site stats
बाह्रखरी :: Baahrakhari
खेल
ट्रफी ल्याउने लक्ष्यमा महिला टोली 

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली थाइल्याण्डमा हुने वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिताका लागि तीन साताको अभ्यासपछि पूर्ण रुपमा तयार भएको छ । किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आपसी ९ खेलको अभ्यासपछि प्रशिक्षक विनोद दासले टोली तयार गरेका छन् । 

फागुनमा हुने ट्वान्टी–२० विश्वकप छनोटअघि तयारी स्वरुप थाइल्याण्डले आयोजना गरेको ट्वान्टी–२० स्म्यासमा नेपालसहित १० टोली सहभागि हुँदैछन् । नेपाल यस प्रतियोगिताबाट आफ्ना प्रतिद्धन्दीको कमजोरी पत्ता लगाउने र विश्वकप छनोटमा फाइदा उठाउने रणनीतिमा छ । 

२ वर्षपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान फर्किन लागेका खेलाडीको लक्ष्य कमजोरी औल्याउने मात्र नभइ उपाधी भित्राउने छ । चार नयाँ खेलाडी विन्दु रावल (ओपनिङ ब्याटसवुमन) आरती बिडारी (लेगस्पिनर), डली भटट् (मध्यक्रमकी ब्याटसवुमन), कविता कुँवर (मध्यम गतिकी बलर) सहित १४ सदस्यीय टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने कप्तान रुविना क्षेत्रीको विश्वास छ । “मैले क्रिकेट खेलेको धेरै वर्ष भइसक्यो । तर यसपटकको टिममा केही गर्नुपर्छ भन्ने भावना छ । हुनत यसअघि पनि खेलाडी जित्नकै लागि जाने हो । तर नयाँ आएका बहिनीहरुको आत्मविश्वासले हामी ट्रफीको हकदार हुन्छौं,” क्षेत्री भन्छिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रशिक्षणका लागि समय छोटो भए पनि आधारभुत कुरामा पहिलेदेखी नै तयार रहेकाले आशा गर्न सकिने ठाउँ रहेको कप्तान रुबिनाको भनाइ छ । “पहिले हामी खेलका दौरान मात्र फिटनेशमा ध्यान दिन्थ्यौं । फिटनेशको महत्व खासै बुझेका थिएनौं । तर अहिले खेल नहुने अवस्थालाई बुझेका छौं । इन्टरनेटबाट सिक्दै फिटनेश र स्किल विकासमा आफैले धेरै काम गरेका थियौं,” उनले थपिन् । 

प्रशिक्षण अवधिमा प्रत्येक दिन टोलीले कीर्तिपुरको सेन्टर विकेटमा अभ्यास गरेको थियो । रुविना र उपकप्तान सीता रानामगरको नेतृत्वमा दुई टिम बनाएर प्रशिक्षण दौरान ९ अभ्यास खेल गराइएको थियो । 

“हामीले नेटमा तयारी गरेनौं । सुरुमा ५० रन बनाउन मुस्किल हुन्थ्यो । अहिले धेरै सतक बनेका छन् । त्यहि अनुसार ओपनरले कति र मध्यक्रमले कति रन बनाउने भन्ने योजना बनाएका छौं । खेलाडीले परिपक्वता र धैर्यसहित खेले सफल हुन्छौं,” कप्तान रुविनाले थपिन् । 

पहिल्यैदेखि नेपालको फिल्डिङ र बलिङ राम्रो थियो । त्यसमा आफ्नै प्रयासमा फिटनेससहित आएका खेलाडीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको प्रशिक्षणबाट ब्याटिङमा सुधार गरेपछि थाइल्यान्डमा जित व्यवहारिक बनेको रुविनाको विश्वास छ । 

“क्रिकेट खेलेको प्रशिक्षक भएका कारण विनोद दासले खेलाडीको फिलिङ बुझ्नुहुन्छ । त्यही अनुसार योजना बनाउँदा सहज भयो । कमजोर पक्षमा केन्द्रित हुँदा हामीमा आत्मविश्वास बढेको छ,” उनले भनिन, “नयाँ खेलाडीका लागि यो परिक्षासँगै अवसर पनि हो ।”

पहिलो पटक महिला टोलीमा प्रशिक्षणको जिम्मेवारी सम्हालेका दासले सबै खेलाडी आफ्ना लागि नयाँ रहेको कारण स्याम्स (वुमन ट्वान्टी–२० प्रतियोगिता) परिक्षाजस्तै रहेको बताए । “अन्तर्राष्ट्रिय क्रिकेटमा हाम्रो स्तर कहाँ छ भन्ने यो प्रतियोगिताबाट थाहा हुनेछ । कमजोरीहरु सुधार्ने मौका पाउनेछौं,” प्रशिक्षक दासले भने । 

आधारभुत विषयमा केन्द्रित रहेर तयारी गरेकाले राम्रो प्रदर्शन हुनेमा प्रशिक्षक दास विश्वस्त छन् । फिटनेस, ब्याटिङ, फिल्डीङ र बलिङमा सन्तुलित अभ्यासले राम्रो प्रदर्शन गर्ने प्रशिक्षक उनले बताए । 

उपकप्तान सीता खेलाडीको कडा मेहनत गर्ने बानी र जितको भोकले सफलता हासिल गर्नेमा आशावादी छिन् । “टिममा आएका नयाँ बहिनीहरुले अवसर देखाएका छन् । सिनियरलाई चुनौती दिइरहेका छन् । सबैमा जित्नैपर्छ भन्ने भावना छ । त्यही अनुसार पसिना बगाएका छौं,” सीताले भनिन् । 

स्म्यास खेल्न महिला टोली शुक्रबार थाइल्याण्ड जानेछ । प्रतियोगितामा नेपालले पहिलो खेल पुस २८ गते तान्जानियासँग खेल्नेछ । ३० गते नामिबियासँग खेल्ने नेपालले तेस्रो खेल माघ २ गते इन्डोनेसियाबिरुद्ध खेल्नेछ । चौथो खेलमा माघ ३ गते कुबेतसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

महिला टोली
रुविना क्षेत्री (कप्तान) सिता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरीता मगर, नेरी थापा, इन्दु बर्मा, सानु खड्का, आरती बिडारी ,काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, ममता कुमारी चौधरी, डली भटट्, विन्दु रावल । 

बैकल्पीक खेलाडी: सबनम राई, रिताकुमारी कनौजिया, सुमन बिष्ट । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  २१:००
प्रतिक्रिया दिनुहोस्