site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्यासको उमेरमा ‘कमब्याक’ गर्दै अनु

काठमाडौं । पहिलो रोजाइको नियमित स्टारबाट उनी अहिले झण्डै ‘पूर्व खेलाडी’को परिचयमा सीमित भइसकिन् । टिममा नियमित उपस्थितिका लागि संघर्ष गरिरहेकी छिन् । 
नेपाली महिला राष्ट्रिय फुटबल टोलीमा जर्सी नम्बर १० को महत्व उनका गोल तथ्यांकले प्रमाणित गरेका थिए । त्यसैले अनु लामालाई त्यो जर्सी र त्यसमा सजिएर मैदानमा दौडिनुको नशा अत्यन्तै मादक लाग्छ । तर लामो अनुपस्थिति र ढल्कँदो उमेरका कारण अब उनलाई ९ नम्बर पोजिसनमा सर्नका लागि प्रेरित गरिँदैछ ।
नेपाली महिला फुटबलमा अनु लामाको परिचय एउटा चर्चित नाममा मात्र सीमित छैन । नेपालको जर्सी लगाएर सर्वाधिक ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान उनैको नाममा छ । सीमित सहभागिता र अवसरमै नेपाली महिला फुटबलले विगतमा देशलाई दिलाएका उपलब्धिमा अनुका गोलको भूमिका सायद सबैभन्दा बढी थियो । दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपका हरेकजसो संस्करणमा फाइनलसम्मको यात्रा तय गर्दा नेपाली महिला फुटबलको स्वर्णीम पुस्ताकी ‘सेन्ट्रल फरवाड’ले आफूलाई गोल मेसिनका रुपमा प्रमाणित गरिन् । 
\"\"अहिले अवस्था फेरिएको छ । अनु स्वयम्मा पनि पुरानो फर्म र फिटनेस कायम छैन । बढ्दो उमेरले उनका मांसपेशीलाई विस्तारै ‘स्लो डाउन’ गर्दैछन् । चितुवा शैलीको गति समयक्रमले कम गर्दैछ । तथापि गोल र फुटबलका लागि उनको भोक उस्तै छ । चोटका कारण झण्डै दुई वर्ष मैदान बाहिर रहँदा खुट्टाभन्दा बढी उनको मन चलिरह्यो । “घाइते भएर उपचारमा रहँदा मैदान, टिमका साथीहरु र समग्रमा फुटबल एकदमै मिस गरेँ । फुटबलबिनाको जीवन शून्यजस्तै भयो,” अनु भन्छिन् । त्यसैले त उनले राम्ररी नतङ्ग्रिँदै गत साउनमा सम्पन्न महिला लिगमार्फत् मैदान फर्किन हतारो गरिन् ।
करियरको उत्तरार्धमा पुगिसक्दा मैदान फर्किन ढिलो गर्नु उचित नहुने उनलाई थाहा थियो । ३१ वर्षको उमेरमा पुगेकी उनी अहिले घुँडाको समस्याबाट पूर्ण रुपमा मुक्त भएर मैदानमा फर्किएकी छिन् ।

घुँडाको शल्यक्रिया गराएको करिब २ वर्षपछि मनसँग खुट्टाको लय मिलाउने प्रयासमा उनी वैकल्पिक खेलाडीका रुपमा एपिएफको टोलीबाट मैदान उत्रिन थालेकी छिन् । गत साता सम्पन्न प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा उनले सबै खेल खेलिन् । प्रदेशका टिमविरुद्धको खेलमा प्रशिक्षक जनकसिंह थारुले अनुकै कप्तानीमा टिम उतारे । तर पुलिसविरुद्धको सेमिफाइनल तथा आर्मीविरुद्धको फाइनलमा पहिलो रोजाइबाट खेल्न अनुको फिटनेस पर्याप्त नभएको प्रशिक्षकलाई लाग्यो । जसका कारण उनी पछिल्ला दुवै खेल वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान छिरिन् ।
\"\"सामान्यतया नेपाली खेलकुदमा महिला खेलाडीका लागि ३१ वर्ष सन्यासको उमेर हो । तर अनुलाई त्यसो लाग्दैन । उनी अझै नेपालका लागि अन्तर्राष्ट्रिय गोल संख्या थप्न आतुर छिन् । देशका लागि गोल गर्ने उनको भोक २०१० मा पहिलो पटक राष्ट्रिय टिममा पर्दा जस्तै छ । भारतको सिलगुढीमा सम्पन्न चौथो महिला साफ च्याम्पीयनसिपको केही दिनअघि शल्यक्रिया गराएकी अनु फागुनमा नेपालमै हुन लागेको पाँचौं साफ च्यानम्पीयनसिपको राष्ट्रिय टिममा फर्किने तयारीमा छिन् । पछिल्लो समयका घरेलु प्रतियोगितामा उनको उपस्थिति त्यसैका लागि थियो ।
“घाइते भएपछि लयमा फर्किन निकै ग्राह्रो हुन्छ । केही नजानेको जसरी खुट्टालाई बल सिकाउनु पर्दा निकै पीडा हुन्छ । तर म गोलको कीर्तिमानसँगै घाइते भएपछि पनि महिला खेलाडी फर्किएको इतिहास बनाउन चाहन्छु,” उनले आफैंलाई चुनौती दिएकी छिन्, ‘‘महिला फुटबलमा घाइते भएपछि कोही पनि खेलाडीले पुनरागमन गरेका छैनन् । मलाई महिलाहरु पनि केही गर्न सक्छन् भनेर देखाउनु छ ।”  
अनु चोटसँग संघर्ष गरिरहँदा नेपाली महिला टोली म्यानमारबाट ओलम्पीक छनोटको दोस्रो चरणमा स्थान बनाएर फर्किएको छ । अनु पनि आफूलाई फेरि राष्ट्रिय टोलीको लायक बनाउने अभियानमा दिनरात अभ्यासमा जुटिरहेकी छिन् । उनले साउनमा सम्पन्न उपराष्ट्रपति महिला लिग र प्रधान सेनापति कपमा मैदान उत्रिएर ‘म्याच फिटनेस’ हासिल गरिन् । पर्याप्त मात्रामा आत्मविश्वास पनि बटुलिन् । 

\"\"घाइते हुनुअघि अनुले कहिल्यै बेन्चमा बस्नुपरेको थिएन । १० नम्बरको जर्सी उनको परिचय थियो । त्यही जर्सी नम्बरले अनुलाई राम्रो गर्ने दबाब दिन्थ्यो । २०१० मा बंगलादेशमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)बाट अनुले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । ‘डेब्यु’ प्रतियोगितामा ५ गोल गरेकी उनले बंगलादेशमै भएको महिला साफ च्याम्पियनसिपमा ११ गोल गरेकी थिइन् । आफैंले गरेका गोलको सम्झँदा भावुक बनेकी अनुले भनिन्, “घाइते भएपछि सबैको हेर्ने नजर छुट्टै हुँदोरहेछ । तर मलाई टिम र क्लब (एपिएफ) बाट राम्रो साथ मिल्यो । टिमका बहिनी र गुरुहरुले निकै सहयोग गरिरहनु भएको छ । त्यसले झन् मलाई केही गर्नुपर्छ भन्ने उत्साह थपिएको छ।” 
राष्ट्रिय टिममा पुनरागमनको रहर लामो समयका लागि भने छैन । भन्छिन्, “रहर निक्कै छ । आफ्नो गोल संख्या बढाउने र गोलको खुसीमा रमाउने रहर नहुने को खेलाडी होला र ? तर राम्रो खेल्ने बहिनीहरु आइरहेका छन् । मैले स्थान ओगटेर मात्र हुँदैन । मौका पाए यही साफ च्याम्पीयनसिपबाट राष्ट्रिय जर्सी र बुट थन्क्याउने सोचमा छु । तर क्लबबाट अझै खेल्नेछु,” उनले थपिन् ।
अनुको लय फर्काउने प्रयासमा हरेक दिन मेहनत गरिरहेका उनका गुरु (एपिएफका प्रशिक्षक) जनक सिंह थारु भन्छन्, “ऊ बेन्चमा बस्ने खालको खेलाडी होइन । घाइते भएपछि उसको स्पिड कम भए पनि टेक्निक निकै राम्रो छ । अवसर पाएपछि उसले आफूलाई फेरि प्रमाणित गर्नेमा म विश्वस्त छु । ऊ अत्यन्तै क्षमतावान फरवाड हो । तर अहिले स्पिड कम भएका कारण मिडफिल्डबाट लयमा फर्काउन प्रयास गरिरहेको छु ।” 

\"\"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro