काठमाडौं । क्रिकेट खेलाडीको हकहितका लागि स्थापना गरिएको क्रिकेट खेलाडी संघ नेपाल ‘सिप्यान’ ले मंगलबार काठमाडौंमा क्रिकेट अर्वाड गर्दैछ । नेपाली क्रिकेटले एकपछि अर्को सफलता पाइरहेका बेला तिनै खेलाडीहरु आबद्ध सिप्यानले अर्वाडको आयोजना गरी खेलाडीलाई सम्मान गर्न लागेको हो ।
२०७२ भदौ २८ गते स्थापना भएपनि २०७३ सालबाट सिप्यान २०७३ बाट क्रियाशील रहेको छ ।
विभिन्न व्यावसायिक घराना र क्षेत्रमा खेलाडीलाई आबद्ध गर्न भूमिका निर्वाह गरिरहेको सिप्यानले छोटो समयमै अवार्डको आयोजना गर्न लागेको हो । एकपछि अर्को सफलता चुमिरहेका खेलाडीको सम्मानमा ढिलाइ गर्न नहुने तर्कसहित सिप्यान अर्वाडको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
सिप्यानका अध्यक्ष मनिषराज पाण्डे भन्छन्, “अभिभावक संस्था नेपाल क्रिकेट संघ ‘क्यान’ निलम्बनमा रहेपनि खेलाडीको मेहनतले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालगायत सफलता चुमेका खेलाडीलाई अहिले नगरे कहिले सम्मान गर्ने त ? खेलाडीलाई हौसला र उत्साहित बनाउनका लागि अर्वाड आयोजना गरिएको हो । आगामी दिनको प्रदर्शनमा पनि यसले ठूलो अर्थ राख्दछ । देशका लागि खेलाडीले सक्दो प्रदर्शन गरेका छन् । त्यहि भएर हामीले छोटो समयमा नै अर्वाडको तयारी गरेका हौं ।”
उनका अनुसार कार्यक्रम भव्य बनाउने गरी तयारी गरिएको छ । यसको निष्पक्षताका बारेमा उठेको प्रश्नलाई प्रष्ट पार्दैैै पाण्डे भन्छन्, “निष्पक्षताकै लागि हामीले प्राविधिक कमिटी बनाएर काम गरेका छौं । कमिटीले नै मनोनयन सार्वजनिक गरेको हो ।”
पाँच बिधामा खेलाडीलाई सम्मान गरिनेछ । रसियन कल्चर सेन्दरमा हुने अवार्ड समारोहमा वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट क्षण र लाइफ टाइम अचिभमेन्ट अर्वाड वितरण हुनेछ ।
६ जनाको प्राविधिक कमिटी बनाएर दुई दिनअघि मात्र ३ बिधाको मनोनयन सार्वजनिक गरेको सिप्यानले क्रिकेट क्षेत्रमा योगदान पुर्याएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नेछ भने वर्षको उत्कृष्ट क्षणलाई पनि पुरस्कृत गर्नेछ । उत्कृष्ट क्षण भने भोटका आधारमा हुनेछ ।
वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयन
कप्तान पारस खड्का
युनाइटेड अरब इमिरेट्स यूइएविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा शतक प्रहार गरेका कप्तान पारस खड्का वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका छन् ।
१० सिप्यानका महासचिवसमेत रहेका ३१ वर्षीय पारसले यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १ सय १५ रन बनाएका थिए । उमेर समूह रहँदै २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका पारसले विनोद दासपछि टोलीको कप्तानी सम्हालिरहेका छन् ।
दिपेन्द्रसिँह ऐरी
नेपाली टोलीका युवा ब्याट्सम्यान दिपेन्द्रसिँह ऐरी पनि उत्कृष्ट खेलाडीको मनोनयनमा छन् । महेन्द्रनगरको कन्चनपुरमा जन्मिएका १९ वर्षीय ऐरीले नेपालमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्ध खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । यू–१९टोलीको कप्तानी समेत सम्हालेका ऐरी टोलीका महत्वपूर्ण सदस्य हुन् ।
करण केसी
जिम्बाबेमा भएको डिभिजन टु को निर्णायक खेलमा क्यानडाविरुद्ध बिस्फोटक ब्याटिङ गरेका करण केसी उत्कृष्ट खेलाडीको मनोनयनमा छन् । बाग्लुङमा जन्मेका २७ वर्षीय करणको उत्कृष्ट ब्याटिङमा नेपाल विश्वकप छनोटमा सहभागी भएको थियो । त्यहीँबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । डिभिजन टु मा हिरो बनेका करणले २०१७ मा युगान्डाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
सन्दीप लामिछाने
छोटो समयमै छलाङ मारेका युवा लेगस्पीनर सन्दीप लामिछाने वर्ष उत्कृष्ट खेलाडीको मनोनयमा छन् । आफ्नो बलिङमा विश्वका चर्चित ब्याट्सम्यानलाई आउट गर्न सफल सन्दीप एशोसिएट राष्ट्रमा सर्वाधिक फ्रेन्चाइज लिग खेल्ने खेलाडीसमेत हुन् । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य सन्दीपले नेपालमै भएको नामिबियाविरुद्ध खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
सोमपाल कामी
यूएईविरुद्धको एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामी नेपाली टोलीका महत्वपूर्ण सदस्य छन् । गुल्मीमा जन्मिएर छिमेकी देश भारतमा हुर्किएका सोमपालले २०१४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।
उत्कृष्ट महिला खेलाडीको मनोनयनमा
इन्दु बर्मा
लामो समयदेखी अन्तर्राष्ट्रिय मैदानमा खेल्न नपाएको महिला क्रिकेट टोलीले हालै दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । थाइल्याण्डमा भएको ट्वान्टी–२० स्म्यास र आईसीसी एशिया छनोट । दुबै प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी २१ वर्षीया इन्दु उत्कृष्ट महिला खेलाडीको मनोनयनमा पर्न सफल भएकी छन् ।
करुणा भण्डारी
महिला क्रिकेटकी महत्वपूर्ण सदस्य करुणा भण्डारी उत्कृष्ट खेलाडीको छनोटमा परेकी छन् । ३० वर्षीया करुणाले थाइल्याण्डमा भएको स्म्यास र छनोटमा १० विकेट लिएकी थिइन् । थाइल्याण्डमा भएको वुमन ट्वान्टी–२० स्म्यासमा गरेको प्रदर्शनका आधारमा करुणा मनोनयमा परेकी हुन् ।
रुबिना क्षेत्री
महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लामो समयदेखी क्रिकेटमा सक्रिय खेलाडी हुन् । झापामा जन्मीएकी रुविनाले ११ ट्वान्टी–२० खेलमा १ सय ८८ रन बनाएकी छन् । उनको उच्च रन ३३ हो । स्म्यासमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
सिता रानामगर
राष्ट्रिय महिला टोलीकी उपकप्तान सिता राना मगर अनुभवि खेलाडी हुन् । लामो समयदेखी राष्ट्रिय टोलीमा रहेकी सिताले ११ ट्वान्टी–२० खेलमा २ सय १५ रन बनाएकी छन् । साथै ११ रनमा ११ विकेट लिएकी सिताले हालै थाइल्याण्डमा सम्पन्न आइसीसी महिला बिश्वकप अन्तगर्त एशिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
सरिता मगर
अलराउण्डरको पहिचान बनाएकी सरिता मगरले थाइल्याण्डमा सकिएको स्म्यासमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यही योगदानलाई मध्यनजर गर्दै उत्कृष्ट वर्ष महिला खेलाडीको मनोनयमा परेकी सरिता मगरले ११ ट्वान्टी–२० खेलमा ७ विकेट लिएकी छन् ।
उदीयमान खेलाडीको मनोनयमा
अभिनास बोहरा
हालै यूएईमा सम्पन्न ट्वान्टी–२० सिरिजबाट डेब्यू गरेका अभिनास बोहरा नेपाली क्रिकेटमा सम्भावना बोकेका खेलाडी हुन् । युएईबिरुद्ध दुई ट्वान्टी खेलमा प्लेइङ–११ मा स्थान बनाएका अभिनास म्यान अफ सिरिज भएका थिए । उनले दुई खेलमा ४ विकेट लिएका थिए ।
कबिता कुँवर
वुमन्स ट्वान्टी–२० स्म्यासबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी कबिता कुँवर उदयमान खेलाडीको मनोनयमा परेकी छन् । बलिङमा आफुलाई प्रमाणित गरिरहेकी कविता सुदुरपश्चिममा जन्मिएकी हुन् ।
ललित नारायण राजबंशी
आईसीसी विश्वकप छनोट अन्तर्गत जिम्बाबेविरुद्ध खेलबाट ललितले डेब्यू गरेका हुन् । उमेर समूहको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका ललितले हालै यूएईविरुद्धको अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे।
रोहित पौडेल
नवलपरासीमा जन्मिएका युवा खेलाडी रोहितले उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रोहितले कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । यूएईविरुद्धकै दोस्रो एकदिवसीय खेलमा ५५ रन बनाएका रोहितले पाकिस्तानका शहिद अफ्रिदी र भारतका सचिन तेन्दुलकरको कीर्तिमान तोड्न सफल भए ।
सन्दीप जोरा
यूएईविरुद्धको डेब्यू सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप आशलाग्दा खेलाडी हुन् । यूएईविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा ५३ रन बनाएका उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी बनेका छन् । कन्चनपुरमा जन्मिएका १७ बर्षिय सन्दीपले यू–१९ बाट पनि खेलेका छन् ।
अवार्डको विशेष बिधा उत्कृष्ट क्षण
अवार्डमा महत्वपूर्ण मानिएको बिधा हो, उत्कृष्ट क्षण । नेपालको जितमा खेलाडीले गरेको उत्कृष्ट क्षणलाई यस बिधामा समावेश गरिएको छ । टोलीको सफलतामा खेलाडीले गरेका केही प्रदर्शन यस्ता छन् र जसले नेपाललाई एकदिवसीय मान्यतासहित अन्तर्राष्ट्रिय एकदिवसीय र ट्वान्टी–२० सिरिज कब्जा गर्न महत्वपूर्ण रह्यो ।
पारस खड्का
कप्तान पारस खड्काले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको शतक उत्कृष्ट १० क्षणमध्ये एक हो । यूएईविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा २ सय ५५ रनको ठूलो लक्ष्य पछ्याएको नेपाललाई पारसले उकासे । उनकै शतकीय इनिङ्समा नेपालले ऐतिहासिक एकदिवसीय शृंखला २–१ ले जितेको थियो ।
ज्ञानेन्द्र मल्ल
नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले यूएईविरुद्धको ट्वान्टी–२० श्रृङखलामा गरेको फिल्डिङको निकै प्रशंसा भयो । वर्षाका कारण १० ओभरमा खेलाईएको खेलमा नेपालले यूएईलाई १ सय ५ रनको लक्ष्य दिएको थियो । यूएईलाई ९० रनमा समेट्न क्रममा उपकप्तान ज्ञानेन्द्रले ३ महत्वपूर्ण क्याच लिए । करण केसीको बलमा साइमन अनवार र अविनाश बोहराको बलमा मोहम्मद बोतालाई क्याचआउट गराएका ज्ञानेन्द्रले ललितनारायण राजवंशीको बलमा रिजवनले प्रहार गरेको बल एक हातले क्याच गरेका थिए।
रूबिना क्षेत्री
महिला टोलीकी कप्तान रुविना क्षेत्रीले थाइल्याण्डमा भएको वुमन ट्वान्टी–२० सम्यासमा इन्डोनेशियाविरुद्ध गरेको प्रदर्शन उत्कृष्ट क्षणको मनोनयनमा छ । १२ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुर्याउन रुविनाले ४ विकेट लिएकी थिइन् । १ सय २० रनको लक्ष्यमा जवाफी ब्याटिङ गर्ने क्रममा इन्डोनेसिया २७ रनमै अलआउट भएको थियो । जसमा रुविनाको बलिङको निकै तारिफ भयो ।
सोमपाल कामी
यूएईविरुद्धको एकदिवसीय शृंखलामा करिअरकै उत्कृष्ट प्रदर्शन गरेका सोमपाल उत्कृष्ट क्षणको मनोनयमा पनि छन् । युनाइटेड अरब इमिरेट्स युएईविरुद्धको एकदिवसीय सिरिज आफनो पक्षमा पार्न महत्वपूर्ण रहेको खेलमा सोमपालले ५ विकेट लिएका थिए ।
पहिलो खेलमा पराजय भोगेपछि दबाबमा रहेको नेपाललाई जिताउन उनले ६.३ ओभर बलिङ गर्दै ३३ रन खर्चेका थिए । उनको कसिलो बलिङमा २ सय ४३ रनको लक्ष्य पछ्याएको यूएई ९७ रनमै समेटिएको थियो ।
दिपेन्द्रसिँह ऐरी
पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा युवा खेलाडी दिपेन्द्रसिँह ऐरीको प्रदर्शन सम्झनलायक रह्यो । उक्त खेलमा अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्रले ४ विकेट लिनुका साथै अबिजित ५० रन बनाएका थिए। १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालका लागि उनले ३ छक्का र १ चौकाको मदतमा अबिजित ५० रन बनाए । त्यहि क्षण उत्कृष्ट १० को मनोनयमा छ ।
करण केसी
नामिबियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत फाइनल प्रवेशका लागि निर्णायक खेलमा क्यानडाविरुद्धको खेलमा करण नायक बने । हार नजिक रहेको नेपाललाई जितउन्मुख बनाएका करणले बिस्फोटक ब्याटिङ गरेका थिए । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ४२.१ ओभरमा १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाएको थियो । सन्दीपसँग नेपालको इनिङस सम्हालेका करण नेपालको जितमा नायक साबित भए । ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन बनाएका करणले त्यहि खेलले नेपाल विश्वकप छनोटमा सहभागि भयो ।
रोहितकुमार पौडेल
नेपाली टोलीका युवा खेलाडी रोहित पौडेलले यूएईविरुद्धकै दोस्रो एकदिवसीय खेलमा ५५ रन बनाउँदै कम उमेरमा अर्धशतक बनाउने खेलाडीको किर्तिमान बनाए । ५८ बलमा ७ चौका प्रहार गरेका रोहितले नेपालको इनिङस उकासेका थिए । १६ वर्षका रोहितले पाकिस्तानका शहिद अफ्रिदी र भारतका सचिन तेन्दुलकरको किर्तिमान तोडे ।
सन्दीप लामिछाने
विश्व क्रिकेटमा आफूलाई छोटो समयमा चिनाएका युवा लेगस्पिनर सन्दीप लामिछाने उत्कृष्ट क्षणमा मनोनयमा छन् । चर्चित इन्डियन प्रिमिएर लिग क्रिकेटमा दिल्ली डेयर डेभिल्सबाट पुछारका ३ खेलमा प्लेइङ –११ मा परेका सन्दीपले ५ विकेट लिएका थिए । त्यसपछि विभिन्न फ्रेन्चाइज लिगमा आफनो बलिङ प्रमाणित गरेका सन्दीपले नेपालको जितमा योगदान दिएका छन् ।
सन्दीप जोरा
सन्दीज जोराले डेब्यू सिरिजमा गरेको उत्कृष्ट प्रदर्शन पनि उत्कृष्ट क्षणमा परेको छ । यूएईविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा सन्दीपले ५३ रन बनाएका थिए । तर नेपाल उक्त खेलमा पराजित भएको थियो । ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे सन्दीप ट्वान्टी–२० अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी रहे । उनको त्यहि प्रदर्शन मनोनयमा पर्न सफल भयो ।
राष्ट्रिय महिला टोली
२ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा प्रवेश पाएको नेपालले ट्वान्टी–२० स्म्यासमा गरेको प्रदर्शन उत्कृष्ट क्षणको मनोनयनमा छ । आइसीसी बिश्वकप छनोट अन्तगर्त एशिया छनोटमा उपबिजेता बनेको नेपाल १२ बर्षपछि अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको थियो ।
अवार्ड पुरस्कार
उत्कृष्ट पुरुष खेलाडीः १ लाख ३२ हजार रुपैयाँ
उत्कृष्ट महिला खेलाडीः ६६ हजार रुपैयाँ
उत्कृष्ट उदीयमान खेलाडीः ६६ हजार
उत्कृष्ट क्षणः ६६ हजार रुपैयाँ
लाइफ टाइम अचिभमेन्ट अवार्डः ६६ हजार रुपैयाँ