आफनो इच्छा पूरा भएको महसुस गर्छु ।
अव्यवस्थित प्रतियोगिता रहर होइन बाध्यता
दुई वर्षअघि भलिबलले राष्ट्रिय मान्यता पाएपछि घरेलु प्रतियोगिता आयोजनाको संख्या ह्वात्तै बढेका छन् । तर प्रतियोगिता आयोजना जति पनि भएका छन्, ती व्यवस्थित भने हुन सकेका छैनन् । एकाध प्रतियोगिता मात्र व्यवस्थित हुने गरेका छन् । प्रशिक्षक राई प्रतियोगिता अव्यविस्थत भए पनि भाग लिनु पर्ने एक खालको बाध्यता भएको स्वीकार्छन् ।
‘यति लामो समयदेखि लगानी गरेका छौं । आयोजना भएका प्रतियोगिता भाग नलिन पनि मिलेन, उनले भने, कतिपय प्रतियोगिता हेर्दा भलिबलाई रााष्ट्रिय खेल हो भन्न पनि अप्ठ्यारो छ । पुरस्कार राशी पनि त्यस्तो धेरै हुने होइन ।
न्यू डायमन्ड आफैंले पनि पछिल्लो दुई वर्षयता प्रतियोगिता आयोजना गर्न थालेको छ । कोर्टको अभावका कारण डायमण्डले आफैं स्कुलमा प्रतियोगिता आयोजन गर्यो । तर, त्यो मैदान भलिबल प्रतियोगिताका लागि उपयुक्त थिएन । अर्को संस्करणबाट भने उनले त्रिुपरेश्वरको राखेप कभर्ड हलमै खेलाउन पाउने आशा व्यक्त गरे ।
राई भलिबल प्रतियोगिता आयोजनालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिन्छन् । लगातार प्रतियोगिता आयोजनाले खेलाडीले आरामको समय नपाउने अवस्था रहेको उनको बुझाई छ ।
‘एकपछि अर्को प्रतियोगिता हुँदा खेलाडीले आराम पनि गर्न पाउँदैनन् । थकाइका बाबजुद पनि खेल्न परेको छ । खेलाडीको बीमा छैन, उनको सुझाव छ, प्रतियोगिताको व्यवस्थापन, स्तर निर्धारण, खेलाडी बीमालगायत विषयमा नेपाल भलिबल संघले नीतिगत निर्णय लिएर अघि बढ्नु पर्ने बेला भइसकेको छ । ’
डायमन्डको पहिलो विदेश यात्रा
खेलाडी उत्पादनमा दशक लामो यात्रा तय गरेको डायमण्डको युवा टोली अहिले क्रोएसिया भ्रमणमा छ । क्रोएसियामा जारी वल्र्ड स्कुल यू–१५ च्याम्पियनसिपमा डायमन्डले नेपालको प्रतिनिधित्व गरिहेको छ ।
नेपाल स्कुल स्पोर्टस फेडेरेसनको समन्वय तथा इन्टरनेशनल स्कुल अफ फेडेरेसनको आयोजनामा भइरहेको प्रतियोगितामा डायमन्डले मौका पाएको हो । राईले क्रोएसिया जानुअघि भ्रमण फलदायी हुने विश्वास राखेका थिए । "यो टोलीमा अग्ला खेलाडी छन्, राईको विश्वास छ, भलिबमा यही खेलाडी मध्य केही राष्ट्रिय टोलीमा जान सक्ने सम्भावना छ । हामीसँग अग्ला र मेहनती खेलाडी छन् ।"