site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ च्याम्पियनसिपको तयारीमा जुट्यो महिला फुटबल टोली, चुनौती र अवसर बराबर

काठमाडौं । उपाधिविहिन यात्रामा पूर्णविराम लगाउने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली पाँचौं महिला साफ च्याम्पीयनसिपको तयारीमा जुटेको छ । घरेलु मैदानमा पहिलो पटक महिला साफ च्याम्पियनसिप हुँदा उपाधि जित्नु टोलीको मुख्य लक्ष्य रहेको प्रशिक्षक हरि खड्का बताउँछन् । 

सहिद स्मारक ‘ए’ डिभिजन लिगको व्यस्तताका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला टोलीको तयारीका लागि त्रिहानको समय सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान उपलब्ध गराएको छ । बिहानको झिसमिसेमै प्रशिक्षणमा जुट्ने खेलाडी जति उत्साहित छन्, त्यति नै निराश पनि । ओलम्पीक छनोटको पहिलो चरण पार गरिसकेको नेपाली टोलीलाई अहिलेसम्म एन्फा, राष्ट्रिय खेलकुद परिषद् वा युवा तथा खेलकुद मन्त्रालयजस्ता निकायबाट औपचारिक रुपमा बधाइसमेत नपाउँदा चेलीहरुको मन दुखेको छ ।

मौखिक रुपमा अभिभावक संस्था एन्फाले सम्मान गर्ने बताए पनि अहिलेसम्म केही गरेको छैन । खेल प्रशासनले आफ्नो ऐतिहासिक उपलब्धिलाई नजरअन्दाज गरेकोमा उनीहरुको जति चित्त दुखेको छ, त्यतिनै इख पनि पलाएको छ । त्यही इखले जगाएको उपाधि भोक यसपालि विराटनगरमा मेटाउने लक्ष्यसहित खेलाडीहरु शतप्रतिशत नतिजाका लागि मैदानमा पसिना बगाइरहेका छन् । 

‘पाएका अवसर उपयोगका लागि खेलाडीको मेहनत प्रशंसनीय छ,’ प्रशिक्षक खड्काले भने, ‘म कमजोर पक्षलाई सुधार्दै जितका लागि टिम तयार पार्ने कोसिसमा छु । बाँकी खेलाडीलाई उत्साहित बनाउने काम एन्फाको हो ।’ 

उनका अनुसार अहिले टोली आक्रमण तिखार्नमा केन्द्रित छ । विभागीय क्लब एपिएफ, आर्मी, पुलिस र दुई जिल्लाका गरी ३४ खेलाडी प्रशिक्षणमा छन् । ‘ठिक ३ महिनाको समय मिल्ने गरी तयारी सुरु गरेका छौं । अवसरसँगै धेरै चुनौती छन् । त्यसलाई चिर्न मैले कोसिस गर्ने हो,’ प्रशिक्षक खड्काले भने, ‘घरेलु मैदानको अनुभव छैन । खेलाडीलाई कसरी दर्शकको सामना गर्ने र मनोबल उच्च राख्ने जस्ता कुरा सिकाउँदै छु ।’ 

\"\"‘ओलम्पिक छनोट र प्रधान सेनापति महिला फुटबलपछि खेलाडी लयमा नै छन् । यसबीचमा खेलाडीलाई केही आराम दियौं । अब कमजोर पक्षलाई केन्द्रित गरी तयारी गरीरहेका छौं,’ खड्काले थपे, ‘ओलम्पिक छनोटको नतिजाले खेलाडी उत्साहित छन् । अहिले खेलाडीको मनोबल आकासिएको छ । केही मेहनत गरे जित्न सकिन्छ भन्ने छ ।’ कात्तिक अन्तिममा म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो चरणमा भारत र बंगलादेशसँगै बलियो मानिएको आयोजक म्यानमारविरुद्ध अपराजित रहँदै दोस्रो चरणको टिकट काटेको थियो । सफलताको त्यही लयलाई निरन्तरता दिने योजना बनाएको प्रशिक्षक खड्का बताउँछन् । 

दक्षिण एसियामा यसअघि नेपाली महिला टोलीका लागि भारतमात्र एक्लो प्रतिद्वन्द्वीका रुपमा रहँदै आएको थियो । तर पछिल्लो समय बंगलादेशले पनि महिला फुटबलमा उल्लेख्य सुधार गरेकाले सहज अवस्था नरहेको खड्काले बताए । पछिल्ला तीन संस्करणको फाइनलमा छिमेकी भारतलाई उपाधि सुम्पिएको नेपाल दुई वर्षअघि पछिल्लो पटक सेमिफाइनलमै भारतसँग पराजित भएको थियो । 

मैत्रीपूर्ण खेलको प्रस्ताव
महिला टोलीले साफ च्याम्पीयनसिपको तयारी दौरान केही मैत्रीपूर्ण खेलको अवसर मिलाइदिन एन्फासँग प्रस्ताव राखेको छ । फिलिपिन्स वा थाइल्याण्डमध्ये एउटासँग खेल्न पाए साफ च्याम्पियनसिपलाई सहयोग पुग्ने टिमको प्रस्ताव थियो । त्यसमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सकारात्मक प्रतिक्रिया दिएको प्रशिक्षक हरि खड्काले बताए । “म्यानमार जानुअघि चीनका क्लबविरुद्धका मैत्रीपूर्ण खेलले धेरै सुधार गर्ने मौका पाएका थियौं । अब साफ च्याम्पियनसिप अगाडि पनि त्यस्तै अभ्यास खेल खेल्न पाए सुधार गर्ने अवसर पाइन्थ्यो,’ उनले भने ।

साफ च्याम्पियनसिपको इतिहास 
\"\"
इतिहास लामो नभए पनि महिला साफ च्याम्पियनसिप पाँचौं संस्करणको तयारीमा छ । नेपाली महिला टोलीका लागि साफ नै विश्वकप सरह रहँदै आएको छ । खेलाडी अनु लामाले भनिन्, ‘यही प्रतियोगिताले महिला खेलाडीको परिचय जोगाएको छ । २०१० मा बंगलादेशबाट साफ च्याम्पियनसिप सुरु हुँदा भारत विजेता बनेको थियो । त्यसयता उपाधि भारतबाहेक अन्य टोलीले जित्न सकेको छैन । नेपाल हरेक संस्करणमा भारतसँग पराजित हुँदै आएको छ । भारतसँग ३ पटक फाइनलमा पराजित भएको नेपाल एक पटक सेमिफाइनलमा निराश भएको थियो ।’ 

साफ च्याम्पियनसिपको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग खेल्दैछ । विराटनगरको सहिद रंगशालामा भुटानपछि पाकिस्तानसँग खेल्ने नेपालले समूहको अन्तिम खेलमा बलियो मानिएको प्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

\"\"

\"\"

\"\"

तस्बिरहरू : सरिता खड्का

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro