site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपाधि लक्ष्यका साथ महिला टिम प्रशिक्षणमा

काठमाडौं । ललितपुरको सातोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा आजभोलि चहलपहल बढेको छ । कारण हो— पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग, क्लबहरुको अभ्यास, उमेर समूहको टोली छनोट र राष्ट्रिय महिला टोलीको प्रशिक्षण । 

चहलपहलकै बीच फरक आवाज सुनिन्छ, महिला आवाज । अर्थात् सधैं पुरुष खेलाडीको आवाजले गुञ्जायमान हुने एन्फा मैदानमा अचेल महिला स्वर पनि सुनिन्छ चर्कोसँग । वर्षमा मुश्किलले एकपटक आयोजना हुने एक हप्ते लिगबाहेक खासै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाएका महिला खेलाडी अहिले साफ च्याम्पियनसिपको तयारीमा जुटेका छन् । चार महिनापछि हुने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भइसकेको छ । तरपनि प्रतियोगिता कुन देशमा आयोजना हुने भन्ने अझै टुंगो लागेको छैन । साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाल अहिले विजेता बन्ने लक्ष्यका साथ तयारीमा जुटेको छ ।

“विभिन्न टोलीबाट आएका खेलाडी छन् । उनीहरुले पछिल्लो समय गरेको प्रदर्शनका आधारमा राम्रो र नराम्रो पक्ष केलाएर तयारी सुरु गरेका छौं । गत संस्करणमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि हार्नुपर्यो । अहिले तयारीका लागि प्रशस्तै समय छ,” नेपाली महिला टोलीका प्रशिक्षक हरि खड्का भन्छन्, “दक्षिण एसियाका सबै टोलीलाई पराजित गरे पनि नेपाली टोली सधै छिमेकी भारतसँग पराजित हुँदै आएको छ । छोटो समयमा बंगलादेशले राम्रो प्रगति गरेको छ । हामीले भारत र बंगलादेशलाई मध्यनजर गर्दै खेलाडी तयार पार्ने काम गरेका छौं ।”  

साफ च्याम्पियनसिप अघि नेपालले चीनसँग मैत्रीपूर्ण खेल र ओलम्पिक छनोट खेल्नेछ । टिम छनोट प्रक्रियामा तीन विभागीय क्लबका २६ खेलाडीलाई प्रशिक्षक खड्काले डेढ महिनादेखि प्रशिक्षण गराइरहेका छन् । “खेलाडीहरु जितका लागि भोकाएका छन् । अभ्यासमा आउँदा खेल्नुपर्छ भन्ने सकारात्मक भावना लिएर आउँछन् । साफकै प्रतिद्वन्द्वीसँग ओलम्पिक छनोटमा पनि प्रतिस्पर्धा गर्नेछौं । त्यहाँ विपक्षीको कमजोरी पत्ता लगाउन सकिन्छ । यसका कारण हामी विजयी हुनेमा ढुक्क छौं,” चाँडै खेलाडीको अन्तिम सूची निकाल्ने तयारीमा रहेका प्रशिक्षक खड्काले भने, “खेलस्तरमा पनि निकै सुधार आएको छ । खेलाडीहरुले कडा मेहनत पनि गरेका छन् । महिला टोलीमाथि विभेद गरिएको छ भन्ने इखले होला, उनीहरु आफूलाई हरसम्भव प्रमाणित गर्ने पक्षमा छन् ।”  

मैदान अभावका कारण सबै टोलीका खेलाडीहरुले एन्फा मुख्यालयकै मैदानमा अभ्यास गर्नुपर्ने बाध्यता छ । त्यसमा महिला टोलीको पालो बिहान आउँछ । बिहानीको झिसमिसेमा पसिना–पसिना भएकी महिला टोलीकी कप्तान रेणुका नगरकोटी तयारीको पर्याप्त समय भएकाले राम्रो नतिजा निकाल्नेमा आशावादी छिन् ।

“नराम्रो पक्ष सुधार गर्ने तयारी थालेका छौं । हामी राम्रो प्रदर्शन गर्ने अपेक्षामा छौं,” झन्डै डेढ महिनाको अभ्यासपछि खेलाडीको प्रदर्शनमा क्रमिक सुधार आइरहेको भन्दै कप्तान नगरकोटीले भनिन्, “साफ आउन अझै चार महिना बाँकी छ । पहिले जस्तो एक महिनामा खेलाडी छनोट र तयारी गर्नुपर्ने अवस्था अहिले छैन । तयारीका लागि राम्रो समय पाएका छाैं । हामी आफूलाई प्रमाणित गर्दै गइरहेका छौ ।” 

गोलकिपिङ प्रशिक्षक मृगे्रन्द्र मिश्र पनि यसपटक उपाधि जित्नेमा आशावादी छन् । टोलीको तयारीबारे मिश्र भन्छन्, “तयारी राम्रो भएको छ । अहिले हाम्रो रक्षापंतिm बलियो छ र स्ट्राइकिङ राम्रो बनाउन लागिपरेका छौं । गोलकिपिङमा पनि सुधार आएको छ । अनुभवी र युवा खेलाडीको सम्मिश्रणले टोली थप मजबुत बन्छ । चार महिनाको तयारी खेलाडीका लागि नयाँ युग बन्नेछ ।”

साफअघि दुई मैत्रीपूर्ण खेल
नेपाली टोलीले भारतको सिलगुढीमा सम्पन्न साफ च्याम्पियनसिप पछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन । यसबीचमा एपिएफ क्लबमा आबद्ध राष्ट्रिय टोलीका केही खेलाडीले हङकङसँग मैत्रीपूर्ण खेल खेले । तर, साफ खेल्न जानुअघि नेपालले चीनसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि टोली कात्तिक ९ गते चीन प्रस्थान गर्नेछ। 

ओलम्पिक छनोट प्रतियोगिता 
साफ च्याम्पियनसिपअघि नेपालले चीनसँग मैत्रीपूर्ण खेलबाहेक म्यानमारमा हुने ओलम्पिक छनोट प्रतियोगिता पनि खेल्नेछ । छनोट प्रतियोगितामा नेपालले भारतलगायतका देशसँग प्रतिस्पर्धा गर्नेछ । चीनमा मैत्रीपूर्ण खेलपछि नेपाली टोली सिधै म्यानमार जानेछ ।

मुख्य आशा सावित्राको 
नेपाली टोलीको मुख्य आश फरवार्ड सावित्रा भण्डारी हुन् । विभागीय टोली एपिएफबाट खेल्दै आएकी सावित्राले घरेलु प्रतियोगितासहित गत साफमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । ‘गोलमेसिन’को उपमा पाएकी भण्डारीलाई प्रशिक्षक खड्काले मुख्य हतियार बनाउने योजना बनाएका छन् । खड्का भन्छन्, “हामीसँग दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रा छन् । जसबाट हामीले धेरै फाइदा उठाउन सक्छौ । सावित्राको रनिङ र अट्याकिङ पक्ष निकै राम्रो छ । त्यसलाई सदुपयोग गर्ने योजना बनाइरहेका छौं ।”

यस्तो छ खेलतालिका
नेपाल साफ च्याम्पियनसिपको समूह ‘ए’मा छ । नेपालसँगै समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बि’मा भारत, श्रीलंका र माल्दिभ्स छन् । नेपालले समूहको पहिलो खेल पाकिस्तासँग खेल्नेछ भने दोस्रो भुटान र अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro