site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१ प्रतिशत भन्सारलाई १० बनाइएको पत्रले वायुसेवा कम्पनी ‘त्रसित’

काठमाडौं । सरकारको एउटा निकायले पठाएको पत्रबाट निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरू ‘आतंकित’ बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ती वायुसेवाहरूलाई भन्सार दर तलमाथि भएको भन्दै अपुग रकम तिर्न पत्राचार गरेपछि वायुसेवाहरू आतंकित बनेका हुन् । 

भन्सार कार्यालयले ‘एकीकृत भन्सार महसुल दरबन्दी २०७४–७५’ अनुसार हवाईजहाज र हेलिकोप्टर र तिनका केही पार्टपुर्जा आयात गर्दा तीमध्ये केहीको नाम उल्लेख गरी १ प्रतिशत भन्सार महसुल लिँदै आएको र नाम उल्लेख नभएकाको १० प्रतिशत महसुल लिँदै आएको छ । 

तर, केही दिनअघि भन्सार कार्यालयले ‘आयात गरिएका सामान कुन दफाअनुसार ल्याइएको हो, त्यहीअनुसार पछिल्लो चारदेखि पाँच आर्थिक वर्षको महसुल मिलान गर्न आउनू’ भन्दै पत्राचार गरेपछि वायुसेवा कम्पनी तर्सिएका हुन् ।

“भन्सार कार्यालयले वायुुसेवा कम्पनीहरूलाई विगतदेखिकै हिसाब मिलान गर्न पत्र पठाएको रहेछ,” निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बुधबार बाह्रखरीसँग भने, “यसबारे वायुसेवाहरूले समस्या समाधानको पहल गरिदिन संगठनलाई पत्राचार गरेका छन् । अब के–कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सम्बन्धित निकायसँग छलफल गर्ने छौं ।”

एक वायुसेवा कम्पनी सञ्चालकका अनुसार महालेखापरीक्षकको कार्यालयले  लेखापरीक्षण गर्दा ठूलो परिमाणबराबरको बेरुजु देखाएपछि ‘आत्तिएको’ भन्सार कार्यालयले वायुसेवाहरूलाई पुरानोसमेतका हिसाब मिलाउन पत्राचार गरेको हो । 

“एउटा जहाज वा हेलिकोप्टरमा दसौं हजार पार्टपुर्जा हुन्छन्, ती सबैको नाम भन्सार ऐनमा उल्लेख गर्न सकिँदैन र भन्सारले केही पुर्जाको मात्रै नाम उल्लेख गरेको छ,” ती सञ्चालकले बाह्रखरीसँग भने, “नाम उल्लेख भएका पुर्जाको भन्सार महसुल १ प्रतिशत छ भने नभएकाको १० प्रतिशत छ तर अहिले आएर १० प्रतिशत नै तिर्नुपर्छ भनिएको छ । यो अन्याय हो ।”

भन्सार कार्यालयले भने झैं १० प्रतिशत महुसलको हिसाब मिलाउने हो भने करिब ३० करोड रुपैयाँबराबर चुक्ता गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । “आफ्नो बेरुजु मिलाउन हामीमाथि अन्याय गर्न पाइँदैन,” उनले भने, “यसरी अनावश्यक रकम तिर्दै जाने हो भने चाँडै नै सबै वायुसेवा सदाका लागि बन्द हुने निश्चित छ ।”

उनका अनुसार एकीकृत भन्सार महसुल दरबन्दी २०७४–७५ को ‘८८०३.३०.००’ मा जहाज, हेलिकोप्टर, इन्जिन, ल्यान्डिङ गियर, गियर बक्सलगायत केहीको नाम उल्लेख छ र ती आयात गर्दा १ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । त्यस्तै ‘८८०३.९०.००’ मा भने जहाज वा हेलिकोप्टरका सामानबाहेक अन्य सामान भन्ने उल्लेख छ । 

अब जहाजको टायर आयात गर्दा भन्सार कार्यालयले अन्य सामान भन्दै १० प्रतिशत महसुल तिर्नुपर्ने र पुरानो हिसाबसमेत चुक्ता गर्न पत्राचार गरेको ती वायुसेवा सञ्चालकले जानकारी दिए । 

“जहाज वा हेलिकोप्टरका सामान वा पुर्जा दसौं हजार किसिमका हुन्छन्, अब तिनलाई अन्य सामान भन्दै १० प्रतिशत भन्सार महसुल तिर्दै जान सकिँदैन, यसको बहुगुणा प्रभाव पर्ने निश्चित छ,” उनले भने, “यसो गर्नु भनेको खर्बौं लगानी भइसकेको वायुसेवा उद्योगलाई धराशयी बनाउनु बाहेक अन्य उद्देश्य देखिएन ।”

जहाज, हेलिकोप्टर, इन्जिन वा ल्यान्डिङ गियर किन्दा १ प्रतिशत भन्सार महसुल लाग्ने तर त्यही जहाज वा हेलिकोप्टरलाई चाहिने ब्याट्री, टायर, सिट वा अन्य पार्टपुर्जा खरिद गर्दा १० प्रतिशत भन्सार महसुल तोक्नु वायुसेवा कम्पनीमाथि ठाडै अन्याय भएको उनको तर्क छ । 

हाल बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, सिम्रिक एयरलाइन्स, सीता एयर, समिट एयरलगायत वायुसेवा कम्पनी तथा हेलिकोप्टर सेवा प्रदायक कम्पनीतर्फ श्री एयरलाइन्स, सिम्रिक एयर, समिट हेलिकोप्टर्स, एयर डाइनेस्टी, मनाङ एयर, हेलि एभरेस्ट, कैलाश हेलिकोप्टर, प्रभु हेलिकोप्टर, अल्टिच्युड एयरलगायत छन् । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro