काठमाडौं । गजल गेयात्मक हुन्छ । गजल लेखिनुभन्दा पनि गाइनु पर्छ । गजलमा प्रेमिल अनुभूतिको बहार हुन्छ । त्यसैले पनि गजलले गजल सुन्नेहरुलाई तताउँछ ।
गजल शब्द र भाव मात्रै होईन्, गजल गायकी पनि हो । गजल लेखिने नै हो, गाउनलाई । गजलका मर्मज्ञहरु यही भन्छन् । त्यसैले शनिवार अपरान्ह नौ जना गजल स्रष्टाहरुले गजल गुञ्जनको माहोल तताए ।
प्रारम्भमा मञ्चमा बसाए सबै गजल स्रष्टाहरुलाई उद्घोषक कवि राजेन्द्र शलभले । त्यस उप्रान्त उनले सम्पूर्ण गजल गुञ्जनको संचालनको जिम्मा दिए गजल स्रष्टा डा. सनतकुमार वस्तीलाई ।
जसै उनले जिम्मेवारी पाए, उनी उसै गुनगुनाए,
आज आकाशमा मेघ छाए पछि
मन मगन मस्त भो, याद आए पछि
तरन्नुममै उनी अगाडि बढे–
मृत्युदेखि डराएर को बस्छ र
जिन्दगीको गजल गुनगुनाए पछि ।
यसरी आफ्नो गजल प्रस्तुतिबाट कार्यक्रमको थालनी गरेका डा. वस्तीले त्यस पछि ८७ वर्षिय गजल स्रष्टा डा. कृष्णजंङ्ग राणालाई गजल गुनगुनाउन भने ।
राणा पनि हमेसा तरन्नुममै गजल गाउँछन् । उनले गुनगुनाए,
जिन्दगीको दौडमा यो तन पुरानो भो
मन पुरानो हुन्न भन्छन, तर बिरानो भो ।
लुनकरण दास गंगादेवी चौधरी साहित्य कला मन्दिरको त्रैमासिक काव्य आयोजना अन्तरगत शनिवार सम्पन्न गजल गुञ्जनमा नयाँ र पुराना गरि नौ स्रष्टा गुञ्जिए ।
डा. राणा पछि गजल लेखन र गायकीमा अग्रस्थान ओगटेका बूँद रानाको जोशिलो आवाजका साथ समसामयिक अवस्थालाई लिएर कोरिएको गजल गायकी अगाडि बढ्यो–
यहाँ भक्तले पो अति गर्न थाले
जलाई घरै आरती गर्न थाले ।
उनको शेर प्रस्तुतिसँगै वाह ! वाह ! का साथ तालीको गड्गडाहट सुरु भयो । बूँद पछि सनतले नेपाली गजल लेखनका माली ज्ञानुवाकर पौडेललाई माईक दिए । उनि पनि गजल गोड्न थाले,
आकाशमा लडाएको चंगा, काटिएछ
वाह ! क्या मज्जा ! आकाश पनि साटिएछ ।
पालो आयो गजल स्रष्टा करुण थापाको । उनी कम्प्युटरमा खेल्छन् । अर्थात कम्प्युटरका खेलाडी करुण गजल लेखनीका उस्ताद पनि हुन् । उनी पोखिए यसरी गजलमाः
पानी हो मन कुनै रङ्ग छैन, र त गाह्रो भो
मनको लगाम आफैसंग छैन, र त गाह्रो भो ।
कार्यक्रमलाई गति दिइरहेका डा. वस्तीले कवि गीतकार र गजल स्रष्टा वसन्त चौधरीलाई माईक दिए । उनी पनि तरन्नुममै सुनिए–
नरोक कोही अब प्रेमको धारा बग्नदेउ
चुपचापै किन नहोस्, प्रेमको कुरा चल्नदेउ ।
गजलकार रवि प्राञ्जल पनि प्रेमिल गजलकार हुन् । उनका कैयन प्रेमपूर्ण गजल रेकर्ड छन् । उनै रवि गजल गुञ्जनमा प्रेमिल बने,
साथ छुटे पनि याद बाँकी रह्यो
आश टुटे पनि साँस बाँकी रह्यो ।
शनिबार बिहानैदेखि काठमाडौंको आकाश कादंबिनी (मेघ) पूर्ण थियो । चिसो बढ्नु अस्वाभाविक थिएन् । अपरान्ह गजल स्रष्टा शीतल कादंबिनीलाई गजल गायकीका लागि आग्रह गर्दै डा. वस्ती भन्दै थिए, ‘अब शीतल कादंबिनीले गजलले माहोल तताउने छिन् ।
लगत्तै गजलमा बर्सिईन् शीत
सिङगारी पटारी सबेरै सबेरै
कहाँको सबारी सबेरै सबेरै ।
युवा गजल लेखक बाबु त्रिपाठीको नामसंगै ताली बेस्सरी बज्यो । उनले आफ्नो गजलमा आजको पीडा पोखे–
म के गर्न सक्छु म के गर्न सक्दिन मेरा बल के गर्नुहुन्छ
म जान्न भन्छु खाडी, विमानस्थल लैजान्छ के गर्नुहुन्छ
उनी फेरि अगाडि भन्छन्ः
छोराको लास बोकेर आमा घाट तिर गएकी छिन
मृत्युलाई सोधे थेँ, योभन्दा ठूलो अब छल के गर्नुछ ।
यसरी गजल गुञ्जनमा जमेका पुराना र नयाँ गजल स्रष्टाहरुले पहिलो चरणमा एकएक गजल र दोस्रो चरणमा एकएक गजल गाए र वाचन गरे ।
गजल वाचनका क्रममा बेलाबेलामा ‘वन्समोर भन्नेहरु पनि कम थिएनन् । तर गजल गुञ्जनका लागि तोकिएको समयले ‘वन्समोर’लाई समय दिइरहेको थिएन् । वास्तवमा, शनिवारको चिसो र मेघपूर्ण दिनमा पनि गजल गुञ्जनमा दर्शक स्रोता तातेका थिए । गजलको शेर र तिनमा अभिव्यक्त भावबाट मातेका थिए । गजलको ताप र मात दुबै शक्तिशाली हुन्छ भन्ने शनिवारको गजल गुञ्जनले प्रष्ट पारेको थियो ।