site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधुरै रह्‍यो साफ च्‍याम्पियनसिप खेल्‍ने अनुको सपना 

काठमाडौं । साफ च्याम्पियनसिप सुरु हुनुभन्दा एकसाताअघि राष्ट्रिय टोलीबाट बाहिरिएपछि पूर्वकप्तान अनु लामा यतिबेला निराश छन्। घरेलु मैदानमा हुन लागेको पाँचौं महिला साफ च्याम्पियनसिपबाट अनु सन्यास लिने योजनामा थिइन्। तर, २० सदस्यीय टोलीमा नअटाएपछि अनुको घरेलु मैदानमा सन्यास लिने योजना अधुरो भएको छ।

निकै उत्साहका साथ प्रशिक्षणमा रहेकी अनु टोलीमा पर्नेबारे ढुक्क थिइन्। तर गत बिहिबार प्रशिक्षक हरी खड्काले पूर्वकप्तान अनु, बिमला चौधरी र सुनिता चौधरीलाई बाहिर राख्दै टोली घोषणा गरे। टोली घोषणा गरेसँगै १० नम्बरको जर्सी लगाएर मैदान कुद्ने अनुको सपना शून्यमा विलायो। "मैले सकेजति दिएको हो। "आफनो पुरानो लयलाई निरन्तरता दिन कोसिस पनि गरेको हो। निकै मिहनेतका साथ प्रशिक्षण गरेको हुँ। तर प्रशिक्षकलाई मेरो प्रदर्शन अपुग लाग्‍यो होला, म बाहिरिए", अनुले भनिन्।

सर्वाधिक गोलकर्ताको पहिचान बनाएकी अनु पछिल्लो समय पुरानो लयमा पक्कै थिइन्। किनकी उनी घुँडाको शल्यक्रियापछि खेलमा फर्किएकी थिइन्। हुन त लयमा रहेका फुटबल खेलाडीका लागि चोट लाग्नु अभिशापजस्तै हुन्छ। किनकी गम्भीर चोट लाग्यो भने खेलमा फर्किन निकै गाह्रो हुन्छ भने पुरानै लयमा फर्कनु अझै कठिन हुन्छ।

कमै खेलाडीमात्र पुरानै लयमा फर्कन सक्छन्। कतिपयले चोटकै कारण करियरको अन्त्य गरेको थुप्रै उदाहरण हामीमाझ छन्। नेपाली महिला फुटबलकै कुरा गर्ने हो भने पनि पछिल्लो उदाहरण हुन् जमुना गुरुङ। जमुनाले घुँडाको शल्यक्रियापछि आफ्नो खेल करियरलाई नै पूर्णविराम लगाउनुपर्‍यो। तर, शल्यक्रियापछि पनि फुटबलप्रतिको लगाव र मायाले अनु खेलमा फर्किएकी थिइन्।

“चोट लागेपछि महिला खेलाडीहरु कमैमात्र मैदानमा उत्रिएका छन्। तर, म फर्किएर देखाउँछु भन्ने साहसका साथ तयारीमा जुटे, सफल पनि भए। राष्ट्रिय टोलीमा नरहे पनि घरेलु प्रतियोगितामा आफूले सकेसम्म खेल्छु", अनुले भनिन, दायाँ खुट्टाको शल्यक्रिया नै गरेपछि अब खेल्न सक्दिन भन्ने लागेको थियो। आफ्नै खुट्टा हो, लयमा फर्किन सक्छु भनेर तयारीमा जुटे। पुनरागमन गर्न सफल पनि भए।”

घरेलु प्रतियोगितामा सहभागी भएको केही समयपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल अनुले हालै भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपमा सहभागिता जनाएकी थिइन्। जहाँ नेपालले पहिलो पटक भारतमाथि २-१ को ऐतिहासिक जित निकालेको थियो। भारतलाई हराउन सकेकोमा अनु खुसी छन्। उनले भनिन्, "घरेलु मैदानमा भारतविरुद्ध खेल्ने रहर अब पुरा हुँदैन तर भारतमाथि जित निकालेकोमा एकदमै खुसी लाग्छ। अपेक्षा गरेको छु, बहिनीहरुले इतिहास रच्नेछन्।"

यसअघि भारतमा सम्पन्न चौंथो साफ च्याम्पियनसिप खेल्ने अनुको सपना घुडाँको शल्यक्रियाका कारण पुरा भएको थिएन। तर पाँचौं साफ पनि अधुरो रहन पुग्यो। "मेरा लागि यो निकै ठुलो प्रतियोगिता थियो। करीअरको अन्तिममा घरेलु मैदानमा सन्यास लिन पाउँदा म धेरै खुसी हुने थिए। एउटा खेलाडीका लागि घरेलु मैदान कति महत्वपुर्ण हुन्छ। त्यो मैदानमा पसिना चुहाउनेलाई थाहा हुन्छ। मैले यत्रो वर्ष देशका लागि खेले तर विदाई सुखद गर्ने योजना सफल नहुँदा निकै दुख लागेको छ", अनुले भनिन् "अब राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान फर्किने छैन्। एन्फाले कार्यक्रम गर्ने सम्मान गर्ने सुनेको छु त्यहीबाट सन्यास लिन्छु।" सी लाइसेन्स प्राप्त अनु प्रशिक्षणसँगै घरेलु प्रतियोगितामा केन्द्रित हुने योजनामा छन्।

फुटबल सुरुवात

नेपाली समाजमा प्रचलित ‘हुने विरुवाको चिल्लो पात’ भन्नेझैं अनुमा पनि सानैदेखि खेलाडी हुने लक्षण थियो। २०४४ सालमा मकवानपुरको धियालमा जन्मिएकी अनु सात सन्तानमध्ये साइँली हुन्। मकवापुरमा जन्मिए मामाघर सिन्धुलीमा हुर्किइन्। मामाघरमा गाउँका दाइहरुसँग मोजाको बल खेल्न कुदिहाल्थिन्।

पाँच वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी अनु परिवारसँगै मकवानपुरबाट बसाइँ सरेर रौतहट पुगिन्। कहिल्यै विद्यालय नगएकी अनु सिधै कक्षा दुर्ईमा भर्ना भइन्। त्यसपछि उनलाई खेल्न झनै सहज भयो। “सानो बेलाको त्यो पल निकै रमाइलो थियो। टोलीमा म एक्लै केटी हुन्थेँ। मलाई बल पास दिने सबै भाइहरु हुन्थे,” सानोमा खाली खुट्टा बल खेलेको सम्झिँदै अनुले थपिन्, “दाइहरुले खेल्ने प्रतियोगितमा पनि सहभागी हुन्थेँ। घरमा थाहै नदिई भागेर खेल्न जान्थेँ। अरुले घरमा कुरा लगाइदिन्थे। घरमा फर्कदा गाली खान्थेँ।”
 
पढाइमा खास रुची नभएकी अनुको फुटबलमा लगाव बढ्दै गयो। अनु १६ वर्षकी हुँदा रौटहटमा शेरबहादुर दर्लामीमगरले फुटबल प्रशिक्षण गराउन थाले। अनुलाई ढुंगा खोज्दा देउता मिले जस्तो भयो। अनुले प्रशिक्षण सुरु गरिन्। प्रशिक्षण लिने २० जनामा अनु उत्कृष्ट भइन्। “गुरु निकै राम्रो हुनुहुन्थ्यो। खुट्टा समातेर बल हान्न लगाउनु हुन्थ्यो। त्यहाँबाट मेरो खेल सुधारिँदै गयो,”अनुले सुरुआती दिन सम्झिइन्।

अनुले पहिलो पटक कैलालीको धनगढीमा रौतहटबाट क्षेत्रीय प्रतियोगिता खेलिकी थिइन्। त्यसपछि काठमाडौंमा आयोजित दिपेन्द्र आमन्त्रित फुटबल प्रतियोगितामा सहभागी भइन्। प्रतियोगितामा पाँच गोल गरेकी अनुलाई रमा सिंहले ५ हजार रुपैयाँसहित ट्रयाक र बुट पुरस्कार दिएकी थिइन्। त्यो नै अनुले खेलेर पाएको पहिलो पुरस्कार हो। दिपेन्द्र आमन्त्रित प्रतियोगितामा गरेको प्रदर्शनबाट यु-१९ टोलीमा स्थान बनाएकी अनुले २००४ मा १७ वर्षको उमेरमा चीनमा सम्पन्न यु-१९ एसिया कप छनोट खेलिकी थिइन्।

राष्ट्रिय टोलीमा डेब्यू 

२०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी अनुले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै ५ गोल ठोकिन्। उमेर समूह हुँदै राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य बनेकी अनु सर्वाधिक गोलकर्ता समेत हुन्। ११ औं सागपछि राष्ट्रिय टोलीमा निरन्तर स्थान बनाएकी अनुले २४ औं अन्तराष्ट्रिय खेलमा ३५ गोल गरेकी छन्।

११ औं सागमा ५ गोल गरेकी अनुले २०१० मै बंगलादेशमा सम्पन्न प्रथम महिलासाफ च्याम्पियनसिपमा ११ गोल गरिन्। २०१२ को साफ च्याम्पियनसिपमा अनुले ५ गोल गरिन्। २०१४ को साफ च्याम्पियनसिपमा कप्तानको जिम्मेवारी पाएकी अनुले ५ गोल गरेकी थिइन्। २०१६ मा भारतमा भएको १२ औ सागमा अनुले २ गोल गरिन्। कतारमा भएको मैत्रीपूर्ण खेलमा अनुले १ गोल गरेकी थिइन्। चोटका कारण अनुले २०१६ मा भारतको सिलगुढीमा सम्पन्न चौंथो साफ च्याम्पियनसिप भने गुमाउनुपरेको थियो।

सम्झनलायक कप्तानी 

नेपाली महिला टोली पाकिस्तानमा हुने तेस्रो साफ च्याम्पियनसिपको तयारीमा थियो। छनोटका लागि अनुले दुई दिनमात्र अभ्यास गर्न पाएकी थिइन्। त्यसैले अनु टिममा पर्छु कि पर्दिन भन्ने दोधारमा थिइन्। उनीसँग लाइबेरियाबाट फर्किएका अन्य दुईजना साथी छनोट भएनन्। त्यही प्रतियोगिताका लागि अनुले कप्तानको जिम्मेवारी पाइन्। “देशले कप्तानको जिम्मेवारी दिएको छ। किन मेरै कप्तानीमा उपाधी नजित्ने भन्ने लागेको थियो तर दुर्भाग्य फाइनलमा हार्‍यौं,”अनुले भनिन् “पाकिस्तान जानुअघि घुँडा सुन्निएको थियो। खेल्न सक्दिन कि भन्ने लागिरहेको थियो। तर देशका लागि योगदान दिने बेला चुक्नु हुँदैन भन्ने लाग्यो। भुटानविरुद्ध २ गोल गरेँ।”
 
भारतविरुद्ध उपाधीका लागि खेलेको नेपाल ६-० ले पराजित भयो। चोटका बाबजुद खेलेकी अनुले सम्झीन्, "मलाई प्रशिक्षकले ननिकालेको भए जे पनि हुनसक्थ्यो। त्यो बेला भारत अहिलेजस्तो थिएन। १८ मिनेटसम्म खेल्दा नेपालले गोल खाएको थिएन। म बाहिर आउनेबित्तिकै नेपालले गोल खायो। टिममा धेरै अनुभवी खेलाडी थिएनन्। कप्तान नै नहुँदा उनीहरु आत्तिए। त्यो पल सम्झँदा अझै पनि नरमाइलो लाग्छ।”


 
कहिले नभुल्ने भदौ १७ 

भदौ १७ गते अनु लामाका लागि विशेष दिन हो। फुटबलमा पाइला राखेको दिन विशेष नहुने कुरै भएन। तर त्यही भदौ १७ गते अनुका लागि बिर्सनै नसकिने कालो दिन बन्यो। चौथो प्रधानसेनापति कपको तयारी भइरहेको थियो। मिसनबाट फर्किएपछि अनु पहिलो पटक क्लबबाट प्रधानसेनापति कप खेल्ने तयारीमा थिइन्। अभ्यास खेलमा एक्कासी लडेकी अनुको खुट्टा सिधै भएन। “अब मेरो खेल जीवन सकियो जस्तो लाग्यो। तर हिम्मत भने हारिन। बलम्बुस्थित एपिएफ अस्पतालमा जाँच गराए। डाक्टरले तीन हप्तापछि सुन्निएको हराउँछ, एमआरआइ गराउनु भनेर पठाइदिए। त्यसपछि ब्लु क्रस अस्पतालमा एमआरआइ गरेर बलम्बुमा लगेर देखाएँ।

खुट्टाको एसियल र मिनीस्कस गएको डाक्टरले बताए,”त्यो पल सम्झँदै अनु भन्छिन्, “मलाई चित्त बुझेन, ग्रान्डी अस्पताल गएँ। वरिष्ठ हाडजोर्नी विशेषज्ञ चक्रराज पाण्डेले शल्यक्रिया गर्न सुझाव दिए। एक महिनापछि शल्यक्रिया भयो। डाक्टरले ९ महिनापछि खेल्न सक्ने बताएका थिए। चार महिनापछि हल्का कुद्न थालेँ। ६ महिनापछि हल्का बल हान्ने कोसिस गरेँ। दुई वर्षपछि साउनमा महिला लिग खेलेँ।” त्यसपछि राष्ट्रियका टोलीको तयारीमा फर्किएको थियो।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro