काठमाडौं । दश वर्ष भयो जोरपाटी–साँखु सडकका उपभोक्ताले सास्ती बेहोरेको । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका अझ विशेष गरेर ह्विलचेयर प्रयोगककर्ताका लागि त यो बाटो अभिशापजस्तै थियो । गायत्री दाहाल अनुभव सुनाउँछिन्– चुच्चेपाटी–साँखु सडक सास्तीको एउटा मानकै बनेको छ ।
सुन्दरीजलबाट जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रसम्म ओहोरदोहोर गर्दा उनको ह्विलचेयर कयौँपटक वर्षाको भेलमा पर्यो । खाल्टाखुल्टीमा अड्किएर हारगुहार गर्नुपर्यो । स्पाइनल कर्ड इन्जुरीसँग पौँठेजोरी खेलिरहेकी दाहाल सडक–सास्तीकै कारण कयौपल्ट अस्पताल भर्ना नै हुनुपरेको छ ।
नयाँ सरकार बनेसँगै जोरपाटी–साँखु सडक निर्माणले गति लिएपछि दाहालका अलावा खगेन्द्र नवजीवन केन्द्रमा आश्रय लिइरहेका शारीरिक रूपमा अशक्त–अपाङ्गगता भएकाहरूको अनुहारमा चमक देखा परेको थियो । सडक–सास्तीबाट उन्मुक्ति मिल्ने उनीहरूको अपेक्षा थियो ।
कारण– महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलले २०६९ सालमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सरचना निर्माणका लागि निर्देशिका नै जारी गरेको थियो ।
अतः नयाँ सडक निर्माण भएपछि सास्तीबाट मुक्ति पाइएला भन्ने आशा लिएका थिए । तर ठेकेदारले निर्देशिका लत्याउँदै फुटपाथसमेत अतिक्रमण गरेर सडक निर्माण गर्न थालेपछि बिहीबार ह्विलचेयर प्रयोगकर्ताको धैर्यको बाँध टुट्यो ।
सधैँ पिसाबको थैलो, औषधिका ट्याब्लेट र पानीका बोतल बोकेर पहुँचयुक्त संरचनाको अभाव छिचोल्दै ओहोरदोहोर गर्ने ह्विलचेयर प्रयोगकर्ताको हातमा बिहीबार गैँती र ह्याम्बर हातमा थियो । र, बाटो हिँड्ने संविधान प्रदत्त, नैसर्गिक अधिकार साँघुर्याउँदै खडा गरिएको पैताला मुस्किलले अडिने फुटपाथ भत्काएर आक्रोश साम्य पारे ।
खै फुटपाथ ?
काठमाडौं उपत्यका सडक विस्तार आयोजना नामको नग्न नाच जोरपाटीमा देख्न पाइने बताउँछन्– खगेन्द्र नवजीवनका अपाङ्गता भएका व्यक्तिहरू । “शारीरिक रूपमा शक्तहरू त हिँड्न नसकिने सडकपेटी खडा गरिएको छ, ह्विलचेयर प्रयोगकर्ता कहाँबाट हिँड्ने ?” इन्डिपेन्डेन्ट लिभिङ सेन्टरका सल्लाहकार एवम, अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठ बताउँछन् ।
सरकारले अपाङ्गता भएका नागरिकलाई मान्छे नै नदेखेको र मानवीय व्यवहार नै गर्न नजानेको उनको आक्रोश छ । खगेन्द्र नवजीवन केन्द्र अपाङ्गता भएकाहरूको पुनर्जीवन प्राप्त गर्ने थलो हो । जीवन विकास र सीप विकासका लागि मुलुकभरका अपाङ्गता भएका, स्पाइनल कर्ड इन्जुरी भएकाहरू धाउने गर्दछन् । “यहीँको बाटोको हालत नर्कतुल्य भएपछि अन्यत्रका संरचना कस्ता होलान् ?,” श्रेष्ठको प्रश्न छ ।
साँखु–जोरपाटी सडक विस्तार आयोजनाले अपाङ्गता भएको व्यक्तिको अधिकारको धज्जी उडाएको छ नै । निर्वाध बाटो हिँड्न पाउने बटुवाको अधिकारसमेत कुण्ठित तुल्याएको छ ।
सडक पेटीमा बटुवाको पहिलो अधिकार हुन्छ । सडक निर्माण र विस्तार गर्दा फुटपाथ र सडकपेटी बारे ध्यान दिइनुपर्छ ।
तर, जोरपाटी–साँखु सडक विस्तार आयोजनाले न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेको बताउँछन्– युवा अपाङ्गताका क्षेत्रमा काम गरिरहेका प्रकाश श्रेष्ठ । सडक पेटी व्यवस्थित नहुँदा ह्विलचेयर प्रयोगकर्ता मात्र होइन, अपाङ्गता नभएका व्यक्तिसमेत दुर्घटनाको उच्च जोखिममा रहेको उनको भनाइ छ ।
मुस्किलले एउटा इँटा अट्ने सडकपेटी पनि व्यापार–व्यवसाय गर्नेको कब्जामा छ । पसलेहरूले सडक पेटीमै मालसामान राखेर व्यापार गर्दा सडक पेटी र फुटपाथविहीन बनेको श्रेष्ठको तर्क छ ।
मन्त्रीको निर्देशनसमेत लत्याए ठेकेदारले
खगेन्द्र नवजीवनका कारण चुच्चेपाटी–नारायणटार सडकखण्ड अपाङ्गता भएका व्यक्ति ओहोरदोहोर गर्ने प्रमुख बाटो बनेको छ । त्यही बाटोले हो उनीहरूलाई घरभित्रबाट बाहिर निकालेको पनि ।
सडक पूर्वाधार ह्विलचेयर नगुड्ने र अपाङ्गता भएकाले थप सास्ती बेहोर्नुपरेको भन्दै हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पहलमा चन्दा संकलन गरेर चार वर्षपहिले र्याम्प खडा गरिएको थियो ।
अहिले सडक विस्तारका नाममा बल्लतल्ल बनेको र्याम्पसमेत भत्काइएको भन्दै अधिकारकर्मीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका ध्यानाकर्षण गराएका थिए । मन्त्री महासेठले सडक बनाउँदा पेटी ह्विलचेयर गुड्न सक्ने, अपाङ्गतामैत्री बनाउन निर्देशन दिए पनि ठेकेदार र सडक विभागका इन्जिनियरले वास्तै नगरेको, पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नै नभएको भन्दै अपाङ्गता भएका व्यक्तिको धैर्यको बाँध टुटेको श्रेष्ठ बताउँछन् ।