site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा दृष्टिविहीन महिला टोली  

काठमाडौं । पाकिस्तानमा दुई महिनापछि हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली नेत्रहीन महिला क्रिकेट टोलीको तयारी आर्थिक समस्याले धरापमा परेको छ । 

माघ १२ देखि २१ गतेसम्म पाकिस्तानका विभिन्न तीन शहरमा हुने प्रतियोगितामा सहभागिता जनाउन नेपाल नेत्रहीन क्रिकेट संघले निर्णय गरिसकेको छ । तर नेत्रहीन महिला टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने प्रयासमा आर्थिक व्यवस्थापनले संघका अध्यक्ष पवन घिमिरेको टाउको दुखाइरहेको छ । सहभागिताका लागि लाग्ने खर्चको जोहो भइनसके पनि भगवती भट्टराईको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीले अभ्यास सुरु गरिसकेको छ । 

\"\"

नेत्रहीन खेलाडीलाई सडकमार्गबाट पाकिस्तानसम्म पठाउँदा हुने समस्या संघले विगतमा पुरुष टोलीको सहभागिताबाट अनुभुत गरिसकेको छ । तर महँगो हवाई टिकटको व्यवस्थापन नेत्रहीन क्रिकेट टोलीका लागि पहाड बनिरहेको छ । तथापि हिम्मत नहारी सहयोग जुटाएर भएपनि सहभागी गराउने योजनामा रहेको संघका अध्यक्ष घिमिरे बताउँछन् । प्रतियोगिता आउन अझै साढे २ महिना बाँकी छ । त्यसैले उनी हवाई टिकटको व्यवस्था हुनेमा आशावादी छन् । उनको दैनिकी नै अहिले विभिन्न निकायसँग आर्थिक सहयोगका लागि आग्रह गर्दै बित्ने गरेको छ । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद अनि विभिन्न गैरसरकारी संस्थाका ढोका चहारेरै उनले थुप्रै दिन बिताइसके । तर कसैले उनको याचनामा सुनुवाई गरेका छैनन् । 

केहीदिनअघि खेलकुद मन्त्रालयमा सहयोगको अपेक्षासहित पुगेका उनी थोरै आशा र धेरै निराशा लिएर फर्किए । 

खेलकुदमन्त्री जगत विश्वकर्माले उनीसँग सहयोगको ‘लाजमर्दो’ बाचा गरे । नेपाली खेलकुदको सर्वोच्च निकाय मन्त्रालयबाट पाकिस्तान जाने नेत्रहीन महिला क्रिकेट टोलीलाई १ लाख रुपैयाँ सहयोग प्रदान गर्ने मन्त्रीले बाचा गरेको घिमिरेले बाह्रखरीलाई बताए । घिमिरेका अनुसार पाकिस्तान गएर प्रतियोगितामा सहभागिता जनाउनका लागि टिमलाई कम्तिमा २२ लाख रुपैयाँ खर्च हुन्छ । 

“समय छ, हामी प्रयास गर्दैछौं । राष्ट्रका लागि दृष्टिबिहीनले पनि केही गर्न सक्छन् । दृष्टिबिहीन महिलाले पनि आफूलाई प्रमाणित गर्न सक्छन् भनेर पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन  लागेका हौं,” घिमिरे भन्छन् ।

“पुरुष टोलीले सडकमार्गबाट जाँदा दुःख पाएको सबैलाई जानकारी छ । अब हामी थप जोखिम मोल्ने मनसायमा छैनौं । सहयोग जुटेन भने टोली सहभागी हुन्न,” देश विदेशमा बढिरहेका बलात्कार र महिलामाथिका हिंसाका घटनाप्रति सचेतता अपनाउँदै अध्यक्ष घिमिरेले थपे, “यो अवस्थामा हामी सडकमार्ग भएर दृष्टिहीन महिला टोलीलाई पठाउन सक्दैनौं । परिवारलाई धेरै सम्झाई बुझाई गरेर हामीले खेलाडी ल्याएका हौं । उहाँहरुले पनि हामीलाई जिम्मा दिएर खेल्न पठाउनुभएको छ ।”

\"\"

महिला, त्यसमाथि नेत्रहीन भएपछि टिम बनाउनै मात्र पनि संघले कम्ती मेहनत गर्नुपरेको थिएन । खेलाडी जुटाउनु संघको पहिलो चुनौती हो । तथापि विभिन्न जिल्लाबाट खेलाडी छनोट गरी ल्याउने चुनौती संघले पार गरिसकेको छ । “अभिभाबक पठाउनै मान्दैनन् । सम्झाइ बुझाइगरी ल्याउनुपर्छ । त्यसैमा आर्थिक समस्या पर्दा नकारात्मक असर पर्छ । त्यही भएर समयमै रुकम जुटाउनु छ ।” 

उसो त दृष्टिबिहीनहरुको क्रिकेट यात्रा अध्यक्ष घिमिरे आफैले सुरु गरेका हुन् । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन बिद्रोहीको एम्बुसमा परि दुबै आखा गुमाएपछि नेपाली सेनाका जागिरे घिमिरेले आफैंजस्ता दृष्टिबिहीनका लागि नयाँ कदम चालेका थिए । त्यही यात्रालाई निरन्तरता दिने क्रममा उनले २०६३ सालमा दृष्टिबिहीनहरुको पुरुष र २०६४ मा महिला क्रिकेट टिम बनाए । 

पुरुष टोलीले विश्वकपमा सहभागिता जनाइसकेको छ भने महिला टोलीले २०१४ मा नेपालमा भएको प्रथम दृष्टिबिहीन महिला क्रिकेट शृंखलामा पाहुना टोली युकेलाई पराजित गरेको थियो । २००९ मा नेपालमै आएर क्रिकेट सिकेपछि युकेले दृष्टिबिहीन टोली बनाएर नेपालमै खेलेको थियो । नेपालमै सिकेर भर्खरै टिम निर्माण गरेको पाकिस्तानले निमन्त्रणा गरेपछि संघले महिला टोली पठाउने निर्णय गरेको हो । विदेशमा गएर खेल्दा खेलाडीको मनोबल उच्च हुने भएकाले जितको लक्ष्यसहित टोली पठाउन लागिएको घिमिरेले बताए । 

सातै प्रदेशका खेलाडीबीचबाट छनोट गरिएको राष्ट्रिय टोलीमा आशा रेग्मी, रिता थापा, हिता गुरुङ, मुना अर्याल, सुष्मा तामांङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मिना क्षेत्री, आशिका चौधरी, विनिता पुन, भगवती भट्टराई र गीता पौडेल छन् ।

वरिष्ठ प्रशिक्षक अरुण अर्यालको संयोजकत्वमा प्रशिक्षक सुनोज भट्टराई, नेत्रहीन क्रिकेट अम्पायर नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले टोली बनाएको हो । कात्तिक १३ गतेदेखी १५ गतेसम्म चलेको ३० खेलाडीसम्मिलित छनोट प्रतियोगिताबाट अन्तिम टोली घोषणा भएको हो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro