site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रतिकूल मौसमले ५ दर्जन आन्तरिक उडान रद्द

काठमाडौं । हिजो मध्यरातबाट परिरहेको वर्षा र उच्च पहाडी भेगमा हिउँ परेका कारण मुलुकका विभिन्न गन्तव्य जानुपर्ने पाँच दर्जन हाराहारी उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुनुपर्ने ती उडान प्रतिकूल मौसमका कारण रद्द भएका हुन् । 
मंगलबार मध्यरातदेखि परेको वर्षा जारी रहनुका साथै उच्च पहाडी भेगमा हिउँ परेपछि उड्डयन मौसम प्रतिकूल भएको छ । यसबाट ‘भिजिबिलिटी’ (दृश्यांश) शून्य हाराहारी भएपछि उडान रद्द भएका हुन् ।
“पानी परेको पर्यै छ र त्यसमाथि उच्च भूभागमा हिउँ परेपछि अधिकांश आन्तरिक उडान गर्न सम्भवै भएन,” निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बुधबार बाह्रखरीसँग भने, “आज बिहानदेखि तालिकामा रहेका पाँच दर्जनहाराहारी उडान रद्ध भएका छन् ।”
आचार्यका अनुसार त्रिभुवन विमानस्थलबाट आज बिहानका लागि तालिकामा रहेका सबै पर्वतीय उडान (माउन्टेन फ्लाइट) रद्द भएका छन् । मौसम खुलेका बेला काठमाडौंबाट दैनिक डेढ दर्जनसम्म माउन्टेन फ्लाइट हुने गरेका छन् । हाल बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स र सिम्रिक एयरले माउन्टेन फ्लाइट गर्दै आएका छन् । 
त्यसैगरी काठमाडौंबाट प्रमुख आन्तरिक विमानस्थल लुक्लाका लागि हुनुपर्ने डेढ दर्जन नियमित उडान सबै रद्द भएको आचार्यले बताए । फाप्लु जाने तालिकाका उडान पनि कुनै नभएको उनले जानकारी दिए । 
हाल त्रिभुवन विमानस्थलबाट तारा एयर, सीता एयर र समिट एयरले लुक्ला उडान गर्दै आएका छन् । “हाम्रो वायुुसेवा कम्पनीको पनि लुक्ला जानुपर्ने कुनै पनि उडान भएनन्,” आन्तरिक वायुसेवा कम्पनी सीता एयरका वरिष्ठ महाप्रबन्धकसमेत रहेका आचार्यले भने ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले लुक्ला तथा फाप्लुमा हिउँ परेका कारण त्यसतर्फ जानुपर्ने कुनै पनि उडान नभएको जानकारी दिए । “सुगम भेगका विमानस्थलतर्फका उडानमा खासै समस्या आएको छैन,” उनले भने, “देशभर मौसम प्रतिकूल भए पनि अन्तर्राष्ट्रिय उडान–अवतरणमा समस्या उत्पन्न भएको छैन । यहाँको भिजिबिलिटी सामान्य छ ।”
वायुसेवा सञ्चालक संघका प्रवक्ता आचार्यका अनुसार आज नेपालगन्ज र सुर्खेत विमानस्थलबाट पश्चिमतर्फका दुर्गम विमानस्थल जानुपर्ने सबै उडान रद्द भएका छन् । जुम्ला, हुम्ला, डोल्पा, बाजुरालगायत गन्तव्यका सबै उडान नभएका हुन् ।
“पश्चिमी दुर्गम भेगतर्फका दुई दर्जन उडान रद्द भएका छन्,” उनले भने, “उताका अधिकांश भागमा हिउँ परेका कारण उडान हुन नसकेको हो । आजमात्र नभई सम्भवतः भोलि बिहीबार पनि ती गन्तव्यमा उडान हुने सम्भावना कम छ ।”
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले प्रतिकूल मौसमका कारण आज बुधबार तालिकामा रहेका आफ्नो कम्पनीका सबै माउन्टेन फ्लाइट रद्द भएको जानकारी दिए । मौसम सामान्य भएका बेलामा बुद्धले दैनिक दर्जनहाराहारी माउन्टेन फ्लाइट गर्दै आएको छ । 
“आज बुधबारका लागि हामीले तीनवटा माउन्टेन फ्लाइट राखेका थियौं तर कुनै पनि हुन सकेनन्,’ जोशीले भने, “त्यसैगरी काठमाडौंबाट सुर्खेत जाने तालिकामा रहेको एउटा उडान पनि रद्द गरेका छौं । ती उडानबाहेक अन्य सुगम विमानस्थलमा भने यथावत उडान सञ्चालन भइरहेका छन् ।”
त्रिभुवन विमानस्थलका अनुसार सामान्य दिनमा दैनिक करिब ४ सयहाराहारी आन्तरिक उडान हुने गरेका छन् । काठमाडौंबाट पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भरतपुर, नेपालगन्ज, भैरहवा, धनगढीलगायत सुगम भेगका विमानस्थलका उडानमा प्रतिकूल मौसमले कुनै समस्या पारेको छैन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro