site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी बस्दैछ धनगढीमा क्रिकेट परम्परा

धनगढी । धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गराउन केही युवा सक्रिय भएको वर्षौं भइसकेको छ । धनगढी क्रिकेट एकेडेमी (डिसिए) का अध्यक्ष सुवाश शाहीले त्यो अभियानको नेतृत्व गरिरहेका छन् । 

विभिन्न नामबाट सुरु भएको क्रिकेट प्रतियोगिता अहिले आइपुग्दा धनगढी प्रिमियर लिग (डिपिएल) का नाममा स्थापित भइसकेको छ । फ्रेन्चाइज लिगको मोडलमा डिपिएल सुरु भएको तीन संस्करणमात्र बित्दै छ । तर, धनगढीमा क्रिकेटको संस्कृति विकासका लागि वर्षौंदेखि शाहीको नेतृत्वमा एउटा समूह सक्रिय भएर लागेको लाग्यै छ । 

खेल परम्परा रातारात बन्दैन । त्यसका लागि वर्षौं लाग्छ । सायद, त्यसको फलस्वरुप धनगढी अब विस्तारै क्रिकेटका कारण चिनिने क्रममा छ । क्रिकेट युवा पुस्तामा लोकप्रिय खेल त हो नै । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तारै सफलता प्राप्त गर्दै गइरहेका कारण सबै पुस्तामा यसप्रतिको आकर्षण पनि बढ्दो छ । 

धनगढी यति बेला डिपिएलका कारण क्रिकेटमय छ । क्रिकेटको सहरका रुपमा स्थापित हुने प्रयासमा रहेको डिपिएलको आकर्षणका रुपमा पहिलेदेखि नै राष्ट्रिय खेलाडी त थिए नै । पछिल्लो दुई वर्षयता भने विदेशी खेलाडी पनि यसको अर्को आकर्षणको कारण बनेका छन् । डिसिएले क्रिकेट प्रतियोगितालाई मात्र होइन, प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान जसलाई ड्रिम फाप्ला भनिएको छ, त्यसको निर्माण अभियानलाई पनि सँगै अघि बढाइरहेको छ ।  

आफूलाई परिचित गर्न कुनै कसर बाँकी नराखेको धनगढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको आगमनले गर्माएको छ । डिपिएल र फाप्लालाई जोडेर क्रिकेट अभियान अघि बढाउन डिपिएल यो वर्षबाट फाप्लामै सुरु भएको छ । यसअघि दुई संस्करण धनगढीको एसएसपी मैदानमा हुँदा दर्शकको उपस्थिति तुलनात्मक रुपमा बाक्लो हुने गरेको थियो । धनगढीको मुख्य बजारमा रहेको एसएसपी मैदान डिपिएल हुँदा दर्शकहरुलाई आवातजावतका लागि सहज थियो । फाप्ला भने सहरभन्दा केही बाहिर छ । 

तरपनि क्रिकेट रुचाउनेहरुका लागि नजिक वा टाढाले धेरै ठूलो अर्थ राख्दैन । आफ्नो सहरमा क्रिकेट भए पुग्छ । क्रिकेट हेर्नका लागि मैदान पुगिहाल्छन् । तीमध्येका एक हुन् राजबहादुर साउद । उमेरले ७० वर्ष नाघिसकेका साउद बिहानै मैदान पुग्छन् । उनलाई नेपाली भन्दा विदेशी खेलाडीको खेल हेर्न मनपर्छ । उनको नजरमा नेपाली खेलाडी रन जोड्न संघर्ष गरिरहेका छन् । 

रोजगारको सिलसिलामा वर्षौ भारतको बेङलोर बस्दा साउद क्रिकेटप्रति आकर्षित भएका थिए । त्यति बेलादेखि उनको क्रिकेट मोह अहिले डिपिएलले अझै जगाइदिएको छ ।

धनगढीको बोराडाडीबाट फाप्ला दूरीका हिसाबले केही टाढा भएपनि क्रिकेट हेर्नका लागि उनी त्यो दूरी खासै धेरै मान्दैनन् । घर नजिक क्रिकेट हेर्न पाउँदा उनको उत्साह नै बेग्लै छ । नेपाली खेलाडीमध्ये उनलाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का मनपर्छ । तर, व्यक्तिगत कारणले पारसले यसपालि डिपिएल खेलेनन् । पारसको खेल हेर्न यो पटक नपाएपनि युवा खेलाडीले राम्रो गर्लान् भन्ने आशाले उनलाई फाप्लासम्म डोर्याइरहेको छ । तर, साउदले आशा गरे जस्तो प्रदर्शन युवा खेलाडीबाट हुन सकेन । त्यसले भने उनलाई केहि निराश बनाएको छ । भन्छन्, “कहिलेकाहीँ त नआउँ की जस्तो नि लाग्छ । तैपनि मन मान्दैन, आइहाल्छु । छक्का, चौका हेर्न पाउँदा आनन्द आउँछ ।”

अध्ययनका सिलसिलामा धनगढीमा रहेका छोरछोरीसँग बस्दै आएका डोटीका चेत बहादुर शाही पनि डिपिएलका नियमित दर्शक हुन् । क्रिकेट भनेपछि हुरुक्क हुने शाही नेपाली खेलाडीले रन जोड्न नसकेकोप्रति भने निराश छन् । “विदेशी खेलाडी निर्धक्क भएर खेल्छन् । हाम्रा खेलाडीलाई रन जोड्न गाह्रो भइरहेको छ,” उनले भने । 

अहिले नेपाली राष्ट्रिय टोलीमा सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने खेलाडीहरु दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, प्रदीप ऐरी र भिम सार्की छन् । आफ्नो क्षेत्रका खेलाडीले देशको प्रतिनिधित्व गर्ने भएका कारण पनि शाही क्रिकेट फलो गरिरहेका हुन्छन् । सुदूरपश्चिमले खेलाडी उत्पादन गरेर राष्ट्रलाई खेलाडी दिन सकेकोमा उनलाई निकै गर्व लाग्छ । 

यो क्षेत्रका अभिभावक छोराछोरीलाई खेलमा लाग्नबाट रोक्दैनन् । अहिलेको समयमा आएको परिवर्तन मुख्यत यही हो । ५२ वर्षे शाहीले भने, “खेलाडी उत्पादनका लागि मैदानको पनि त्यत्तिकै आवश्यकता पर्छ । फाप्ला क्रिकेट मैदानको निर्माण पूरा गर्न सरकारले पनि सहयोग गर्यो भने राम्रो हो ।” 

धनगढी बोहराडाडीकै ५५ वर्षिय बलदेवराज अवस्थी पनि फाप्लामा डिपिएल आयोजना भएकोमा निकै खुसी छन् । उनी क्रिकेट खासै बुझ्दैनन् । तरपनि घर नजिक क्रिकेटको ठूलो प्रतियोगिता भइरहेकोले उनले आफूलाई रोक्न सकेनन् । “म खासै बुझ्दिनँ । तैपनि नेपाली खेलाडीलाई समर्थन गर्न पनि आउँछु,” उनले भने, “यति नजिक विदेशी खेलाडीका खेल हेर्न पाइन्छ । त्यसले यो मौका चुकाउन चाहन्नँ ।” 

महेन्द्रनगरका परमानन्द भट्ट पनि डिपिएलका नियमित दर्शक हुन् । ६० किलोमिटर यात्रा गर्दै हरेक दिन फाप्ला पुग्ने भट्ट कुनै बेलाका क्रिकेटर हुन् । २० वर्ष क्रिकेट खेलेको बताउने भट्ट भारतमा बस्दा क्रिकेटप्रति आकर्षित भएका थिए । राष्ट्रिय टोलीका प्रदिप ऐरी, विनोद भण्डारी लगायतका खेलाडीलाई क्रिकेट सिकाउन मद्दत गरेको बताउने उनले नेपालको प्रतिनिधित्व भने गर्न सकेनन् । तर, क्रिकेटसँग उनको नाता भने पुरानो छ  । 

“हामीले खेल्दा अहिलेको जस्तो पैसा हुँदैन थियो । दिनको ३ सय पाउँथ्यौं,” उनले भने, “अहिले समय बदलिएको छ । वर्षमा लाखौं कमाउने वातावरण बनेको छ । युवा खेलाडीले क्रिकेटमा प्रगति गरेको देख्दा खुसी लागेको छ।  यस्तो प्रगति देख्दा आनन्द लाग्छ । हिजो भन्दा आज नेपाली क्रिकेटले निकै प्रगति गरेको छ ।” 

घरेलु क्रिकेटको फ्रेन्चाइज लिगमध्येको एक डिपिएलले सुदूरपश्चिमको मात्र होइन, देशकै क्रिकेट विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । क्रिकेट भन्नेबित्तिकै कुनै समयमा आश्चर्यमा पर्ने सुदूरपश्चिमका जनतामा अब क्रिकेट हेर्ने नसा चढेजस्तो भएको छ । डिपिएलका कारण सुदूरपश्चिममा अब क्रिकेट एउटा परम्पराको रुपमा स्थापित हुने क्रममा छ भन्दा फरक पर्दैन । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro