site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपन्‍न नागरिकलाई स्थानीय तहबाटै सहुलियत, कुन रोगमा कति पाइन्छ?

काठमाडौं ।  विपन्न नागरिकलाई दिँदै आएको औषधी उपचार खर्चको सिफारिस अब स्थानीय तहले दिने भएको छ। यसअघि उक्त सिफारिस जिल्ला जनस्वास्थ्य कार्यालयले दिँदै आएको थियो।  सरकारले विपन्न नागरिक औषधी उपचार कोष निर्दे्शिका-२०७५ अनुसार नै व्यवस्था गरेको हो। यसअघिको सरकारले विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका-२०६९ खारेज गरेर नयाँ निर्देशिका कार्तिकदेखि सबै स्थानीयमा तहमा लागु गरेको छ।

सरकारले उक्त सहुलियत विभिन्न आठ प्ररकारका गम्भीर रोगका बिरामीहरुलाई दिने गरेको छ। ती रोगहरुमा मुटु, मृर्गौला, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया छन्। यी रोगहरुलाई रोगको प्रकृति हेरर एक लाखदेखि चार लाखसम्मको सहुलित दिने भएको हो। यसअघि सबै रोगका लागि एक लाखसम्मको मात्र सहुलियत दिँदै आएको थियो।
 
देश संघीय संरचनामा गएसँगै सरकारले यस्ता सेवाको सिफारिस स्थानीय तहलाई दिएको नर्सिङ तथा सुरक्षा महाशाखा अन्तगर्तको विपन्न नागरिक औषधी उपचार कोषकी मेनुका मुक्तानले बताईन्। उनले भनिन्, “विपन्न नागरिक औषधी उपचार कोष निर्दे्शिका-२०७५ निर्देशिका लागु गर्न स्थानीय तहलाई पत्रचार गरिसकेका छौं। तर कतिपय स्थानीय तहमा पत्र नपुग्दा जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस लिएर आईरहेका छन्।”

कुन रोगमा कति सहुलियत ?

क्यान्सर

सरकारले क्यान्सरका बिरामीहरुलाई शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, औषधी, औषधीजन्य सामग्री, शैया तथा सेवा शुल्कहरूमा एक लाखसम्म सहुलियत दिने व्यवस्था गरेको छ।

मुटु रोग

मुटु रोग विभिन्न प्रकारका हुन्छन्। मुटुको महाध्वनीको शल्यक्रिया गर्नुपरेमा , मुटुमा पेश मेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा, मुटुको भल्व पूर्णरूपमा क्षति भएको या मुटु फेल भएको अवस्थामा उपचारका लागि एक लाख रूपैंया सहुलियत दिने निर्देशिकामा उल्लेख छ।

पार्किन्सन्स

पार्किन्सन्स रोगमा प्रयोग हुने थप निदानात्मक सेवा, औषधी, औषधीजन्य सामग्री, शैया तथा सेवा शुल्कमा सरकारले एक लाख सहुलियत दिँदै आएको छ।

अल्जाइमर्स

अल्जाइमर रोगमा प्रयोग हुने थप निदानात्मक सेवा, औषधी, औषधिजन्य सामाग्री, शैया तथा सेवा शुल्कहरूमा एक लाखसम्म सहुलियत दिने गरेको छ।

स्पाइनल इन्जुरी

दुर्घटनाजन्य र चोटपटकजन्य बिरामीहरूलाइ शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्रीहरू, थप निदानात्मक सेवा, शैया सरकारले एक लाखसम्मको सहुलियत हुने व्यवस्था गरेको छ। त्यसैगरी स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीहरुलाई पुर्नस्थापनाका लागि थप एक लाखसम्म सेवा शुल्क दिने गरेको छ।

हेड इन्जुरी

दुर्घटनाजन्य र चोटपटकजन्य बिरामीहरूलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्रीहरू, शैया, सेवा शुल्य तथा पुर्नस्थापना सेवाका लागि समेत एक लाखसम्मको सहुलियत दिँदै आएको छ।

सिकलसेल एनिमिया

सिकलसेल एनिमिया रोगका बिरामिहरूलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्री, थप निदानात्मक सेवा, शैया सेवा शुल्क आदीमा एक लाखसम्म सहुलियत दिने गरेको छ।

मृगौला

सरकारले मृगौला रोगको प्रकार हेरेर ४ लाखसम्मको औषधी उपचार सेवा सहुलियत गरेको छ। अल्पकालीन रूपमा मिर्गौलाले काम नगरेका बिरामीलाई डायलाइसिसवापत एक लाखसम्म उपलब्ध गराएको छ भने दुबै मिर्गौला फेल भइई डायलाइसिस तथा प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधि उपचार तथा प्रयोगशालाबापत एक लाख सहुलियत दिने भएको छ।

त्यसैगरी, विरामीले मृगौलापश्चात औषधी सेवनका लागि एक लाख , अगंदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क बढीमा ५० हजार सम्मको छुट दिने  गरेको छ। हेमो डायलाइसिस बढीमा २ हप्ताको सेसन र सोभन्दा बढी गर्नुपर्ने अवस्थामा चिकित्सकको प्रेसक्रिप्सनका आधारमा प्रति सेसन २५ सय सहुलियत गर्ने , (सेरोपोजेटिभ) संक्रमित भएका बिरामीलाई डायलाइसिस उपचार सेवावापत प्रति सेसन ४ हजार सहुलियत गर्ने निर्देशिकामा उल्लेख छ।

यी रोगको सेवा कसरी लिने ?

विपन्न नागरिकले कडा यी आठ प्रकारका रोगको उपचार सहुलियत लिन स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई वडा कार्यालयबाट सिफारिस लिनु पर्नेछ। सो सिफारिस चिकित्सकको प्रिस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

सो निवेदनसँगै अन्य औषधि उपचार सहुलियत उपलब्ध गराउने प्रयोजनको लागि सम्बन्धित अस्पतालमा सिफारिस हुने र गरीब परिवार परिचय पत्र भएका बिरामीहरुका लागि विपन्नता सिफारिस आवश्यक नपर्ने सोही परिचय पत्रका आधारमा सम्बन्धित अस्पतालबाट सजिलै सेवा पाउने उल्लेख छ।

त्यसैगरी, विपन्न नागरिक उपचार सेवा बापत सम्बन्धित बिरामीलाई नगदै भुक्तानी दिन पाइने छैन। त्यसैगरी मिर्गौला प्रत्यारोपण गर्ने बिरामीले प्रत्यारोपण पूर्व गरिने अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला परीक्षण र प्रत्यारोपण पश्चात औषधी सेवन सहुलियत पनि तोकिएको अस्पतालबाट मात्र पाईनेछ। 

विपन्न नागरिक औषधी उपचार सहुलियत नेपाली नागरिकले सूचीकृत अस्पतालबाट रकम बराबरको सहुलियत पाउनेछन्। थप उपचार सेवाका लागि ‘रिफर’ भएका बिरामीले सम्बन्धित अस्पतालको सिफारिसमा ‘रिफर’ गरिएको अस्पतालमा उपचार सुनिश्चितता भएपश्चात सिधैं सम्पर्क राख्न सक्ने निर्देशिकामा उल्लेख छ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  ०५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro