site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२०१९ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १५ गन्तव्यमा नेपाल

काठमाडौं । पर्यटन उद्योगका लागि अर्को सुखद खबर आएको छ । नेपाल घुम्न आएका विदेशी पर्यटक संख्या इतिहासमै पहिलो पटक १२ लाखहाराहारी पुगेको खबरलगत्तै आएको अर्को खबर हो– सन् २०१९ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १५ गन्तव्यको सूचीमा नेपाल ।

बेलायतबाट प्रकाशन हुँदै आएको प्रसिद्ध ट्राभल म्यागाजिन ‘वान्डरलस्ट’ ले तयार पारेको यो वर्ष २०१९ मा घुम्नैपर्ने संसारका उत्कृष्ट १५ गन्तव्य सूचीमा नेपाल १४औं स्थानमा परेको छ । नेपालले उत्कृष्टको सूचीमा दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोलाई पछाडि पारेको छ ।

वान्डरलस्ट म्यागाजिनका अनुसार यो सूचीको पहिलो स्थान जापानले ओगटेको छ । दोस्रोमा उत्तर–पश्चि फ्रान्स, तेस्रोमा जोर्डन, चौथो ग्रिनल्यान्ड, पाँचौं चीनको सिल्क रोड, छैठौं फिजी, सातौं अर्जेन्टिना, आठौं बेलिज, नवौं जर्जिया, दसौं कोलम्बिया, एघारौं बुल्गेरिया, बाह्रौं रुवान्डा, तेह्रौंमा भारत, चौधौंमा नेपाल र पन्ध्रौं स्थानमा मेक्सिको छन् । 

Dabur Nepal

वान्डरलस्टले वन्यजन्तु पर्यटनका लागि नेपाल उत्कृष्ट रहेको भन्दै आफ्नो सूचीमा समावेश गरेको जनाएको छ । “सन् १९७० मा पृथ्वीबाट ६० प्रतिशत वन्यजन्तु सखाप हुँदा पनि नेपालले भने वन्यजन्तु जोगाउन आशालाग्दो काम गर्दै आएको छ,” २५ वर्षअघि स्थापना भएको वान्डरलस्टले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, “सन् २०१८ मा बाघ (बंगाल टाइगर) को संख्या बढेर नेपालमा २ सय ३५ पुग्नु सुखद खबर हो । ९ वर्षअघि नेपालमा बाघको संख्या १ सय २० मात्र थियो । यस्ता बाघ हाल संसारमै जम्मा ४ हजारमात्र छन् । वन्यजन्तु र पर्यटनका लागि नेपाल स्वर्ग नै हो ।”

वान्डरलस्टका अनुसार सन् २०१५ मा आएको विनाशकारी भूकम्पपछि नेपालमा विदेशी पर्यटक आगमन घटे पनि अहिले विस्तारै गति लिँदै छ । चितवन राष्ट्रिय निकुञ्ज पुगेर घडियाल गोही, हात्ती, काठेभालु र दुर्लभ बाघ (१ सय २० यहीँ छन्) ठाउँको ठाउँ हेर्न पाउने सौभाग्य संसारमा अन्त पाइँदैन ।

“हाम्रो पर्यटन उद्योगका लागि वान्डरलस्टको उत्कृष्ट सूची दोस्रो ठूलो सुखद खबर हो,” मुलुकको राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मंगलबार बाह्रखरीसँग भने, “अब यो सूचीलाई विश्व पर्यटन बजारमा ‘क्यास’ गर्दै अगाडि बढ्न हामी तयार छौं ।”

संसारका धेरै देशमा आयोजना हुने पर्यटन मेलामा सहभागी हुन जाँदा वान्डरलस्टको यो सूचीबारे पनि प्रशस्त प्रचार गर्ने जोशीले जानकारी दिए । बेलायतको विश्वासिलो र प्रभावकारी पर्यटन पत्रिका भएका कारण उसको सूची हेरेर नेपाल भ्रमण योजना बनाउने पर्यटक संख्या ठूलो हुने अनुमान जोशीको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार संसारका ठूला टुर तथा ट्राभल अपरेटरले वान्डरलस्ट जस्ता प्रभावकारी पर्यटन पत्रिकाका सूची, यात्रा कथालगायत आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्ने गर्छन् भने यसैको वेबसाइट पछ्याउँदै करोडौं पर्यटक यी गन्तव्य पुग्ने गर्छन् । त्यसकारण यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने निश्चित छ ।

“वान्डरलस्टको सूचीबाट हामी उत्साही छौं,” एस होटल्स एन्ड रिसोर्ट्सका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले भने, “यसखालका सूची हेरेरै विश्वका धेरै देशका पर्यटकको रोजाइमा नेपाल पर्दै आएका हो । सन् २०१८ मा भएको झन्डै २५ प्रतिशतको वृद्धि दरबाट करिब १२ लाख विदेशी पर्यटक संख्यालाई गति दिँदै गयो भने २० लाख पर्यटक लक्ष्य गरिएको नेपाल भ्रमण वर्ष २०२० अभियान अवश्य सफल हुनेछ ।”

नेपाल आएका पर्यटकलाई उत्कृष्ट आतिथ्य सत्कार प्रदान गर्न समग्र होटल क्षेत्र तयार रहेको शाक्यले बताए । पर्यटकले गर्ने खर्चअनुसारका होटल, लज, रेस्टुरेन्ट, होमस्टे पर्याप्त मात्रामा रहेको उनले जानकारी दिए । आगामी दिनमा सरकार र निजी क्षेत्र अझै हातेमालो गर्दै अगाडि बढेमा मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन उद्योगमात्र नभई अर्थतन्त्रमै सकारात्मक र उल्लेख्य सहयोग पुग्ने शाक्यको भनाइ छ ।

तस्बिर: वान्डरलस्ट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro