काठमाडौं । विदेशी पर्यटक आगमन बढेसँगै मुलुकको पर्यटन उद्योगको आम्दानी पनि उल्लेख्य परिमाणमा वृद्धि भएको छ । सरकारको ताजा तथ्यांकअनुसार पर्यटन उद्योगले पाँच महिनामा करिब ३२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यही गतिमा वृद्धि हुँदै गए चालू आर्थिक वर्ष २०७५–७६ मा पर्यटन उद्योगले लगभग ८० अर्ब रुपैयाँ आम्दानी गर्ने सम्बद्ध व्यवसायी तथा अधिकारीहरूको अनुमान छ ।
मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले तयार पारेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार पर्यटन उद्योगले ३१ अर्ब ८९ करोड रुपैयाँबराबर आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको दाँजोमा ८.७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष पहिलो पाँच महिनामा २९ अर्ब ३३ करोड आम्दानी गरेको थियो ।
“पहिलो पाँच महिनाको आम्दानी हेर्दा पर्यटन उद्योगबाट आशा गर्ने ठाउँ धेरै छन्,” राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बिहीबार बाह्रखरीसँग भने, “जति धेरै पर्यटक नेपाल आउँछन्, त्यति धेरै आम्दानी हुने हो । पछिल्लो पाँच महिनाको आम्दानी पर्यटन उद्योगका लाग एउटा सकारात्मक सन्देश हो ।”
यो परिमाणलाई अझै उचाइमा पु¥याउन पूर्वाधारमा व्यापक लगानी गर्नुपर्ने उनले बताए । पर्याप्त पूर्वाधार नहुनु पर्यटन उद्योगको सबैभन्दा ठूलो चुनौती रहेको जोशीको भनाइ छ । सरकारले पनि पूर्वाधारमा पर्याप्त लगानी गर्न नसकेको उनले बताए ।
“युरोपको उड्डयन कालोसूचीमा नेपाल परेदेखि त्यहाँका ठूला टुर अपरेटरले नेपाल भ्रमण प्याकेज बिक्री गर्न आनाकानी गरिरहेका छन्,” जोशीले भने, “यसबाट हामीलाई ठूलो घाटा लागिरहेको छ किनभने बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक यही कारण नेपाल आउन मानिरहेका छैनन् ।”
राष्ट्र बैंकका अनुसार गत साउनमा पर्यटन उद्योगले ४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन अघिल्लो वर्ष सोही अवधिको दाँजोमा २.८ प्रतिशतले बढी हो । भदौमा १२.९ प्रतिशतले बढेर ९ अर्ब १६ करोड र असोजमा ५.६ प्रतिशतले बढेर १५ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
त्यसैगरी गत कात्तिकमा २५ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको पर्यटन उद्योगले मंसिरमा ३१ अर्ब ८९ करोड कमाएको थियो । कात्तिकको आम्दानी अघिल्लो वर्षको दाँजोमा १०.३ र मंसिरको आय ८.७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७४–७५ मा पर्यटन उद्योगले कूल ६७ अर्ब ९ करोड आम्दानी गरेको थियो, जुन १४.६ प्रतिशतले बढी हो ।
सरकारको ताजा तथ्यांकअनुसार नेपाल आएका पर्यटकको औसत बसाइ दर १२.६ दिन रहेको छ भने दैनिक औसत खर्च ५४ अमेरिकी डलर रहेको छ । मुलुकको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदान २.८ प्रतिशत र रोजगारीमा ३.२ प्रतिशत योगदान छ । तर, ‘वल्र्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल’ (डब्लटीटीसी) सँग भने नेपालको जीडीपीमा पर्यटनको योगदान ८ प्रतिशत रहेको तथ्यांक रहेको छ ।
पर्यटन बोर्डका अनुसार सन् २०१८ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । राष्ट्र बैंकले साउन–मंसिरसम्मको पर्यटन आम्दानी निकालेको अवधि भनेको अंग्रेजी वर्ष २०१८ को जुलाई मध्यदेखि डिसेम्बर मध्यसम्म हो । यस अवधिमा ६ लाख ३१ हजार ९ सय ९६ पर्यटन नेपाल आएका थिए ।
पर्यटन बोर्डका अनुसार २०१८ जुलाईमा ७३ हजार २ सय ८५, अगस्टमा ८७ हजार ६ सय ७९, सेप्टेम्बरमा ९१ हजार ८ सय २०, अक्टोबरमा १ लाख ९ हजार ७ सय ३३, नोभेम्बरमा १ लाख ४७ हजार ८ सय ५९ र डिसेम्बरमा १ लाख २१ हजार ६ सय २० पर्यटक आएका थिए ।
“पर्यटन आय बढ्दै जाँदा यस क्षेत्रमा होटल, वायुसेवा कम्पनी, ट्रेकिङ, ट्राभल कम्पनीलगायत पनि बढ्छन् जसबाट रोजगारी पनि सँगसँगै बढ्छ,” प्रेसिडेन्ट ट्राभल्सका संस्थापक तथा प्रबन्ध निर्देशक भोलाविक्रम थापाले भने, “यो वर्ष पर्यटक पनि उत्साहजनक संख्यामा बढेका कारण पर्यटन आय पनि उल्लेख्य हिसाबमा बढ्ने छ ।”
होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले नेपाल आएका पर्यटकले गरेको खर्च ‘बिल’ भएकाको मात्रै हिसाब राष्ट्र बैंकको तथ्यांकमा पर्ने जानकारी दिए ।
“औपचारिक क्षेत्रबाट आएको हिसाबमात्र राष्ट्र बैंकको तथ्यांकमा आउने गर्छ तर अनौपचारिक क्षेत्रमा हुने खर्चको हिसाब यसमा पर्दैन,” शाहले भने, “काठमाडौं आएका अधिकांश पर्यटक ट्याक्सी चढ्छन् तर तिनको न बिल हुन्छ न कतै हिसाब हुन्छ ।”
गुणस्तरीय पर्यटक बढाउन सरकार र निजी क्षेत्र दुवैले पहल गर्नुपर्ने उनको भनाइ छ । नेपाललाई ‘सस्तो गन्तव्य’ का रूपमा विश्वमा प्रवद्र्धन गर्न नहुने उनले बताए । “सडकमा खाल्डाखुल्डी, धुलो, धुँवा भएसम्म विश्वका पर्यटक नेपालमा बिदा मनाउन किन आउने ?,” उनले भने, “अझै थप गन्तव्यबारे प्रचार गर्नुप¥यो । सधैं काठमाडौं, पोखरा, चितवन, सगरमाथा, लुम्बिनीमात्र भनेर भएन ।”
त्यसबाहेक पूर्वाधारमा पर्याप्त लगानी गर्नुपर्ने उनको सुझाव छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार र विस्तार गर्न नसकेका कारण थप समस्या भइरहेका उनको अनुभव छ । “भएकै पूर्वाधार सम्हाल्न हामीसँग व्यवस्थापकीय क्षमता छैन,” शाहले भने, “पूर्वाधारमा लगानी गर्न रकमको समस्या होइन, इच्छाशक्ति आवश्यक छ ।”