site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पक्की धावनमार्ग भएका विमानस्थल तीन दर्जन पुगे, ३२ मा नियमित उडान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकैसाथ पाँचवटा आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिरहेको छ । यीसहित अब मुलुकमा धावनमार्ग कालोपत्रे भएका विमानस्थलको संख्या तीन दर्जन पुगेको छ । 

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय तथा त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय उड्डयन प्राधिकरणका अनुसार हाल रहेका ५० विमानस्थलमध्ये ३२ वटामा नियमित हवाई उडान सञ्चालन भइरहेका छन् । 

“यात्रुलाई सहज हवाई सेवा पुर्याउन विमानस्थलका धावनमार्ग कालोपत्रे गर्नेदेखि अन्य सुविधा थप्ने काम तीव्र गतिमा भइरहेको छ,” प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बिहीबार बाह्रखरीसँग भने, “हामीले सकेसम्म दुर्गम भेगका विमानस्थललाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।”

उनका अनुसार लामिडाँडा, थामखर्क, डोटी दिपायल, बैतडी र कालिकोट विमानस्थलका धावनमार्ग कालोपत्रे भइरहेका छन् । एक महिनाअघि जनकपुर विमानस्थल धावनमार्ग ‘ओभरले’ गर्ने काम पूरा भएको थियो । त्यसबाहेक जुम्ला विमानस्थलमा धावनमार्ग ओभरले, चन्द्रगढी, विराटनगर, नेपालगन्ज र सिमिकोट विमानस्थलमा एप्रोन विस्तार तथा लुक्ला र सिमिकोट विमानस्थलमा टर्मिनल विस्तारका साथै हेलिपोर्ट निर्माणको काम जारी छ ।
प्राधिकरणले हाल पाँच आन्तरिक विमानस्थल निर्माण गरिरहेको छ । कालिकोटको कोटवाडा, ओखलढुंगाको खिजी चण्डेश्वरी, गुल्मीको सिमिचौर, इलामको सुकिलुम्बा  अर्घाखाँचीको अर्धाभगवती सन्धिखर्कमा नयाँ विमानस्थल निर्माण भइरहेको गौतमले जानकारी दिए । “इलाम र गुल्मी विमानस्थलको धावनमार्ग स्ट्रिप तयारी गरी एक वर्षअघि नै परीक्षण उडान गरेका थियौं,” उनले भने । 

प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा नेपालगन्ज विमानस्थलका धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरलेका कामसहित थप दुई आन्तरिक विमानस्थल साँफेबगर र राजबिराजमा धावनमार्ग, ट्याक्सी वे र एप्रोन कालोपत्रे पूरा गरिएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ बे विस्तार कार्य धावनमार्गको पूर्वतर्फ सानो–ठूलो गरी ४ र हालको अन्तर्राष्ट्रिय पार्किङ क्षेत्रको दक्षिणतर्फ २ वटा ठूलो (वाइड बडी) आकारका जहाज अटाउने पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जानकारी दिएको छ । 

त्यसैगरी त्रिभुवन विमानस्थलको टर्मिनल विस्तार चालू आर्थिक वर्षभित्रै सक्ने तथा धावनमार्ग विस्तार पनि सुरु गर्ने महानिर्देशक गौतमले बताए । अहिलेको धावनमार्ग र  ट्याक्सी वेहरूको ‘स्ट्रेन्थेनिङ–रिह्याबिटिलेसन’ गर्न ठेक्का सम्झौता भएर काम चलिरहेको र सन् २०१९ जुनभित्र धावनमार्गको रिह्याबिटिलेसन सक्ने लक्ष्य रहेको उनको भनाइ छ । 
“त्रिभुवन विमानस्थलको विकास, विस्तार तथा समग्र उड्डयन सुरक्षाका लागि विमानस्थलको पूर्वतर्फको करिब १ सय ४० रोपनी जग्गा अधिग्रहण गरिसकिएको र त्यसवापत जग्गाधनीलाई मुआब्जा वितरण गर्ने काम पनि लगभग सकिएको छ,” उनले भने, “यसबाट विमानस्थल विस्तारमा उल्लेख्य सहयोग पुग्ने विश्वास छ ।” 

गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको र २०१९ जुन २८ भित्र पूरा हुने प्राधिकरणको भनाइ छ । “यो विमानस्थल निर्माण कार्य तोकिएको समयमै पूरा हुनेमा हामी ढुक्क छौं,” प्राधिकरणका महानिर्देशक गौतमले भने । 

उनका अनुसार गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि पूर्वतयारी परीक्षण, सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिमा छलफल गरिसकिएको र उक्त विमानस्थललाई ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जीटुजी) मोडेलमा सञ्चालन गर्न सरकारको स्वीकृतिका लागि पठाइसकिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
त्यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले द्रुत गतिमा अगाडि बढाइरहेको प्राधिकरणले जनाएको छ । हालसम्म करिब २० प्रतिशत काम पूरा भइसकेको छ भने २०२१ जुलाईसम्म निर्माण सकेर विमानस्थल सञ्चालनमा ल्याउने योजना रहेको महानिर्देशक गौतमको भनाइ छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले लामो समयदेखि बाराको निजगढमा पूर्णक्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रयास गरिरहेको र गत वर्ष मन्त्रिपरिषदले उक्त विमानस्थलको वरिपरि सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटानको जिम्मा नेपाली सेनालाई जिम्मा दिएपछि सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यसबारे स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार पहिलो चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको महानिर्देशक गौतमले जानकारी दिए । “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रथम चरणको पूर्णढाँचा र गुरुयोजनासमेत तयार गर्ने कामका लागि अविलम्ब परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएका छौं,” उनले भने ।
 


 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro