
काठमाडौं । सशस्त्र प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट १४ लाखभन्दा बढी मूल्यका विभिन्न सामानसहित दुईवटा गाडी नियन्त्रणमा लिएको छ ।
बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गबाट करिब सात लाख ६४ हजार ५ सय ३५ रुपैयाँ बराबरको चिउरा तथा लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु१ज ३७९६ नम्बरको बोलेरो पिकअप गाडीमा राखी लैजाँदै गरेको ६१ बोरा चिउरा र लत्ताकपडासहित उक्त गाडी नियन्त्रणमा लिइएको हो ।
यसैगरी सोही उपमहानगरपालिका–१३ जितगढी स्थित पूर्वपश्चिम लोकमार्गबाट करिब ६ लाख ४० हजार २ सय ३० रुपैयाँ बराबरको सामानसहित अर्को गाडी नियन्त्रणमा लिइएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१च ५६२० नम्बरको गाडीमा राखी ल्याउँदै गरेको लत्ताकपडा तथा जुत्ताचप्पलसहित उक्त गाडी नियन्त्रणमा लिइएको हो ।
बरामद सामान तथा दुईवटै गाडी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । बरामद सामानको मूल्य १४ लाख ४ हजार ७ सय ६५ रुपैयाँ र दुईवटै गाडीको मूल्य २२ लाख गरी जम्मा भन्सार दाखिला मूल्य ३६ लाख ४ हजार ७ सय ६५ रुपैयाँ कायम गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।