site stats
बाह्रखरी :: Baahrakhari
खेल
च्याम्पियन प्रशिक्षकको नजरमा लिगका उत्कृष्ट ११

काठमाडौं । नेपाली फुटबल इतिहासमै पहिलो पटक रेलिगेसन विनाको लिग मंगलबार सम्पन्न भएको छ । नेपाली फुटबलको शीर्ष डिभिजनको लिगमा १४ टोलीले राउन्ड रोबिन पद्दतिअनुसार प्रतिस्पर्धा गर्दा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा ९१ खेल भए । 

रेलिगेसनको प्रावधान नहुँदा लिगमा स्वभाविक रोमाञ्च भएन । खेलहरु अपेक्षाअनुसार प्रतिस्पर्धात्मक नभएका गुनासो धेरै सुनिए । जसका कारण लिगको वास्तविक मर्म (घटुवा र बढुवा) को प्रावधान हटाएकोमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वको चर्को आलोचना भयो । रेलिगेसन नभए पनि पुछारको दुई स्थानमा थन्किए अर्को वर्ष लिग सुरु हुँदा नै २ र १ अंक ऋणको भारी बोक्नुपर्ने भएकाले लिगको थोरै रौनक जोगियो । फेरी फुटबल खेल नै यस्तो हो, जहाँ मैदान उत्रिएपछि कोही हार्न चाहँदैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जितको भोक तिब्र नभए पनि मैदान उत्रिने सबै खेलाडीले आफ्नो क्षमता र फर्मअनुसारको उत्कृष्ट प्रदर्शन गरे । मनाङ मर्सयाङदी क्लबले १३ मध्ये १२ खेल जितेर उपाधिमा कव्जा जमायो । अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग हार्दा टोलीका लागि लिग खल्लो भयो । एनआरटी र मछिन्द्र पुछारमा थिए । 

लिग अन्तिम चरणमा रहँदा ९१ खेलको समग्र मुल्यांकनमा कसले उत्कृष्ट प्रदर्शन गर्यो भनेर बाह्रखरीले सहभागि १४ क्लबका प्रशिक्षकलाई सोधेका थियो । १४ क्लबबाट सहभागी ३ सय ७१ खेलाडीमध्ये विभिन्न पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने एक/एक खेलाडीको नाम सोध्दा च्याम्पियन प्रशिक्षक सुमन श्रेष्ठले आफ्नै टिमका ६ खेलाडीलाई रोजे । 

तपाईको प्रशिक्षणमा यो लिगबाट ४–२–३–१ को संरचनामा पहिलो रोजाईको टिम बनाउनु परे कस–कसलाई रोज्नुहुन्छ भनेर बाह्रखरीले सोध्दा मनाङ प्रशिक्षक श्रेष्ठले गोलकिपरमा आफ्नै टिमका विशाल श्रेष्ठको नाम लिए । यसैगरी उनले दुई सेन्ट्रल रक्षकमध्ये एकमा आफ्नै टिमका सुरज विकलाई च्यासलका कप्तान देवेन्द्र तामाङको जोडीका रुपमा रोज्दा रक्षापंक्तिको बायाँ भागमा त्रिभुवन आर्मी क्लबका सुमन अर्याल तथा दायाँपट्टी आफ्नै खेलाडी कमल श्रेष्ठमा विश्वास देखाए ।

 होल्डिङ मिडफिल्डमा पुलिसका तेज तामाङसँग मनाङका विशाल राईको जोडी रोजेका प्रशिक्षक श्रेष्ठले वायाँ विंग्समा थ्री स्टारका सुनिल बल तथा दायाँतिर मनाङका अञ्जन विष्ट, आक्रामक मिडफिल्ड/फरवार्डमा थ्री स्टारका निराजन खड्का तथा मुख्य स्ट्राइकरमा आफ्नै टोलीका अफिज ओलावालेको नाम लिए । च्याम्पियन प्रशिक्षक श्रेष्ठको रोजाइमा परेको उत्कृष्ट ११ बाट गोलकिपर विशाल श्रेष्ठमात्र एन्फाको उत्कृष्ट व्यक्तिगत पुरस्कार पाउन सफल भएका थिए ।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १७:२१
प्रतिक्रिया दिनुहोस्