site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तारिणी कोइरालाले विषय दिए– तोकिएको समयमा निर्वाचन हुन्छ कि हुँदैन ?
SkywellSkywell

घनानाथ रामेछापको गहिराथोकमा जन्मिए । पाँच वर्षको हुँदा मातापितासँंग काठमाडौं आए । काठमाडौंमा हुर्किँदै संस्कृत शिक्षाको ज्ञान हासिल गरे । समयसँगै उनको रुची पत्रपत्रिका पढ्ने तर्फ बढ्दै गयो ।  

वि.सं. २०१३–२०१४ सालतिरको कुरा हो । घनानाथ काठमाडौंमा पाइने हिन्दी र नेपाली पत्रपत्रिकाहरु किनेरै पढ्थे । पत्रपत्रिकामा अथाह रुची भएका कारण उनी हिन्दी पत्रिका सन्मार्ग र कल्याण नियमित किन्थे । त्यसैबेला नेपालीमा प्रकाशित हुने ‘कल्पना’ दैनिक उनी सधै किनेर पढ्थे । पछि ‘कल्पना’ दैनिक र ‘हालखबर’मा उनले ‘जीएन रोचक’का नामबाट समसामयिक विषयमा लेख नै लेख्न थाले । 

यसरी घनानाथबाट जीएन रोचक बनेका उनलाई प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालले पत्रिका प्रकाशनका लागि उक्साए । त्यसमा दम दिने अर्का साहित्यकार रमेश विकल पनि थिए । त्यसैले घनानाथ अर्थात् जीएन रोचक ‘रचना’ पत्रिका निकाल्न तम्सिए । लेख रचनाका लागि सहयोग विकल र अर्यालबाट मिल्ने भयो ।

KFC Island Ad
NIC Asia

‘रचना’का लागि रचना माग्ने क्रममै उनी भैरव अर्यालसँग भाषाशास्त्री महानन्द सापकोटाकहाँ पुगे । उनी काठमाडौं आएका थिए त्यसबेला । भैरव अर्यालले जीएन रोचकको परिचय दिए र रचनाका लागि रचना माग गर्न आएको बताए ।

भाषाशास्त्री महानन्द सापकोटाले सोधे, ‘यो जीएनको अर्थ के हो ?’ अनि उनले आफ्नो नाम घनानाथ घिमिरे भएको र उपनाम रोचक भएकोले लेख रचनामा ‘जीएन रोचक’ राख्ने गरेको जानकारी गराए ।  भाषाशास्त्री सापकोटाले भनेछन्, ‘तपाई घिमिरे हुनुहुँदो रहेछ । ‘रोचक’ उपनाम रहेछ । किन जीएनसीएन चाहियो । रोचक घिमिरे राख्नुस् ।’ यो सुनेपछि भैरव अर्यालले पनि भने, ‘गुरुले राम्रो सल्लाह दिनु भयो । लु, अब रोचक घिमिरे नै लेख्ने ।’ 

Royal Enfield Island Ad

मंगलबार टंगालस्थित निवासमा कुरा गर्दै वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे (७८)ले महानन्द सापकोटाले गरिदिएको आफ्नो दोस्रो न्वारान सम्झिए । अनि हाँस्दै भन्न थाले, ‘त्यस पछि म रोचक घिमिरे भएँ । रचनाको सम्पादक–प्रकाशकमा पनि रोचक घिमिरे नै राखेँ । मेरो नागरिकता पनि रोचक घिमिरेको नामबाटै बन्यो । तर सबै सर्टिफिकेटहरु र पिताजीले गर्नुभएको अंशबण्डाको कागजहरुमा घनानाथ घिमिरे भएकोले पछि गएर त्यसलाई सच्याउन निक्कै सकस भयो । धेरै पछि मात्रै मैले सबै कागजातमा रोचक घिमिरे बनाएर सच्याएँ ।’

\"\"रोचक घिमिरेको दैनिक कर्म थियो ‘कल्पना’ दैनिक पत्रिका किन्न नागपोखरी जानु । उनी आफ्नो निवासस्थान टंगालबाट ‘कल्पना’कोे कार्यालय नागपोखरी पुग्थे । दश पैसा दिएर पत्रिका किन्थे । अनि अद्योपान्त पढ्थे । 

दैनिक ‘कल्पना’ प्रकाशन गर्थे तारिणीप्रसाद कोइरालाले । नागपोखरी पुगेर एउटा केटोले दैनिक तात्तातो पत्रिका किन्ने गरेको तारिणी कोइरालाले ध्यान दिइरहेका रहेछन । 
एकदिन तारिणीप्रसादले रोचकलाई सोधेछन्, ‘तिमी पत्रिका किनेर पढ्छौ मात्रै कि लेख्छौ पनि’ । रोचक अर्थात् त्यसबेलाका घनानाथले ‘कहाँ लेख्नु, पढ्ने मात्रै हो’ भनेर जवाफ दिए । 
रोचकको कुरा सुनेर तारिणीले ‘पत्रिका पढ्ने मानिसले किन लेख्न सक्दैन, लेख्नुस्’ भनेर हौस्याएछन् । सुरुमा त रोचकले आनाकानी गरे । तर टार्न नसके पछि हुन्छ भने । अनि तारिणीले नै उनलाई विषय दिए ‘निर्धारित मितिमा चुनाव हुन्छ कि हुँदैन ?’ २०१५ सालमा आमनिर्वाचन हुने भएकोले पनि तारिणीले रोचकलाई त्यो विषय दिएका थिए ।
रोचक घिमिरेले पनि निर्वाचन हुँदैन भन्ने पक्षमा आलेख लेखे । उनले विभिन्न तर्क दिँदै ‘राजाले चुनाव गराउँदैनन्’ भनेर लेखेको लेख तारिणी कोइरालालाई दिए । 

रोचक घिमिरे सम्झिन्छन् त्यो क्षण, ‘त्यो आलेखमा मैले मेरो नाम ‘जीएन रोचक’ राखेँ । भोलि पल्टै त्यो लेख मेरो नाममा छापियो । दंग परेँ । र त्यो दिन मैले एक रुपैयाँ हालेर दश प्रति कल्पना पत्रिका किनेर घरमा ल्याएँ । घरका सबैलाई देखाएँ । हर्षको त सीमा नै थिएन ।’

यसरी पहिलो पटक बाइलाईन आर्टिकल छापिएपछि उनका लेखहरु कल्पना दैनिकमा छापिँदै गयो । त्यसैबेला ‘हालखबर’ पत्रिका पनि निस्किन्थ्यो । त्यसमा मदनमणि दीक्षित, भैरव अर्याल, बासु पासा, दाताराम शर्माहरु काम गर्दथे । रोचकले त्यहाँ पनि लेख दिन थाले । उनको लेख छापिँदै गयो । जीएन रोचकलाई लेख छाप्न कुनै भनसुन गर्नुपरेन । उनको नाम चलिसकेको थियो । 

रोचक भन्छन्, ‘पत्रपत्रिका पढ्ने अभिरुचीले नै मलाई ‘कल्पना’मा पुर्याएको थियो । त्यहीँ मैले कैयन पटक बीपी कोइराला, तुलसी गिरीहरुलाई पनि देखेँ । यसरी मेरो लेखनले निरन्तरता लिँदै गयो ।’

घनानाथ घिमिरे अर्थात् जीएन रोचक अर्थात् रोचक घिमिरे, रामेछापको मन्थली नजिकैको गहिराथोकबाट काठमाडौं आउँदा सानै थिए । यस्तै चार पाँच वर्षको । कुराकानीकै क्रममा उनले आफ्ना पिताजीको काठमाडौं आगमनको रोचक किस्सा सुनाए । 

रोचक भन्छन् ‘मेरो पिताजी सोमनाथ घिमिरे ‘ब्यास’ले बनारसबाट संस्कृतमा साहित्याचार्य गरेर फर्कनु भयो । पढेर फर्किए पछि माहिला गुरुजु हेमराज पाण्डे कहाँ भेट्न जानु भयो । उहाँ संस्कृत विषयका विद्वान हुनुहुन्थ्यो । उहाँले कुराकानीको क्रममा पिताजीलाई आफूले जानेको विद्यार्थीहरुलाई पढाउनु पर्छ भन्दै शिक्षक हुन पिताजीलाई प्रेरित गर्नुभयो । र फर्किने बेलामा रामेछापकै हाम्रो घर नजिकैको शालुधारापानी भन्ने ठाउँको भाषा पाठशालामा नियुक्ति लिई पठाउनु भयो ।’ 

रोचकका पिताजीले पढाउन सुरु गरे । केही समयपछि गहिराथोकमा रहेको जग्गा जमिनलाई लिएर कसैले उनका पिताजी माथि मुद्दा हालेछन् । उनका पिताजीले मुद्दा हारे । र माथिल्लो निकायमा अपिल गर्न उनका पिताजी काठमाडौं आए । अपिल गरे । हरेक महिना तारिख पर्ने हुनाले काठमाडौं रामेछाप आउने जाने गरिरहे । काठमाडौं आउँदा उनी गैरीधारामै घर भएका मेजर तेजबहादुर कार्कीको घरमा बस्थे । कार्की पनि रामेछापकै थिए । 
उनका पिताजी एकपटक तारिखमा काठमाडौं आईपुग्दा टंगाल दरबारमा राम शमशेरले श्रीमद्भागवत् महापुराण लगाउँदै रहेछन् । तेजबहादुर कार्कीले रोचकका पिताजीलाई ‘पुराणमा धेरै पण्डित चाहिन्छ, बस्ने हो ?’ भनेर सोधेछन् । रोचकका पिताजीले पनि आठ दस दिन बस्नै पर्छ भन्ने सोचेर हुन्छ भनिदिए । र टंगाल दरबारको महापुराणमा उनी पनि जान थाले । 
त्यो महापुराण सप्ताहका मूल वाचक कविशिरोमणि लेखनाथ पौड्याल थिए । उपवाचक उमानाथ नाम गरेका पण्डित थिए । बाँकी अरु पण्डितहरु पनि थिए । पुराण सुरु भएको दुई दिन पछि मूलवाचक लेखनाथ पौड्यालको घाँटी बस्यो । बोली नै फुटेन । आवाज स्याउस्याउ भयो ।

भोलिपल्ट पनि त्यस्तै भयो । स्वर भासिएपछि राणा जर्साबले बरण गरेका पण्डितहरु मध्येबाटै मूल वाचकको काम कसले गर्ने भनेर सोधेछन् । तर सबै पछि हटेछन् । उपवाचक उमानाथ पनि पछि हटे । सबैलाई सोधेपछि अन्तिममा राणाले रोचकका पिताजी पण्डित सोमनाथ घिमिरेलाई सोधेछन् । उनका पिताजीले सक्छु भनेछन् । उनका पिताजीले एउटा अध्याय पाठ गरेर कथा पनि वाचन गरे । त्यसपछि रोचकका पिताजीलाई मूल वाचकमा राखेछन् ।

यो सुनाउँदा रोचक घिमिरे हाँसे । भने, ‘खासमा अरुले वाचन नगर्ने कारण के रहेछ भने पहिले मुरलीधर भट्टराईले महापुराण भन्थे । उनले कथा वाचन गर्दा कतिपय कथामा राणा विरोधी कुरा पनि जोड्दा रहेछन् । त्यसैले उनलाई जेलमा थुनिएको रहेछ । त्यसैले कथा वाचनमा गडबडी भए राणाहरुले थुन्छन् कि भन्ने डरले कसैले पनि पुराण वाचन गर्न मानेका रहेनछन् । त्यसैले पनि पिताजीको भागमा पर्यो ।’

भागवत सकिएपछि मुद्दाको अर्को तारिख लिएर रोचकका पिताजी गाउँ फर्किए । तर उता टंगाल दरबारकी रानीसाहेबले तेजबहादुर कार्कीलाई बोलाएर ती पुराण भन्ने गुरुलाई झिकाउ भनिछन् । उनीबाट दैनिक पुराण सुन्ने मनसाय रहेछ रानीसाहेबको । 

तेजबहादुरले पण्डित सोमनाथ रामेछाप फर्किएको कुरा सुनाएर एक महिना पछि फर्किने जनाउ दिए । एक महिनापछि तारिखमा आउँदा तेजबहादुरले रोचकका पिताजी सोमनाथ घिमिरेलाई फेरि टंगाल दरबारमा लगेर रानीसाहेबसँग भेट गराए । रानीसाहेबले दैनिक पुराण सुनाउन भनिन् । रोचकका पिताजीले पनि बसुन्जेल दैनिक एक एक घण्टा अर्थ लगाएर पुराण सुनाएछन् ।

रोचक घिमिरे भन्छन्, ‘त्यसपछि रानीसाहेबले पिताजीलाई काठमाडौंमै बस्न भन्दै सबै व्यवस्था गरिदिने आश्वासन दिइन् । पिताजीले पनि हजुरबुबासँग सल्लाह गर्ने कुरा गर्नुभयो । उता हजुरबुबाले पनि हुन्छ भन्नु भएपछि पिताजी काठमाडौं आउनु भयो । रानीसाहेबले पनि टंगाल दरबार पछाडिको एउटा जग्गा किनेर घर र गोठ बनाइदिइन् । यसरी हाम्रो परिवार रामेछापको मन्थली गहिराथोकबाट काठमाडौं भित्रियो । त्यसपछि त पिताजी राणाहरुकै काममा लाग्नुभयो ।’

रोचकका पिताजीले २०१२ सालमा महोत्तरी जिल्लाको अगलेसरामा २५ विघा जग्गा नै किने । त्यसपछि रोचकको काम पनि हरेक साल अगहन (धान काट्ने समय)मा अगलेसरा जानु र खेतीपातीमा उठाउनु हुनगयो । उनका पिताजी प्रायः कलकत्ता (अहिले कोलकाता), बनारस र अन्य काममा काठमाडौंमै रहने भएकोले खेतीपातीको जिम्मा रोचक घिमिरेकै काँधमा थियो । अगलेसरा पुगेर उनले मालपोत उठाएर मालअड्डामा बुझाउनु पनि पर्दथ्यो ।

उनी मौजा रहेको गाउँ, अगलेसरा निक्कै बसे । गाउँ जाँदा लामै समय बस्थे । घरको जेठो छोरा भएकोले उनकै जिम्मामा थियो सबै । उनका भाइहरु बनारसमा पढ्थे । त्यसबेला खुबै रमाइलो हुने गरेको उनी सम्झिन्छन् । कैयन लेखक तथा साहित्यकार अगलेसरा पुगेका छन् । एकपटक वरिष्ठ कथाकार रमेश विकल पनि अगलेसरा पुगे । उनी केही दिन बसे पनि । अगलेसरा आएको बेला विकललाई हात्ती चढ्ने रहर लागेछ । 

रोचक पनि कम थिएनन् । उनी पनि गाउँका जमिनदार थिए । उनले पनि गोठ बनौलीका एकजना महाजनलाई भनेर हात्ती झिकाए र कथाकार विकललाई घुमाए । रोचक भन्छन्, ‘त्यसबेला घाँटीमा झुन्ड्याइएको घण्ट बजाउँदै हात्ती गाउँमा आयो । यसरी हात्तीको सबार गरेर जलेश्वर गएका थिए रमेश विकल । उनी मात्रै होइन, अरु साहित्यकारहरु पनि अगलेसरा पुगेका छन् ।’

रोचक घिमिरेको अक्षरारम्भ टंगालमै भयो । उनीहरु टंगाल दरबारको बाँसको झाडी नजिकै बसेका थिए । त्यही बाँसको बोक्रामा उनी लेख्थे । ओखर उमालेर कालो मसी र बाँसको कर्चीको कलम बनाएर बोक्रामा लेख्थे । त्यसैमा उनकी आमाले उनलाई कखरा सिकाएकी हुन् । 

यसरी कखरा सिकेपछि उनी संस्कृत पढ्न थाले । उनका पिताजी कट्टर भएकोले संस्कृत बाहेक अरु केही पढ्न हुँदैन भन्थे । अंग्रेजीलाई म्लेच्छ विद्या भन्थे । त्यसैले प्रारम्भदेखि नै उनले कौमुदि, अमर कोष आदि पढ्न थाले । उनलाई नवराज सुवेदीका पिताजी साम्वभक्त सुवेदीले घरैमा आएर संस्कृत पढाउँथे । पद्मशंकर अधिकारी (नेपाली कांग्रेसका नेता)ले पनि उनलाई पढाए । 

पछि उनी दरबार हाइस्कुलको तल्लो तलामा रहेको संस्कृत स्कूलमा भर्ना भए । काठमाडौंमा संस्कृत पढेर मध्यमाको जाँच बनारस गएर दिए । पछि उनले उत्तर मध्यमा पनि गरे । संस्कृत महाविद्यालय थियो, पुतलीसडकमा । उनी भन्छन्, ‘मेरो पिताजी संस्कृतका विद्वान । म्लेच्छ विद्या पढाउन नमान्ने ।  त्यसैले मैले पछि लुकेर अंग्रेजी पढेँ, नन्दिरात्री विद्यालय नक्सालमा भर्ना भएर पढेको थिएँ अंग्रेजी ।’ 

कल्पना दैनिक र हालखबरले रोचक घिमिरेको संगत लेखकहरुसँग हुँदैगयो । यसै क्रममा उनी भैरव अर्यालसँग निकट भए । रमेश विकलसँग नजिकिए । र भैरवले नै उनलाई रचना प्रकाशन गर्न हौस्याए । जबकी रोचक चाहन्थे, उनी कहाँ पत्रपत्रिका र किताबहरुको राम्रो पुस्तकालय होस् । तर भैरवले उनलाई ‘रचना’ निकाल्न उकासे । रचनाको न्वारान भैरवले नै गरे ।

रमेश र भैरव दुबैले सहयोग गर्ने कुरो भएपछि रोचक काठमाडौं मेजिष्ट्रेट कार्यालयमा रचना दर्ता गर्न गए । रचना छ महिनामा एउटा वर्षको दुई अंक निकाल्ने कुरो थियो । तर त्यहाँ रहेका फाँटवाला लेखक देवीचन्द्र श्रेष्ठले धेरै ढिलो अवधिको हुन्छ पत्रिका भन्दै चार महिने गर्ने भनेर चौमासिक पत्रिका दर्ता गरिदिए । यसरी २०१८ सालमा रचना दर्ता भयो । पछि रचना तीन महिने र २०२८ सालमा दुई महिने गरियो ।

रोचक भन्छन्, ‘पहिलो अंकका लागि भैरव अर्याल र विकलले धेरै मद्दत गरे । त्यो एक वर्ष मैले भैरवसँग तालिम नै लिएँ भन्दा हुन्छ । त्यतिबेला मैले पुस्तक परिचय लेख्थे, बुज्रुक र विचारीका नामबाट । बाँकी सबै भैरव र विकलले नै व्यवस्था गरे ।’ 

रचनाको पहिलो अंकमा नै राम्रा राम्रा लेखकहरुका रचना छापिए । रचनाको पहिलो अंकमा तुलसी दिवसको पहिलो कविता ‘हृदयको बालक’ शीर्षकमा छापिएको उनी अहिले पनि सम्झिन्छन् । 

\"\"त्यसबेला मागेका सबै लेखकले रचना दिन्थे । कैयन लेखकको पहिलो रचना नै रचनामा छापिएको उनी सुनाउँछन् । रोचक घिमिरेका अनुसार त्यसबेला प्रचार विभागमा नारायण बास्कोटा डाइरेक्टर थिए । उनले साहित्यिक पत्रिकाको पीडा बुझेका थिए सायद । त्यसैले उनले प्रत्येक अंक तीन–तीन सय रुपैयाँ विज्ञापन उपलब्ध गराउँदै आएका थिए । 
रोचक भन्छन्, ‘रुपरेखा र रचनाले त्यो विज्ञापन पाउँथ्यो । त्यसपछि अरु यताउताबाट मिलाएर पत्रिका निकाल्थेँ । पाँच सय प्रति पत्रिका छाप्न पाँच सय रुपैया लाग्थ्यो । जे होस्, पत्रिका छाप्न पैसा पुग्थ्यो । कहिलेकाही साहित्यमा रुची राख्ने हाकिमहरुले विज्ञापन उपलब्ध गराउँथे । कतिपय संस्थानहरुले नियमित नै विज्ञापन दिन्थे । यसरी धेरैले रचनालाई सहयोग गरे । तर, बहुदल आएपछि भने विज्ञापन पाउन गाह्रो भयो ।’ 

रोचक घिमिरेका अनुसार एकपटक भोजपुरबाट साकारका नाममा कविता आयो । रोचकलाई साकार अलि अपुरो लाग्यो । उनले त्यसमा शैलेन्द्र थपिदिए र कविता छापे । अर्को पटकदेखि शंकरप्रसाद श्रेष्ठले शैलेन्द्र साकारकै नाममा कविता पठाउन थाले । 

रोचक हाँस्छन् र भन्छन्, ‘मैले भैरवप्रसाद अर्यालको प्रसाद काटिदिएँ । पुरुषोत्तम रिसाललाई पुरु रिसाल बनाइदिएँ । पारिजातको कथा ‘मैले नजन्माएको छोरो’ पहिलो पटक २०२४ सालमा रचनामै छापिएको हो । गोविन्दराज भट्टराईको पहिलो समालोचना पनि रचनामै छापिएको थियो, २०३३ सालमा ।’ 

रोचक घिमिरे आज पनि समस्त लेखकहरुलाई सम्झिन्छन् । तिनको सहयोगको प्रशंसा गर्छन् । उनका अनुसार भोजपुरबाट कथाकार परशु प्रधानले पनि नियमित कथा पठाउँथे । उनी भन्छन्, ‘परशु प्रधानले त भोजपुरमा रचनाका ग्राहक नै बनाएर ठूलो सहयोग गरेका थिए ।’ 

रचनालाई सामग्रीको अभाव खासै भएन । तर पनि कहिलेकाही कथा, निवन्ध र समालोचनाको अभाव हुँदा उनले पारिश्रमिक दिएरै पनि रचना मागे । उनले पत्रमपुष्पम दिए, आफूले मागेका लेखरचनालाई ।  निवन्धकार शंकर लामिछनेलाई लेखको पारिश्रमिक चाहिन्थ्यो । एक पटक उनले शंकर लामिछानेसँग रचना मागेर पारिश्रमिक पनि दिए । त्यस पछि आफूले शंकर लामिछानेसँग कहिल्यै रचना नमागेको उनी सुनाउँछन् । 

आज पनि कुनै विधामा रचनाको अभाव हुँदा उनी रचना माग्छन् । यसरी मागिएको रचनाका लागि कसैले पारिश्रमिक लिन्छन् पनि कतिले लिँदैनन् पनि । एउटा कथा वा निवन्धको दुई तीन सय रुपैयाँ दिने गरेको बताउने रोचक घिमिरे अचेल स्तरीय कथाको अभाव रहेको सुनाउँछन् ।  

रोचक भन्छन्, ‘विजय मल्ललाई पारिश्रमिकको साटो चिया खाजा खुवाउथँे । छाप्नु अघि नै पारिश्रमिक लिन्थे कथाकार मनु ब्राजाकी । म अगलेसरा गएको बेला मनु गाउँ आइरहन्थे । उनी साइकलमा औरहीबाट आउँथे । हामी सँगै बसेर कचरी मुरही खान्थ्यौं । अनि फर्कने बेलामा दाइ बाटो खर्च पाऊँ न भन्थे । म पनि दिन्थे । मैले खल्तीमा भएको रकम हत्केलामा राखेर लेउ भन्थे । उनले आफूलाई चाहिने रकमभन्दा एक रुपैयाँ पनि बढी लिन्थेनन् । अनि उनी भन्थे ‘म रचनालाई रचना पठाउँछु नि ।’  

आज ‘दिनमान’ ‘धर्मयुग’ ‘ज्ञानोदय’ ‘कादम्बिनी’ जस्ता पत्रिकाको प्रकाशन पनि बन्द भएको छ । जबकी ती पत्रिका एक समयका प्रतिष्ठित पत्रिकामा गनिन्थे । यो सम्झिँदै रोचक भन्छन्, ‘ती पत्रिका पैसा नभएर नछापिएको होइन । त्यसैले मैले पनि आफू रहुन्जेल पत्रिका प्रकाशन गर्छु । आज रोचक घिमिरेलाई नेपाली पढनेहरुले चिनेका छन् । अन्ठाउन्न वर्षदेखि रचनालाई माया गरिदिएका छन् । बस्, मेरो कमाई यही नै हो ।’

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro