काठमाडौं । खेल जित्दा खेलाडी तथा प्रशिक्षकलाई जवाफ दिन जति सहज हुन्छ, हार्दा त्यत्ति नै कठिन । सवाल–जवाफमा हारका अनगिन्ती कारण हुन सक्छन् । हारमा कारण धेरै खोजिन्छ । जितले खुसी दिने भएकाले त्यसका बारेमा धेरै प्रश्न हुँदैनन् । बरु सफलताका अन्य कथा जोडिन थाल्छन् ।
यसै साता विराटनगरको सहिद रंगशालामा पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल समाप्त हुँदा फेरि एक पटक उपाधिबाट विमुख भएको नेपाली टोलीको हारका अनगिन्ति कारणको चर्चा सुरु भएको छ ।
यसपटक लामो तयारी र घरेलु मैदानमा च्याम्पियनसिप भएकाले नेपालले उपाधि घरमै राख्नेमा खेलप्रेमी आशावादी थिए । तर, अन्ततः त्यस्तो भएन । पाँच वर्षपछि फाइनल पुगेको नेपाल फेरि एक पटक निराश हुनुपरेको छ । सन् २०१० बाट सुरु भएको च्याम्पियनसिपको फाइनलमा भारतसँगको चौथो भेटमा पनि नेपाल विजेता बन्न सकेन ।
नेपाललाई दाबेदार मध्येको एकका रुपमा हेरिएको थियो, जुन स्वभाविक पनि थियो । फाइनलसम्म पुग्दा नेपाल भारतजस्तै १ गोल पनि नखाई अघि बढेको थियो । भुटान र बंगलादेशलाई समूह चरणमा समान ३–० को जित निकालेको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ४–० को ठूलो अन्तरले हराएको थियो ।
तर, नेपालको वास्तविक परीक्षा फाइनलमै पुगेर भयो, जहाँ फेरि भारतसँग एक पटक निराश हुनु परेको थियो । एक महिनाअघि भारतमा आयोजना भएको हिरो गोल्डकपमा भारतलाई २–१ ले हराएको नेपाल घरेलु मैदानमा भने निराश भयो । पहिलो हाफसम्म १–१ को बराबरी भएको खेलमा भारतले अन्ततः ३–१ ले जित निकाल्यो ।
पहिलो पटक नेपाललाई महिला साफ च्याम्पियन बनाउन दृढ देखिएका प्रशिक्षक हरि खड्काले फाइनलपछि हारको सबै जिम्मा आफूले लिने बताए । प्रशिक्षकको जिम्मेवारी आफ्नो ठाँउमा सहि नै थियो । खेलाडी पनि साफमा भारतको विरासतलाई तोड्ने सपना पूरा नहुँदा निराश भए । नेपालले उपाधि जित्ने आशाले रंगशाला पुगेका सयौं दर्शक निराश भएर घर फर्के ।
यस्तै माहोलका बीचमा महिला टोलीले साफ च्याम्प्यिनसिपको फाइनल हेर्न नेपालीले वर्षौं कुर्नुपर्ने हुन सक्छ । पाँचौं संस्करणसम्म आइपुग्दा नेपालले पहिलो पटक साफ च्याम्प्यिनसिप आयोजनाको मौका पाएको थियो । अब यही च्याम्पियनसिप आयोजनाका लागि नेपालले वर्षौ कुर्नुपर्छ ।
फाइनलको पहिलो हाफमा शानदार प्रदर्शन गरेको नेपाली टोली दोस्रो हाफमा भारतसँग कमजोर देखियो । हरेक पक्षमा भारतीय टोली हावी भयो र अन्ततः उपाधि उचाल्यो । नेपालीको पोल्टोमा फेरि पनि निराशा पर्यो ।
प्रशिक्षक खड्काले फाइनलको अघिल्लो दिन भारत नेपाल भन्दा बलियो भएको स्वीकारेका थिए । उनले भनेका थिए, ‘हामी भन्दा भारत सबै हिसाबले माथि हो । उनीहरुलाई हामीले जित्ने भनेको जोश ले नै हो ।’ पहिलो हाफसम्म १–१ को बराबरीलाई हेर्ने हो भने प्रशिक्षक खड्काको दाबी सही थियो । दोस्रो हाफमा नेपाली टोलीमा पहिलो हाफकै जस्तो जोश देखिएन । भारत विस्तारै खेलमा हावी हुँदै गयो र पाँचौं पटक च्याम्पियन बन्यो ।
फाइनलपछि कतिपयले खेलाडीको क्षमतामा पनि प्रश्न उठाए । अर्कोतर्फ खेलाडीको प्रशंसा गर्ने पनि भेटिए । न्यून लगानीका बीच भारतजस्तो टोलीलाई टक्कर दिनुलाई कतिपयले उच्च प्रदर्शन भनेका छन् । भारतले फुटबलमा ठूलो लगानी गरेको छ । जसले गर्दा टोली दक्षिण एसियाली राष्ट्रमाझ महिला फुटबलमा लगातार ९ वर्षदेखि च्याम्पियन बन्दै आएको छ ।
भारतका खेलाडी बर्षेनी कुनै न कुनै प्रतियोगितामा व्यस्त हुन्छन् । वैदेशिक प्रशिक्षण पनि नियमित रुपमा हुने गर्दछ । जसले भारतलाई दक्षिण एसियामा परिणाम निकाल्न मुस्किल छैन ।
