
– राजु अधिकारी
अघिल्लो रातको घनघोर भदौरे झरीले भमई खोलाको किनारमा वर्षौंदेखि अटल रहेर उभिइरहेको पीपलको अजंगको रुख गर्लम्म ढल्यो । अर्को दिन बिहानै पँधेरामा पानी भर्न जानेहरूले त्यो दृश्य देखेपछि वैशाखको डढेलोझैं त्यो खबर एकैछिनमा गाउँभन्दा पनि टाढा पुगिसकेको थियो । संयोग पनि कस्तो परेछ, भाद्र कृष्ण अष्टमीको राति त्यो रुख ढलेको थियो । अनि त गाउँलेहरूलाई पुगिहाल्यो । विष्णुको साक्षात अवतारका रूपमा पुजिने त्यो पवित्र वृक्ष जन्माष्टमीकै दिन ढलेपछि गाउँमा अब कुनै अनिष्ट हुन लाग्यो भनेर सबै त्राहिमाम भए । तर, त्यो आपत सहनुबाहेक उनीहरूसँग अर्को उपाय पनि थिएन ।
त्यहीबेला गद्दीवाल चप्पल पड्काउँदै गोविन्द पण्डित रुख ढलेको ठाउँमा आइपुगे । गाउँमा अलि जानेबुझेका, सबैले मान्ने मान्छे थिए गोविन्द पण्डित । उनी आएपछि सबैलाई अलि राहतजस्तो भयो— मानौं अब त्यो पीपलको बोट ढलेको पाप र त्यसबाट आउन सक्ने अनिष्ट उनले आफ्नो काँधमा एक्लै थाम्नेछन् ।
ढलेको रुख अब कसरी तह लगाउने भनेर गाउँलेहरूमा बहस चल्यो । हाँगा काटेर दाउरा बाल्नु सबैभन्दा सजिलो उपाय थियो तर त्यसो गर्दा पाप पो लाग्ने हो कि भनेर कसैले पनि त्यो कुरा गर्ने आँट गरेका थिएनन् । विष्णु भगवानको सच्चा प्रतीकका रूपमा चिनिने पीपलका हाँगालाई कसरी सोझै आगोमा लगेर झोंस्नू ?
तर, त्यो समस्या पनि गोविन्द पण्डितले सजिलै सुल्झाइदिए, “जिउँदो पीपलको पो जानीजानी हाँगा काटेर आगो नबाल्ने हो । अब ढलिसकेको पीपलको हाँगा काट्दा केही हुँदैन । बरु पीपलको यो दाउरालाई समिधाजस्तो मानेर घरमा सबैले लगेर बालौं, घर पनि शुद्ध हुन्छ, पाप हैन पुण्य प्राप्त हुन्छ ।”
सबैलाई गोविन्द पण्डितको त्यो सुझाव निकै मनासिव लाग्यो । त्यसै पनि ‘के निहुँ पाउँ, कनिका बुकाऊँ’ भनेर गाउँलेहरू दाउराको त्यो खडेरीमा पीपलका हाँगामा आँखा लगाई बसेका थिए । गोविन्द पण्डितको त्यो एक वाक्य उनीहरूका लागि अमृतजस्तै भयो । पीपलको दाउरा बालेको पाप लागे पनि गोविन्द पण्डितलाई लाग्ने भयो भनेर सबै मख्ख परे ।
सबैको सहमतिअनुसार दाउरा काट्ने जिम्मा ठेक्कामा बटोलपुरको ऐलानी डाँडामा बस्ने सुनारको छोरो बिस्नेलाई दिइयो । त्यसको बदला उसले पनि गाउँलेहरूले पाउने जति एक भाग दाउरा पाउने भयो ।
खास नाम त विष्णुभक्त नेपाली हो तर सबैले उसलाई बिस्ने भनेर चिन्थे । बच्चा बेला पढ्न नपाएको हुँदा उसले जीविका चलाउन बाउले गर्ने सुनको सँगसँगै डकर्मी र सिकर्मीको काम पनि गथ्र्यो । त्यसका अतिरिक्त उसलाई भगवानका मूर्ति बनाउनमा पनि निकै शोख थियो । नामजस्तै मान्छे निकै सज्जन थियो अनि भगवानको भक्त पनि ।
रुख ढलेको दोस्रो दिनदेखि आफ्नो बञ्चरो उध्याएर उसले काम शुरु ग¥यो । दाउरा जम्मा हुँदै जान्थे, अनि साँझ बिस्नेले आफ्नो बञ्चरो बिसाएपछि सबैको उपस्थितिमा ती दाउरा बाँडिन्थ्यो । बिस्नेको बञ्चरो बर्सिंदै गयो, त्यो अजंगको पीपल पनि दिन प्रतिदिन ठुटो हुँदै गयो । दुई हप्ता पनि नबित्दै बिस्नेले पीपलका सबै हाँगा काटेर सक्यो । तर, बाँकी रहेको फेंदलाई काट्नु सानोतिनो कुरो थिएन । बीस हातभन्दा बढी परिधी भएको त्यो फेंदलाई काट्नु बिस्नेको बञ्चरोको वशमा थिएन । त्यत्रो बडेमानको फेंदलाई कसैले चोरेर लाने डर पनि थिएन, त्यसैले त्यसको निर्णय पछि गर्ने भनेर उनीहरूले खोलाको किनारमा त्यत्तिकै छोडिदिए ।
तर, अर्को दिन अचम्मको घटना भयो । बिहान पानी भर्न निस्केका महिलाहरूले कसैले नचिताएको अचम्मको दृश्य देखे । त्यो ढलेको पीपलको ठुटो त पहिलेकै ठाउँमा ठिंग उभिएको थियो ।
फेरि कस्तो संयोग परेछ कुन्नि— पीपलको बोट उठेको त्यो दिन ऋषिपञ्चमी थियो । गाउँलेहरूलाई फेरि मसला पुगिहाल्यो— ऋषिपञ्चमीको पवित्र दिन पारेर स्वयं विष्णु भगवानले त्यो रुखलाई उठाउनुभयो भनेर हल्ला फिँजियो । त्यसै पनि भगवानबाहेक त्यत्रो रुखको ठुटोलाई उठाउन सक्ने अरू कोही पनि त थिएनन् । स्वाभाविक रूपमा रुख ढलेको भन्दा रुख उठेको हल्लाले बजार लियो । पत्रपत्रिका, रेडियोमा समाचार आए । टाढाटाढाबाट पनि मान्छेहरू भगवानले उठाएको रुख हेर्न आए, फूल–अक्षता चढाउन थाले । त्यो देखेर गोविन्द पण्डितले अब त्यो पीपलको ठुटोलाई संरक्षण गरेर राख्ने अनि त्यो ठाउँमा भगवान कृष्णको मन्दिर उभ्याएर तीर्थस्थल बनाउने प्रस्ताव राखे । कुरो मनासिवै थियो । तीर्थस्थल भएपछि बाटोघाटो पनि बन्ने, गाउँको नाम पनि प्रचार हुने अनि त्योभन्दा महत्त्वपूर्ण कुरा— जग्गाको भाउ पनि बढ्ने ।
विज्ञान विषय लिएर भर्खर क्याम्पस पढ्न थालेको गोगलपुरको बस्नेतको कान्छो छोरोलाई त्यो सबै कुरा रुढीवादी अनि तर्कहीन लाग्यो । उसलाई थाहा थियो— पहिले हाँगाबिँगा धेरै भएर पीपलको बोटले थाम्न नसकी ढलेको थियो अनि हाँगा काटेपछि जरातिरको भाग गह्रुंगो भयो, त्यसपछि त्यो ठुटो उठ्यो । उसले नौ कक्षाको विज्ञान विषयमा पढेको सामान्य यन्त्रमध्येको उत्तोलकको सामान्य थियो त्यो । उसले एउटा फ्ल्याक र केही ढुंगा ल्याएर बाउलाई त्यो कसरी हुन्छ भनेर प्रयोगै गरेर देखायो । बस्नेतलाई पनि आफ्नो छोरोको तर्क ठीक लाग्यो अनि गोविन्द पण्डितकहाँ गएर छोरोले पत्ता लगाएको त्यो कुरो गरे, “बाजे ! हाम्रो कान्छोले त यस्तो कुरो पो गर्छ ए ।”
बस्नेतको कुरो सुनेपछि गोविन्द पण्डित पड्किए, “एक–दुई वर्ष साइनेस के पढ्याथ्यो, आफूलाई के–के न भएँ भन्ने भएछ तिम्रो छोरो ! त्यत्रो बडेमानको रुखलाई भगवानबाहेक अरू कसैले उठाउन सक्छ ? सक्छ भने तिम्रो छोरोलाई फेरि ढालेर उठाएर देखाउन भन । वाहियात कुरो । कलिजुग लाग्या भन्या यही हो !”
गोविन्द पण्डितसँग तर्क गर्न बस्नेतसँग ज्ञान र हिम्मत दुवै थिएन । उनको कुरो पनि ठिकै लाग्यो । चुपचाप घर फर्के । छोरोले कृष्णपुर हवल्दार बाजेको लिच्चीको रुख पनि फलेको लिच्ची थाम्न नसकेर त्यसरी नै ढलेको अर्को उदाहरण दियो तर बस्नेतलाई छोरोको भन्दा गोविन्द पण्डितकै कुरो ठीक लाग्यो । उनले फेरि छोरोको त्यो तर्क कसैलाई सुनाउन आँट गरेनन् ।
गाउँमा बैठक बस्यो अनि गोविन्द पण्डितले प्रस्ताव राखेजस्तै त्यो ठाउँमा मन्दिर बनाउने कुरामा सबैको सहमति जुट्यो । कृष्ण जन्माष्टमीको दिन पीपल ढलेकोले त्यहाँ कृष्णको मूर्ति राख्नेमा सबैको एकमत भयो । त्यसका लागि गाउँमा चन्दा उठाउन थालियो । कसैले पैसा दान गरे, कसैले अन्न दान गरे, कसैले मूर्तिका लागि धातु दान गरे । कसैले चाहिँ मन्दिर बनाउने बेला श्रमदान गर्ने वचन दिए । मन्दिर बनाउने जिम्माचाहिँ त्यही सुनारको छोरो बिस्नेले पायो । गाउँकै काम भएको अनि त्यसमाथि भगवानको मन्दिर बनाउने पवित्र काम भएकोले अलि सस्तोमा त्यो कामको ठेक्का लियो ।
भगवानको काम गर्न पाएकोमा बिस्ने पनि खुशी थियो । निकै मेहनेत गरेर दत्तचित्त भई उसले मन्दिरको घर तयार पा¥यो । मन्दिर बनिसकेपछि त्यसभित्र स्थापना गर्ने श्रीकृष्णको मूर्ति पनि आफैं बनाउन उत्सुक भएको उसले बिन्ती ग¥यो । सुनारको छोरो, त्यसमाथि त्यति सोझो अनि भगवानको भक्त, गोविन्द पण्डितले त्यो काम पनि उसैलाई दिए । कृष्ण भगवानको मूर्ति कुँद्न पाउँदा उसले आफूलाई निकै भाग्यमानी सम्झ्यो अनि दिनरात एक गरेर तामाको सुन्दर मूर्ति बनायो ।
तर, मन्दिर पूर्ण रूपले तयार हुन एउटा कुरो अझै बाँकी थियो— मन्दिरको गजुर । त्यो गजुर आफूले पनि पुण्य प्राप्त गर्न पाउनुपर्ने भन्दै बिस्नेले आफ्नै खर्चमा राख्ने इच्छा देखायो । गाउँलेहरूले पनि त्यसमा सहमति जनाए ।
सुनारको घर भएकोले बिस्नेको घरमा टुक्राटाक्री पित्तलको कमी थिएन । तिनै टुक्राटाक्री जम्मा ग¥यो अनि आफ्नै एउटा पित्तलको कसौंडी मासेर उसले सुन्दर गजुर बनाई मन्दिरको टुप्पोमा लगायो । गजुर थपेपछि पहिले नै सुन्दर देखिएको त्यो मन्दिर निकै खुल्यो । तल ओर्लेर उसले मन्दिरलाई हे¥यो, आफूले लगभग एक्लै बनाएको त्यो अनुपम मन्दिर देखेर आफूलाई निकै भाग्यमानी ठान्यो अनि भगवानलाई आफूलाई त्यो अवसर दिएकोमा मनमनै प्रणाम ग¥यो ।
मन्दिरको सबै काम सकिन लगभग डेढ वर्षजति लाग्यो । मन्दिर तयार भएपछि गोविन्द पण्डितले सबै निरीक्षण गरे । बिस्नेले उनले सोचेभन्दा राम्रो बनाएको थियो मन्दिर । पूजा अझै शुरु नभए पनि कृष्णको मूर्ति पनि मन्दिरभित्र सजाइसकिएको थियो । हातमा मुरली लिएका भगवान श्रीकृष्ण तामाको त्यो मूर्तिमा निकै सुन्दर देखिएका थिए— अहिले नै मुरली निकालेर गोपिनीहरूलाई बोलाउँछन् कि जस्तो । त्यो देखेर गोविन्द पण्डित पनि सन्तुष्ट भए अनि ‘तँ त निकै सिपालु भैसक्या रैछस् ए बिस्ने’ भन्दै प्रशंसा गर्न पनि छुटाएनन् । आफ्नो प्रशंसामा बिस्ने केही नबोली हाँस्यो मात्रै ।
अनि गाउँलेहरू सबैसँग सल्लाह गरेर गोविन्द पण्डितले तिथिमिति हेरी त्यो मन्दिरमा पूजा शुभारम्भ गर्ने दिन निकाले । त्यो समारोहमा गोविन्द पण्डित नै हर्ताकर्ता थिए । उनी मन्दिरभित्र अनि गाउँका अन्य केही ब्राम्हणहरूले प्रांगणमा बसेर पूजा तथा होम शुरु गरे । आफूले जानेजतिका सबै मन्त्र भट्याउँदै ब्राह्मणहरू होम गर्न थाले । गोविन्द पण्डितचाहिँ हातको भाउ लगाउंदै वेदका दुई–चार ऋचा पनि उच्चारण गर्दै थिए । बिस्ने पनि आफूले त्यत्रो मेहनत गरेर बनाएको मन्दिरमा हुन लागेको पूजा हेर्न नजाने कुरै भएन । त्यो दिन अरूहरूमा भन्दा उसमा बढी उत्साह थियो । यताउता चुरीफुरी गथ्र्यो अनि बाहिरबाट पूजा हेर्न आएकालाई ‘यो मन्दिर पूरै मैले बनाएको हो’ भनेर गफ लगाउन बिर्संदैनथ्यो ।
ब्राह्मणहरू पूजामा लीन थिए, अनि स्रोताहरू उनीहरूका मन्त्रमा मन्त्रमुग्ध हुँदै हात जोडी श्रीकृष्णलाई सम्झँदै थिए । मन्दिरभित्रबाट होम गर्न गोविन्द पण्डितले समिधा मागे । कसैले सुनेनन् । बिस्ने नजिकै थियो अनि नजिकै राखेको समिधा उठाएर उसले गोविन्द पण्डितलाई दियो । त्यो समिधाको मुठ्ठो पकड्नै लाग्दा बिस्नेलाई देखेर गोविन्द पण्डित झस्किए अनि उनको मुखबाट निस्कियो, “यो बिस्ने मोरो के गर्न आ’छ हँ यहाँ ? कसले छिर्न दियो यसलाई पूजा गर्ने ठाउँमा ? जा, उता गएर अलि पर बस्, छोइएला ।”