site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्वाध चल्छन् थोत्रा गाडी, प्रहरी भन्छ- कारवाही गर्नै अप्ठेरो

काठमाडौं । सरकारले २०७४ वैशाखदेखि  देशभरबाट २० वर्ष नाघेका पुराना गाडी विस्थापन गर्ने बताए पनि हालसम्म त्यस्ता गाडी सञ्चालनमा रहेको पाइएको छ । काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रमा यस्ता पुराना सवारी साधन अझै सञ्चालनमा रहेको पाइएको हो । काठमाडौं बाहिरका क्षेत्रमा पनि यस्ता पुराना गाडी गुडिरहेको पाइएको छ ।  

यातायात व्यवस्था विभागले २० वर्षे पुराना गाडी विस्थापन गर्ने निर्णय गरे पनि अझै त्यसको कार्यान्वयन हुन नसकेको हो ।  ट्राफिक प्रहरीले पनि यस्ता पुराना गाडीलाई रोक्न सकेको छैन । 

दसैं तिहारको समयमा मात्र ट्राफिक प्रहरीले पुराना गाडी सञ्चालन भए÷ नभएको समान्य जाँच गर्छ ।  अन्य समयमा भने  पूर्ण रुपमा कडाइ गरेको छैन । काठमाडौं उपत्यकाका सहरी क्षेत्रमा यस्ता पुराना गाडी सञ्चालनमा नरहे पनि भक्तपुर र ललितपुरका ग्रामीण क्षेत्रबाट दैनिक काठमाडौं आवतजावत गर्ने गरेका छन् । २० वर्ष पुराना गाडीले प्रदूषित धुँवा फालेर वातावरण बिगार्ने र पुरानो इन्जिनले अचानक दुर्घटना निम्त्याउने  सम्भावना रहन्छ ।

अहिले  २० वर्ष कटेका यात्रुबाहक तथा मालबाहक गाडी पनि सञ्चालनमा रहेका छन् । विभिन्न राइस मिल, सिमेन्ट र इँटा उद्योगले यस्ता पुराना मालबाहक गाडी प्रयोग गरिरहेका छन् । उद्योग तथा  कलकारखाना परिसरमा मात्र यस्ता सवारी साधन चल्ने भएकाले कारबाही गर्न अप्ठेरो भएको ट्राफिक प्रहरी बताउँछ । 

तर, सडकमा निर्वाध गुडिरहेका मालबाहक गाडीलाई ट्राफिक प्रहरीले कुनै कारबाही गर्न सकेको छैन । यातायात व्यवस्था विभागले गत चैत १८ गते नयाँ निर्देशिका जारी गर्दै २० वर्ष पुराना सार्वजनिक सवारीलाई विस्थापित गरिने बताए पनि हाल उक्त निर्देशिका कार्यान्वयन हुन सकेको छैन । 

यसकारण सार्वजनिक ठूला गाडीका साथै २० वर्ष पुराना भाडाका ट्याक्सी पनि उपत्यकामा सञ्चालनमा रहेका छन् । “मन्त्रालयले २०७४ वैशाखबाट २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय गरिसकेको हो” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बाह्रखरीसँग भने, “यसको कार्यान्वयनमा ट्राफिक प्रहरीले कडाइका साथ चेक गरिरहेको छ ।”

काठमाडौं बाहिरका जिल्लाका अधिकांश स्कुलबसहरु २० वर्ष पुराना रहेका छन् । त्यस्तै, पहाडी र ग्रामीण क्षेत्रमा सञ्चालन हुने बसहरु पनि २० वर्ष पुराना रहेका छन् । धेरै उकालो ओरालो हुने र सडकको अवस्था पनि जीर्ण हुने भएकाले पहाडी र ग्रामीण क्षेत्रमा चल्ने गाडीको ‘कन्डिसन’ ठीक हुन जरुरी हुन्छ ।

“साँघुरो पहाडी कच्ची सडकमा चल्ने गाडीमा तोकेभन्दा बढी यात्रु चढ्दा  दुर्घटनाको सम्भावना बढी हुन्छ,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी बसन्तकुमार पन्तले भने, “पुराना गाडी र पार्टपूर्जाका कारण पनि सडक दुर्घटना हुने गरेको छ ।”

उता यातायात व्यवसायी भने फलामको आयु वर्षमा तोक्न नमिल्ने तर्क गर्छन् । गाडी कति सालमा बनेको भन्दा पनि हाल गाडीको अवस्था कस्तो छ ? भन्ने ट्राफिक प्रहरीले चेकजाँच गर्नुृपर्ने यातायात व्यवसायीहरु बताउँछन् । 

“फलामलाई यतिवर्ष पुरानो भनेर तोक्नु हुँदैन । गाडीको हालको ‘कन्डिसन’ ठिक छ कि छैन ट्राफिक प्रहरीले चेकजाँच गर्ने कुरा हो,” यातायात व्यवसायीका अगुवा योगेन्द्रनाथ कर्माचार्य भन्छन्, “२० वर्ष पुरानो गाडीलाई पनि मर्मत गरेर कन्डिसनमा राख्न सकिन्छ । यसैले सरकारले गाडीको सीमित आयु तोकेर विस्थापन गर्ने नियम प्रभावकारी छैन ।” हाल देशभर करिब २७ लाख सवारी साधन सञ्चालनमा रहेको यातायात व्यवस्था विभागको तथ्यांक छ ।

जसमध्ये उपत्यकामा मात्रै करिब १३ लाख सवारी साधन सञ्चालनमा रहेका छन् । जसमा कति सवारी २० वर्ष पुराना छन् यसको पछिल्लो तथ्यांक विभागसँग नरहेको विभागका निर्देशक तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । 

 
  
  
   


 
  

  
  


 
 
 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, पुस २३, २०७५  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro