उनले कलेजको पढाई सकेका थिए । सन् १९७२ तिरको कुरा हो । उनी तिनताक गोर्खा दुःख निवारक संघमा स्वयं सेवकका रुपमा कार्यरत थिए र दार्जिलिङकै एउटा प्राथमिक विद्यालयमा नेपाली पढाउँथे । यसका अतिरिक्त उनको नाट्य सक्रियतामा कमी आएको थिएन ।
गोर्खा दुःख निवारक संघबाट समय समयमा विभिन्न कार्यक्रमहरु भइरहन्थ्यो । त्यहाँबाट हुने कार्यक्रमहरुमा उनको सक्रियता स्वाभाविक थियो । उनको यही सक्रियताले उनी संघको सदस्यकारुपमा चयन भए । त्यसपछि उनी सह–सचिव बनाइए ।
उनको क्षमताले उनलाई यहाँसम्म पुर्याएको थियो । पदीय दायित्वले उनलाई अझै उर्जाशील बनायो । त्यसैबखत उनलाई एउटा एकाङकी नाटक लेख्न भनियो । उनले लेखे । नाटक थियो, ‘तर क्षितिज हाँस्दैन’ । त्यो नाटक मञ्चन गरियो । सबैले मन पराए । अर्को वर्ष पनि उनलाई नाटक लेख्न भनियो । ‘अनुराग’ शीर्षकमा अर्को एकाङकी नाटक पनि लेखे । र, यो पनि आफ्नै निर्देशनमा मञ्चन गरे । त्यो नाटक मञ्चनबाट पनि उनलाई वाहवाही मिल्यो ।
यिनै वरिष्ठ व्यक्तित्व, नाट्यकर्मी मनबहादुर मुखिया (७१) सँग पुराना कुराका लागि समय लिएपछि बारम्बार एउटा गीत कानमा गुञ्जिरह्यो,
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ की
खुशी मिलनमा नआउने हो, यहाँ बिछोड भएको देख्यौ की...
पङ्तीकार भरखर काठमाडौं भित्रिएको बेला यो नाटक काठमाडौंमा मञ्चन हुँदै थियो र व्यापक तहल्का मच्चाएको थियो । नाट्य माहोलको तापक्रम ह्वात्तै माथि पुगेको समयमा यस नाटकको चर्चा नगर्ने र यसको गीतमा नडुब्ने दर्शक स्रोता कमै थिए । यसको असरले हामीलाई पनि निथु्रक्कै भिजाएको थियो ।
यिनै बरिष्ठ नाट्यकर्मी मनबहादुर मुखियासँग कुरा गर्न गौरीघाट स्थित उनको निवासमा पुग्दा म यसै गीतको हरफहरुले लफक्क भिजेको महसुस गर्दैथिएँ । उनीसँगै सोफामा बसेर गफिँदै गर्दा उनी सुनाउँदै थिए यो नाटक लेखनको प्रसंग । उ
नले सम्झिए त्यो दिन, ‘‘मैले एकांङकी नाटकहरु त लेखिसकेको थिएँ । तर पूर्णाङकी नाटक लेख्ने मौका आएकै थिएन । तर मलाई पूर्णाङ्की नाटक लेख्न सक्छु भन्ने विश्वास भने थियो । तथापि, विभिन्न कारणले गर्दा संघले पूर्णाङ्की नाटक मञ्चन गर्ने स्थिति थिएन । सानासाना नाटकहरु दर्शकले मनपराए पछि मलाई हौसला बढ्दै गयो । एकदिन पूर्णाङ्की नाटक लेख्ने कुरा भयो । मैले पनि नाटक लेख्न सुरु गरेँ । यसरी सानो समयमा ‘अनि देउराली रुन्छ’ नाटक लेखेँ । जुन नाटक दार्जिलिङमा सन् १९७२ अक्टोवरको ६ तारिखका दिन पहिलो पटक मञ्चन भयो ।’’
यो नाटक लेख्न उनलाई खासै समय लागेन । उनका अनुसार उनमा जागृत रहर र उत्साहले नै सानो समयमै उनले नाटक लेखि सिध्याएका थिए । त्यसपछि सो नाटकको अभ्यास पनि सुरु भयो ।
यो नाटकमा गीत पनि राख्नु पर्छ भन्ने सोच मुखियालाई नाटक लेख्दालेख्दै आयो । उनले जुन थिममा नाटकको कथा लेखेका थिए, त्यसलाई अझै प्रभावकारी बनाउन गीत राख्नुपर्ने उनले देखे । यथार्थमा त्यो नाटकको माग थियो । त्यसैले उनले गीत पनि लेखे । जुन गीतहरुलाई कर्म योञ्जनले संगीतबद्ध गरे । र, आजपनि ‘अनि देउराली रुन्छ’का गीतहरु कालजयी गीतहरुकै कोटीमा पर्दछन् ।
उनी पुरानाकुरा सम्झिँदै रमाउँदै थिए । उनले भने, ‘‘नाटक लेखिसके पछि मैले गोर्खा निवारक संघमा स्पष्ट भनेँ, ‘यो नाटक मैले लेखेको हुँदा यसको निर्देशन पनि मैले नै गर्दा नाटकमा प्रस्तुत विषयबस्तुसँग न्याय गर्न सकिन्छ । ’’ मैले भनेको थिएँ ‘‘यो नाटक कागजमा मैले जन्माएँ । यसलाई मन्चमा पनि मै जन्माउँछु । संघमा पनि मेरो कुरा सबैलाई जायज लाग्यो । त्यसैले निर्देशनको जिम्मा पनि मैले नै पाएँ ।’’
यसरी उनको निर्देशनमा ‘अनि देउराली रुन्छ’ पूर्णाङकी नाटकको मञ्चन भव्यताका साथ सुरु भयो । सुरुमै यो नाटक दश दिनसम्म मञ्चन भयो । प्रारम्भमा छ दिनसम्म मञ्चन गरिएको थियो भने पछि दर्शकको अनुरोधका कारण अर्को चार दिन थपिएको थियो ।
दार्जिलिङमा पटकपटक मञ्चन भएको यो नाटक हरेक वर्ष आठ दस दिन प्रदर्शन हुँदैआएको थियो । पछि तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले त्यो समूहलाई काठमाडौं झिकाएर सन् १९७६ मा पहिलो पटक काठमाडौंको रंगमञ्चमा ‘अनि देउराली रुन्छ’को मञ्चन गरियो ।
०००
मनबहादुर मुखियाको पुख्र्यौली थलो हो, दोलखाको बाबरे । उनी दोलखामै जन्मिए । बाल्यकालका केही वर्ष उनको दोलखामै बित्यो । उनको पिताजीमा शिक्षाप्रतिको चेत अत्यधिक थियो । उता वि.सं. २००५ वा २००६ साल तिर गाउँमा अन्धविश्वास मौलाउँदो थियो । गाउँमा त्रासदीपूर्ण वातावरण थियो । कि पुलिस आउँछ कि काँग्रेस आउँछ भन्ने हल्ला व्याप्त थियो । गाउँमा ‘कागले कान लग्यो भन्दैमा कागको पछाडि कुद्ने’ अशिक्षितहरुको जमातको भीड थियो । त्यसैले मनबहादुरका पिताजीलाई दोलखा बस्न मन लागेन ।
उनका पिताजीमा शिक्षाप्रतिको अनुराग थियो । दार्जिलिङ पुगेर आएपछि त्यहाँ देखिएको सर्बत्र शिक्षाको उज्यालोले उनका पिताजीलाई झनै आकर्षित ग¥यो । त्यसपछि उनका पिताजीले सपरिवार दार्जिलिङ जाने सोच बनाए र दोलखाको खेतबारी अधियामा जिम्मा दिएर छोराछोरी र पत्नीलाई लिँदै दार्जिलिङ पुगे ।
उनीहरु दार्जिलिङको चोकबजारमा डेरा गरेर बसे । ब्रिटिसहरुको गृष्मकालीन राजधानी थियो दार्जिलिङ । त्यसैले पनि त्यहाँ ब्रिटिसहरुको चहलपहल व्यापक थियो । त्यसैले त्यहाँ शिक्षाको प्रभाव अत्यधिक थियो ।
चोकबजार विशाल थियो । त्यहाँ बजार लाग्थ्यो । पछि स्थायीरुपमा बजारको रुप पायो चोकबजारले । नभए बिहान खोलेर बेलुकी सामान लिएर घर फर्किनु पर्दथ्यो ।
चोकबजारको पारिपट्टी गिताङ्गे डाँडा थियो । धरणीधर कोइरालाले नामाकरण गरिदिएको गिताङ्गे डाँडामा कहिले काँही भाषण हुन्थ्यो त कहिले काँही त्यहाँ कलाकारहरुले गीत गाउँथे ।
यसरी चोकबजारकै माहोलमा हुर्किँदै गरेका मनबहादुर मुखिया एक कक्षामा बुद्ध कन्या पाठशालामा भर्ना भए । यो स्कूल चोकबजारमै थियो । गिताङ्गे डाँडाको सामुन्ने । त्यस पछि उनी अर्को स्कूलमा भर्ना भए । स्कूल थियो, भानुभक्त प्राथमिक विद्यालय । यसका हेडमास्टर थिए, कवि अगमसिंह गिरी ।
अगमसिंह गिरी स्कूलमा कविता र गीत पनि मञ्चन गराउँथे । कवितामा केटाकेटीहरुलाई अभिनय गर्न लगाउँथे । यहीँबाट मनबहादुरको मनमा नाट्य कलाको छाप बस्यो ।
यो छापलाई झन गाढा बनाउने काम ग¥यो, चोकबजार क्षेत्रमै रहेको नृपेन्द्र नारायण पब्लिक हलमा हुने बंगाली भाषाका नाटकहरुले । चोकबजारमा बंगालीहरुको बसोबास ठूलो थियो । उनीहरु शिक्षित पनि थिए । त्यहीँ उनीहरुले स्थापना गरेको पब्लिक हलमा बेलाबेलामा नाटकलगायत विभिन्न कार्यक्रमहरु पनि मञ्चन भईरहन्थ्यो ।
त्यस हलमा महिनाको एउटा बंगाली नाटक भएकै हुन्थ्यो । मनबहादुर र उनका केही साथीहरु त्यो बंगाली नाटक बुझेपनि नबुझे पनि हेर्न पुगेकै हुन्थे । उनीहरु कहिले लुकेर त कहिले ढोकाको कापबाट चिहाएर नाटक हेर्थे । कहिले काहीँ त मौका मिल्ना साथ भित्रै छिर्थे ।
पछि उनी भानुभक्त स्कूल छोडेर सेन्ट रोबटर््स स्कुलमा भर्ना भए । कक्षा २मा भर्ना भएर उनले त्यहीँबाट म्याट्रिक गरे ।
कुरा गर्दागर्दै मनबहादुर हाँसे । भने, ‘बंगाली नाटक हर्दाहेर्दै बंगाली बुझ्न थालियो । अनि त नाटक पनि बुझन थालेँ । पछि त कक्षा ५ मा पुगेपछि दुई वर्ष बंगला भाषा पनि पढें । त्यस पछि कक्षा ७ देखि संस्कृत पनि पढें ।’
यसरी नाटक हेर्दाहेर्दै नजानिँदो पाराले नाटक प्रतिको मोह उनमा बढ्दै गयो । नाटकको आकर्षणले छपक्कै छोप्यो । उनले त्यही बंगाली नाटक हेर्दा नै उत्पल दत्त, बादल सरकार, अजय विश्वास जस्ता लेखक कलाकारहरुका नाटक हेरे । त्यही नाट्य रसमा उनी चुर्लुम्म डुबे ।
०००
यतातिरको आकर्षण अत्यधिक भएपनि लामो समयसम्म मनबहादुर मुखियाले नाटकमा अभिनय गर्न पाएनन् । उनको काम भनेको अरुले गरेका नाटक हेर्नुमात्रै थियो । त्यो स्कूलमा होस् वा हलमा । नाटक हेर्थे मात्रै । किनभने उनको उचाई कम भएकोले उनलाई नाटकमा अभिनय गर्न कसैले भन्थेनन् ।
उनी कक्षा ९ मा थिए । त्यसबेला स्कुलबाट नाटक हुँदै थियो, ‘हात लाग्यो शून्य’ । उनले आफ्नै टोलमा बस्ने शिक्षक आर.बी. सुब्बासँग आफूलाई पनि नाटकमा अभिनय गराउन अनुरोध गरे । आर.बी. सरलाई उनका पिताजीले पनि भनिदिए । त्यस पछि उनले पहिलो पटक नाटकमा अभिनय गर्ने मौका पाए । उनको भागमा एउटा सानो भूमिका थियो । सन् १९६२ मा उनले पहिलो नाटक गरे ।
नाट्यकर्मी मुखिया भन्छन्, ‘‘त्यतिबेला सरहरु राम्रोराम्रो हुनुहुन्थ्यो । डा. जगत क्षेत्रीले नेपाली पढाउनु हुन्थ्यो । उहाँले त्यो समयमा पनि कोर्श बुकभन्दा बाहिरका कथाकारहरुका कथा पढ्न हौस्याउनु भयो । यसले मलाई लेखनतर्फ लाग्न प्रेरित गर्यो । र मैले पनि लेख्न थालेँ ।’’
लेखन तर्फको आकर्षणले उनलाई हस्तलिखित पत्रिका निकाल्न पनि प्रेरित गर्यो । उनका साथीहरु मिलेर हस्तलिखित पत्रिका निकाल्न थाले । लेखन तर्फको आकर्षणले उनलाई लेखक बन्न मद्दत पनि गर्यो ।
उनले ९ कक्षामै हुँदा पहिलो नाटक पनि लेखे । उनको पहिलो नाट्य सिर्जना थियो, ‘जिरी खिम्तीको दुर्दशा’ । उनी यो नाटक कसरी लेखियो भनेर सुनाउँदै थिए । मुखिया भन्छन्, ‘त्यसबेला स्कूलमा स्पीकर जडान गरिएको थियो । स्पीकरबाट विद्यार्थीहरुको होहल्ला नियन्त्रण गरिन्थ्यो । त्यस बाहेक स्कूलबाट जेजति सूचना प्रसारित हुन्थ्यो, त्यहीँबाट हुन्थ्यो । त्यही स्पीकर टेष्ट गर्नलाई हेडसरले मलाई लघु नाटक लेख्न भने । मैले पनि लेखेँ । र त्यो रेडियो नाटककारुपमा मञ्चन भयो । यसरी मैले पहिलो पटक श्रव्य नाटक लेखेँ । जुन त्यही स्पीकरहरुबाट सस्वर मञ्चन भयो ।’
अर्थात, मनबहादुर मुखियाले ९ कक्षामै रहँदा पहिलो पटक नाटक पनि लेखे भने नाटकमा अभिनय पनि गरे । कक्षा १० मा हुँदा उनले एउटा मोनो एक्ट आफैले लेखेर प्रस्तुत गरे । नाट्य तर्फको रुचीले मनबहादुर मुखियालाई अरुतिर सोच्नै पनि दिएको थिएन ।
कुराकानीका क्रममा उनले सुनाए आफूले बाँसुरी किनेर फुकेको कुरा । तर बाँसुरीबाट उनले धुन निकाल्न सकेनन् । त्यस पछि कलाकारहरुले चित्रकला गरेको हेरे । त्यो पनि गर्न सकेनन् । त्यसपछि उनलाई लाग्यो यी सबै मैले गर्ने काम होइनन् । मेरो बाटो बेग्लै छ । मैले गर्ने भनेको त नाटक लेख्ने र अभिनय गर्ने हो । यसरी उनी नाट्यकर्म तर्फै होम्मिए ।
मनबहादुर मुखियाका अनुसार दार्जिलिङमा उनीहरुको बसेको सिंगो क्षेत्र एउटै परिवार झैं थियो । त्यसदेखि बाहेक दार्जिलिङ कला र संस्कृतिका लागि फूल प्याकेज थियो । यही कला संगीतले भरिएको वातावरणमा उनको नाट्य क्षमताले पनि मौलाउने मौका पायो । पछि गएर उनको चिनाजानी अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, अरुणा लामा, शरण प्रधान जस्ता कलाक्षेत्रका हस्तीहरुसँग पनि भयो । यद्यपि, संगीत कलाले तानेपनि उनको मन मष्तिष्कले नाटक तर्फ मात्रै लाग्न प्रेरित गरिरह्यो ।
म्याट्रिक सकेर उनी कलेज भर्ना भए । सरकारी कलेज थियो । त्यही कलेजमा थिए, गोपाल योञ्जन र नगेन्द्र थापा । कलेजमा नयाँ किसिमको चहलपहल शुरु भयो । नयाँ आगन्तुक विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम हुँदैथियो । त्यसै कार्यक्रमका लागि गोपाल योञ्जन र नगेन्द्र थापाले मनबहादुरलाई एउटा एकांकी नाटक लेख्न भने । र, उनले पनि एउटा एकाँकी लेखे । मञ्चन गरे । निर्देशन गरे ।
उनी भन्छन्, ‘‘कलेजका साथीहरुसित मिलेर चार पाँच वटा नाटक गरियो होला । पछि कलेज पढ्दा ताकाको नाट्य लेखनको कलिलो प्रयास पुस्तकका रुपमा पनि प्रकाशित भयो ।’’
०००
बीए पास गरेपछि उनी दार्जिलिङकै एउटा प्राथमिक स्कूलमा पढाउन थाले । फूर्सदको समयमा नाटक लेख्ने र अभिनय गर्ने काम थियो नै । घरमा आमा बा भएकोले जिम्मेवारी पनि खासै केही थिएन । १० बजे स्कूल जाने र ३ वा साढे ३ बजे फर्कने । बाँकी समय नाटकका लागि छुट्याए जस्तै थियो ।
यसैबेला उनले पूर्णाङ्की नाटक लेखे, अनि देउराली रुन्छ । जुन नाटक नेपाली नाट्य क्षेत्रमै युगयुगान्तर जीवित रहने नाटक बन्यो । यस नाटकमा उनका मिल्ने साथीहरु पी अर्जुन तथा माधव गिरीले पनि अभिनय गरेका थिए । उनका यी दुबै साथी चोकबजारकै थिए ।
दार्जिलिङमा यो नाटकले बजार पिटेको थियो । वर्षेनी यो नाटकको मञ्चन भइरहेको थियो । एकपटक नेपाली साहित्य सम्मेलनको स्वर्ण जयन्ती समारोह आयोजना भयो । उतिबेला दार्जिलिङमा धेरै नेपाली साहित्यकारहरु दार्जिलिङ आएका थिए । त्यसबेला पनि ‘अनि देउराली रुन्छ’को मञ्चन गरियो । सबैले प्रशंसा गरे ।
सन् १९७५ मा फेरि नाटक मञ्चन भयो । त्यसबेला ‘मनको बाँध’ फिल्म दार्जिलिङमा लागेको थियो । ‘मनको बाँध’का कलाकारहरु दार्जिलिङ पुगेका थिए । नेपाल एकेडेमीका कुलपति थिए लैनसिंह वाङ्देल । उनी पनि पुगेका थिए दार्जिलिङ । दार्जिलिङ पुगेका सबैले नाटक हेरे । मन पराए ।
त्यही समयमा मनबहादुर मुखिया र उनको नाट्य टोलीले ‘अनि देउराली रुन्छ’ काठमाडौंमा मञ्चन गर्ने इच्छा राख्यो । त्यो इच्छा पुुरा गर्ने विषयको टुंगो लाग्न सकेन । त्यसैबेला मनको बाँधका कलाकार हरकुमार सिंहले एकेडेमीले नाटक नगरे मैले व्यक्तिगतरुपमा नाटक मञ्चन गराउन पहल गर्छु भने ।
मनबहादुर मुखिया भन्छन्, ‘‘सायद त्यसपछि मात्रै कुलपति लैनसिंह वाङ्देलले सक्रियता देखाए । अनि मात्रै त्यो नाटक काठमाडौंमा मञ्चन हुने भयो । यसरी नाटक ‘अनि देउराली रुन्छ’ सन् १९७६, १९७७, १९७८ र १९८० मा काठमाडौंमा पनि मञ्चन भयो ।’’
त्यो बेला प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय सुविधा सम्पन्न हल थियो । त्यहाँ नाटक गर्दा खुशी भएको अनुभूती सुनाउँदै थिए, नाट्यकर्मी मुखिया । उनी सम्झिँदै थिए, बरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको सहयोग र सदभाव । यसरी पहिलो पटक आउँदा ‘अनि देउराली रुन्छ’ करिब एक साता मञ्चन भएको थियो ।
मुखिया भन्छन्, ‘‘त्यतिबेला नाटकमा कलेजका विद्यार्थीहरुले पनि अभिनय गरेका थिए । तिनको छुट्टि पनि मिलाएर हामी काठमाडौं आएका थियौं । त्यसैले हामी त्यो नाटकको माग भएपनि लामो समयसम्म गर्न असमर्थ थियौं ।’’
नेपाली नाट्य क्षेत्रका यी वरिष्ठ स्रष्टाले ‘फेरि इतिहास दोहोरिन्छ’, ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘असत्यम् अशिवम् असुन्दरम्’, ‘पैचो मागेको विश्वास’ जस्ता नाटकहरु नेपाली नाट्य साहित्यलाई दिए । ती नाटकहरु मञ्चन पनि भए । स्वर सम्राट नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रवन्धक हुँदा पनि ‘क्रसमा टाँगिएको जिन्दगी’ मञ्चन भएको थियो ।
यसरी दार्जिलिङबाट नाटक मञ्चन गर्न काठमाडौं आएका मनबहादुर मुखिया त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय लिएर एमए गर्न थाले । र एमए गरेपछि प्राध्यापन पेशामा लागे ।
उनी भन्छन्, ‘मैले जे जति गरेँ, मेरो जीवनको पूर्वाद्र्धमा नै गरेँ । त्यस यता जीवनलाई निरन्तरता दिनुभन्दा बढ्ता खासै केही गरेको छु जस्तो लाग्दैन ।’