site stats
बाह्रखरी :: Baahrakhari
विचार
नारी दिवस : सम्बोधन गरिनुपर्ने सवालहरु

राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक तथा अन्य अधिकारमा महिला भएकै कारणले भेदभाव गरिनु हुँदैन भन्ने मान्यतामा नारी दिवस मनाइन्छ । राज्यका सबै संरचनामा महिला र पुरुषबीच सन्तुलितरूपमा समान हिस्सेदारी हुनुपर्ने र महिला हिंसाविरुद्ध सरोकारवाला निकायलाई झकझक्याउने दिनका रूपमा पनि अन्तर्राष्ट्रिय महिला दिवसलाई लिइएको हुन्छ । ऐतिहासिक परिदृश्यमा महिलाका क्रियाकलापलाई मान्यता दिने, महिला अधिकार प्राप्तिका सन्दर्भमा पनि नारी दिवसको भूमिका महत्त्वपूर्ण छ । नारीलाई नारीकै आँखाले हेरिनु र नारी अस्तित्वको सम्मान गरिनु पर्ने सन्देश पनि बोकेर नारी दिवस मनाइन्छ । 

देशको सामाजिक, आर्थिक तथा राजनीतिक परिवेशअनुसार विश्वका महिला कुनै न कुनै  रूपमा लैगिंक विभेदमा परेका छन् । महिलाले भोगिरहेका पीडाको सम्बोधन हुनुपर्ने र लैंगिक विभेद न्यूनीकरण र महिला अधिकारको मागसहित एकजुट भएका संसारभरका महिलाको आवाजमा यस दिन ऐक्यबद्धता रहन्छ । महिलाका अधिकारका लागि दबाब सृजना गर्ने दिन भए पनि प्रत्येक महिलाले आफ्नो अस्तित्वमाथि गर्व गरेर हेर्नसक्नु पर्छ भन्ने आशय पनि यस दिनले बोकेको हुन्छ । त्यसैले विगत केही समय यता यस दिनलाई संसार भरका महिलाद्वारा उत्सवका रूपमा पनि मनाइँदै आइएको छ । 

नेपालमा पनि प्रत्येक वर्ष नारी दिवसका दिन विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ । सरकारी निकाय, गैरसरकारी निकाय तथा विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिको आबद्धतामा उत्साहजनकरूपमा झोले गोष्ठीदेखि लिएर ठूला ठूला तारे होटलमा कार्यक्रम संचालन गरी नारी दिवस भव्यरूपमा सफल भएको उद्घोष गरिन्छ । महिलाले भोगेका हिंसा र त्रासदीलाई तारे होटलमा र ठूलाठूला ब्यानर लिएर नगर परिक्रमा गरेरमात्र कति परिवर्तन होला ? तैपनि, यसलाई एकप्रकारको उपलब्धि नै मान्नुपर्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वास्तविकताको धरातलमा उभिएर महिलाका आँखाले महिला भएर महिलालाई हेर्दा हाम्रो समाजमा भएका कतिपय दर्दनाक घटनाले सम्झाएका प्रश्न यसपटकको नारी दिवसमा अनुत्तरित नै छन् । त्यसैले यस नारी दिवसमा महिला हिंसाविरुद्ध दबाब सृजना गर्न आवश्यक केही घटनालाई सबैले सम्झनु नै पर्ने हुन्छ । 

आजका दिनसम्म न्याय पाउन असफल निर्मला पन्त बलात्कारपछिको हत्याकाण्डले यस घटनाका पीडकलाई न्यायको कठघराका उभ्याउन अक्षम भएको सरकार र मुलुकको न्याय व्यवस्थामा ठूलो प्रश्न चिन्ह तेर्सिएकोे छ । अर्कातर्फ यस घटनापछिका क्रियाकलापले राज्यको दण्डहीनता जगजाहेर हुनुका साथै पूरै राज्य संयन्त्र अपराधी जोगाउन लागि कसरी होमिँदोरहेछ छ भन्ने पोल पनि खुलेको छ । 

समाजमा महिलामाथि हुने लैगिक हिंसामा प्रमुख जघन्य अपराध बलात्कार हो । यसको जति भत्र्सना गरे पनि कम हुन्छ । यस्ता हिंसाले परिवारमा कहिल्यै सञ्चो नहुने बज्रपात सहन बाध्य गरेको हुन्छ । यस्ता घटना हुनुमा विद्यमान सामाजिक संरचना र महिलामाथि गरिने व्यवहारमात्र जिम्मेवार नभई मुलुकमा कानुनी शासनको अवस्था र न्यायप्रणालीबाट सर्वसाधारणले न्याय पाउन नसक्नु पनि हो । 

नेपाली महिला विभिन्न प्रकारका सामाजिक र लंैगिक विभेदको दोहोरो मारमा परेका छन् । उनीहरू कानुनी शासनको प्रभावहीनताको असरलाई झेलिरहेका छन् । त्यसैले मुलुकमा ससाना बालिकादेखि लिएर सबै उमेरका महिला बलात्कारको जोखिम र त्रासबाट उम्किन सकिरहेका देखिँदैनन् । पूरै मुलुक निर्मला हत्याकाण्डविरुद्धमा उभिएको समयमा समेत देशका विभिन्न स्थानमा त्यस्तै प्रकृतिका घटना दोहोरिनुले यसलाई थप स्पष्ट पारेको छ । 

मुलुकमा हुने गरेका बलात्कारका घटनामा प्रमुखरूपमा गरिब र सीमान्तकृत समुदाय पीडित भएको विभिन्न तथ्यांकबाट देखिन्छ । लोकतन्त्रको जति ठूलो बिगुल फुके पनि यस्ता वर्गका लागि शासन व्यवस्थामा कुनै फरक देखिएको छैन भन्ने प्रकाशमा आइरहेका घटनाले स्पष्ट पारेको छ । छोरी रहेका प्रत्येक घर छोरी जोगाउने चिन्ताले ग्रस्त छ । 

त्यस्तै छाउपडी प्रथाका कारण केही समयअघि बाजुरामा गरिब परिवारकी महिलाले जलेर अकालमै दुई बालकसहित ज्यान गुमाउनु परेको घटना सामाजिक कुसंस्कार र अन्धविश्वासले निम्त्याएको महिलामाथि हुने जघन्य अपराध सम्झाउने अर्को घटना होे । यस्तो दर्दनाक घटना र छाउपडीका अन्य घटनाले देशमा विद्यमान कुप्रथामा महिलाहरु निरन्तर पिल्सिरहेका नै छन् भन्ने देखाउँछन् । छाउपडी प्रथाकै कारणले मात्र पनि मुलुकमा कैयौं महिलाले ज्यान गुमाएका र छाउगोठमा बलात्कार भएका घटना नयाँ हैनन् । धार्मिक कुरीति र अन्धविश्वास निकै गाडिएर बसेको समाजमा यसविरुद्ध गरिएका उपाय प्रभावकारी  हुन किन सकिरहेका छैनन् ? छाउपडी गोठ कैयाैं महिलाका लागि यमराज साबित भएको छ । 

कुरीतिको सिकार हुनबाट अन्य महिलाहरुलाई जोगाउन कस्ता उपाय अपनाउनु आवश्यक छ भन्ने खोजी गरिनु आवश्यक छ । कसैले छाउपडी प्रथा मान्न बाध्य पारेमा तीन महिनासम्म कैद, तीन हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्थाको व्यावहारिक रूपमा अवलम्बन र प्रयोग गराउन पीडित पक्षलेसमेतले तदारुकता देखाउने गरेका हुँदैनन् ।  पीडितहरू राज्य संयन्त्रप्रति विश्वस्त हुन नसक्नु नै यसको एउटा मुख्य कारण मान्न सकिन्छ । 

बोक्सीका नाममा पति, घर परिवार र समाजबाट मरणासन्न हुनेगरी पिटिएर प्रकाशमा आएका विभिन्न घटनाले हाम्रो समाजका महिलाले भोगिरहेको त्रासद अवस्था उजागर गरेको छ । यस्ता घटनाहरु पटकपटक भई नै रहेका छन् । 

महिलामाथि वस्तुसरह व्यवहार भइरहेका त दाइजो नल्याएको निहुँमा अमानवीय व्यवहार सहन र जल्न बाध्य बनाइएका कतिपय घटनाले स्पष्ट पारिरहेको छ । महिलालाई सधैँ आफ्ना आकाक्षां परिपूर्ति गर्ने माध्यम बनाइन्छ । छोरी भएकै कारण गर्भपतन गरिने घटना, महिला भएकै कारण घरेलु हिंसाका रूपमा पाउने शारीरिक, मानसिक यातनाको त कुनै लेखाजोखा नै गर्न सकिँदैन । 

एकातर्फ महिला र पुरुषलाई समान दर्जा दिने अभिप्रायले संविधानमा महिलाका कतिपय हक सुरक्षित गरिएको छ । त्यसैअनुरूप कानुन पनि निर्माण गरिएका छन् र कति बन्ने क्रममा पनि छन् । अर्कातर्पm भने महिला हिंसाका घटनामा भएको वृद्धिले महिलाप्रति समाज र राज्यले गर्ने परस्पर विरोधी दोहोरो व्यवहारमा कमी नभएको देखिएको छ । त्यसैले सबै प्रकारका लैंगिक हिंसाविरुद्ध आआफ्नो तर्फबाट सक्दो प्रयास गर्नु आवश्यक छ । नारी दिवसलाई थप प्रभावकारी बनाउन महिला हिंसाका यस्ता कतिपय विषयको सम्बोधनका लागि पहल गर्नु वर्तमान समयको माग बनेको छ ।  

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  ०८:५१
प्रतिक्रिया दिनुहोस्