काठमाडौं । बिहीबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सधैँ भन्दा फरक थियो । भर्खरै सकिएको दशैँ–तिहार मनाएर विदेश काममा फर्किनेको भीड उल्लेख्य थियो । आगमन कक्षमा लामो समयदेखि विछडिएका आफन्तजनको आगमन व्यग्रताका साथ कुरिरहेकाको उत्साहले छुट्टै माहोल सिर्जना गरेको थियो । आफन्त कुर्नेहरुको भीडमा खेलकुदमा कलम र क्यामेरा चलाउने सञ्चारकर्मी र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरु पनि मिसिएका थिए । नेपाल भित्रिँदै गरेका पर्यटक आफूतिर सोझिएका क्यामेरा देख्दा मुसुक्क मुस्काउँदै बाहिर निस्कन्थे । कोही अकमक्क पर्थे । थाइल्याण्डबाट आएका एकजना पर्यटकले क्यामेराको लस्कर देखेपछि जिज्ञाशा राखे, “कोही भिआइपी आउन लागेको हो ?”
उनको प्रश्नको उत्तर दिनै लाग्दा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरु आगमन कक्षतिर आए । महिला खेलाडीको आगमनले ति पर्यटकलाई उत्तर दियो, कसैले बताउनै परेन । महिला टोली आइसकेपछि उनलाई जवाफ दिएर बस्ने फूर्सद पनि कसलाई हुनु ? पहिलो पटक ओलम्पिक छनोटमा सहभागी भएर ऐतिहासिक सफलतासहित घर फर्किएका चेलीहरुको आत्मीय स्वागतको तयारी जो हुँदै थियो । खेलाडीको स्वागतका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, महिला फुटबल समितिकी अध्यक्ष विन्द्रा देवानलगायतका पदाधिकारी प्रतिक्षामा थिए ।
मैदानमै जस्तो अनुशासन खेलाडी बाहिरिने क्रममा पनि देखिन्थ्यो । लामबद्ध भएर बाहिरिँदै गरेका खेलाडीलाई राखेप उपाध्यक्ष तिम्सिना र एन्फा अध्यक्ष शेर्पासहितका पदाधिकारीले खादा र मालासहित आत्मीय स्वागत गरे । पहिलो पटक ओलम्पिक छनोट खेल्ने मौका पाउँदा नै आफूलाई प्रमाणित गरेका नेपाली चेलीहरुको मुहारमा यो भव्य स्वागतबाट मनोबल बढेको देखिन्थ्यो । सधैजस्तो पराजित हुने गरेको भारतलाई नेपाली टोलीले यसपाली म्यानमारमा १–१ को बराबरीमा रोकेको थियो । फिफाको विश्व वरियतामा आफूभन्दा ६४ स्थान माथि रहेको म्यानमारलाई उसकै मैदानमा १–१ को बराबरीमा रोक्नु पनि चानचुने उपलब्धि थिएन ।
पहिलो पटक ओलम्पिक छनोट खेल्न पाउनु नै नेपाली टोलीका लागि विशेष अवसर थियो । पुरुष फुटबलमा पर्याप्त अवसर भए पनि महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि समेत साइत कुर्नुपर्ने अवस्था थियो । २०१० देखि हुन थालेका दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला प्रतियोगिता र महिला साफ च्याम्पियनसिपमात्र नेपाली चेलीहरुले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता थिए । एन्फाको नयाँ नेतृत्वले महिला टोलीलाई ओलम्पिक छनोटमा सहभागि गराउने स्वागतयोग्य निर्णय गरेको थियो । त्यसको तयारीका लागि चीनको अभ्यास भ्रमण गराउनु अझै प्रशंसनीय थियो । पहिलो दुई खेलमा आफूभन्दा बलिया ठानिएका भारत र म्यानमारसँग अंक खोसेर गरेको सुरुआतलाई सुखद क्लाइमेक्स दिने क्रममा अन्तिम खेलमा बंगलादेशसँग पनि १–१ कै बराबरी नतिजा निकाले । जसले नेपाललाई पहिलो सहभागितामै ओलम्पिक छनोटको दोस्रो चरण पुर्यायो । फेरि एकपटक चेलीहरुको मेहनत, क्षमता र कलाबाट देशले गौरावन्वित हुने मौका पायो ।
टिमलाई यस्तो ऐतिहासिक सफलता दिलाउने नायिकामध्येकी एक सावित्रा भण्डारी भन्दै थिइन, “जितको भोकमा रहेका खेलाडीले देखाउनु थियो । अवसर पाए जित्न सक्छांै भनेर हामीले आफूलाई फेरि एकपटक प्रमाणित गरेका छौं ।”
टोलीका मुख्य प्रशिक्षक हरी खड्काले पनि सावित्रासँगै श्वर मिलाए । ‘लगानी अनुसारको प्रतिफल पक्कै आउछ । घरेलु प्रतियोगिता नभएको अवस्थामा हामीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आवस्यकता थियो । त्यसबाट कमजोरी पत्ता लगाएर सुधार गर्न पाइन्छ । त्यही अनुसार तयारी गर्न सजिलो हुन्छ । देशभित्र ढंगको घरेलु संरचना नभए पनि यसपाली हामीले म्यानमारमा खेल्नुअघि चीनमा तीनवटा मैत्रीपूर्ण खेल खेल्न पायौं । त्यो हाम्रो दोस्रो चरणमा छनोट हुने औषधि बन्यो ।’
पक्कै पनि एन्फाले मरुभूमितुल्य महिला फुटबलमा आशाको केही छिटा छर्किएको छ । अर्को महिना हुने महिला साफ च्याम्पियनसिपका लागि पनि ओलम्पिक छनोट र चीन भ्रमणले तयारीको राम्रो प्रभाव पार्ने छ । तत्कालका लागि महिला फुटबलको उत्थानमा एन्फाले देखाएको तदारुकता प्रशंसनीय छ । अन्तराष्ट्रिय प्रतियोगिताको १ महिनाअघि अभ्यासमा जुट्ने रोगबाट कम्तिमा यसपालीलाई छुटकारा मिलेको छ ।
तर के यो पर्याप्त छ त ? पक्कै पनि छैन । पुरुष टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्रीपूर्ण खेलमा सहभागिता जनाउँदामात्र पनि आकर्षक नगद पुरस्कार पाउने गरेको इतिहास नेपाली फुटबलमा छ । महिला फुटबल जीविकोपार्जनको मामलामा अझै कमजोर छ । समग्र देशको महिला फुटबल विकास गर्न सबभन्दा पहिला महिलालाई फुटबल खेल्न प्रेरित गर्न सक्नुपर्छ । महिला फुटबललाई पनि पुरुषमा जस्तै संस्कारका रुपमा विकास गर्नुपर्छ । त्यसो गर्नका लागि महिलाहरुलाई फुटबलप्रति बढि भन्दा बढि आकर्षित गर्नुपर्छ ।
अहिले राज्य, एन्फा र अन्य निकायले महिला फुटबललाई प्रोत्साहित गर्ने एउटा अवसर पाएका छन् । महिला खेलाडी आफैले ओलम्पिक छनोटको दोस्रो चरणको यात्रा गरेर त्यो अवसर दिएका छन् । सम्बन्धित निकायले यो उपलब्धिलाई फगत माला र खादाको सम्मानमा सिमित नगरी दिल खोलेर आकर्षक नगदले पुरस्कृत गर्नुपर्छ । त्यो पनि सुरुआतमात्र हुनेछ, दीर्घकालका लागि त महिला फुटबल संरचना बलियो बनाउनेमै एन्फा केन्द्रित हुनु जरुरी छ ।
तस्बिर सरिता खड्का