site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात महिनादेखि न्याम्स उपकुलपतिविहीन, कर्मचारी आन्दोलित

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ७ महिनादेखि उपकुलपतिविहीन छ । गत २३ साउनमा न्याम्सका उपकुलपति प्रा.डा. गणेश गुरुङको चार वर्षे कार्यकाल सकिएपछि अहिलेसम्म कसैलाई पनि उपकुलपति नियुक्ति गरिएको छैन । 

गत २७ साउनमा स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै उपकुलपतिका लागि योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । तोकिएको मितिमा २२ जनाको आवेदन परेको थियो । 

नयाँ उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीबाट सर्च कमिटी गठन भएको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा रहेका थिए । पहिलो चरणमा कार्ययोजना प्रस्तुतिबाट ६ जना छानिएका थिए । करिब ३ महिना लगाएर पारदर्शी प्रक्रिया अवलम्बन गर्दै गत १ असोजमा उत्कृष्ट तीनजनाको नाम प्रधानमन्त्री कार्यालयमा सिफारिस गरिएको थियो । तीन जनामा डा. डिएन साह, डा. अजित रायमाझी र डा. ढुण्डीराज पौडेल रहेका छन् ।

सिफारिस भएलगत्तै प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा निस्किएका थिए । उनी अमेरिकाबाट फर्किनासाथ उपकुलपति नियुक्ति प्रक्रिया टुंगोमा लाग्ने बताइएको थियो । तर, प्रधानमन्त्री फर्किएको करिब पाँच महिना बितिसक्दा पनि सिफारिस यथास्थितिमै छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र त्यस अन्तर्गत सञ्चालित वीर अस्पताल तथा ट्रमा सेन्टरमा रिक्त पदाधिकारी तत्काल नियुक्ति गर्न माग गर्दै बुधबारदेखि दिउँसो १ देखि २ बजेसम्म अस्पतालको प्रांगणमा धर्ना सुरु भएको छ । सरकारले उपकुलपति नियुक्तिमा चासो नदिएका कारण धर्नामा उत्रनुपरेको कर्मचारी युनियनका सचिव दीपक मुडभरीले बताए । “दैनिक अत्यावश्यक सामग्री अभाव हुन थालेको छ । सामग्रीको अभावमा सेवा पनि बन्द हुने अवस्था आएको छ । शल्यक्रियामा आवश्यक उपकरण खरिद गर्ने अधिकार निमित्त निर्देशक र उपकुलपतिलाई छैन । सरकारले कुलपति नियुक्ति नगरेसम्म धर्ना कार्यक्रम जारी रहनेछ,” उनले भने ।

गत असोजदेखि नै ट्रमा सेन्टरका रजिस्ट्रार प्रमोद उपाध्याय र वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतको पनि पदावधि सकिएको छ । सो स्थानमा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट ५० प्रतिशत पदाधिकारी नियुक्ति हुनुपर्ने कर्मचारी युनियनले माग राखेर धर्नामा उत्रेको छ । अस्पतालमा प्रतिष्ठानअन्तर्गतका  कर्मचारी  र चिकित्सकहरुको  करार अवधि सकिएको बताइएको छ । प्रतिष्ठान उपकुलपतिविहीन हुँदा अस्पतालका आर्थिक, प्रशासनिक र विशेषज्ञ चिकित्सकका पढाइमा समेत असर परेको बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मन्त्रालयले तीन जनाको नाम गत असोजमा प्रधानमन्त्री कार्यालयमा पठाइएको बताए । उनले भने, “प्रधानमन्त्रीज्यूले नियुक्ति गर्नुपर्नेमा अहिलेसम्म कुनै चासो दिइएको छैन ।” स्वास्थ्यमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले गत असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनजनाको नाम पठाएको तर प्रधानमन्त्री कार्यालयबाट ५ महिना बित्दा पनि अहिलेसम्म कसैलाई नियुक्ति नगर्दा आफू छक्क परेको प्रतिक्रिया दिए । “किन रोकिएको हो भनेर प्रधानमन्त्री कार्यालयमा सोध्दा प्रक्रियामा रहेको जवाफ आउँछ । प्रतिष्ठानको उपकुलपतिको नियुक्ति रोकिँदा अन्य पदाधिकारीको नियुक्ति पनि रोकिएको छ । जसले सेवा सुविधामा समेत समस्या आउन थालेको छ,” उनले भने ।

प्रतिष्ठान ऐनमा उपकुलपतिको नियुक्ति सहकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री)बाट र अन्य पदाधिकारीको नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिबाट हुने उल्लेख छ । 

प्रधानमन्त्रीको कार्यालयमा थन्कियो न्याम्स उपकुलपतिको सिफारिस 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro