काठमाडौं । स्थानीय पूर्वाधार विकास र जनशक्ति परिचालनका लागि संविधानले पूर्ण अधिकार दिएको छ । संविधानले अधिकार दिए पनि उपत्यकाको फोहोर व्यवस्थापनमा काठमाडौं र ललितपुर महानगरपालिका आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् ।
उपत्यकाका यी दुई ठूला स्थानीय तहले आफ्नै क्षेत्रमा दैनिक उत्सर्जन हुने फोहोर नियमित संकलन गरी फ्याँक्न सकेका छैनन् । त्यसलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन र अन्य ऊर्जा उत्पादन गर्ने कुनै योजना यी दुई ठूला स्थानीय तहले बनाउन सकेका छैनन् ।
उपत्यकाको फोहोर सङ्कलन गरेर जैविक मल र विद्युत् उत्पादन गर्न सकिने विज्ञहरुले बताए पनि काठमाडौं र ललितपुर महानगरपालिकाले यसमा कुनै चासो देखाएका छैनन् । फोहोर प्रशोधन गर्ने र फाल्ने ठाउँको अभावका कारण नियमित फोहोर उठाउन नसकिएको यी महानगरपालिकाको तर्क छ ।
फोहोर फाल्ने स्थानको निर्माण गर्न यी दुई स्थानीय तहले बारम्बार बताउँदै आए पनि निर्माणको ठोस कदम चाल्न सकेका छैनन् । दीर्घकालीन ल्यान्डफिल साइट निर्माणमा स्थानीय तह निरीह देखिएपछि नुवाकोटस्थित बञ्चरे डाँडाको ल्यान्डफिल साइट बनाउन सहरी विकास मन्त्रालयले योजना अगाडि बढाएको छ ।
यसका लागि मन्त्रालयले ल्यान्डफिल साइट निर्माणका लागि टेन्डर आह्वान गर्ने भएको छ । “मन्त्रालयले एक–दुई दिनभित्रै टेन्टर खोल्ने बताएको छ,” काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले बताए ।
नुवाकोटको सिसडोलमा रहेको ल्यान्डफिल साइट फोहोरले भरिँदा काठमाडौं उपत्यकाको फोहोर नियमित उठ्न सकेको छैन । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ वटा नगरपालिकाले नुवाकोटस्थित सिसडोलको ल्यान्डफिल साइटमा फोहोर फाल्दै आएका छन् ।
२०६३ सालमा ३ वर्षका लागि फोहोर फाल्ने योजनाका साथ बनाइएको उक्त ल्यान्डफिल साइटमा १२ वर्षसम्म उपत्यकाको फोहोर फालिँदै आएको छ । हाल फोहोरले भरिएको उक्त ल्यान्डफिल साइटको फोहोर प्रशोधन नगरिँदा र नियमित सरसफाइ र व्यवस्थित नगरिँदा वरिपरिको क्षेत्र दुर्गन्धित र प्रदूषित छ ।
साइटबाट बग्ने फोहोर ढलका कारण वरिपरिको बालीनाली र गाईवस्तुमा प्रत्यक्ष असर पुगेको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले उक्त ल्यान्डफिल साइटलाई व्यवस्थित गर्ने कुनै योजना अघि सारेका छैनन् ।
उपत्यकाका अन्य १८ वटा नगरपालिकाले पनि उक्त साइट व्यवस्थित गर्न र फोहोर फाल्ने स्थानको दीर्घकालीन स्थान खोज्न कुनै काम गरेका छैनन् । बारम्बारको छलफल र बैठकमा उपत्यकाका २ महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइट व्यवस्थित गर्न र नजिकैको बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण गर्ने बताउँदै आएका छन् ।
यी २ महानगरपालिकाले बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट बनाउने बताए पनि सहरी विकास मन्त्रालयबाट कुनै सहयोग नपाएको बताउने गरेका छन् । सहरी विकास मन्त्रालयले बञ्चरे डाँडाको ल्यान्डफिल साइट निर्माणको ठेक्का खोल्ने भएपछि दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन हुने विभाग प्रमुख श्रेष्ठ बताउँछन् ।
“कम्तिमा पाँच वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बञ्चरे डाँडाको ल्यान्डफिल साइट निर्माण भएपछि उपत्यकाको फोहोर नियमित उठ्ने र दीर्घकालीन रुपमा व्यवस्थित हुनेछ,” श्रेष्ठले बताए ।
खराब सडकका कारण ट्रक र टिपरलाई त्यस स्थानमा फोहोर लैजान अफ्ट्यारो भएको छ । ओखरपौवाबाट सिसडोल कच्ची सडकमा बर्खाको समयमा यो समस्या थप बढी हुने गरेको छ । सडक विभागले सिसडोलदेखि बञ्चरेडाँडासम्मको २ किमि सडक कालोपत्रे गर्ने योजना रहेको छ ।
“उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्था गर्न बञ्चरेडाँडामा ल्यान्डफिल साइट बन्ने छ । यसका लागि सडक विभागले सिसडोलदेखि बञ्चरेडाँडासम्मको २ किमि सडक चाँडै कालोपत्रे गर्नेछ,” विभाग प्रमुख श्रेष्ठले बाह्रखरीसँग भने । हिउँदको समयमा सिसडोलमा दैनिक ८ सय मेट्रिक टन फोहोर फलिने गरेको छ ।