सोमबार जाउलाखेल चिडियाखाना दक्षिणतर्फको क्षेत्रमा पुग्दा घरैघरको भीडमा ‘पाँडे पुराण’ का लेखकको घर खोज्न थालियो । उनले दिएकै लोकेसन थियो त्यो । सहकर्मी सौरभको मोटरसाइकलमा पुगेर अडिएपछि फोन लगाएँ र भनेँ म ‘ह्वाइट हाउस’ अगाडि छु । कता आऊँ अब ?’
पाँडेले तत्काल जवाफ दिए, ‘यही घर हो ।’ लगत्तै ढोका खोले । सामान्य औपचारिकतासँगै हामी भित्र छिर्यौं । उनको घरको सिंगारपटारले पहिलो नजरमै लोभ्यायो । वरिपरि रुख, बोटबिरुवा । घरमा सजिएको आँखीझ्याल । पुरानो शैलीको ढोकामा लागेको भोटे ताल्चा ।
त्यतै छेउछाउ राखेर सौरभले पाँडेको तस्बिर खिचे । तस्बिर खिच्दै गर्दा नै उनले भने, “यो घर मैले आफ्नै डिजाइनमा तयार गर्न लगाएको हुँ । के गर्ने ? कसरी गर्ने ? सबै आइडिया मेरो हो ।”
घाम लागे पनि पुसको चिसो स्याँठले वातावरण चिसिएको थियो । वरिष्ठ हास्यव्यंग्य लेखक, साहित्यकार तथा भूगोल विषयका प्राध्यापक रामकुमार पाँडे (७२)ले घर माथिको कौसीमा रहेको कोठामा लगे । कौसीको कोठा गज्जबको न्यानो थियो । कुराकानीको थालनीमै उनले भने, “म २७ को भएँ ।”
एकैछिन मेरो दिमाग रन्कियो । उनी हाँसे । उनले उमेर उल्टोबाट भनेका रहेछन् । बुझेपछि हाँसोको फोहोरा छुट्यो । हास्यव्यंग्य लेखनका यि वरिष्ठतम व्यक्तित्वले त्यही न्यानो कोठामा सुनाए आफ्नो जीवनका आरोह–अवरोह ।
०००
उनलाई आफू बुढो भएको अनुभूति कहिल्यै हुँदैन । उनी केही न केही गरिरहेका हुन्छन् । आफूलाई २७ कै उमेरझैँ उर्जाशील बनाउन हरपल लागिपरेका छन् । बरु त्रिभुवन विश्वविद्यालयमा पढाउँदा त्यति व्यस्त थिएनन्, अहिले त्यति व्यस्त भएका छन् ।
प्राध्यापक रामकुमार पाँडे भन्छन्, “अहिले साहित्यमै अनेक किसिमका कामहरु गरिरहेको छु । पहिले एउटै गतिको काम हुन्थ्यो । आज त्यो छैन । फरक फरक प्रकृत्तिका कामहरुमा रमाइरहेको छु ।”
उनी २७ वर्षका हुँदा सिनेमाको हिरोजस्तै आकर्षक थिए । कपाल लामालामा थिए । शैक्षिक र साहित्यिक क्षेत्रमा उनको लगाव उत्साहपूर्ण थियो । त्यसैले पनि उनको प्रशंसा हुन्थ्यो । उनको लेखन, चित्रकला तथा प्राध्यापन, हरेक विषयको चर्चा हुन्थ्यो । त्यसैले उनलाई सधै उर्जाशील रहन पेरित गर्यो ।
हास्यव्यंग्यका क्षेत्रमा प्रतिष्ठित पाँडेको पहिलो हास्यव्यंग्य आलेख वि.सं. २०१८ सालमा छापियो । ‘युवक’ नामक पत्रिकामा उनको त्यो व्यंग्य छापिएको थियो । यथार्थमा त्यो उनको आफ्नै भोगाइ थियो जुन उनले ‘म अग्लो भएँ’ शीर्षक दिएर लेखेका थिए ।
त्यसअघि नै उनले केही कविताहरु लेखिसकेका थिए । तथापि, साहित्य लेखनमा उनको खासै ज्ञान थिएन । तिनताक उनका दाजु बेलायत गएका थिए । उनका दाजुले भाइ सानै छ भन्ने ठानेर कपडा पठाउँदा रहेछन् । तर यहाँ उनलाई त्यो कपडा सानो हुनेरहेछ । उमेर अनुसार उनको अग्लाई बढ्दै गएको थियो ।
हास्यव्यंग्यकार पाँडे हाँस्दै भन्छन्, “दाजु मेरा लागि पाइन्ट पठाउनु हुन्थ्यो । मैले लगाउँदा हाफ पाइन्ट हुन्थ्यो । यस्तैमा एक पटक म पाटनको साथीकहाँ जाँदा तिनको घरको होचो ढोकामा मेरो टाउको ठोक्कियो । टुटुल्को नै उठ्यो । अनि मलाई लाग्यो म अग्लो भएछु । त्यसपछि नै मैले त्यो पहिलो निबन्ध लेखेँ, जुन मेरो पहिलो व्यंग्य लेखन भयो ।”
उप्रान्त उनको लेखन क्रम अगाडि बढ्दै गयो । उनको लेखन शैली देखेर उनका अग्रज तथा शिक्षकहरुले हास्यव्यंग्य लेखनलाई निरन्तरता दिन हौस्याए । उनी पनि हौसिए । स्कूल र कलेजमा उनको लेखनले चर्चा पाउँदै गयो । लेखन मात्रै नभएर चित्रकला कोर्नमा पनि माहिर भएकाले रामकुमार पाँडे स्कूल र कलेजमा सधैँ चर्चामा रहे ।
आफ्नो जीवनको कथा प्रस्तुत गरेर व्यंग्य लेखक भएका पाँडेले एक पटक पाटन कलेजमा पढ्दा पत्रिका प्रकाशन गरे, ‘मायालु’ । यो ०२१ सालतिरको कुरा हो । पत्रिका प्रकाशनका लागि खट्दै जाँदा एक पटक उनका एक जना साथीले कतै प्रकाशित भइसकेको चित्रवाला जिङ्क ब्लक फेला पारे । उनले पनि त्यो ब्लकको तल क्याप्सन राखेर ‘चित्र सम्वाद’ शीर्षक दिएर मायालुमा चित्र प्रकाशित गरे ।
दुई चार अंकपछि चित्रको ब्लक पाउन छोड्यो । त्यसपछि पाँडेले आफै कार्टुन चित्र कोरे र त्यसको ब्लक बनाएर मायालुमा छापे । यसरी उनी पत्रपत्रिका प्रकाशनमा पनि लागे । जहाँबाट उनको व्यंग्य लेखन पनि फस्टाउँदै गयो ।
कुराकानीको क्रममा भूगोलविद् प्रा. रामकुमार पाँडेले आफ्नो स्कूले कथा सुनाए । लेखपढमा रुची थियो नै । त्यसैबेला साहित्यकार कमलमणि दीक्षितको आमाको नामबाट विद्यालय स्तरीय निबन्ध प्रतियोगिता हुने भयो । पुरस्कारको नाम राखियो ‘विद्या पुरस्कार’ । त्यसका लागि निबन्ध लेख्न १२ वटा शीर्षक पठाइएको थियो । १२ मध्येको एउटा विषयमा निवन्ध लेखेर पाँडे स्कूलबाट प्रतियोगिताका लागि चुनिए ।
रामकुमार पाँडे भन्छन्, “उपलब्ध १२ वटा विषयमध्ये एउटा विषय थियो ‘भू–उपग्रहका उपयोगिताहरु’ । निबन्धको विषय चिठ्ठा हालेर दिइन्थ्यो । त्यसबखत भू–उपग्रहका विषयमा कसैले सोचेका पनि थिएनन् । मेरा शिक्षकहरु पनि भन्थे, पाँडेलाई यो विषय पर्यो भने चैं गाह्रो हुन्छ । बाँकीमा त उडाउँछ ।”
संयोग, त्यसबेला रामकुमार पाँडे जावलाखेलको स्थानीय पुस्तकालय अध्ययन गृहमा स्वयम्सेवक थिए । त्यहाँ केही पत्रपत्रिकाहरु अमेरिकन लाइब्रेरीबाट पनि आउँथ्यो । तिनै पत्रपत्रिकाहरुमा उनले भू–उपग्रहका विषयमा पढ्ने र बुझ्ने मौका पाएका थिए । स्याटेलाइटका बारेमा धेरथोर जानकारी राख्न पाएका थिए ।
निबन्ध लेख्ने हलमा बासुदेव शर्मा लुईटेल कपि बाँड्दै थिए । त्यसबेला चिठ्ठा हाल्दा पाँडेलाई भू–उपग्रहकै विषय पर्न गयो । त्यसपछि उनले दायाँबायाँ नहेरी आफूलाई जानकारी भएको कुरा लेख्न सुरु गरे । र सिंगो कपी भरेर अर्को कपी पनि मागे । यसरी उनले भू–उपग्रहका विषयमा लामो निवन्ध लेखे ।
उनी भन्छन्, ‘मेरो त्यो निबन्ध नै प्रथम भयो । र मैले वर्षको ३ सय ६० रुपैयाँ पुरस्कार पाएँ । महिनाको ३०–३० रुपैयाँ दिइन्थ्यो । त्यसपछि त मेरा पछाडि साथीभाइहरुको लर्को नै लाग्यो । सबैलाई खाजा खुवाउनसमेत पैसा पुग्थ्यो ।’
०००
रामकुमार पाँडेको बाल्यकाल जावलाखेल वरपर नै बित्यो । उनले पाटन स्कूल र पाटन कलेजबाटै आफ्नो शिक्षा पूरा गरे ।
उनका पिताजीको जावलाखेल कुमारीपाटी नपुग्दै छ रोपनी जग्गामा ठूलो बंगला थियो । तर विविध कारणले गर्दा उनका पिताजीले त्यो घरजग्गा बेच्नुपर्यो । केही वर्ष त घरको बेहाल नै भयो । त्यसपछि मात्रै चिडियाखानाको दक्षिण तर्फ आएर उनका पिताजीले फेरि घरजग्गा जोडे ।
पहिले उनको बसोबास रहेको घरतिर आउने सिधा बाटो थिएन । जावलाखेलको उत्तर पर्खाल भएर पश्चिम हुँदै घुमेर घरजग्गामा पुग्नु पर्दथ्यो । उल्टो घडी घुमे जसरी लामो घुमेर घरमा पुग्नु पर्ने अवस्था थियो । निक्कै पछि मात्रै दक्षिणतिरबाट बाटो खुल्यो ।
बीचमा चिडियाखाना भएकोले वातावरण रमाइलो थियो त्यसबेला । वरपरको वातावरण हरियालीपूर्ण थियो । चारैतिर खेतैखेत थियो । वरपर खासै घरहरु थिएनन् । दुईचार वटा छाप्रा मात्र थिए । अहिले यही ठाउँ पनि कंक्रिटको जंगलमा परिवर्तन भइसकेको छ ।
पाँडेका अनुसार पचास वर्षअघि जावलाखेलमा भीड लाग्ने भनेको मछिन्द्रनाथको भोटो जात्रामा मात्रै हुन्थ्यो । चिडियाखाना हेर्न त खासै मानिस आउँथेनन् । अहिले त शनिबार पनि भोटेजात्रा जस्तै भीड लाग्ने गरेको उनको भनाइ छ ।
उनले दक्षिणतर्फ बाटो निकाल्दाको कथा सुनाए । उनी भन्छन् ‘यो टोलमा जोगी पनि आउँथेनन् । एकान्त थियो । तर पनि हामी केही व्यक्तिहरुले दक्षिणतिर घर भएका व्यक्तिहरुको पर्खाल भत्काउँदै बाटो बनायौं । तर भोलिपल्टै तिनले पर्खाल लगाइहाल्थे । चार पाँच पल्ट भत्काएपछि पनि त्यस्तै गरेपछि एकपटक एउटा मन्त्रीलाई ल्याएर त्यो बाटोको उद्घाटन नै गरायौं । त्यस पछि मात्रै यो बाटोमा पर्खाल लागेन । अहिले बाटोले तिनै पर्खाल लगाउनेहरुलाई धेरै फाइदा पुगेको छ ।’
उनी आज पनि यस क्षेत्रमा बसेर ऋतु परिवर्तनलाई अनुभूत गर्न सकिने बताउँछन् । आफू प्रकृतिसँग एकदमै निकट रहेको अनुभूत उनलाई हुन्छ ।
०००
रामकुमार पाँडे पाटन कलेजमा पढ्दा नै साहित्यिक कार्यक्रमहरुमा सहभागि भइरहन्थे । विभिन्न प्रकृतिका साहित्यिक सांस्कृतिक कार्यक्रमहरु कलेजले गरिरहन्थ्यो । उनी कलेजको युनियनमा सचिव पनि भएका थिए । त्यसबेला पाटन कलेजमा तत्कालिन युवराज र अधिराजकुमार वीरेन्द्र र ज्ञानेन्द्र पनि पढ्थे । त्यसैबेला एउटा कार्यक्रममा तत्कालिन राजा महेन्द्रलाई कलेज भिजिट गराइएको थियो ।
त्यसैताका कलेजमा एउटा साहित्यिक प्रदर्शनी पनि गरियो । प्रदर्शनीका लागि मदन पुरस्कारबाट एउटा तस्बिर पनि ल्याएर राखिएको थियो ।
रामकुमार पाँडे राजा महेन्द्रलाई साहित्यिक प्रदर्शनीका बारेमा जानकारी गराउँदै त्यही तस्बिर अगाडि पुगे । महेन्द्रले सोधे ‘यो कस्को तस्बिर हो ?’ तस्बिरमा दुई जना थिए । बीपी कोइराला र हृदयचन्द्र सिंह प्रधान । पाँडेले पनि बीपी कोइराला भनेर जवाफ दिए । महेन्द्रले ‘अर्को मानिस’ भनेर फेरि सोधे । अनि उनले हृदयचन्द्र सिंह प्रधान भनेर चिनाए ।
त्यसैबेला उनले सोचे महेन्द्रसँग अटोग्राफ लिनुपर्यो । उनले ‘सरकार, सरकारको अटो पाउँ’ भने । महेन्द्रले उनलाई हेरे । तत्कालै महेन्द्रका एडीसीले पाँडेका पाखुरा कक्रक्क पारेर समाए । पाखुरा दुख्यो । तत्कालै महेन्द्रले ‘म अहिले गर्छु’ भनेपछि एडीसीले पाखुरा पनि छोडे ।
महेन्द्रले प्रदर्शनीमा साहित्यका विभिन्न पक्षहरु नियाल्दै गए । प्रदर्शनमा रामकुमार पाँडेले एउटा चित्राङ्कीत चार्ट बनाएका थिए । जुन साहित्यको बटवृक्ष स्वरुपमा थियो । चित्रमा सिञ्जाबाट आएको नेपाली भाषा एउटा विशाल वृक्षका रुपमा फैलिएको थियो । त्यसमा गद्य पद्यका विशाल हाँगाहरु थिए भने रुखका पातपातमा साहित्यकारहरुको नाम लेखिएको थियो । एउटा पातमा मवीवी शाहको नाम पनि थियो । त्यो चित्र महेन्द्रले मन पराए ।
पाँडे भन्छन्, “प्रदर्शनी हेरिसके पछि राजा महेन्द्र बाहिर निस्कन थाले । मैले लौ अब यिनले अटो नदिने भए भन्ने सोचेँ । तर राजाले बिर्सेका रहेनछन् । उनले एउटा कागजमा सही गरेर मिति लेखे । विडम्बना, त्यो साहित्यिक बटवृक्षको चित्र नै हरायो । एउटाले हजार रुपैयाँमा किन्छु भनेका थिए । मैले दिइनँ । हराउनु लेखेको रहेछ !”
पाटन कलेजको साहित्यिक माहोल रमाइलो थियो । उनको टोलमा पनि साहित्यिक वातावरणमा रमाउने केही व्यक्ति थिए । त्यही टोलका साहित्यकारहरु बासु रिमाल यात्री, शिवगोपाल रिसालहरु मिलेर बर्सेनी साहित्यिक कार्यक्रम पनि हुँदै आएको उनी सम्झिँदै थिए ।
०००
सन् १९७१ मा रामकुमार पाँडेले भूगोल विषय लिएर एमए पास गरे । उनलाई केही जागिरे आकर्षणले नघेरेको होइन । नेपाल राष्ट्र बैंकमा अनुसन्धान अधिकृत मागिएको थियो । उनी गएनन् । परराष्ट्र मन्त्रालयमा पनि कर्मचारी मागिएको थियो । त्यहाँ पनि गएनन् । किनभने त्यो बेला त्रिविविले एमएड पनि पढ्न पाइने, असिस्टेन्ट लेक्चररको पद पनि पाइने र आधा तलब पनि दिने भएकोले उनी अन्त गएनन् । त्रिविविमै बसे । र लामो समयसम्म विद्यार्थी पढाएर प्राध्यापक पदबाट अवकास लिए ।
हास्यव्यंग्य र कवितामा कलम चलाउने उनी नेपाली भाषामा लेख्थे । तर उनले भूगोल विषय लिएर पढे । यसको कारण थियो, बीएमा उनको नेपालीमा राम्रो नम्बर आएन । उनको अर्को विषय भूगोल भएकोले उनले एमए भूगोल विषय लिएर गरे । उनी भन्छन्, “मलाई पछिसम्म पनि धेरैले नेपालीकै शिक्षक मानिरहेका थिए । मसँग भेट्दा ‘पाँडेजी, नेपाली विभागमा ?’ भनेर प्रश्न गर्थे ।”
प्राध्यापनको क्रममा उनी पृथ्वीनारायण क्याम्पस पोखरा र पाल्पा क्याम्पस पनि पुगे । उनको लेखनमात्रै नभएर उनको अध्यापनलाई पनि विद्यार्थीहरुले मनपराए । उनले पढाएका विद्यार्थीहरु मध्ये कैयनले आज पनि उनको सम्मान गर्दै आएको उनी बताउँछन् ।
उनले एउटा प्रसंग सम्झिए । एक पटक अभ्यास शिक्षणका लागि उनी र उनका एक साथी लैनचौरस्थित कन्या स्कूलमा पढाउन पुगे । विषय अध्ययनका लागि दुईवटा सेक्सन बाँडियो । तर पछि रामकुमार पाँडेको कक्षामै सबै विद्यार्थी भेला हुन थाले । उनका साथी भागे । यसैगरी त्रिविविमा पनि कतिपय विद्यार्थी उनको नाम नै सुनेर पढ्न आएका पनि छन् ।
२०४६ सालको जनआन्दोलन ताकाको एउटा घटना उनले सुनाए । एक दिन उनी कक्षामा पढाउँदै थिए । बाहिर आन्दोलन चलिरहेको थियो । तर उनको कक्षा चलिरहेको थियो । उनले एउटा विद्यार्थीलाई नेपालको सडक विकासका विषयमा प्रश्न गरे । विद्यार्थीले पनि ‘आउँदैन’ भन्दै ठाडो जवाफ फर्काए । ती विद्यार्थी नेता रहेछन् । पछि प्राध्यापक पाँडेले ‘जे आउँछ त्यहि भन्नुस्’ भने । उनले त्यसपछि लामो भाषण नै गरे कक्षा कोठामा । ती विद्यार्थी नेताले पञ्चायत व्यवस्थालाई गर्नु गाली गरे । पछि पाँडेले ती विद्यार्थीलाई भने, “तपाईँले भनेको ठिक हो । तर त्यसका लागि शब्द चयन राम्रो भएन । शब्द चयनमा पनि तपाईँले ध्यान दिएको भए तपाईँको मन्तव्य उत्कृष्ट हुन्थ्यो ।”