सधै दाबेदारका रुपमा देखिएपनि उपविजेता नेपालको अवस्था भने भारतको भन्दा फरक छ । पछिल्लो केहि महिनायता महिला टोली व्यस्त रहेपनि घरेलु फुटबलको अवस्था कमजोर छ । विभागीय टोली र जिल्लाका महिला टोलीबीच स्तरमा ठूलो अन्तर छ ।
पर्याप्त लगानी गर्दा त अपेक्षा अनुसारको नतिजा प्राप्त गर्न कठिन हुन्छ भने विना लगानी सफलताको अपेक्षा गर्नु मुर्खता नै हो । नेपालमा राष्ट्रिय फुटबल टोली पुरुषको तुलनामा महिला खेलाडीको प्रतियोगितामा कमी छ नै । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने सुविधामा पनि विभेद छ । पुरुष खेलाडीले १५ हजार रुपैयाँ मासिक प्राप्त गर्दा महिला खेलाडीले आधा भन्दा कम ७ हजार रुपैयाँमा सन्तोष मान्नुपर्ने अवस्था छ ।
महिला टोलीले देखाएको सम्भावनाः वर्षमा ३ प्रतियोगिता
साफ च्याम्पियनसिपमा पुनः दोस्रो स्थानमा चित्त बुझाए पनि पछिल्लो केहि महिनायता नेपाली महिला टोलीले लगातार उच्च प्रदर्शन गरिरहेको छ । गत कात्तिकमा म्यानमारमा सम्पन्न ओलिम्पक छनोटका लागि नेपालले डेढ महिना तयारी गर्यो । त्यसबीचमा नेपालले चीनसँग मैत्रीपूर्ण खेल खेल्यो । घरेलु टोली म्यानमार, भारत र बंगलादेशसंग समान १–१ को बराबरी खेलेको नेपाल दोस्रो चरण पुग्न सफल भएको थियो । त्यसपछि स्वदेश फर्केर प्रशिक्षणमा जुटेको टोलीले भारतमा हिरो गोल्ड कपमा भाग लिएको थियो ।
हिरो कपमा भारतलाई २–१ ले हराउँदै नेपालले ऐतिहासिक जित निकाल्यो । भारतलाई महिला फुटबलमा हराएको त्यो पहिलो खेल थियो । हिरो कपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको थियो । तर, त्यसपछि घरेलु मैदानमा साफ च्याम्पियनसिप हुँदा नेपाल पुनः भारतसँग पराजित भयो ।
सिनियर टोलीले मात्र होइन, महिलाको उमेर समूहले पनि पछिल्लो समय उच्च प्रदर्शन गरिरहेको छ । भुटानमा सम्पन्न साफ यु–१८ महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । अर्कोतिर नेपालको यू–१९ महिला टोली एएफसी यु–१९ च्याम्पीयनसिप छनोटको दोस्रो चरणमा पुग्न सफल भएको थियो ।
खेलाडी निराश
साफमा उपविजेता हुनुको पीडासँगै खेलाडी आफ्नो भविष्यको चिन्तामा परेका छन् । प्रतियोगिताका दौरान केही दिन सबैको चासोमा परेपनि त्यसपछि भने लगभग बेवास्ता जस्तै रहने हुँदा महिला खेलाडी निराश हुनु पनि स्वभाविक हो ।
महिला टोलीकी एक महत्वपूर्ण सदस्य तुलानात्मक रुपमा कम लगानीकै कारण भारतलाई हराउन कठिन भएको मान्छिन् । उनले भनिन्, ‘प्रतियोगिता आउँदा बाहेक खेलाडीको केहि वास्ता हुँदैन । त न पारिश्रमिक न अन्य सुविधाका विषयमा राम्रो व्यवस्था हुन्छ । अनिश्तितामा कहिलेसम्म खेल्ने ? कहिलेकाहीँ त विदेश जाउँझै लाग्छ ।’
नाम बताउन नचाहने अर्की खेलाडी पनि नेपालमा पुरस्कार घोषणा भएपनि हात पर्न भने समय लाग्ने गुनासो गर्छिन् । ‘घोषणा गरेको पुरस्कार कहिले आउँछ भनेर कुनुपर्छ । तर हामीले आफ्नो तर्फबाट गर्ने प्रयास जारी राख्नेछौं । आशा नमारौं । नियमति खेल्न पाए भारतमाथि जित निकाल्ने साहास छ हामीमा,’ उनी भन्छिन् ।
नेपाली खेलाडीमा क्षमता छ भन्ने पछिल्ला केहि महिनायताको परिणामले पनि प्रष्ट भएको छ । तर, यति परिणामले मात्र पनि नेपाल साफ च्याम्पियन बन्न सकेको छैन । साफ च्याम्पियन बन्नका लागि अहिलेको तयारी भन्दा पनि अझै बढी गर्नुपर्ने देखिन्छ । अर्थात् पर्याप्त मात्रमा महिला फुटबलमा लगानी आवश्यक देखिन्छ ।