site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकतिहाई नेपाली रेविजको जोखिममा

काठमाडौं । नेपालको एकतिहाई जनसंख्या रेबिज रोगको जोखिममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमानित तथ्यांकमा सो कुरा उल्लेख छ । 

यसबारेमा थप अनुसन्धान गरिने महाशाखाले जनाएको छ  । महाशाखाका निर्देशक डा. विवेककुमार लालले पछिल्लो समय विशेष गरेर पहाड र तराईका जिल्लामा रेविज रोगको उच्च जोखिम देखिएको बताए । उनले भने, “समयमै कुकुर वा अन्य जनावरहरूको टोकाइपछि टोकेको ठाउँमा कमसेकम १५ मिनेट साबुनपानी, डिटोल, आयोडिनजस्ता भाइरस मार्ने चिजले राम्ररी सफा गरी नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाहअनुसार रेबिज रोगको खोप लगाउनुपर्छ ।” 

चिकित्सकका अनुसार रेविज रोग लाइसा नामक नसामा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा हुने गर्छ ।  आर्थिक वर्ष २०७४¬–०७५ को तथ्यांकअनुसार २६ हजार ३ सय १२ जना मानिसलाई कुकुरले र २ हजार २ सय २ जनालाई कुकुरबाहेकका अन्य जनावरले टोकेको पाइएको थियो । गत वर्ष २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोपसमेत खपत भएको थियो । 

शुक्रराज तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोेलाले अझै पनि जनावरले टोक्दा पनि खासै वास्ता नगरी उपचार गर्न नजाने र अन्तिम अवस्थामा मात्र आउने गरेको  बताए । “उपचारका लागि अस्पतालमा आउने बिरामीहरुमध्ये घरमै पालेको कुकुरले टोकेका बढी आउने गरेका छन् । त्यस बाहेक बिरालो, स्याल, ब्वाँसो, भालु, फ्याउरो, न्याउरी–मुसालगायतका अन्य मांसाहारी जनावरको टोकाइबाट समेत रेबिज हुन्छ ।” 

उनले भने, “भाइरसको संक्रमित जनावरले टोकेमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झम्झमाउने जस्ता समस्या उत्पन्न हुन्छन् ।’’ यस्ता जनावरले टोकेमा भाइरस मस्तिष्कसम्म पुगेर मस्तिष्क तथा स्नायु सुन्निने, व्यवहारमा अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आउनुका साथै मुत्युसमेत हुने डा. बास्तोला बताउँछन् । 

सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार पछिल्लो समय जनावरले टोकेर रेविज विरुद्धको खोप लगाउने बिरामीहरु बढी रहेका छन् । “रेबिजका भाइरस भएका जनावरले टोक्दा  समयमै उपचार गराइएमा  शतप्रतिशत निको हुन्छ,” उनले भने, “रेविज रोगको रोकथामका लागि जनावरबाट भाइरस मानिसमा आउन नदिने तथा घरपालुवा जनावरहरूलाई व्यवस्थित तरिकाले पाल्ने तथा जंगली जनावरहरूको सम्पर्कमा नआउने प्रमुख उपाय अपनाउनु पर्दछ ।”

त्यसैगरी, घरपालुवा कुकुरलाई पशु चिकित्सकको सल्लाहअनुसार समय–समयमा खोप लगाउने र यसको रेकर्ड अद्यावधिक गरी राख्ने, अन्य कुकुरहरूलाई समुचित खोप लगाउने तथा व्यवस्थापन गरेमा बच्न सकिने डा. पुन बताउँछन्  । सरकारले रेविज विरुद्धको खोप निःशुल्क गरेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ५९ हजार मानिसको मृत्यु रेविजबाट हुने गरेको छ । मानिसमा हुने रेविजको रोगमध्ये ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको छ । शंकास्पद बौलाहा जनावरको टोकाइबाट प्रभावित हुने ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् । रेविजबाट प्रभावितमध्ये विश्वभरिमा ९५ प्रतिशत  मानिस एसिया र अफ्रिका महादेशका छन् । विश्वभरबाट रेविज रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य विश्व स्वास्थ्य संगठनले राखेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro