site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई वर्षपछि नेपाली महिला क्रिकेट टोली अभ्यासमा

काठमाडौं । खेलाडी र मैदानबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । खेलाडीबिना मैदानको के अर्थ, मैदान बिना खेलाडीको के अर्थ ? खेलाडी जन्मने मैदानबाटै हो । र खेलाडीले आफ्नो प्रतिभा निखार्ने, आफूलाई प्रमाणित गर्ने पनि मैदानमै हो । तर, नेपाली महिला क्रिकेट खेलाडीहरु त्यही मैदानबाट टाढा छन् । 

घरेलु क्रिकेटको संरचना नहुँदा महिलाहरुको प्रतिस्पर्धात्मक प्रतियोगिता नभएकै वर्षौं भइसक्यो । आक्कल झुक्कल हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने बेलाबाहेक महिला क्रिकेट खेलाडीका लागि मैदान विरानो बन्छ । अहिले महिलाहरुलाई त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्ने मौका जुरेको छ । उनीहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २ वर्षपछि बन्द प्रशिक्षणमा फर्किएका हुन् । यो अवसर जुराइदिएको छ, आइसिसी महिला ट्वान्टी–२० बिश्वकप छनोट प्रतियोगिताले । 

२०७३ मंसिरमा विश्वकप छनोट खेलपछि पहिलो पटक महिला खेलाडी प्रशिक्षणमा जुटेका हुन् । प्रशिक्षक विनोद दासले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् । पुस ४ गतेबाट त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण गराइरहेका दासले बिहान फिटनेश र दिउँसो अभ्यास गराइरहेका छन् । घरेलु संरचना र प्रतियोगिता नभए पनि खेलाडी अभ्यासमा गरेको प्रदर्शनबाट दास सन्तुष्ट छन् । तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि त्यो पर्याप्त नभएको प्रशिक्षक दासले बताए । 

“मुख्य समस्या फिटनेश हो । अहिले राम्रो भइरहेको छ । खेलाडीमा केही गर्नुपर्छ भन्ने भावना छ । सबै सकारात्मक छन् । त्यहि भएर तयारी राम्रो भइरहेको छ,” नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान रहेका प्रशिक्षक दासले भने, “प्रशिक्षकका हिसाबले म जति उत्साहित छु, त्यो भन्दा बढी खेलाडीहरु छन् । उनीहरुमा केही गरेर देखाउनुपर्छ भन्ने इख छ । जितको भोक छ । त्यो जितको भोक र इख उनीहरुको तयारीमा पनि देखिन्छ । आशा छ, हामी राम्रो गर्नेछौं ”

\"\"४३ खेलाडीबाट शुरु भएको बन्द प्रशिक्षणमा अहिले ३३ खेलाडी छन् । जति धेरै खेल्यो त्यति नै खेलाडीको प्रतिभामा निखार आउने हो । प्रशिक्षक दासले अहिले खेलाडीहरुलाई दुई टोलीमा विभाजन गरेर खेलाइरहेका छन् । बन्द प्रशिक्षणमा प्रशिक्षक दासले फिटनेससँगै खेलमा बढी ध्यान केन्द्रित गरेका छन् । पहिलो पटक महिला टोलीको जिम्मेवारी सम्हालेका दासले मुख्य लक्ष्य उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताए । 

“पहिलो पटक यो टोली सम्हाल्ने मौका पाएको छु । खेलाडीमा भएको प्रतिभालाई नतिजामा बदल्नु पर्ने चुनौती छ । विश्वकप छनोट जस्तो प्रतियोगिता खेल्नका लागि तीन महिनाको तयारी पर्याप्त होइन । तर क्यान नभएको अवस्थामा आइसीसीले यो अवसर जुराइदिएको छ । पहिलो निश्चित समयमा मात्र अभ्यास हुन्थ्यो । तर, अहिले हामीले बिहानदेखि बेलुकीसम्म प्रशिक्षण गराइरहेका छौं । थाइल्याण्डमा हुने ट्वान्टी–२० प्रतियोगिताले हाम्रो कमजोरी पहिल्याउने मौका मिल्छ । त्यसले विश्वकप छनोट प्रतियोगितामा सहयोग पुग्नेछ ।”

\"\"फागुन ६ गतेबाट हुने विश्वकप छनोट प्रतियोगिता खेल्नु अघि नेपाली महिला टोलीले पुसको अन्तिम साता थाइल्यान्डमा हुने वुमन ट्वान्टी–२० स्म्यास क्रिकेट प्रतियोगिता खेल्नेछ । महिला टोलीकी कप्तान रुबिना क्षेत्रीले मुख्य लक्ष्य उपाधि भए पनि छोटो तयारीका कारण चुनौती रहेको बताइन् ।

“लामो समय अभ्यासमा फर्किएका छौं । तर जब मैदान प्रवेश गर्छौं, हामी सबैको लक्ष्य उपाधि जित्नु नै हुन्छ । तर छोटो तयारीले उपाधि जित्नु हाम्रो लागि चुनौती नै हो । तर हामी आफ्नो पक्षबाट सतप्रतिशत कोशिस गर्छौं,” कप्तान रुविनाले थपिन् “हामी प्रतियोगिता भएन भनेर चुप लागेर बस्दैनौं । आफैले टिम बनाएर उपलब्ध स्थानमा गएर क्रिकेट खेलिरहेका छौं । आफूलाई फिट राख्ने कोशिसमा हुन्छौं । सबैमा केही गर्नुपर्छ भन्ने इख छ । आशा गरौं रामै्र नतिजा आउँछ ।

बन्दसत्रमा आएका नयाँ बहिनीहरुले सिनियरलाई चुनौती दिइरहेका छन् । विशेषगरी सुदूर पश्चिमबाट आएका बहिनीहरुको प्रदर्शन निकै राम्रो छ । उनीहरुले भारत गएर क्रिकेट खेल्ने गरेका रहेछन् । त्यही भएर उनीहरुमा सम्भावना देखेको छु । फिल्डीङ र बलिङ ठिकै भए पनि ब्याटिङमा क्रमशः सुधार आइरहेको छ ।”

वुमन ट्वान्टी–२० स्म्यास
\"\"थाइल्यान्डमा हुने आइसीसी बिश्वकप छनोट प्रतियोगिता खेल्नुअघि नेपाली महिला टोलीले पुस अन्तिम साताबाट थाइल्याण्डमै वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिता खेल्नेछ । ट्वान्टी–२० स्म्यासमा आयोजक थाइल्याण्डसहित भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, तान्जानिया, श्रीलंका, कुवेत, नामिबिया र नेपालगरी १० टोली सहभागी हुन्छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले २८ गते तान्जानियासँग खेल्नेछ ।

३० गते नामिबियासँग खेल्ने नेपालले तेस्रो खेल माघ २ गते इन्डोनेसियाबिरुद्ध खेल्नेछ । चौथो खेलमा माघ ३ गते कुबेतसँग प्रतिस्पर्धा गर्नेछ । थाइल्याण्डमै आयोजना हुने बिश्वकपको छनोट तयारी स्वरुप थाइल्याण्डले प्रतियोगितामा आयोजना गरेको हो । 

महिला ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता
थाइल्यान्डमै फागुन ६ गतेबाट हुने विश्वकप छनोट प्रतियोगितामा ७ टोली सहभागी हुँदैछन् । राउन्ड रोबिन लिगका आधारमा खेलाइने छनोट प्रतियोगितामा चीन, हङकङ, कुबेत, मलेशिया, युनाइटेड अरब इमिरेट्स (युएई), थाइल्याण्ड र नेपालले प्रतिस्पर्धा गर्नेछन् । 

\"\"


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १९, २०७५  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro