site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फाइनलमा पुग्ला नेपाल ? यस्तो छ अवस्था

विराटनगर । महिला साफ च्याम्पिनसिपमा नेपाली टोली सदाबहार दाबेदार टोलीका रुपमा परिचित छ । पछिल्ला चारमध्ये ३ संस्करणको फाइनल खेलको नेपाल यसपटक पुनः फाइनल पुग्ने बलियो सम्भावनाका बीच बुधबार श्रीलंकाविरुद्ध सेमिफाइनलमा उत्रँदैछ । 

घरेलु मैदानमा पहिलो पटक साफ च्याम्पियनसिपमा नेपालले लिग चरणका दुवै खेल जितेको थियो । यद्यपि नेपालले भुटानविरुद्ध पहिलो खेलमा जित दर्ता गर्दा गोलअन्तर भने अपेक्षा अनुसार बढाउन सकेन । बंगलादेशविरुद्धको दोस्रो खेलमा भने नेपाल पूरै लयमा देखिएको थियो । 

बंगलादेशविरुद्धको खेलको लयलाई कायम राख्ने र इतिहास हेर्ने हो भने श्रीलंका नेपालका लागि सहज प्रतिद्धन्द्धी हो । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र श्रीलंकाबीचको खेल बुधबार बिहान ११ बजे सुरु हुँदा नेपाल सहजै अघि बढ्ने अनुमान छ । नेपाल र श्रीलंकाबीच साफ च्याम्पियनसिपमा दोस्रो पटक सेमिफाइल हुँदैछ ।

समग्रमा भने यी दुई टोलीबीच चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१२ मा घरेलु मैदानमा आयोजना भएको दोस्रो संस्करणको साफमा श्रीलंका नेपालसँग सेमिफाइनलमा पराजित भएको थियो । अनु लामा, दिपा अधिकारी र लक्ष्मी पौडेलले गोल गरेपछि श्रीलंकालाई ३–० लाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको थियो ।

त्यसपछिका दुई संस्करणमा भने नेपालले श्रीलंकासँग समूह चरणमै प्रतिस्पर्धा गरेको थियो । २०१४ मा  नेपालले  श्रीलंकालाई ३–० ले हराएको थियो । त्यसबेला नेपालका लागि पूर्व कप्तान अनु लामा र निरु थापाले समान १–१ गोल गरेका थिए । पछिल्लो पटक २०१६ मा भारतको सिलगुढीमा सम्पन्न चौथो संस्करणको साफ च्याम्पियनसिपमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नेपाल १–० ले विजयी भएको थियो । नेपालको त्यो जितमा श्रीलंकाको आत्मघाती उपहार गोल पर्याप्त भयो । 

सात वर्षपछि यी दुई टोली सेमिफाइनलमा भिड्दैछन् । यति बेला पनि नेपाल उपाधि दाबेदार मध्येको एक हो भने श्रीलंका कमजोर प्रतिद्धन्द्धी । त्यहि कमजोरीमाथि फाइदा उठाउने लक्ष्यमा रहेको नेपाली टोलीका प्रशिक्षक हरि खड्का सेमिफाइनलका लागि टोली तयार रहेको बताउँछन् । सेमिफाइनलमा श्रीलंकाविरुद्ध खेल्नुअघि प्रशिक्षक खड्काले फाइनल पुग्न खेलाडीहरु मानसिक र शारीरिक रुपमा तयार रहेको बताए । 

विराटनगरमा जारी च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आयोजक नेपाल भोलि बुधबार श्रीलंकाविरुद्ध खेल्दैछ । समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाल समूह बी को उपजिवेता श्रीलंकालाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा छ । 

तुलनात्मक रुपमा कमजोर मानिएको श्रीलंकामाथि प्रशिक्षक खड्काले आक्रामक खेल प्रदर्शन गर्ने योजना बनाएका छन् । तर प्रतिद्वन्द्वीलाई कमजोर रुपमा नलिई सतर्क रहनुपर्नेमा प्रशिक्षक खड्का सचेत छन् । उनले भने, “पहिलो लक्ष्य फाइनल पुग्नु हो र त्यसपछि उपाधि । त्यसलाई निरन्तरता दिन हामी श्रीलंकाविरुद्ध आक्रवमक खेल्नेछौं । भारतसँगको खेलमा श्रीलंका केही कमजोर देखियो । तर प्रतिद्धन्द्वीलाई कमजोर सम्झेर खेल्ने छैनौं ।”

समूहको अन्तिम खेलमा श्रीलंका साविक विजेता भारतसँग ५–० को गोलअन्तले पराजित भएको थियो । प्रशिक्षक खड्काले पराजितपछि कमजोर मनोबलमा रहेका खेलाडीमाथि फरक रणनीति अपनाउने बताए । “भारतसँगको खेलपछि कुन खेलाडीलाई रोक्नेबारे रणनीति बनाएका छौं । श्रीलंकाले काउन्टर र डिफेन्सिफ खेल्छ । त्यही डिफेन्सिफ सेभलाई तोड्न  प्रशिक्षणमा गरेको कुरालाई लागु गर्नेछौं,” प्रशिक्षक खड्काले भने । 

प्लेइङ सेटमा खासै परिवर्तन नहुने बताएका प्रशिक्षक खड्काले स्कोर धेरै भन्दा पनि राम्रो खेल प्रदर्शन गर्दै जित निकाल्नमा केन्द्रित रहने बताए । शारीरिक रुपमा बलिया श्रीलंकाका खेलाडीविरुद्ध त्यही अनुसार योजना बनाउने खड्काको भनाइ छ । 

टोली कप्तान निरु थापाले प्रतिद्वन्द्वीलाई कमजोर रुपमा नलिई सतर्क भएर खेल्ने बताएकी छन् । टिमले राम्रो प्रदर्शन गर्दै आइरहेको र सेमिफाइनलका लागि अझै मिहिनेत गर्ने उनले बताइन् । 

नेपाल र श्रीलंकाको खेलपछि बुधबार नै साफ च्याम्पियनसिपको सबै चार संस्कणको विजेता भारत र पछिल्लो पटक फाइनल खेलेको बंगालदेशबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल शनिबार हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro