काठमाडौं । ‘देशको झण्डा लिएर सधैं मैदानमा रहने इच्छा सबैलाई हुन्छ । तर, नियमनकारी निकायले वास्ता नगर्दा अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिनिधित्व गर्ने हामी लामो समयदेखि गुमनाम जस्तै छौं,’ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीको गुनासो हो यो । पुरुषतर्फ क्रिकेटमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । पुरुष क्रिकेटमा व्यावसायिक प्रतिष्ठान र दर्शकको समेत चासो बढी भएकाले देश नै क्रिकेटमय बनेको छ । तर, महिला खेलाडीले क्रिकेटमय माहोलमा आफूलाई कतै उभ्याउन सकिरहेका छैनन् ।
नेपालको वर्तमान क्रिकेट माहोलबारे बाह्रखरीसँग गफिँदा महिला खेलाडीले भोग्नुपरेको भेदभावमाथि रुविनाका गुनासा धेरै थिए । पछिल्ला वर्षहरुमा पुरुष क्रिकेटमा आकर्षक प्रतियोगिताहरु दिनानुदिन थपिँदो छन्, जसले खेलाडीलाई व्यस्त बनाउनुका साथै उनीहरुको स्टारडम पनि बढाएको छ । औसतमात्र प्रतिभा हुने पुरुष क्रिकेटरहरु पनि खेलेरै राम्रो जीवनयापन गर्ने अवस्थामा पुगिसकेका छन् । अर्थात् क्रिकेटमा केन्द्रित भएर आफूलाई निखार्न सके जीवन चलाउन अर्को बाटो खोज्नु पर्दैन ।
“हामीले पनि खेल्ने त्यही खेल हो । हामीले पनि नेपालकै लागि खेल्ने हो । बाउन्ड्रीभित्र नियम दुवैलाई उस्तै हो, फरक छ त महिला क्रिकेटलाई हेर्ने नियमनकारी निकायको नजरमात्र । पुरुषको तुलनामा हामीचाहिँ किन यत्ति धेरै अपहेलित भन्ने प्रश्नले धेरै दुख्छ,” रुविना भावुक हुन्छिन्, “हामीले जित्दा नेपालको झण्डा फेरिन्छ र ? हामीले पनि त्यही झण्डाका लागि भिड्ने हो, मैदानमा रगत र पसिना बगाउने हो । पुरुष क्रिकेटको प्रगतिमा हामीलाई इष्र्या लागेको होइन । हामी त त्यसबाट खुसी छौं । उनीहरुको तुलनामा हाम्रा लागि पनि राज्यले केही सोचोस्, क्रिकेट प्रशासनले केही वातावरण बनाओस् भन्नेमात्र हाम्रो आग्रह हो ।”
पुरुष क्रिकेटमा राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने प्रधानमन्त्री कपदेखि निजी क्षेत्रले गर्ने अरु तीन प्रतियोगिता स्थापित हुने क्रममा छन् । आकर्षक पुरस्कार राशिका ती प्रतियोगितामा अनुबन्धनमात्रले पनि खेलाडीलाई राम्रो आर्थिक टेवा पुग्ने गरेको छ । त्यहीँबाट आर्जित स्टारडम विभिन्न व्यावसायिक प्रतिष्ठानमा बेच्दा पुरुष खेलाडीको आर्थिक जीवन थप सहज बन्दो छ । तर, महिला खेलाडीको हकमा भने त्यो कल्पनामा सीमित छ ।
विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने प्रधानमन्त्री कपबाहेक महिलाका लागि अरु नियमित प्रतियोगिता छैनन् । पुरुषतर्फ प्रधानमन्त्री कपको विजेताले २१ लाख रुपैयाँ पाउँछ । “राज्यले सोझै गर्ने कार्यक्रममा समेत महिलामाथिको भेदभाव दुःखलाग्दो छ,” रुविनाले थपिन्, “महिलाका लागि प्रतियोगिता नै छैनन्, भएकामा पनि टिठलाग्दो भेदभाव छ । प्रधानमन्त्री कपबाहेक दुई वर्षअघि अत्तरियामा युनाइटेड स्पोर्टस् क्लबले ट्वान्टी–२० प्रतियोगिता गरेको थियो । तर त्यो पनि त्यसपछि हुन सकेको छैन ।”
२०७३ मंसिरमा थाइल्याण्डमा सम्पन्न विश्वकप छनोटपछि नेपाली महिला खेलाडीहरुले प्रधानमन्त्री कप र अत्तरियाको प्रतियोगिताबाहेक मैदानमा ब्याट र बल घुमाउने मौका नै पाएका छैनन् । पुरुषतर्फ प्रत्येक खेलाडी सुपरस्टारको हैसियत बनाउन सफल भए पनि महिलामा भने खेलको अस्तित्व नै संकटमा परिसकेको छ ।
“धेरै खेलाडी पलायन भइसके । कत्ति प्रतिभावान खेलाडीका लागि क्रिकेट पार्टटाइम विषय बनिसक्यो । खेलप्रतिको लगावका कारणमात्र उनीहरुले क्रिकेट छोड्न नसकेका हुन् । यही अवस्था केही समय लम्बिए कुनै बेला महिला क्रिकेटकै कारण विश्वस्तरीय पुरस्कार पाएको नेपालमा महिला क्रिकेट टोली हुनेछैनन्,” १० वर्षदेखि राष्ट्रिय टोलीको अभिन्न अंग भएर क्रिकेट खेलिरहेकी रुविनाको अनुभव भन्छ, “आकर्षक पुरस्कार राशिका थुप्रै प्रतियोगिता नभई महिला क्रिकेटले प्रगति गर्न सक्दैन । तर हामी सामान्य प्रतियोगिता भए पनि खुसी हुने अवस्थामा छौं । सानै प्रतियोगिता पनि नियमित भए हामीले प्रदर्शन सुधारको मौका पाउथ्यौं ।”
नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय निलम्बनमा रहनुले पनि महिला क्रिकेट पछि परेको उनको बुझाइ छ । “निजी क्षेत्रले आर्थिक फाइदाका लागि प्रतियोगिता गर्छन्, तर महिला क्रिकेट नेपालमा विकासे कार्यक्रमको अवस्थामा छ । त्यही कारण महिला क्रिकेटमा गतिविधि कम भएको हो । क्यान भएको भए लाजगालका लागि पनि केही गतिविधि गर्नैपथ्र्यो,” रुविना भन्छिन् ।
राज्य तथा अन्य नियमनकारी निकायले पूर्ण रुपमा बेवास्ता गरेको अवस्थामा महिला खेलाडीहरु आफ्ना लागि अवसर जुटाउन आफैं लागिपरेका छन् । रुविना स्वयं अहिले राष्ट्रिय टोलीका सहकर्मीहरुलाई जम्मा गरेर भारतका केही स्थानीय प्रतियोगितामा सहभागिता जनाउने प्रयासमा छिन् । सन् २००७ मा मलेशियामा भएको एसिसी महिला क्रिकेट प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । पहिलो सहभागितामा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको नेपालले त्यसयता केही उपलब्धि हासिल गर्न सकेको छैन ।
पछिल्लो समय घरेलु प्रतियोगिता नहँुदा खस्कँदो प्रदर्शनमा सीमित नेपाली महिला क्रिकेट शून्य अवस्थामा पुग्न लागिसकेको प्रशिक्षक राजु बस्न्यात बताउँछन् । उनले भने, “महिला क्रिकेट दयनीय अवस्थामा छ । विकासका लागि केही योजना छैनन् । यो अवस्थामा सुधार नगरे नेपालबाट महिला टोली पलायन हुन्छ ।”
क्यान निलम्बनमा रहँदा देशभित्रको क्रिकेट परिषद्ले चलाइरहेको छ । तर, महिला क्रिकेटका लागि सरकारी प्रयास अत्यन्तै अपुग रहेको बस्न्यात बताउँछन् । “यस्तो बेला सरकारले ध्यान दिनुपर्ने हो । तर घरेलु प्रतियोगिता आयोजनाको हकमा त्यसो भएको छैन । गतिविधि नै नभई नयाँ अनुहार कहाँबाट आउनु,” प्रशिक्षक बस्न्यातले थपे ।
राष्ट्रिय महिला टोलीकी उपकप्तान सीता रानामगरको गुनासो पनि प्रशिक्षक बस्न्यात र कप्तान रुविनाको भन्दा फरक छैन । भन्छिन्, “म कहिलेकाहीँ खेलाडी हुँ कि होइन भनेर आफैलाई प्रश्न गर्छु । वर्षमा एकमात्र प्रतियोगिता खेल्ने म कस्तो खेलाडी हुँ जस्तो लाग्छ । तर मसँग चित्त बुझाउनुको विकल्प छैन । दाइहरु (पुरुष खेलाडी) निरन्तर खेलमै हुनुहुन्छ । हामी कहिलेसम्म हेरेर बस्ने ? कुनै दिन क्रिकेट खेलेकोमा पछुतो लाग्ला भन्ने डर लाग्छ ।”