प्रोफेसर पाँडे भन्छन्, “त्यसपछि उनी लाजले निहुरिए । उनले बोल्न त के नमस्कार गर्न पनि छोडे । अचेल उनी कहाँ छन् मलाई थाहा छैन । मैले देखेको छैन ।’”
उनले लेखन पक्षसँग जोडिएका केही रोचक प्रसंग पनि सुनाए । एक पटक दाङ जाँदा उनलाई भेट्न पहाडतिरबाट केही व्यक्ति आएका थिए । तिनले गोरखापत्रमा लेख पढेको बताएका थिए । पछि उनले तिनीहरुलाई आफ्ना केही किताब दिएर पठाए ।
माओवादीहरुको समय थियो । ती मूलधारमा आइसके पनि चन्दा लिने क्रम बन्द भएको थिएन । एक दिन उनको घरको ढोकामा चार पाँच जना माओवादी युवाहरु आए । तिनले चन्दा माग गर्दै रसिद तेर्स्याए । पाँडेले पनि आफ्नो भरखरै प्रकाशित पुस्तक ‘श्री पाँडेको सरकार’ तिनीहरुलाई पढ्न दिए । ती केटाहरुले किताब लिएर गए । पछि चन्दा माग्न आएनन् ।
उनी भन्छन्, “तिनीहरु नमानेका भए म भन्ने विचारमा थिएँ, मैले पनि व्यंग्य लेखनका माध्यमबाट समाज परिवर्तनका लागि पहल गरिरहेको छु । तर उनीहरु आउँदै आएनन् । तर मलाई घरकाले भने गाली गर्दैथिए, माओवादीलाई पाँच–सात सय दिएर पठाउनु पथ्र्यो ।”
२०२३ सालमा ‘ख्याल ख्याल’ शीर्षकको व्यंग्य संग्रह प्रकाशित गर्ने रामकुमार पाँडेका सञ्चै छ ?, खप्पर, पाँडे पुराण, सिंग न पुच्छर, मुसालाई श्रीपेच लगायतका दर्जनौ व्यंग्य संग्रह प्रकाशित छन् । उनले आफ्नो विषय भूगोलको विषयमा मात्रै नभएर कथा, कविता, मुक्तक, बालकथा, किशोर कथा, लोक साहित्यका विषयमा पनि पुस्तक लेखेका छन् ।
उनले लेखेको ‘नेपाल परिचय’ धेरै लामो समय त्रिविविको पाठ्यक्रममा रह्यो । नेपाल परिचय पढेरै कैयन प्रशासकीय प्रमुखहरु ठूला पदमा पुगे । रामकुमार पाँडे भन्छन्, “आज पनि खुशी लाग्छ, तपाईंले लेखेको नेपाल परिचय पढेर हामी यहाँसम्म पुगेका हौं भन्ने प्रशासकहरु देख्दा ।”
एकातिर प्राध्यापन पेशा । अर्कोतिर व्यंग्य लेखन । तर उनको जागिरमा उनको व्यंग्य कहिले तगारो बनेन । उनी भन्छन्, “बेलाबखत अप्ठेरो नपरेको होइन । डर नलागेको होइन । तर जागिरमै भने कुनै असर गरेन ।”
तस्बिर सौरभ रानाभाट